MENU

मेची ब्लुज

635x90_1

उज्ज्वल प्रसाई शनिवार, साउन २८, २०७४ 1840 पटक पढिएको

Share This

635-X-85

समाज विमर्श

आग का वादा - फिर मिलेंगे

नदी के किनारे ।
हर शाम
इन्तजार करती है आग
नदी के किनारे ।
-कुंवर नारायण
छातीमा केही थान बुकुने खाँबा उभ्याएर नेपाल र भारतलाई छुट्याउँदै वर्षौंदेखि बगिरहेको छ मेची । वाचाल हुँदो हो त त्यो खोला, म लख काट्छु- कति मानिसका कस्ता कस्ता कथा हाल्दो हो त्यसले ! आङमा फैलिएका ती सहस्र ढुंगामा सम्झनाका कति तरेली गढेर बसेका हुँदा हुन् ! कति मानिसका हड्डी खरानी भएर त्यो खोलामा बालुवाका मसिना कणमा परिणत भए होलान् ! बगरमा जीवन अस्ताएका यी सबैका अन्तिम निश्वासहरू बटुलेर कतै गर्भमा लुकाइराखेको छ कि मेचीले ! हरेक हिउँद शून्यमा टोलाएको ध्यानस्थ सन्त हुन्छ मेची र वर्खामास हुँकार गरेर बोल्न खोज्छ ।

Ujjwal-Prasaiदुई किनाराका चलायमान सहरहरूलाई उसको शालीन वा रौद्र रूपले ठूलो असर गरेको भान हुँदैन । तर, वारिपारि निर्वाह चलाएर बसेका सामान्य मानिसका लागि जीवन र मृत्युको स्थायी विम्ब हो मेची । वारिका मान्छेका लागि जीवनको सूर्य त्यहीँबाट उदाउँछ भने अस्ताउने घाट पनि त्यही मेची हो।

उहिल्यै दार्जिलिङ कमानमा चियापत्ती टिप्न गएकाहरू खुला सिमाना छिचोल्दै मेची तरेर बसोबास गर्न वारि आए । कतिले काँकरभिट्टामै डेरा जमाए, कति अन्यत्र लागे । पहाडी जीवनको कहर बिर्सन आसाम र मेघालय पुगेकाहरू तामुल पान चपाउँदै त्यही खोलो तरेर यता आए र फँडानी गरेर बसे । बर्मा पुगेर दुईतीन पुस्ता बिताएकाहरू कहिले जबर्जस्त खेदिएर, कहिले पुख्र्यौली जराको भावुकताले तानिएर यता आए । नेपाली भाषामा बोल्ने तिनले यता न्यानो माया पाए, कतिले शासकको निगाहाबाट जंगल फाँडेर बस्ती बसाउने अनुमति पनि पाए । त्यसरी यता आएका नेपालीले नेपालका अनेक ठाउँमा आसामे र बर्मेली बस्ती बसाए । काँकरभिट्टाको बर्मेली बस्ती उही मेची किनारामा छ।

हरेकपटक मेची पुलमा पुगेर खोलातिर हेर्दा प्रश्न उब्जिन्छ- पानी बगाइरहेको खोलामा तृप्ति बग्छ कि प्यास ? अवैध भनिएका सबै गतिविधिलाई निरन्तर हेरिरहने खोलाले बगाइरहेको प्यास आफैंमा वैध हो वा अवैध ?

सिक्किम र भुटानका सडक बनाउन ढुंगा फोर्न पुगेका कति कति पहाडेहरू त्यही खोलो तरेर यता आई बसे । ताप्लेजुङ र पाँचथर, धनकुटा र इलाम, पूर्वेली पहाडका अनेक कुनाकाप्चाबाट झरेर मेची किनार खोजेर बसे । कोही अलि उत्तरको बाहुनडाँगी पुगे, कोही दक्षिणको भद्रपुर झरे, कसैले माझको काँकरभिट्टा रोजे । ताप्लेजुङको नम्लुखबाट मधेसको गौरादह हुँदै हाम्रो परिवार पनि मेची किनारको काँकरभिट्टा पुग्यो ।

