MENU

आँखा रसाउने एउटा किताब

635x90_1

किरण दहाल शनिवार, साउन २१, २०७४ 3877 पटक पढिएको

Share This

635-X-85

प्रिय किताब

‘जब म बाँच्न सफल भएँ, तब मैले लामो समयपछि आफ्नै अनुहार ऐनामा हेर्ने निधो गरेँ । ऐनाको भित्रबाट एउटा लासले मलाई चियाइरहेको थियो ।' एलि विजेलद्वारा लिखित किताब ‘नाइट'को अन्तिम हरफमा यस्तो भनिएको छ । ‘कन्सन्ट्रेसन क्याम्प'मा लामो समय बसेर निस्किएपछि उनले आफंैलाई गरेको खरो व्यंग्य हो यो । ‘नाइट'मा आफ्नै अनुहारलाई लाससँग तुलना गरेर अँध्यारो विगतलाई शब्दमार्फत जीवन्त तुल्याएका छन् उनले । कन्सन्ट्रेसन क्याम्प पुगेर पनि बाँच्न सफल भएका एक यहुदीको वृत्तान्त हो किताब, जसले जिन्दगीका थोरै भागको भयावह चित्र प्रस्तुत गर्छ ।

किताब हात परेको लामो समयसम्म मैले पढिनँ र पढ्ने जाँगर पनि चलेन । सुनेको थिएँ- नाइट एउटा यहुदी केटोले भोगेको पीडाको वास्तविक कथा हो । हिटलरले यहुदीहरूलाई ग्यास च्याम्बरमा थुनेर मारेको कथा ‘क्लिसे' बनिसकेको छ विश्वभरि । यतिमात्र होइन, यहुदीहरूलाई थुनिएको ग्यास च्याम्बरमा तातो बाफ पठाएर उनीहरूबाट बोसो निकालेको र त्यसको साबुन बनाएको कुरा त स्कुल पढ्दै शिक्षकहरू बारम्बार दोहोर्‍याइरहन्थे । ‘नाइट' पनि त्यस्तै कथा होला भन्ने मेरो अनुमान किताब हेर्ने जाँगर चलेन । एक दिन किताबको बीच भागतिर पल्टाएर एकदुई हरफ पढ्न थालेँ । किताबको भाषाले मन्त्रमुग्ध बनायो । र, भाषा हेर्नकै लागि पनि सुरुदेखि किताब पढ्न थालेँ ।

कुनै किताबले सुरुदेखि नै व्यापक प्रभाव पारेको छ भने त्यो ‘नाइट' नै हो । यही किताब हो, जसले पहिलो पृष्ठदेखि नै मलाई छट्पटीमा राख्यो । पढ्दै जाँदा उत्सुकता झनै थपिँदै थियो, विजेलको मायाले मेरा आँखा रसाएका थिए । अझै आमासँगको विजेलको बिदाइले त मलाई लामो समयसम्म तनावमा राखेको थियो । एउटा हातले बाबाको औंला समातेर अर्का हातले आमालाई सदाका लागि बिदाइ गरिरहँदा एउटा सानो छोरोको मस्तिष्कमा के घुम्छ ? यही बिदाइमा विजेल बेचैन छन् र आफ्नी आमालाई कसैगरी पनि बिर्सन सक्दैनन् ।

जिन्दगीकै अन्तिम गन्तव्य आफैं अगाडि हुनु र त्यसका लागि पाइला गन्दै अगाडि बढ्नु कम्ती कष्टकर छैन । उमेर बढाएरै भए पनि उनी आगोको चिम्नीतिर जल्नका लागि होइन बरु श्रम शिविरतिर पुग्छन् । यो उनको लागि ‘लाइफ लाइन' थियो । बाँचे पनि उनले कन्सन्ट्रेसन क्याम्पमा भोग्नु परेका घटना सुन्दा मात्रै पनि आङ सिरिंग हुन्छ । सामान्य खाजाको भरमा रातदिन नभनी काम गर्नु उनको दैनिकी हो । बूढो हुँदै गएका बाबुको अनुहारले उनको आफ्नै मुहारमा उदासीको बादल छाउँछ । विजेलको आफ्नो सामान्य जिन्दगीमा एक्कासि आइपरेको असामान्य घटना हुन् यी ।

