MENU

यार्सा जिन्दगी

635x90_1

देबु लुइटेल आइतवार, साउन २२, २०७४ 1907 पटक पढिएको

Share This

635-X-85

कथा

debu-luintelराम्रोसँग उज्यालो पनि हुन नपाउँदै रातेलाई आमाले बोलाइन्, ‘राते ! ए राते ! यार्सा खोज्न जाने दिन छिटो उठ् भन्या ।’ आमाको चर्को स्वर सुनेपछि अल्छी गर्दै राते उठ्यो । आँखा मिच्दै यताउता हेर्‍यो । च्यामे, भुन्टी, सन्ते, भक्तेहरू त अघि बाटो लागिवरि उसका घरमा आइपुगेका रहेछन् । उनीहरूका साथमा गाउँका अरू थुप्रै मान्छे पनि आएका थिए । ‘ए, अझ उठ्या छैनस् ? उठ्, छिटो गर्’ भक्ते रातेका छेउमा गएर ठुल्ठुलो स्वरले करायो । राते पनि हत्तपत्त उठ्यो । बाहिरफेर गयो । अरू के गर्नु थियो र उसले ? सानो झोला बोक्यो । ऊ पनि हिँड्न तयार भइहाल्यो ।

‘केटाकेटीलाई अगाडि हिँडाउनु पर्छ है । लड्लान्, छोडिएलान्’ धामी बा बोले । राते र उसका साथीहरूलाई के के न भएको थियो । बुरुक्क गर्दै अघिअघि हिँडे ।जेठको महिना थियो । घाम एकै छिनमा माथि आइहाल्यो । एकै छिनमा प्रचण्ड गर्मी भयो । सबैले टन्न मालताल बोकेका थिए । बाटो असाध्यै अप्ठ्यारो थियो । पसिना तर्तरी झार्दै जसोतसो उकालो चढ्दै थिए । उनीहरूको गाउँबाट यार्सा भेटिने ठाउँमा पुग्न तीन दिन लाग्थ्यो । बाटामा खान र बस्नको ज्यादै समस्या थियो । उनीहरूलाई यार्सा भेट्नुसँग मतलव थियो । बाध्यता र बल पनि थियो । त्यसै सुरमा उनीहरू खुरुखुरु हिँडे । तर भक्ते, भुन्टी र सन्तेलाई साह्रै गाह्रो भयो । उनीहरू बाटैमा थ्याचथ्याच बस्न थाले । उनीहरूको अनुहार मलिन भयो ।

पहिलो दिन अघिअघि दगुरे पनि घरबाट हिँडेको भोलिपल्टदेखि केटाकेटीहरू राम्ररी बोल्न सक्न पनि छाडेका थिए । तीन दिनपछि बल्लतल्ल उनीहरूको यात्रा रोकियो । उनीहरू यार्सा खोज्ने लेक बाघडाँडामा पुगे । त्यहाँ पुग्दा सबैका अनुहारमा अलिअलि सन्तोष र अलिअलि तृष्णा देखियो । सबै मिलेर टहरा बनाए । आफूले ल्याएका मालताल टहराको एक कुनामा थुपारे । बाघडाँडामा त ज्यादै चिसो थियो । उनीहरू खानेकुरा तयार गर्नतिर लागे । राते, भुन्टी र च्यामे भने एकै ठाउँमा पोको परेर बसे । थकाइले होला उनीहरूले टुलुटुलु हेरिमात्र रहे, केही सघाएनन् । त्यो रात त्यसै बित्यो।

