MENU

कविता भर्सेस ब्राह्मणवाद

635x90_1

अभय श्रेष्ठ शनिवार, साउन २८, २०७४ 6917 पटक पढिएको

Share This

635-X-85

'लोकतन्त्रको अमानवीय संकटका बेला

कवितामार्फत
बचाउन सक्छु म
वामपन्थलाई'
यही एक मात्र विचारले
लेख्छु म कविता
अन्यथा यो यति दुस्साध्य र कष्टप्रद छ
कि कुनै पनि व्यक्ति
मर्न चाहन्छ
एक्लै, शान्तिपूर्वक ।
-धूमिल (भारतीय कवि)
कविताको मर्यादा

सेलिब्रिटीजस्तै सर्वत्र चिनिनु, वाहवाही कमाउनु छ भने कविता उपयुक्त माध्यम होइन । त्यसका लागि खेलाडी, स्टेज तताउने पप गायक, सुपरस्टार, हास्य कलाकार वा पोर्नस्टार हुनु बेस कुरा हो । त्यसैले कविता वा साहित्यका पाठक, श्रोताको संख्या व्यापक हुँदैन । त्यसले तपाईंलाई राजेश हमाल, मनीषा कोइराला, इन्दिरा जोशीलाई जस्तो स्टार बनाउँदैन । अखबारका नियमित स्तम्भकारलाई जति पनि चिनाउँदैन ।

Avaya-shresth-(1)तर, कविताले तपाईंभित्रको असहमत पात्रलाई वाणी दिन्छ र वामपन्थलाई प्राण दिएर बचाइराख्छ । त्यसले नै ठूलाठूला परिवर्तनका लागि विचार निर्माण गर्छ । विचार निर्माणको स्रोतकेन्द्र धेरै फराकिलो नभए पनि त्यसको दीर्घकालीन र परोक्ष प्रभाव व्यापक हुन्छ । मिडिया कभरेज, विज्ञापनबाजी, बिक्रीको कृत्रिम आँकडा र प्रकाशन गृहहरूको प्राथमिकता देख्दा उपन्यास नेपाली साहित्यको मूलधार हो कि भन्ने भान पर्न सक्छ । यथार्थ जे भए पनि उपन्यासको हाट-बजार लामो समय गुलजार रहन मुस्किल छ । कविता मानव समाजको आदिम युगदेखिकै सिर्जनाको मूलधार हो । बजार, प्रकाशक र अखबारलाई उति रुचिकर नलागे पनि सिर्जनाको यस धारलाई छेक्न असम्भव छ ।

चर्चामा कवि

नेपाली साहित्यमा आज अनेक समूह छन् । त्यही समूहभित्र पनि अनेक गुट छन् । ती समूह र गुटमा नरहेका वा तिनले नरुचाएका लेखक जति राम्रो लेखे पनि उपेक्षित हुन्छन् । गुटमा छिर्नेहरू नै सदैव चर्चामा रहन्छन् र तिनैले अवसर पाइरहेका हुन्छन् । (यो त्यस्तै कुरा हो जस्तो कि आजका उत्पात पढैया भनिएका व्यक्तिले शिवकुमार राईको 'डाक बंगला', केशवराज पिँडालीको 'एकादेशकी महारानी', डीपी अधिकारीको 'धर्ती अझै बोल्दैछ'जस्ता गहिरो अन्तर्दृष्टियुक्त उपन्यासको नामै सुनेका छैनन् । 'शिरीषको फूल' भनेर मरिहत्ते गर्नेहरूले पारिजातकै अर्को बेजोड उपन्यास 'पर्खालभित्र, पर्खालबाहिर' पढेका छैनन् । चर्चा र हल्लाको बजारमा राम्रा कृतिहरू अक्सर यसरी ओझेल पर्छन् । तर, युगान्तकारी त तिनै कृति ठहर्छन् !)