उहिल्यै उहिल्यै जति बेला मेचीको छातीमा राजनीतिक रेखा कोरिएको थिएन र वारिपारि छुट्याउने बुकुने खाँबा गाढिएका थिएनन्, उता र यताको खासै भेद नगरी बसिरहेका राजवंशी र सन्थालहरूले मेचीको पानी पिएर जीवन बिताए । त्यही खोलाको पानीले सिँचेर तिनले बन्जर माटोलाई उर्वर बनाए । रगत र पसिनासमेत निचोरेर मथेपछि धान र मकै, गहुँ र मास उमार्ने राम्रा खेत र बारी बने । औलो र हैजाबाट जोगिँदै आवाद गरेका सयौं बिघा जमिनलाई आफ्नो ठानेर बसेका थिए तिनीहरू ।

समयक्रममा औलो सकियो, सत्ताका निकटस्थ बाठाहरू आए र आयो एक्काइस साले भूमिसुधार । राजवंशी र सन्थालहरू आफैंले आवाद गरेका जमिनबाट उखेलिनुपर्‍यो । नेपालका जन्ड शासक महेन्द्र शाहका नाममा राजमार्ग बनेपछि तिनले विस्तारै दक्षिण सर्दै र किनारामा हुत्तिँदै जानु परेका अनेक अभिलेख छँदैछन् । यस्ता कथा मुखाग्र बताउन कति अहिले पनि जिउँदै छन् । यी सबै परिवर्तन नियालिबस्ने स्थायी साक्षी मेची खोलाको भाषा बुझ्न सक्नेले इतिहासको पहेली खुट्याउन सक्दो हो ।

वैध श्रम र अवैध धन्दाको साक्षी

समयक्रममा खोला वारि र पारि दुवैतर्फ राज्यको बलियो उपस्थिति हुन थाल्यो । दुई भिन्न र सार्वभौम मुलुकले आफ्ना सीमाको रक्षार्थ सुरक्षा बल खटाए । दुवैतर्फ भन्सार बस्यो । खुला सिमानाबाट हुने अवैध धन्दा र व्यापार रोक्न र सुरक्षाको प्रबन्ध मिलाउन राज्यको उपस्थिति बढेको थियो । त्यसो त दुवैतर्फ बजारहरू बने र मानिसहरू वारिपारि लेनदेन र बन्दव्यापार पनि गर्न थाले । अनेक परिवर्तनबीच मेची खोलो सधैंझैं मौन साक्षी बनिरह्यो ।

बंगालमा कहिले चामल अपुग हुन्छ, खुला सिमानाबाट यताको उब्जनी उता पुर्‍याइन्छ । भन्सारको लेठो नगरी अवैध ढंगले चामलका बोरा बोकेर मानिसहरू खोलो तर्छन् । भन्सार तिर्दा लागत मूल्य महँगो हुने र राम्रो व्यापार नहुने हुन्छ । भन्सार, प्रहरी र सुराकीका आँखा छलेर वा तिनलाई आनासुका चुहाएर गरिबहरू चामलका भारी बोक्छन् । उता चामल सहज हुन्छ, यता चिनीको हाहाकार हुन्छ । वैध तवरले लिएर आऊँ, भन्सार शुल्क चर्को छ । अवैध तरिका अपनाउँदा केही पैसा जोहो गर्न सकिन्छ । चिनीका बोरा बोकेर वारि र पारिका मजदुरहरू खोला तर्न थाल्छन् । त्यही पैसाले आफ्ना लागि नुनतेल खरिद गर्छन् ।

सक्दो सामान शरीरमा बाँधेपछि ती महिलाका शरीर ज्यादै ठूला देखिन्थे । माथि सानो मुन्टो, सलक्क परेको घाँटी, अनि त्यसपछि कम्मरसम्मको भाग भने हेमानको ठूलो देखिने, ठ्याक्कै धान राख्ने भकारीजस्तो । अलि परबाट हेर्दा सानो टाउको र घाँटीमुनि असाध्यै ठूलो र मोटो ज्यान भएको मानिस हिँडिरहेजस्तो देखिन्थ्यो ।