भोलिपल्ट रातेकी आमा, भुन्टेका बा सबै बाघडाँडाको भुइँतिर एकोहोरो ध्यान दिएर चाहार्दै यार्सा खोज्न थाले । हाटबजार जस्तै भीडभाड रहेछ यार्सा खोज्नेको । यस्तो देखेर राते छक्क पर्‍यो । केहीबेरपछि ऊ आमाको छेउमा गयो । अनि बिस्तारै भन्यो, ‘कति गाह्रो पो रहेछ यार्सा खोज्न ! बरु स्कुल जाँदा नै सुख थियो । यस्तो अप्ठ्यारोमा हामी किन आउनु परेको ? ’ रातेको कुरा सुनेर आमाले भनिन्, ‘के गर्नु र बाबै ! यार्सा बटुलेको पैसाले नि चामल किन्नुपर्छ । घर चलाउनुपर्छ । तिमीहरूलाई स्कुल नि पठाउनुपर्छ । रोल्पामा यति नगरे त सुख कहाँ छ र !’ आमाको कुरा सुनेर राते एकैछिन गम्भीर भयो । अनि एकछिनमा पर गएर साथीसँगै अल्मलिन थाल्यो ।

बाघडाँडामा पुगेको तेस्रो दिन थियो । उनीहरूले भर्खर यार्सा टिप्ने मेसो पाउँदै थिए । त्यसदिन अचानक बाघडाँडामा ठूलो आधीहुरी चल्न थाल्यो । डाँडै ढाक्ने गरी हिउँको बिस्कुन लाग्न थाल्यो । टहरा पनि ढल्लान्झैँ गरेर हुन्डरी आयो । सबैजना भगवान्को नाम लिँदै टहरामुनि पुगे । राते र उसका साथीहरू डर र चिसाले कालानीला भए । सबैका हातगोडा ठिहिर्‍याएर नीला भए । त्यस रात उनीहरूले आगो पनि बाल्न सकेनन् । उनीहरू रातभरि भोकै र चिसै भए ।

चिसाले अरूलाई भन्दा रातेलाई ज्यादा सतायो । उसलाई एकोहोरो खोकी पनि लाग्न थाल्यो । अरू पनि रातभर सुत्न सकेनन् । उज्यालो हुनै लाग्दा रातेलाई पखाला पनि लाग्न सुरु भयो । उसको हालत देखेर आमा आत्तिइन् । उनले सँगै गएका झाँक्री बालाई जोखाना हेर्न लाइन् । जानेबुझेको जडीबुटी पनि खुवाइन् । रातेको बिराम भने बिसको उन्नाइस भएन । सबैजना आत्तिए । वल्लापल्ला टहरामा हल्लाखल्ला चल्यो । पल्लो टहरामा बस्ने धने दौडँदै आयो । उसले आफ्नो खल्तीबाट एउटा जीवनजल झिकेर दियो । लु दिनुस् रातेलाई । बल्लतल्ल रातेले औषधि खान पायो ।

बिस्तारै उसको बिराम बिसेक हुन थाल्यो । अब भने उसले बोल्यो, ‘स्कुल जाने कलिला बच्चालाई यस्तो लेकमा ल्याउनै नहुने । न त यसले यार्सा खोज्न नै सक्छ । धन्न मैले बचेको पैसाले औषधि किनेको थिएँ ।’ धनेको कुरा सुनेपछि सबैलाई कमजोरीको महसुस भयो ।

धेरै दिनपछि आज राते स्कुल गयो । उसलाई आफ्नो यार्सा खोज्न गएको कहानी साथीलाई सुनाउने कम हतारो थिएन । रत्ति नबिराइ साथीहरूलाई सबै कुरा सुनायो । साथीहरूले खुब उत्सुक भएर सुने । तिनमा धेरै त यस पटक यार्सा खोज्न जान नपाएकाले आफ्ना बाबुआमासँग रिसाएका र अर्को साल लैजाने बाचा गराएकाहरू पनि थिए । एक कान दुई कान हुँदै यो कुरा स्कुलका शिक्षकले पनि थाहा पाउनुभयो ।

उहाँले आजको कक्षामा किताबको पाठ नपढाइ यार्सा खोज्नेहरूकै भोगाइबारे सुनाउनुभयो । उहाँसँग त रातेका भोगाइजस्ता अनुभवका धेरै फेहरिस्त नै रहेछन् । यसपछि रातेका साथीहरूले यार्सा खोज्न जाने कुरा रमाइलाका लागि होइन रहेछ भन्ने थाहा पाए । उनीहरूले मनमनै आपूm ठूलो भएपछि मात्र यार्सा खोज्न जाने संकल्प गरे ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2