हिटलरको शासनकालमा यहुदीले भोगेको कष्टबारे बुझ्न यो किताब गतिलो दस्तावेज बनेको छ । लेखक आफैं कन्सन्ट्रेसन क्याम्पका ‘विटनेस' भएकाले पनि त्यहाँभित्रका वास्तविकता सतहमा आउँछन् । यहुदीमाथि दोस्रो विश्वयुद्धताका हिटलरको सेनाले गरेको नरसंहार कुन हदसम्म थियो भन्ने कुरा विश्वसामु प्रस्ट छ । त्यसमाथि नाजी सेनाको पञ्जाबाट बाँचेरै फर्किएको एक लेखकले त्यहाँभित्रका कुकृत्यको महाभारतलाई जीवन्त शैलीमा उतारिदिए । लेखक आफैंले भोगेको दुःखपूर्ण क्षण सुन्दा मानौं ‘हरर' उपन्यास पढिरहेको भान हुन्छ । तर, जब म उपन्यास होइन वास्तविक घटना नै पढ्दैछु भन्ने थाहा हुन्छ तब मुटु काँप्छ । किताबको सबैभन्दा सशक्त पक्ष पनि यही हो । एउटा यहुदीको जिजीविषाले मलाई आफ्नो सामान्य जिन्दगीप्रति भने घृणा जागेर आयो ।

विजेलले सरल भाषामा यहुदीको कठोर जिन्दगी देखाएका छन् । किताब पढ्दै जाँदा शब्दहरू चित्र बनेर दिमागमा घुम्न थाल्छन् । यहुदीको पीडाले नराम्रोसँग झकझकाउँछ । उनीहरूको त्रासदीमा म पनि सँगै डराएको थिएँ । उनीहरूले खुसीका दिनहरू सकिनै लागेको अनुमान गरिरहँदा अब भोग्नुपर्ने सम्भावित पीडाहरूले मलाई नराम्ररी लखेटेको थियो । विजेलका सहयात्रीहरूले परबाट मान्छे पोलेको चिम्नी देख्दै गर्दा मेरा आँखाका डिल चिसा भएका थिए । उनको मातृप्रेमले मलाई पगालेको थियो । कन्सन्ट्रेसन क्याम्पमा गर्नु परेको मिहिनेत देखेर सरल रेखामा दौडिरहेको आफ्नै जिन्दगीप्रति तीव्र आक्रोश पलाएको थियो ।

विद्यार्थीकालमा हिटलरको ग्यास च्याम्बरको कुरा सुन्थेँ । त्यस बेला लाग्थ्यो, त्यहाँबाट कोही भागेर बाहिर आओस् र आफ्नो कुरा फटाफट भनोस् । त्यहाँका वास्तविक कुरा सुन्न पाइयोस् । हिटलरले मच्चाएको नरसंहार कुन हदसम्म थियो सबै जान्न पाइयोस् । स्कुल पढ्दाका जिज्ञासाहरू विजेलले पूरा गरिदिए । आफैं प्रत्यक्षदर्शी भएकाले लेखकले त्यहाँभित्रका ससाना घटनालाई सुन्दर ढंगले टिपेका छन् । बालबालिका र वृद्धलाई आगोमा जिउँदै फालिदिएर मृत्यु स्वीकार्न बाध्य पारिनु र उमेर भएकाहाई श्रम गर्न लगाउनु क्याम्पमा चल्ने खास राजनीति हो ।