चर्चा यस्तो कारखाना हो जसले अरू धेरै चर्चालाई जन्माउँछ । तर, चर्चा नामको अनर्गल हल्ला हटाइदिने हो भने कतिपय चर्चितका कवितामा कविता पूरै गयल भेटिन सक्छ । अर्कातिर, हल्ला र चर्चाको बजारमा, मिडियामा बारम्बार नाम नआउँदैमा कवि सकियो भन्ने पनि हुँदैन ।

गोपालप्रसाद रिमाल किन अविस्मरणीय छन् भने उनले कवितामा चेतनाको मुहान खोले । भूपि किन प्रिय छन् भने उनले नेपाली समाजको चरित्रमाथि मार्मिक भाषामा युगीन व्यंग्य गरे । वासु शशीले 'देश अर्थात् देश खोइ', वैरागी काइँलाले 'मातेको मान्छेको भाषण..', विमल निभाले 'हत्यातन्त्र', 'इच्छा', श्यामलले 'छाला', 'लुतो', गोविन्द वर्तमानले 'अस्तित्वसोच', आहूतिले 'गहुँगोरो अफ्रिका', पूर्णवरामले 'गोविन्दले ठीक भन्यो', कृष्णभूषण बलले 'काठमाडौँ एक्लैले काठमाडौँ बोक्न सक्दैन', विक्रम सुब्बाले सगरमाथा 'नांगै देखिन्छ', श्रवण मुकारुङले 'अनुहार खोजिरहेछ रामभरोस'जस्ता उच्च राजनीतिक कविता लेखेकाले ती स्मरणीय छन् । 'साला पहाड मे क्या है', 'गाउँको पाठशाला', 'जर्सापको कुकुर', 'बतास'जस्ता थोरै कविता लेखेर पनि मीनबहादुर विष्टलाई प्रेमपूर्वक स्मरण गरिन्छ । 'के तपाईं मलाई चिन्नुहुन्छ महाशय'जस्ता कविता लेखेर हरि अधिकारी अनि जीवन र जगत्का अनेक विडम्बनालाई कवितामा तिख्खर वाणी दिएर शैलेन्द्र साकार स्मरणीय छन् । तर, गुट वा समूहले चर्चित बनाएका कैयन् यस्ता लेखक, कवि छन् जसका एउटै रचना सम्झनलायक हुँदैनन् ।

पछिल्लो पुस्ता

चर्चाले लेखकको कृतितर्फ ध्यानाकर्षण गराउँछ । पाठकलाई झकझकाउँछ । त्यतिका भरमा लेखक दीर्घजीवी र उत्कृष्टचाहिँ हुँदैन । विचार र कलाचेतनाको गहिराइमा पुग्न सक्ने लेखक नै सदैव स्मरणीय हुन्छ ।

अनर्गल हल्ला र गुटवाजीबाट बिलकुल भिन्न दुनियाँमा रहेर समकालीन विडम्बनामाथि उच्च स्तरको राजनीतिक व्यंग्य गर्नसक्ने बेजोडा कवि हुन्- सुरेश किरण । उनको एउटा कविताको शीर्षक छ, 'घण्टाघर मसँग समय सोधिरहेछ ।' यो शीर्षकले मात्र पनि कति ठूलो कविता बोकेको छ ! पहिचान मुद्दाका सर्वाधिक अनिन्द्य कविता लेख्ने कवि हुन्- भूपाल राई । सरिता तिवारीले 'हे देवी' कवितामा कुनै युगमा शक्तिस्वरूपा नारी सामन्ती युगमा दासी हुँदै आधुनिक भोगवादी युगमा कसरी भोग र शृंगारको साधनमा परिणत भई भन्ने इतिहासको सटिक लेखा तिख्खर भाषामा उतारेकी छन् । उनले नारीको त्यस अवस्थाप्रति तीव्र विद्रोह प्रकट गरेकी छन् ।