यसरी अवैध पोकाहरू विनिमय गर्न ठूलो खर्चमा बनाइएको मेची पुल खतरापूर्ण मानिन्छ । पुलमा सत्ताले तगारा हालेका छन् । त्यसैले क्यारियरहरू खोला छिचोलेर वारिपारि गर्छन् । वैध भुँडीको आगो समन गर्न जरुरी हुन पुगेको यो अवैध धन्दाको मौन साक्षी बनेर पक्की पुलमुनि चुपचाप बगिरहन्छ तरल मेची ।

चिनीको मौसम सकिँदा खासाको बाटो हुँदै सस्ता चिनियाँ सामान पाँच किलोमिटर परतिरको धुलाबारी बजारमा उत्रिन्छ । चिनियाँ सामान ल्याएर यता थुपारेका मारवाडी र पहाडे साहुजीहरूले ती सामान खोलापारिका भारतीय साहुजीहरूलाई बेच्नु छ । वारि र पारि दुवैतिर अवैध धन्दा हुन नदिन भन्सार कार्यालय र प्रहरी चुस्त निगरानीमा छन् । साहुजीहरूले चोर बाटोबाट सामान ओसारपसार गराउने जुक्ति निकाल्छन् । कहिले चामल त कहिले चिनीका बोरा खेपेका मजदुरलाई अब कपडा र कस्मेटिक, रेडियो र घडीका बोरा भिराउँछन् ।

अनेकतिरबाट भेला भएका काँकरभिट्टाका बहुसंख्यक मानिस गरिब छन् । महेन्द्र शाहबाट बकस पाएका जग्गाधनीहरूबाहेक अरू धेरै मानिसलाई दु:खजिलो नगरी खान पुग्दैन । त्यसैले उनीहरू वारि र पारिका साहुजीका सामान बोक्ने भरिया बन्छन् । 'फोरेन गुड्स' भनिने लत्ता कपडा र जिन्सी सामान बोक्ने मजदुरहरू बोरा बोकेर खोला तर्न खोज्दा पटकपटक प्रहरीको फन्दामा पर्छन् । मेची पुल वारि र पारि बसेका वैध भन्सार कर्मचारीलाई अवैध घूस दिएर तल खोलाको बाटो खुला गराउन मेलोमेसो साहुजीहरूले मिलाएका हुन्छन् नै । तर, गस्ती गएका प्रहरीले त्यो मेलोमेसोलाई लत्याएर आफ्नो गोजेरो भर्ने उद्यम नगरी छोड्दैनन् । तिनका फन्दामा फस्ने भनेका भरिया मजदुरहरू नै हुन्।

झिसमिसेदेखि चियोचर्चो गर्दै, 'लाइन क्लियर' भए नभएको परख्दै, अनेकपटक कोसिस गर्दै जोगिन खोज्दाखोज्दै पनि उनीहरू पक्राउ पर्छन् । प्रहरीलाई फकाउन खोज्छन्, थोरैतिनो पैसो यसो हातमा हालिदिएर उम्किन खोज्छन् । घुसिया प्रहरी रिझाउने यो तरिका काम लागेको दिन उनीहरूको आम्दानी ठीकै हुन्छ । मोलमोलाइ मिलाउन नसक्दा सामान जिम्मा लगाउनुपर्ने अवस्थामा पुग्छन् । त्यसरी पक्राउ परेको दिन घर फर्केर उनीहरू खुइय्य गर्दै छोराछोरीलाई भन्छन्, 'आज तिमीहरूलाई स्कुलको ड्रेस किनेर ल्याइदिऊँला भनेको, माल चोट खायो ।'