लेखक आफैंले भोगेको दुःखपूर्ण क्षण सुन्दा मानौं ‘हरर' उपन्यास पढिरहेको भान हुन्छ । तर, जब म उपन्यास होइन वास्तविक घटना नै पढ्दैछु भन्ने थाहा हुन्छ तब मुटु काँप्छ ।

जब मान्छे काम गर्न नसक्ने अवस्थामा पुग्छ उसका लागि भट्टी विकल्प बनिदिन्छ । विजेलको बुवा कामको पीडा सहन नसकेरै मर्छन् । त्यहाँभित्र मृत्युको त्रासदी कुन हदसम्म हुन्छ भन्ने कुरा विजेलले किताबमै भनेको यो लाइनबाट प्रस्ट हुन्छ, ‘यहाँ (कन्सन्ट्रेसन क्याम्प) कुनै त्यस्तो ठाउँ छैन जहाँ मान्छेहरू मृत्युको डरबाट मुक्त होऊन् ।'

विजेलले यहुदीहरूको खास ‘ट्रमा' के हो भन्ने कुरालाई पनि प्रस्ट पारेका छन् । उनीहरूलाई कुन हदसम्म नीच व्यवहार गरियो भन्ने कुरा बाँचेर बाहिर आउनहरू भन्न लजाउँछन् । नाजी सेनाले मान्छेलाई मान्छेको व्यवहार पनि गरेन । क्याम्प छँदा धेरै यहुदीलाई बाँच्नका लागि लायक ठानिएन ।

यहुदीहरूलाई पीडा खेप्न र उमेर छँदै मर्नका लागि जन्मिएका हुन् भन्ने ठानियो । हिटलरको व्यवहारले यहुदीहरूलाई सधंै ट्रमामा राखिदियो । क्याथी क्यारुथले आफ्नो किताब ‘अनक्लेम्ड एक्सिपिरियन्स : ट्रमा एन्ड दी पोसिबिलिटी अफ हिच्ट्री'मा भनेकी छन्, ‘कुनै घटना बेहोर्नु मात्र ट्रमा होइन बरु त्यसले लामो समयसम्म पार्ने मनोवैज्ञानिक प्रभाव हो यो ।'

क्याम्पभित्रै रहँदा विजेल नयाँनयाँ पीडासँग जुध्नकै लागि तयार हुनपर्‍यो । बाँचेर निस्कँदासम्म पनि उनलाई त्यसभित्रको धङधङीले छाडेन सायद । किताब पढिसकेपछि त्यहाँभित्रका एकएक घटनाले मलाई बेचैन बनायो । हिटलरप्रतिको घृणा दोब्बर बढ्यो । यहुदीहरूको कष्टकर जिन्दगीको कथा सुनेर धेरै दिनसम्म तनाव भइरह्यो । क्यारुथको भाषामा यो ममाथि आइलागेको ट्रमा थियो ।

विजेलका लागि कन्सन्ट्रेसन क्याम्प जति घृणालायक थियो त्यही ठाउँको कथाले मलाई बारम्बार किताबप्रति अगाध प्रेम जगायो । यो अनौठो संयोग हो । अप्ठ्यारा दिन भोग्नेहरूका लागि मात्र यो कथा पीडादायी हुन्छ, बाँकीका लागि त्यो रोचक आख्यान बनिदिन्छ । विजेलका लागि कन्सन्ट्रेसन क्याम्पहरू एउटा त्यस्तै कहालीलाग्दो विगत हो । तर, मेरा लागि भने ‘नाइट' एउटा सुन्दर किताब हो, जहाँ हजारौंलाई आगोको मुस्लोमा जिउँदै जलाइएको छ । शरीरको नाममा हाडछाला मात्रै रहँदासम्म यहुदीहरूले घोटिएर काम गरिरहे, जहाँ उनीहरू मृत्युको पालो कुरेर बस्न बाध्य भए । ‘नाइट' यातनाकै बीचबाट जन्मिएको एउटा कहालीलाग्दो कथा हो ।