सरस्वती प्रतीक्षाले 'तथागत, मलाई उत्खनन गर'मा बुद्ध र सुजाता सम्बन्धको प्रचलित कथाकै विनिर्माण गरेर नारीको प्रेम र उत्कण्ठाको तीक्ष्ण अभिव्यक्ति दिएकी छन् । यी कविता सरिता र सरस्वतीलाई बचाइराख्ने कविता हुन् । विनोदविक्रम केसीको 'भूमण्डलीकरण', लक्ष्मी मालीको 'आमा तिम्रो नाम के हो ? ', निभा शाहको 'दैया', केशव सिलवालको 'चिबे चरा', संगीत श्रोताको 'खुट्टा' तिनलाई सम्झाइराख्ने कविता हुन् । विप्लव ढकाल, मनु मन्जिल, भूपिन, सीमा आभास, उपेन्द्र सुब्बा, हेम प्रभास, हेमन यात्री रुचाइएका कवि हुन् ।

युमा, स्वप्निल स्मृति, मि श्र वैजयन्ती, राजा पुनियानी, मनोज बोगटी, राजन मुकारुङ, प्रकाश थाम्सुहाङ, सुन्दर कुरूप, मुनाराज शेर्मा, सुवास खनाल, चन्द्रवीर तुम्बापो, विश्व सिग्देल, हरिशरण परियार, केवल विनाबी, सुदीप पाख्रिन, मुक्तान थेवा, शकुन्तला जोशी, प्रकाश गुरागाईं, राजु स्याङ्तान, हरिशरण परियार, हरिहर तिमल्सिना, नवीनप्रकाश श्रेष्ठ, अनिल श्रेष्ठ, रामगोपाल आशुतोष, ज्वालामुखीजस्ता वैचारिक कविको बेग्लै छाप छ । भीष्म उप्रेती, प्रकाश सायमी, रमेश क्षितिज, ज्योति जंगल, टंक उप्रेती, अमोघ काफ्ले, सुमन पोखरेल, निमेष निखिल, दीपक सापकोटा, शान्ति प्रियवन्दना, मुकुन्द पोखरेल, नरेन्द्रकुमार नगरकोटी, विजय सापकोटा, चन्द्र गुरुङ, हरिश अधिकारीहरू ऊर्जासहित लेखिरहेका छन् । कन्फर्मिस्ट कविहरू मणि लोहनी, आरएम डंगोल, विमला तुम्खेवा, बाबु त्रिपाठी, प्रोल्लास सिन्धुलीय, नवराज लम्साल, ठाकुर बेलवासे एवम् भर्खर लेख्न थालेका देवकी अभिलाषी, सुनीता खनाल, अमृता स्मृति अन्य चर्चित केही नाम हुन् ।

साहित्य महोत्सव र ब्राह्मणवाद

कविताको मर्यादा र चर्चाबाट अब साहित्यिक क्षेत्रमा अभ्यास भइरहेको ब्राह्मणवादतिर एक दृष्टि लगाऊँ । विगत केही वर्षदेखि हल्लाको बजारमा कला, साहित्य महोत्सवहरूको भाउ बेसाहा चर्कै छ । यीप्रति लेखक र पाठकको आकर्षण किन छ भने तिनमा पर्याप्त मिडिया कभरेज, एकाध अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागिता, केही डिस्कोर्स र धेरै रामरमिता हुन्छन् । अत: यिनमा सहभागी अधिकांश लेखक आयोजकप्रति नतमस्तक भएर फर्केका भेटिन्छन् ।

यही प्रकृतिका नभए पनि हरेक वर्ष दसैंपछि भक्तपुरमा साहित्य त: मुज्या, विराट नेपालभाषा साहित्य सम्मेलन हुँदै आएको छ । मूलत: नेपालभाषाको कार्यक्रम हुनाले यी कार्यक्रमका मिडिया कभरेज लगभग शून्य हुन्छ । जब कि त: मुज्याले नेपालभाषाका अतिरिक्त नेपाली र अन्य सीमान्तकृत भाषाका साहित्यलाई पनि ठाउँ दिँदै आएको छ । अनि सर्वसाधारणलाई जानकारी दिन साहित्यका अतिरिक्त स्वास्थ्य, राजनीति, कानुन, भाषा, विकास, भूगोल आदिका जानकारलाई पनि प्रस्तुत गर्छ ।