भन्सारमा दाखिला भएका सामानको भन्सार तिर्दा साहुजी खुसी नहुनु स्वाभाविक हो । औपचारिक रूपमा भन्सार कर तिर्नबाट बच्न भन्सार कर्मचारी र प्रहरी प्रमुखहरूलाई साहुजीले नियमित घूस दिएका हुन्छन् । तर, माल चोट खाएको दिन खर्च बढ्छ । सामान छुटाउन गर्नुपर्ने थप खर्चले उनीहरूको आम्दानीमा खलल पुर्‍याउँछ । चोट खाने क्रम बढ्न थालेपछि, साहुजीहरूले क्यारियर अर्थात् वारिपारि धन्दा गर्न चाहने मजदुरका लागि उनीहरूले बोक्ने सामान बराबर मूल्य धरौटी राख्नुपर्ने नियम लागू गर्छन् । दस हजारको सामान बोक्न दसै हजार धरौटी राख्नुपर्ने हुन्छ ।

खासगरी मजदुरहरूले त्यो सामान खरिद गरेर बेच्न लगे बराबर नै हुन्छ । तर, सामान बेचेर आउने मुनाफामा भने मजदुरको पूरा हक हुँदैन । उनीहरूलाई पाँच प्रतिशत कमिसन मात्रै दिएर बाँकी मुनाफा साहुजीले हडप्छन् । अर्थात् त्यही पाँच प्रतिशत कमिसन मात्र मजदुरहरूको आम्दानी हो । पक्राउको असुरक्षाबाट भने साहुजीहरू सधैं मुक्त हुन्छन् ।

'माल चोट खाएको दिन' क्यारियरहरूको धरौटी स्वाहा हुन्छ । अर्थात् साहुजीहरू जोगिन्छन्, मजदुर पर्छन् फन्दामा । धरौटी जोगाउन उनीहरू प्रहरी र भन्सारको लाइन मिलाउन हातमा घूस बोकेर यताउता दगुर्छन् । मुस्किलले धरौटी जोगाएर थोरैतिनो हाजिरा कमाउन उनीहरूले लगानी गरेको श्रमको आयतन ठूलो हुन्छ । ती मजदुर क्यारियरले आफ्ना मालिकका खातिर खेर फालेको श्रमको मौन साक्षी बसेर बगिरहन अभिशप्त हुन्छ मेची खोला ।

भकारी आमाहरू मेचीको बाटो

सामानका पोका बोकेर वारिपारि गर्ने मजदुरहरूलाई धेरैजसोले पोके भन्थे । दुईनम्बरी धन्दा गर्ने पोके भन्ने संज्ञा पाएका यी मजदुरहरूको समाजमा सुनाम हुने कुरै भएन । धन्दा अवैध मानिएकाले उनीहरूले गरेको श्रमको मूल्य बचाउने कसैले प्रयास गर्दैन थियो । उनीहरूमाथि भइरहेको शोषणविरुद्ध आवाज उठाउन 'संसारका मजदुरहरू एक हौं' भन्नेहरूको नारा एकाएक विलीन हुन्थ्यो । न उनीहरू आफैं संगठित भएर साहुको विरोध गर्न सक्थे । उनीहरूले गर्नसक्ने एउटा मात्रै काम थियो, जसरी भए पनि भन्सार र प्रहरीको आँखा छलेर मुकामसम्म सामान पुर्‍याइदिनु । त्यसका लागि उनीहरूले अनेक तरिका अपनाउँथे ।

सामान बोकेर वारिपारि गर्नेमा महिलाको संख्या उल्लेख्य थियो । नाम्लो बाँधेर टाउकोमा अड्याएर सामान बोकेर कुद्न सजिलो हुँदैनथ्यो । त्यसरी बोक्दा परबाट प्रस्ट देखिन्थ्यो र सजिलै प्रहरीको फन्दामा पर्न सकिन्थ्यो । झोलामा हालेर दुवै हातमा झुन्ड्याएर धेरै सामान बोक्न सम्भव थिएन । जति कम सामान, उति कम आम्दानी । त्यसैले आम्दानी बढाउन पनि क्यारियरले बढी मूल्यको सामान अलि धेरै बोक्नुपर्ने बाध्यता हुन्थ्यो । प्रहरीको निगरानी र खानतलासीबाट जोगिन क्यारियर महिलाहरूले जुक्ति अपनाए ।