किताब पढ्दै जाँदा धेरैपटक परिवार-प्रेमले लछप्पै भिजिन्छ । पुरुष भएकै कारण आमासँग बस्न नपाउनु, आफ्नै अगाडि नाजी सेनाले बाबुको बेइज्जत गर्नु एउटा छोराका लागि भयानक दुःखद कुरा हो । विजेल बाबुलाई अन्तिम क्षणसम्म पनि अगाध प्रेम दर्शाउँछन् । वृद्ध हुँदै गएको र कामले झनै टिठलाग्दो भएको बाबुको अनुहार देखेर विजेलको मन शान्त छैन । शब्दहरूमार्फत विजलको बेचैनी मसम्म आइपुग्छ र गला अवरुद्ध पार्छ ।

आफ्नो प्यारो छोराका लागि उनका बाबुको एउटै सल्लाह छ, जसले कन्सन्ट्रेसन क्याम्पको चरित्रलाई पनि प्रस्ट पार्छ । उनले भनेका छन्, ‘मेरो छोरा, तिमी कन्सन्ट्रेसन क्याम्पमा छु भन्ने कुरा नभुल । यहाँ हरेक मान्छेले आफ्नै बारेमा मात्रै सोच्नुपर्छ । बाबु, आमा, छोरा, साथी जस्ता नाताहरू यहाँ जरुरी छैन । हरेक मान्छे एक्लै जन्मन्छ र एक्लै मर्छ ।' विजेलको बाबुको यो कुराले क्याम्पका यहुदीहरूको अवस्थालाई देखाउँछ । यहाँ मायाप्रेमभन्दा पनि पीडाको ‘फ्रेम' यति फराकिलो हुन्छ कि जहाँ मानवीय सम्बन्धहरू नै छायाँमा पर्छन् । यस्ता कुराहरूले मलाई बाररम्बार घोचिरहन्छन् ।

सन् १९२८ सेप्टेम्बर ३० मा एलि विजेलको जन्म रोमानियाको सिघेतमा भएको थियो । यहुदी परिवारमा जन्मिएकै कारण उनले मृत्युको त्रास बोकेर बाँच्नुपर्‍यो । दोस्रो विश्वयुद्ध चलिरहेका बेला लाखांै संख्यामा यहुदीलाई नाजी सेनाले कन्सन्ट्रेसन क्याम्पमा लगेर दण्ड दियो । आफ्नो परिवारसहित विजेलको टोल÷छिमेक नै क्याम्पसम्म पुग्यो । आफ्नो जाति र नाजी सेनाको सम्बन्ध पनि राम्ररी खुट्याउन नजान्ने विजेलले सानैमा त्यही नाजी सेनाको सिकार हुनुपर्‍यो । बिजेलका दर्दनाक अँध्यारा दिनहरू त्यति बेला सुरु भए जति बेला उनका कोमल औंलाहरू ममतामयी आमाका हातबाट छुट्टिए ।

आमासँगै प्यारी बहिनी जिपोरा पनि आँखाबाट सदाका लागि बिदा भइन् । मान्छेको नरसंहार गरिएको चर्चित ठाउँ आश्विचदेखि बुना र बुचेनवाल्डसम्म उनले भोगेका घटनाहरूले धेरैको आँखा रसाउँछ । विजेलले भनेका छन्, ‘हिटलरले मच्चाएको त्यो युद्ध यहुदीका लागि मात्रै थिएन । यहुदी धर्म, संस्कृति, परम्परा र समग्र यहुदीको विगतलाई नामेट पार्न खोजिएको थियो ।' सन् १९८६ का नोबेल शान्ति पुरस्कार विजेता विजेल १९४५ मा बुचेनवाल्डबाट स्वतन्त्र भएका थिए र १९५८ मा ‘नाइट' किताब सार्वजनिक गरेका थिए ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2