यता, राष्ट्रिय रूपमा सबैभन्दा प्रचारित साहित्य महोत्सवहरूमा भने सहभागी ९० प्रतिशतभन्दा बढी लेखक सुरुदेखि अहिलेसम्म उही देखिन्छन् । कार्यक्रम सञ्चालक उही । प्यानलिस्ट उही । बहसको विषय पनि उही र उस्तै । वक्ताले भन्ने कुरा पनि उही । त्यहाँ लेखनमा भन्दा बढी लेखकमा 'सेक्स अपिल' खोजिन्छ । शक्तिशाली महिला लेखकले भन्दा बढी ग्लेमरस मोडल र हिरोइनले ठाउँ पाउँछन् ।

नेपाल संविधानत: धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्र र छुवाछूत मुक्त राष्ट्र हो । भौगोलिक रूपमा सानै भए पनि यहाँ विविध संस्कृति, भाषा, चालचलन, रहनसहन भएका समुदाय छन् । यी सबैको समग्र स्वरूप नेपाल हो । नेपाली भन्नाले खस नेपाली भाषामात्र नभई सबै भाषाको समग्र रूप हो । हो, खस नेपाली माध्यम भाषा भएकाले अधिकांश कार्यक्रम यसमै हुनु स्वाभाविक हो । माध्यम भाषा भएका नाताले अन्य भाषाका साहित्य, संस्कृति र गतिविधिको पनि सही सूचना दिनु यसको दायित्व हो ।

देशकै 'बिकाउ लेखक' सहभागी हुने यी महोत्सवहरूको स्वरूप भने अझै एकजातीय, एक संस्कृतियुक्त र एकभाषिक र ब्राह्मणवादकै सिकार भएझैं लाग्छन् । त्यहाँ खस परम्पराकै नेवार कवि तीर्थ श्रेष्ठलाई त समेटिन्छ तर नेपालभाषा कविताको समृद्ध परम्पराबारे कुनै सेसन हुँदैनन् । न त नेवार समाजको संघर्ष र सांस्कृतिक लेखन गर्ने कुनै लेखक वा कवि समेटिन्छन् । त्यहाँ सीके लाललाई राजनीतिक बहसमा त समेटिन्छ तर मैथिली, भोजपुरी, अवधि साहित्यबारे कुनै बहस हुँदैनन् । न त्यहाँ थारू भाषा, साहित्यबारे कुनै बहस हुन्छन् । आहुतिबाहेक कुनै दलितको नामसमेत त्यहाँ उच्चारित हुँदैन । उनी पनि नहुँदा हुन् त दलित सौन्दर्यशास्त्रबारे कुनै छलफल हुँदैनथ्यो । थर्काउन र स्वर ठूलो गर्न नसकेका भए आजका राई, लिम्बू कविले पनि ढिम्किन पाउँदैनथे ।

खगेन्द्र संग्रौला र सुरेश किरण वा राजेन्द्र महर्जनले खस नेपालीमा लेख्नु एकै कुरा होइन । नयनराज पाण्डे र रोशन शेरचन, कृष्णराज सर्वहारी, नवीन विभाष, टीकाराम उदासी वा उदय जीएमले त्यही भाषामा लेख्नु पनि उही कुरा होइन । कृष्ण धरावासी र स्नेह सायमीले उही भाषामा लेख्नु पनि एकै कुरा होइन । देख्दा सामान्य लागे पनि देवकोटा र भूपि शेरचन अनि धच गोतामे र सरुभक्त ( श्रेष्ठ) ले उही भाषामा लेख्नु पनि एकै कुरा होइन । खस आर्य समुदायमा खस नेपाली भाषा रगतमै घोलिएर आएको हुन्छ ।