अघिल्लो साँझ धुलाबारीको 'फोरेन गुड्स होलसेल'बाट पारि पुर्‍याउनुपर्ने सामान बोरामा हालेर घरमा ल्याउने । घरसम्म सामान ल्याउनुअघि उनीहरूले धरौटी बुझाएका हुन्थे । बिहान ३ बजे नै उठेर सामानलाई मिलाएर आफ्नो शरीरमा बाँध्ने । बाहिरबाट खुकुलो पारेर लगाएको सारीभित्र जति सक्दो लत्ताकपडा र मिलाएर अटाउनसक्ने विद्युतीय र कस्मेटिक सामानहरू कस्ने । त्यसरी सक्दो सामान शरीरमा बाँधेपछि ती महिलाका शरीर ज्यादै ठूला देखिन्थे । माथि सानो मुन्टो, सलक्क परेको घाँटी, अनि त्यसपछि कम्मरसम्मको भाग भने हेमानको ठूलो देखिने, ठ्याक्कै धान राख्ने भकारीजस्तो । अलि परबाट हेर्दा सानो टाउको र घाँटीमुनि असाध्यै ठूलो र मोटो ज्यान भएको मानिस हिँडिरहेजस्तो देखिन्थ्यो । त्यसरी सामान बोकेर हिँडेको नदेखेको वा त्यसबारे थाहा नपाएको नौलो मान्छेका लागि त्यो अत्यन्तै अनौठो दृश्य हुन्थ्यो ।

विसं २०५३÷५४ सम्म हरेक बिहान झिसमिसेमा घरको बरन्डामा यसरी सामान बाँधेका महिलाको ताँती देखेको मलाई अहिलेसम्म स्पष्ट सम्झना छ । पहिलोपटक त्यसरी भारी बाँधेको ठूलो र भद्दा शरीरमा दुईपट्टि पँखेटाजस्ता हात फिँजाएर विस्तारै ढल्कँदै आफैंतिर आइरहेको मान्छे देखेर म तर्सेको थिएँ । तिनताक मैले कोही किन त्यसरी हिँड्दैछ भन्ने बुझ्न सकेको थिइनँ ।

कुनै एक दिन, परीक्षा चलिरहेका बेला बिहान ४ बज्नुअघि नै उठेँ । उठेर शीतल हावामा एकछिन बसे निद्रा दूर हुन्छ भन्ने विश्वासले घरको बरन्डामा निस्किएँ । अँध्यारै थियो, सडक सुनसान थियो । अलि पर सडकमा घरका झ्यालहरूबाट खसेका उज्यालोमा भकारीजस्तो आकृति आफैंतिर बढिरहेको देखेँ । विस्तारै ढलकढलक ज्यान ढल्काउँदै आइरहेको त्यो आकृति 'दुई नम्बरी' सामान बोकेकी कुनै महिला हुन् भनेर ठम्याउन गाह्रो थिएन । यसअघि नै मैले त्यस्तो दृश्य देखिसकेको थिएँ । त्यस दिन नजिकबाट त्यो दृश्य हेर्न मन लागेर बरन्डामा उभिइरहेँ । त्यो हेमानको आकृति सुस्तरी हाम्रो घरनेर सडकमा आइपुग्दासम्म म एकटक उही भकारीतिर हेरिरहेको थिएँ । म उभिएको बरन्डाको ठीक मुनि सडकमा आइपुगेपछि, भकारीले उँभो फर्केर मलाई सम्बोधन गर्दै सोध्यो, 'बाबु, छिट्टै उठेछौ त, हाम्रो केटा त अल्छी गरेर सुतिरहेको छ, पढ्दैन ।'

