MENU

कार्टुन्ज क्रुको क्रेज बढाउँदै कीर्तिपुरका युवा

635x90_1

रामकला खड्का शुक्रवार, साउन २७, २०७४ 10722 पटक पढिएको

Share This

635-X-85

कीर्तिपुरमा बस्ने केही युवा मिलेर नृत्य समूह सुरु गरे, 'ब्वायज अफ कीर्तिपुर' । केही वर्षपछि यसका सदस्य अन्यत्र गए । संस्थापकमध्येका सरोज अधिकारीको पहलमा सन् २०१० मा सुरु भयो कार्टुन्ज क्रु । टेलिभिजनमा कार्टुन हेर्दा जति रमाइलो हुन्छ, त्यही अनुभूति सबैले गरून् भन्ने उद्देश्यले समूहको नाम 'कार्टुन्ज क्रु' जुराएको उनको भनाइ छ । सुरुमा बी बोइङमात्रै गर्दै आएको यो समूहले सन् २०११ मा भएको राष्ट्रव्यापी बी बोइङ प्रतियोगितामा जितेर भारतको चेन्नईमा 'ब्याटल अफ द इयर'मा भाग लिने अवसर पायो । समूह सेमिफाइनलसम्म पुगेको थियो ।

सन् २०१५ मा चीनमा भएको वल्र्ड लिजर गेममा पनि १७ भन्दा धेरै देशका प्रतियोगीसँग भिडेर उनीहरू दोस्रो भएका थिए । सोलो ब्याटलमा आस्मा बी बोइङमा केटालाई समेत उछिनेर सेमिफाइनलमा पुगिन् । आफ्नो पहिलो कभर भिडियो जालमा युट्युबमा भाइरल भएपछि काटुन्ज क्रु निकै हौसियो । त्यसपछि उनीहरूका गीत हिट हुँदै गए । त्यसमध्ये पानी पर्‍यो र नाइँ मलाई थाहा छैन करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् । कुनै पनि भिडियो सुट गर्दा उनीहरू एकअर्कासँग चल्छन्, रमाउँछन् र आफूभित्रको रमाइलोपनलाई भिडियोमा देखाउने प्रयास गर्छन् ।

आफूले वास्तविक जीवनमा पूरा गर्न नसकेका कुरा भिडियोमा पात्रमार्फत देखाउने गर्छन् उनीहरू । कुनै पनि भिडियोको कन्सेप्ट डिरेक्सन सरोजले गरे पनि कोरियोग्राफी सबै मिलेरै गर्छन् । लोक शैलीको नेपालीपन झल्कने गीतमा भिडियो गर्न रुचाउने उनीहरू आफूले गर्ने कुनै पनि नयाँ गीतमा पहिलेको भन्दा अझै राम्रो प्रस्तुति दिने प्रयत्न गर्छन् । पैसाका लागि आफूहरूले काम नगरेकाले सुरुमा पैसा नहुँदा सबैले उठाएरै भिडियो बनाएका उनीहरूको भनाइ छ । अहिले परिवार, साथीभाइ र प्रशंसकको साथ पाएकोमा क्रुका सदस्य दंग छन् ।

कसैको गीतमा नाच्दा उनीहरूले एकदेखि डेढ लाख रुपैयाँसम्म पारि श्रमिक लिन थालेका छन् । तर, सबैलाई बाँड्दा त्यो रकम नगन्य हुन्छ । समूहमा आस्मा, लाक्पा, रामलगायतले राम्रो गाउन पनि सक्छन् । त्यसैले अबका दिनमा आफ्नै समूहले गीत निकालेर त्यसमै भिडियो बनाए पछिसम्म टिक्न सजिलो हुने उनीहरूको सोच छ । कभर सङ गरेर जति नै चर्चा कमाए पनि प्रतिलिपि अधिकारका कुराले गर्दा आफूहरूले डाइरेक्ट भिडियो गर्न थालेको सरोजले बताए । आफ्नै खेतमा हलो नजोती फल खान पाइन्न भन्ने निष्कर्षमा यो समूह पुगेको छ ।

आस्माको घरमा विवाहको कुरा गर्न उनकी आमा नै डराउँछिन् उनीसँग । तीन वर्षसम्म आफूलाई कुरेर बसेको केटालाई समेत नाइँ भनिदिइन् उनले । समूहका सदस्य दैनिक पाँच ६ घन्टा एउटै हलमा बसेर नृत्य अभ्यास गर्छन् । त्यसैले परिवार भने पनि, साथी भने पनि एकअर्का नै हो भन्ने सबैले एकै स्वरमा भने । कहिलेकाहीँ साथीहरू ढिला आइपुगे सरोजले हप्काउने गर्छन् । तर, यही ठाकठुकले आफूहरूबीचको सम्बन्ध झन् गाढा बन्दै गएको उनीहरूले बताए । यस क्षेत्रमा उनीहरूको कुरा काट्ने पनि छन् । तर, त्यसबाट विचलित नभई सकारात्मक रूपमा लिएर आफूलाई नै सुधार्ने कोसिस गर्छन् उनीहरू ।