जब कि विमातृ भाषी नेपाली लेखकले खस नेपालीमा लेख्ने एउटा सिंगो संस्कृति, भाषा र सभ्यता नाघेर आउनुपर्ने हुन्छ । जनजातीय भाषामा खस आर्यले लेख्नुपरे तिनको हालत पनि यही हुन्छ । तैपनि विमातृ भाषीले पनि खस नेपाली भाषीकै प्रतिस्पर्धामा लेख्नु सामान्य कुरा होइन । तर, यहाँ त हामीमध्ये धेरैलाई अछूतजस्तै र यस भाषामा तिम्रो कुनै अधिकार छैन भनेजस्तो व्यवहार गरिन्छ । सायद यही प्रवृत्तिको जबाफ दिन भदौ अन्तिम साता राजधानीमा नेपालभाषा साहित्य नख: (उत्सव) हुँदैछ ।

पहिचान र नश्लवाद

अपने हि तो है जो दिल पे वार करते है फराज
बरना गैरौं को क्या खबर कि दिल कि जगह कौन सी है
-अहमद फराज

ब्राह्मणवाद जातिवादकै अर्को नाम हो । महाभारतमा द्रोणाचार्यले 'क्षत्रीय राजकुमारलाई मात्र धनुर्विद्या सिकाउँछु, शूद्रलाई होइन' भनेर निषाध कुलका एकलव्यलाई अस्वीकार गर्नु, द्रौपदीले सूतपुत्रलाई पति मान्दिनँ भनेर मत्स्यवेद प्रतिस्पर्धाबाट कर्णलाई बहिष्कार गर्नु, अर्जुनसँग प्रतिस्पर्धा गर्न क्षत्रीय राजकुलकै हुनुपर्छ भनेर कृपाचार्य र कुरुराज्यका भारदारले कर्णलाई अस्वीकार गर्नु नश्लवाद थियो ।

यता, पहिचानको मुद्दा भने ठ्याक्कै नश्लवादको प्रतिरोधमा आएको हो । अहिले चलिरहेको सत्ता खस नेपाली भाषा, हिन्दु धर्म, पहाडी राष्ट्रवादको वर्चश्व भएको ब्राह्मणवादी सत्ता हो । पहिचानको मुद्दाले त्यसलाई खारेज गरेर सबै जाति, भाषा, सांस्कृतिक निजता, वर्ग, क्षेत्र र समुदायलाई समान राजनीतिक अधिकार र मान्यता देऊ भनेको हो । खासमा यो जातीय कुरै होइन, बरु एकजातीय वर्चश्वविरुद्ध सहअस्तित्वको माग हो ।

यता, केही राई, लिम्बू कविहरू पहिचानको मुद्दालाई आन्दोलनमय बनाउन महत्र्वपूर्ण भूमिका खेलिरहेका छन् । तिनकै कारण कतिपय नयाँ कविका लागि पहिचानमाथि कविता लेख्नु फेसनजस्तै भएको छ । नश्लीय चेतको आवाज उठाए पनि, शब्द जे प्रयोग गरे पनि सैद्धान्तिक रूपमा तिनले खोजेको एकजातीय वर्चश्वको अन्त्य नै हो । तर, कति अर्थमा तिनले नेपाली कविता र साहित्यको इतिहास विनिर्माण गरे पनि तिनले अपनाएको रणनीति आफैंमा ब्राह्मणवादी छ भन्ने हेक्का राख्नु जरुरी छ ।

पहिचानका मुद्दामा सबैभन्दा गम्भीर र शक्तिशाली कविता लेखिरहेका भूपाल राईसमेत तिनको सूचीमा नपरेको देखिन्छ । कवितामा अत्यन्त शक्तिशाली उपस्थिति जनाएका र पहिचानका मुद्दा उठाइरहेका नेपालभाषाका कवि त तिनको सूचीमा पर्ने कुरै भएन । तर, एकसरो परीक्षण पनि नभएका कविलाई 'शक्तिशाली कवि'को सूचीमा राखेर तिनले उपद्रै गरेका छन् ।