त्यति भन्दा नभन्दै मैले त्यो आवाज र आकृति ठम्याएँ । विद्यालयमा मसँगै पढ्ने साथीकी आमा थिइन् ती । म एकछिन बोल्न सकिनँ, ट्वाँ परेर हेरिरहेँ । सम्हालिएर 'परीक्षा चलिरहेकाले पढ्न उठेको' भनेँ । त्यति सुनेर उनी बाटो लागिन्, मैले उनी ओझेल नपरुन्जेल हेरिरहेँ । त्यसो त मेरो विद्यालयमा पढ्ने धेरै विद्यार्थीका बाबुआमा वारिपारिको काम गर्थे, काँकरभिट्टाका लागि त्यो कुनै अनौठो उद्यम थिएन । तर, आफ्नो नजिकको साथीकै आमाले त्यसरी भकारी जत्रो शरीर बनाएर सामान बोकेको देखेको त्यो पहिलोपटक थियो ।

पुरुषहरू नाम्लो लगाएर वा साइकलमा बोरा बाँधेर सामान तार्ने गर्थे । महिलाहरूले त्यसरी शरीरमा बाँधेर सामान बोक्नुपर्ने केही कारण थिए । मेची खोला तरेर भारत पुर्‍याउनुपर्ने त्यो सामान पुरुष प्रहरीको खानतलासीबाट बचाउन त्यसो गरिएको थियो । तिनताक महिला प्रहरीहरूलाई भन्सार गस्तीमा खटाइँदैन थियो । धेरै महिलालाई प्रहरी सेवामा भर्ना गर्ने क्रम पनि बढेको थिएन सायद । भारतीय भन्सार जाँचमा खासै महिलाको उपस्थिति देखिँदैन थियो ।

मेची पुल भएको ठाउँभन्दा निकै माथिबाट खोला छिचोलेर नक्सलबारी पुर्‍याइने सामान पक्रन प्रहरी तल खोलामा तैनाथ हुनुपथ्र्यो । यता काँकरभिट्टाबाट हिँड्नुअघि एकपटक प्रहरीको चहलपहल निगरानी गर्न लगाएर मात्रै क्यारियरहरू हिँड्ने गर्थे । त्यसैले पक्राउ पर्ने सम्भावना कम हुन्थ्यो । कथं प्रहरीको फेला परिहाले महिलाको शरीरमा उनिएको सारी खोलेर चेकजाँच गर्न पुरुष प्रहरीहरूलाई अप्ठ्यारो हुन्थ्यो । प्रहरी अघि बढ्न खोजेर हात लगाउन खोजे, ती महिलाहरूले पुरुष प्रहरीलाई औंलो ठड्याएर थर्काउँथे, 'औरतको हात लगाता है ? सर्म नही आती ? दूर खडा रहिए ।' यति भनेरमात्रै त उम्किन गाह्रो थियो । कहिलेकाहीँ उनीहरू प्रहरीसँग लुछाचुँडी गर्दै लड्थे । माल चोट खानबाट बचाउने यो दु:खजिलो उपाय थियो यी भरिया मजदुरहरूको ।

नेपालतर्फबाट त्यसरी बोकेर भारतको नक्सलबारी छोडेका सामान फेरि क्यारियर महिलाको अर्को समूहले त्यहाँबाट उसैगरी शरीरमा बाँधेर सिलिगुडी सहर पुर्‍याउँथे । यति ठूलाठूला भकारीहरू ठसठसी कन्दै मुस्किलले लोकल गाडीको ढोकाबाट छिरेको देख्दा हेर्नेलाई नै सकस हुन्थ्यो । त्यस्ता क्यारियर चढेको गाडीमा अरू यात्रुलाई अप्ठ्यारो हुन्थ्यो । त्यसैले उनीहरूबाट गाडीवालाले बढी भाडा उठाउँथ्यो । तिनै गाडीवालाले बाटोमा भन्सारको छड्के भए÷नभएको पनि खबर दिन्थे । नक्सलबारीबाट त्यसरी सामान सिलिगुडी लैजानेमा धेरैजसो भारतीय महिला हुन्थे । यसरी शरीरमा बाँधेर सामान बोक्ने क्रम लगभग विसं २०५७ सम्म चल्यो । त्यसपछि फोरेन गुड्स कम, अरू नै सामानको अवैध वारिपारि हुन थाल्यो । कहिले मट्टितेल, कहिले वनस्पति घिउ, कहिले भने सुपारी ।