यस क्षेत्रमा लागेका व्यक्तिहरूबीच एकअर्कामा एकता हुनुपर्ने र एकले अर्कालाई सम्मान गर्ने परिपाटी बसाउनुपर्ने उनीहरूको धारणा छ । सरोज अधिकारीको स्थायी घर महोत्तरी बर्दिबास भए पनि सानैदेखि सरोज कीर्तिपुर पाँगामा नै हुर्किए । विद्यालयका हरेक कार्यक्रममा उनलाई नाच्न लगाउँथे । त्यसैले उनलाई स्कुल लाइफ सेलिब्रेटीकै रूपमा लिन्छन् उनका साथीहरू । नृत्यलाई निरन्तरता दिएका कारण पढाइ पूरा गर्न नसकेकोमा उनलाई दु*ख लाग्छ । तर, अझै उमेर बाँकी रहेकाले पढ्ने रहर छ उनमा । मन खोलेर नाच्दा दामी देखिन्छ भन्ने उनलाई लाग्छ । जीवनभर यही क्रुमा आबद्ध भएर यसलाई नेपाली सांगीतिक क्षेत्रमा एक इतिहास बनाउने उनको सोच छ ।

नेपाललाई विश्वमा चिनाउँछु -आस्मा विश्वकर्मा

सानैदेखि नृत्यमा सोख थियो । एक दिन आफ्नो मिल्ने साथी सुरज मगरले बी गर्ल नामक चलचित्र देखाएपछि उनलाई बी बोइङ केटीले पनि गर्नसक्ने रहेछन् भन्ने लाग्यो । उक्त नृत्य युट्युब हेर्दै सिक्न थालिन् । धरानकी आस्मा जोरपाटीमा बस्छिन् । कार्टुन्ज क्रुमा आबद्ध भइसकेपछि परिवारबाट पनि साथ पाउँदै गइन् । उनले आफ्नो समूहका पाँचजना साथीबाट आफ्नै परिवारको दाजुभाइभन्दा पनि बढी साथ र सुरक्षा पाएकी छन् । बी गर्लको रूपमा परिचित आस्मा आफ्नो समूहकै माध्यमबाट विश्वमा नेपालको नाम चिनाउन चाहन्छिन् ।

 

नाचेकै पैसाले एसएलसी पास -राम घले गुरुङ

नुवाकोट घर भई लाजिम्पाटमा बस्दै आएका राम घले गुरुङ पहिले जिन्म्यास्टिक गर्ने गर्थे । पछि गएर एक्सन चलचित्रको हिरो बन्छु भन्ने उनलाई लागेको थियो । तर, त्यति बेला बी बोइङको ट्रेन्ड चलेकाले उनी पनि ठमेलमा गएर यो नृत्य सिक्न थाले । उनको एसएलसीको परीक्षा हुँदा जहिले पनि कुनै ठूलो प्रतियोगिता पर्ने गरेकाले उनले परीक्षामा ध्यान केन्द्रित गर्न सकेनन् र चारपटकसम्म अनुत्तीर्ण भए । पछि आस्माले एक कार्यक्रम गरेर दिएको पाँच हजार रुपैयाँले फारम भरेर उनी उत्तीर्ण भए । हाल १२ कक्षा दिएर बसेका उनी अहिले भने सबैको साथ पाएकोमा दंग छन् ।

 

 

अस्पतालमा पनि सिक्न जान्थेँ -लाक्पा लामा

काभ्रेका लाक्पा लामो समयदेखि स्वयम्भूमा बस्दै आएका छन् । विद्यालयमा ठूला दाइहरूले गरेको देखेर उनलाई पनि नृत्यमा रुचि जाग्यो । नृत्यमा लाग्दा उनका दाइले पढाइमा नै ध्यान दिन भन्थे । तर, उनी नृत्य अभ्यासका लागि घरबाट भागीभागी हिँड्थे र कहिले खुला चौरमा त कहिले अस्पतालको मार्बल भएका ठाउँमा गएर गर्ने गर्थे । पछि गएर एउटा रेस्टुरेन्टमा काम गर्ने गरेका उनलाई क्रुको तर्फबाट प्रस्ताव आएपछि समूहमा आबद्ध भए ।

 

पानी ल्याउने निहुँमा नृत्य -सुबिन चौहान

भोजपुरका सुबिन बानियाँटारमा बस्छन् । पहिले उनी फ्लिप गर्ने गर्थे । साथीहरूले दामी छ भनेपछि उनको हौसला बढ्दै गयो । रामले बी बोइङ गरेको देखेर उनलाई पनि गर्न मन लाग्यो । रामको घरमा पानी लिन जाने निहुँमा उनी ग्यालिन बोकेर अलि चाँडै नै जान्थे । त्यही निहुँमा नृत्य अभ्यास गरेर बस्थे । घरमा बसे काममात्रै लगाउने देखेर उनी साथीको घरमा गएर नृत्य सिक्थे । सरोज अधिकारीले बोलाएपछि क्रुमा आबद्ध भएको उनले बताए ।

 

पहिले नाच्न लाज लाग्थ्यो -विकास राई

विकासलाई नाच्न साह्रै लाज लाग्थ्यो । हाउभाउचाहिँ उनी देखाउँथे तर नाच्न आउने थिएन । स्टेप अप नामक एक अंग्रेजी चलचित्र हेरेपछि उनलाई जोश र जाँगर बढ्यो । क्रुमा आबद्ध भएपछि उनलाई स्वतन्त्र महसुस भयो र आफूले चाहेको कुरा प्रस्तुत गर्न पाएको पनि भान भयो । स्नातकोत्तर तहको तेस्रो वर्षसम्म पनि उत्तीर्ण हुन नसकेपछि उनी पुन* बीबीएमा भर्ना भए । नृत्यमै व्यस्त भएर पढाइमा समय दिन नसके पनि हार मान्ने भने उनको बानी छैन ।

 

 

 

कार्टुन क्रुका चर्चित भिडियो 

 

पानी पर्‍यो


नीर जहिले


ल्याङ ल्याङ


नाइँ मलाई थाहा छैन


माया माया


कान्छी मायालु


मोटरसाइकल 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2