नेपालभाषाका कविहरूले पहिचानको मुद्दा उठाएको त धेरैअघिदेखि हो । जुन समुदायका कविहरूले आफ्नो भाषामा कविता लेखेबापत जेलनेल भोग्नु परेको थियो, त्यही समुदायका शक्तिशाली कविहरूलाई कतै नदेख्नु अमेरिका नदेखेको मान्छेले संसारमा अमेरिका भन्ने देशै छैन भनेजस्तो हो ।

नेपाल प्रजा परिषद्ले गरेको राणाविरोधी आन्दोलनका क्रममा कतिलाई जन्मकैद, कतिलाई फाँसी र कतिलाई देश निकाला गरियो । नेवार समुदायका केही व्यक्ति भने विशुद्ध भाषासेवाका कारण पक्राउ परेका थिए । नेपालभाषामा कवितासंग्रह निकालेको निहुँमा चित्तधर हृदयलाई ६ वर्ष कैद र नेपालभाषामै 'वर्षा' शीर्षक आपत्तिजनक कविता लेखेको भन्दै सिद्धिचरण श्रेष्ठलाई १२ वर्ष कैद सजाय सुनाइयो । फत्तेबहादुर सिंहले त आफूले मात्र लेखेको नभई सबैको कविता जम्मा गरेर नेपालभाषामा कविता संकलन निकालेकाले जन्मकैद र सर्वस्वहरणको सजाय सुनाइयो ।

पूर्ण वैद्य, सुन्दर मधिकर्मी, बुद्ध सायमी, श्यामसुन्दर सय्जु, योगेन्द्र प्रधान, बुद्ध सायमी, आनन्द जोशी, केशवमान शाक्य, प्रतिसरा सायमी, सुदन खुस:, नर्मदेश्वर प्रधान हुँदै सुरेश किरण, नवीन चित्रकार, श्रीराम श्रेष्ठ, शाक्य सुरेन, सुधीर ख्वबी, रजनी मिला, पुष्प मुनंकर्मी, सौरभ शाक्य, बद्री वेदना आदि थुप्रै व्यक्ति नेपालभाषामा महत्र्वपूर्ण कविता लेखिरहेका छन् । तिनका कविता नेपाली भाषाका कवितालाई नै चुनौती हो । (मैथिली, भोजपुरी र अन्य भाषामा पनि थुप्रै होलान् । त्यसको सूचना नभएकोमा ती समुदायका कविहरूसँग म विनम्रतापूर्वक माफी चाहन्छु ।)

एक समय थियो होला जहाँ जनजाति समुदायका लेखकलाई लेखकै मानिन्नथ्यो । किनभने लेखपढ तिनको पुख्र्यौली पेसा थिएन । त्यो आफैंमा जातिवादी दृष्टिकोण थियो । अब जनजाति कविले पनि उही मुद्दा उठाइरहेका अन्य सुमुदायका कविप्रति त्यस्तै दृष्टिकोण राख्ने हो भने कसरी जातिवादको पर्खाल भत्काउन सकिन्छ ? यसरी अन्य समुदाय र कविको अस्तित्व बहिष्कार गर्ने गुटवादको आवरणमा देखिएको यो जति ठूलो जातिवाद अरू के हुन्छ ?

जब कुनै विचारलाई आन्दोलनको रूप दिइन्छ, त्यहाँ 'व्यक्तिवादिता' निरर्थक हुन्छ । तर, प्रगतिशील भनिएका लेखकमा जस्तै यहाँ पनि त्यही कुरा प्रभावी छ । यस्तो हुँदा कुनै स्रष्टाले शक्तिशाली कृति लेख्दा त्यसप्रति सामूहिक स्वामित्व र गर्वबोध गर्नुभन्दा बढी त्यो मैले वा मेरो मान्छेले लेखेको हो कि होइन भन्नेले कुराले बढी महत्र्व पाउँछ ।

