MENU

ढलमा डुबेर बाँचेकी सत्या भन्छिन् : चर्चामा आएकोमा खुसी छैन्

635x90_1

रामकला खड्का आइतवार, साउन २२, २०७४ 4535 पटक पढिएको

Share This

635-X-85

सत्या सापकोटा हिजोआज धेरै नै चर्चामा आइसकेको नाम हो । तर, आफूले कुनै राम्रो काम गरेर चर्चामा आएको नभएकाले चर्चाको खुसी भने सत्यामा पटक्कै छैन । गत असार ३० गते सामाखुसीको ढलमा खसेर पनि बाँच्न सफल उनी आज पनि आफूलाई पहिलेकै जस्तो साधारण सत्यामै सन्तुष्ट हुन चाहन्छिन् ।

सधैंझैं विद्यालय सकिएर घर जाने क्रममा विद्यालयको बसबाट उनी सामाखुसीस्थित आफ्नो घरनजिकैको चोकमा झरिन् । करिब दुईतीन मिनेट हिँडेपछि घर पुगिन्थ्यो । तर, त्यो दिन धेरै पानी परेको र बाटो पनि जाम भएकाले सधैं हिँड्ने पट्टिको बाटोमा ठूलो खाल्डो छ भनेर उनी अर्कोपट्टिबाट हिँडेकी थिइन् । पाइला अगाडि बढाउने क्रममा उनी अचानक ढलभित्र खसिन् ।

धेरैले उनलाई पानीभित्र पसेपछि त होश हरायो होला है भनेर सोध्ने गर्छन् । तर, त्यसो होइन । उनी पूरै होशमा थिइन् । पानीभित्र जताततै अन्धकार भए पनि उनले ‘यो मेरो जीवनको अन्तिम क्षण हो, अब के सोचौं’ भन्ने लागेर त्यहाँभित्रै हातले मुख पुछ्ने प्रयास गरेकी थिइन् । पानीमा पनि उनले हात फिँजारेर माथि आउने प्रयास गरिरहेकी थिइन् । यत्तिकैमा यो घटना देखेर उनलाई उद्धार गर्न पछ्याइरहेका व्यक्तिले उनको हात समातेर उनलाई पानीबाट बाहिर निकाले ।

बाहिर निस्किएपछि नजिकैको किराना पसलकी महिला आएर सत्यालाई उनको घरसम्म पुर्‍याइदिइन् । ब्याग बोकेरै पानीमा झरेकी सत्या ब्यागसहित बाहिर निस्केकी थिइन् । पानीबाट बाहिर निस्किएपछि सबैको ध्यान सत्यातिर नै भएकाले उनलाई डरभन्दा बढी लाज लाग्यो । उनको ब्यागभित्र पानी पसे पनि ती पढ्न मिल्ने अवस्थामा रहेको उनले पाइन् । उनका आमाबाबु र भाइ जापानमा रहेकाले उनी यहाँ आफ्नो अंकल, आन्टी र तीन वर्षीय भाइसँगै बस्छिन् । अंकलले ठमेलमा रेस्टुरेन्ट सञ्चालन गर्ने भएकाले घरमा आन्टी र भाइमात्रै थिए । उनलाई देखेपछि उनकी आन्टीले पनि आत्तिएर उनलाई नुहाउन पठाइन् ।

नुहाएर आएपछि भने उनलाई पहिलेको घटना सम्झेर डर लाग्न थाल्यो । सत्या ३० फिट जतिको दूरीसम्म पानीभित्र बगेकी थिइन् । यद्यपि आफूले पानी धेरै ननिलेकाले टाउको दुख्ने वा बान्ता हुनेजस्तो असहज केही पनि नभएको उनले सम्झिइन् । घर पुगेर नुहाइधुवाइ गरेपछि चिया र चाउचाउको सुप खाएकी सत्याले बेलुकी त अन्य दिनजस्तै गरी खाना नै खाइन् । त्यो दिन सुत्ने बेलासम्म पनि उनलाई सन्चोबिसन्चो सोध्न धेरै फोन आइरहेका थिए । उनले जापानमा रहेकी आफ्नी आमालाई त घर आउनेबित्तिकै फोन गरेकी थिइन् । त्यति बेला छोरीको कुरा सुनेर आमाले फोनमै रुँदै ‘बाटोमा राम्रोसँग हिँड, अबदेखि होश पुर्‍याउनू’ भन्दै सम्झाउनुभएको उनले बताइन् । केही समयपछि उनी पानीमा खसेको भिडियो भाइरल भएपछि त झन् आत्तिएर आफन्त र साथीभाइमध्ये धेरैले उनलाई फोन गरेका थिए ।

नक्सालस्थित वृहस्पति विद्यासदनमा कक्षा ९ मा पढ्ने सत्या दुई वर्षअगाडि मात्रै जापान गएर आएकी थिइन् । यस वर्ष पनि दसैंमा उनी आफैं जापान जाने हो या आमाबाबु यहाँ आउने हो, टुंगो भइनसकेको उनले सुनाइन् । तर पनि आफूले पाएको नयाँ जीवनलाई यो दसैंमा आमाबाबुसँग मनाउन पाइने खबरले पनि उनी उत्साहित छिन् । आफ्ना आमाबाबुपछि आफूलाई बचाएर नयाँ जीवन दिने बीबीलाल तामाङ र हरि थापा आफ्ना लागि सधैं महत्वपूर्ण व्यक्ति रहने पनि उनले बताइन् । पढाइमा पनि अब्बल मानिने सत्याले गत वर्षको जिल्लास्तरीय परीक्षामा ३.६३ ल्याएकी थिइन् । उनलाई गणित र ऐच्छिक गणितबाहेक अन्य सबै विषय सजिलै लाग्छ । फुर्सदमा कोरियन पप र अंग्रेजी गीत सुन्नुका साथै चलचित्र हेर्न र घुम्न जान उनलाई मन लाग्छ । पत्रकार बन्नु उनको जीवनको लक्ष्य हो ।

पत्रकारिता क्षेत्रमा पनि निर्णायक तहमा पुगेर काम गर्न सके समाजमा धेरै परिवर्तन गर्न सकिने उनको सोचाइ छ । हालै आफ्नो विद्यालयले आफूलाई साहस तथा पुनर्समायोजन गर्नसक्ने अनुपम विद्यार्थीका रूपमा दिएको एक लाख पचास हजार रुपैयाँ सहयोगलाई उनी आफ्नो अध्ययनकै लागि प्रयोग गर्न चाहन्छिन् । काठमाडौंका अधिकांश बाटाहरू यस्तै अवस्थामा रहेकाले विद्यार्थी साथीहरूलाई सडकमा हिँड्दा होशियार भएर हिँड्न उनी सुझाव दिन्छिन् । ‘बाटोहरू सबै बिग्रिएका छन् । राम्रोसँग हिँड्नुपर्छ’, उनले भनिन् । त्यसैगरी जीवनमा आइपर्ने यस्ता समस्याबाट नआत्तिईकन अगाडि बढ्न सक्नुपर्ने पनि उनले बताइन्।

सत्यासँगको कुराकानी भिडियो

प्रतिकृया दिनुहोस

Annapurna635x90_1