ब्राह्मणवादको अभ्यास

नश्ल चेतको अवधारणा ब्राह्मणवादको अवधारणासँगै सुरु भएको हो । ब्राह्मणवाद वर्ण व्यवस्थाबाट सुरु भयो । भारतीय समाजशास्त्री डा. विजयकुमार त्रिशरणका अनुसार वर्ण व्यवस्थाको उल्लेख झन्डै पाँच हजार वर्षअघि सर्वप्रथम ऋग्वेदको पुरुषसूक्तमा भएको हो । ऋग्वेदको दसौं मण्डलको ९०औं सूक्तमा पुरुषसूक्तको वर्णन छ । त्यसको एक स्तुतिअनुसार आदिपुरुष प्रजापति ब्रह्माको उत्पत्ति सृष्टिपूर्व नै भइसकेको थियो । उनका सन्तान देवताहरूले उनलाई 'दैविक बलि' चढाए ।

फलस्वरूप ब्रह्माको मुखबाट ब्राह्मण, हातबाट क्षत्रीय, जाँघबाट वैश्य र खुट्टाबाट शुद्र उत्पत्ति भए । त्यसैगरी, मुखबाटै इन्द्र र अग्नि, मस्तिष्कबाट चन्द्रमा, आँखाबाट सूर्य, श्वासबाट हावा, नाभीबाट वायु अनि यही 'दैविक बल'बाट 'पवित्र सिद्धान्त' उत्पत्ति भयो । पुरुषसूक्तको मन्त्र संख्या ११ र १२ मा चार वर्णको उत्पत्ति ईश्वरले नै गरेको मात्र उल्लेख छ । यसैलाई यजुर्वेद र अथर्ववेदमा पनि उल्लेख गरियो । उत्तरवैदिक हिन्दु धर्मग्रन्थहरूले वर्णलाई चार सामाजिक वर्गको प्रतिनिधिका रूपमा व्याख्या गरे ।

ब्राह्मणवादप्रति असहमति राखेर विद्रोह गर्ने सम्भवत: पहिलो उल्लेख्य व्यक्ति बुद्ध थिए । उनले आफ्नो संघमा उपाली, सुनीत, स्वास्तीलगायत शूद्रलाई विशेष प्राथमिकता दिएर वर्ण व्यवस्थालाई धुलो चटाइदिए । त्यसकै प्रतिरक्षाका रूपमा ब्राह्मण राजा पुष्यमित्रको कालमा मनुद्वारा ईश्वी पूर्व १५० मा रचित 'मनुस्मृति' आयो । यसमा चार वर्णको विस्तारित व्याख्या र विशेष वर्णन गरियो । यसलाई हिन्दु समाजको दण्ड विधानका रूपमा व्याख्या गरी पहिलोपल्ट संस्थागत गर्ने काम भयो । भारतीय मानवशास्त्री चन्द्रभान प्रसादका अनुसार, यसमै पहिलोपल्ट शूद्रमाथि सामाजिक, शैक्षिक, आर्थिक, धार्मिक तथा राजनीतिक निषेधको व्यवस्था गरियो ।

अर्कातिर ब्राह्मणलाई हरेक प्रकारले विशेषाधिकार दिई सर्वोच्च पदमा स्थापित गरियो । ब्राह्मणको काम धर्मग्रन्थ पाठ गरी पुरोहित्याइँ गर्नु, क्षत्रीयको काम लडाइँ, वैश्यको काम व्यापार र शूद्रको काम यी तीन समुदायको सेवा गर्नु तोकियो । ब्राह्मण जति मुर्ख भए पनि देवता, भूदेव, क्षत्रीय जति अशक्त भए पनि लडाकु, नेवार (वैश्य) जति अल्छी भए पनि व्यापारी, किसान अनि शूद्र जति विद्वान् र योग्य भए पनि निन्दनीय हुने भयो ।

यसलाई एक कदम अघि बढेर नवौं शताब्दीको पूर्वाद्र्धमा शंकराचार्यले हिन्दु धर्मको आधारशिला खडा गरे । उनको यो कदम त्यतिखेर ज्ञानमार्गका रूपमा प्रख्यात र व्यापक भएको बुद्ध दर्शनको प्रतिरक्षामा आएको थियो । त्यस क्रममा उनले भेटेसम्मका बौद्ध दर्शन र साहित्यलाई खरानी पारिदिए । पछि जयस्थिति मल्ल, राम शाह, पृथ्वीनारायण शाह, जंगबहादुर राणा, राजा महेन्द्रले यसलाई संस्थागत गरे । राजा ज्ञानेन्द्र हुँदै अहिलेको राप्रपा नेपालदेखि अन्धराष्ट्रवादीले यसलाई जोगाउन अनेक प्रयत्न गर्दैछन् ।

ब्राह्मणवादको पञ्जा

इतिहासमा ब्राह्मणवादविरुद्ध जेजति विद्रोहहरू भए, तीमध्ये धेरैजसो पछाडि आफैं ब्राह्मणवादको सिकार बन्न पुगे । वेद, ईश्वरको अस्तित्व, जातिभेद, वस्तुको अमरतामाथि बुद्धले प्रश्न उठाए । ईश्वरवादका प्रखर आलोचक तिनै बुद्धलाई पनि पण्डाहरूले ईश्वरको जामा पहिर्‍याएर धर्मको व्यापार गरे । आज संसारमा सबैभन्दा बढी बुद्धकै मूर्तिहरूको व्यापार र पूजा हुन्छ । उनकै नाममा संसारमा सबैभन्दा धेरै मन्दिर बनेका छन् । तिनै बुद्धलाई भगवान् विष्णुको नवौं अवतार भनी व्याख्या गरियो । बुद्ध दर्शनमा यसरी पुरोहितवाद छिर्‍यो ।

ब्राह्मणवादविरुद्ध भनिएको पहिचानवादी आन्दोलनलाई सेन्समा बुझिएन भने त्यसको हालत पनि बुद्ध दर्शन धर्ममा परिणत भएजस्तै हुन सक्छ । अनि, त्यहाँ पनि जातिवादकै अभ्यास हुनुपुग्छ । प्रस्ट छ, हरेक खालका जातिवादहरू ब्राह्मणवादकै स्वरूप हुन् । यसलाई मनुवाद, पुरोहितवाद, भाग्यवाद आदि जे नाम दिए पनि हुन्छ । ब्राह्मण समुदाय सबै ब्राह्मणवादी र अन्य समुदाय सबै ब्राह्मणवादविरोधी भन्ने त हुँदै होइन । वैश्य र शुद्रलाई निचा मान्ने क्षत्रीयहरू, नेवारमै च्यामे, पोडे, कसाई, गाइनेलाई अछूत व्यवहार गर्ने शाक्य, वज्राचार्य, प्रधान, श्रेष्ठ र जोशीहरू, मधेसीमै डोम, मुसहर, पासवान, वादीलाई अछूत ठान्ने झा, यादव, मि श्रहरू, दमाई, कामीलाई अछूत व्यवहार गर्ने राई, लिम्बू, मगर, गुरुङहरू अनि दलितमै अन्य दलितलाई साना जाति भनेर छुवाछूतको व्यवहार गर्ने दलितहरू सबै ब्राह्मणवादी हुन् ।

अन्त्यमा
विचारका पक्षधरहरू प्रतिगामी हुन सक्दैनन् । तर, आफैंलाई मुक्त गर्न नसक्नेले समाज र देशलाई ब्राह्मणवाद, जातिवाद, भाग्यवाद र ठालुवादबाट मुक्त गर्न सक्दैन । अनि मानवशास्त्री डोरबहादुर विष्टको बहुचर्चित व्याख्या 'फ्याटालिज्म' को सिकार ती आफै हुन पुग्छन् । तपाईं ब्राह्मण हुनुस् वा राई, लिम्बू, नेवार वा दलित जेसुकै हुनुस्, मनभित्र संस्कारका रूपमा बेरिएर बसेको ब्राह्मणवादलाई नमिल्काएसम्म तपाईं कसरी ब्राह्मणवादविरुद्ध लड्न सक्नुहुन्छ महोदय ?

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2