ती भकारी आमाहरू आफ्ना छोराछोरी पढाउन र दुई छाक राम्रो खान त्यसरी दु:ख गर्थे । भलाद्मी समाजको नजरमा उनीहरू पोके थिए । राज्यको आँखामा उनीहरू दुई नम्बरी धन्दा गर्ने 'तस्कर आइमाई' थिए । तीनलाई भने आफूले गरिरहेको काम आपराधिक हो भन्ने लाग्दैन थियो । कारण, उनीहरूले इमानदारीपूर्वक श्रम गरेका थिए । साहुजीप्रति उनीहरू बफादार भएर काम गर्थे ।

बकाइदा धरौटी राखेर, सामानलाई सुरक्षित ढंगले भनिएको ठाउँमा पुर्‍याउँथे । अकुत सम्पत्ति कमाउन वा करोडौं कमाएर मोजमस्ती गर्न उनीहरूले त्यस्तो श्रम गरेका थिएनन् । हरेक दिन प्रहरीसँग लुकामारी खेलेर, मान्छेका कलुषित नजर झेल्दै, त्यो दु:खजिलो गर्नु उनीहरूको रहर पनि थिएन । त्यसैले आफूले गरिरहेको काम कष्टपूर्ण भए पनि अवैध वा आपराधिक हो भन्ने उनीहरूलाई पटक्कै लाग्दैन थियो ।

ती भकारी आमाहरूका अनेक कहर प्रत्यक्ष देखेको मेची खोलाको पानीमा तिनका रगत र पसिना चुहिएका छन् । वाचाल हुन्थ्यो त्यो खोला भने, के त्यसले ती आमाहरूलाई तस्कर आइमाई भनेर गाली गथ्र्यो होला ?

मेचीको प्यास

मेचीलाई साक्षी राखेर ती आमाहरूले जीवन संघर्षका कथा रचेका छन् । अवैध र वैधको भेदलाई धूमिल बनाएर तिनले आफ्नो जीवन चलाए र यो समाजका लागि पढालिखा नागरिकहरू तयार पारे । के बिराए ?

भर्खरै जन्मेका शिशुलाई मेचीको जिम्मा छोडेर हिँड्ने आमाहरूका बाध्यता उही मेचीमा समाहित भएर बगेको छ । अवैध भनिने सम्बन्धबाट जन्मेका वा हुनसक्छ सम्बन्ध वैध नै होस् तर पालनपोषण गर्ने ल्याकत नभएर कलिला छोराछोरी मेचीमा छोडेर हिँड्न अभिशप्त आमाहरूलाई के भन्न सक्थ्यो र त्यो खोलाले ? कम्मरमा फोरेन गुड्स बोकेर हिँड्ने उनै आमाहरूले त्यस्ता शिशु सम्हालेर ल्याउँथे र बच्चाको रहर गर्नेहरूको जिम्मा लगाउँथे । के बिगारे?

हरेकपटक मेची पुलमा पुगेर खोलातिर हेर्दा प्रश्न उब्जिन्छ— पानी बगाइरहेको खोलामा तृप्ति बग्छ कि प्यास ? अवैध भनिएका सबै गतिविधिलाई निरन्तर हेरिरहने खोलाले बगाइरहेको प्यास आफैंमा वैध हो वा अवैध ? जीवन र मृत्युको स्थायी विम्बका रूपमा सधैं बगिरहने त्यो खोला आफैं वैध र अवैधबीचको धूमिल रेखा पनि होइन र ?

प्यास भी एक नदी है वैसे,
एक विलम्बित प्यास -
बालू के भीतर भीतर बहती
ले जाती है हमको कहाँ से कहाँ !
दुनिया की सब सभ्यताएँ
प्यास के तट पर बसीं !
सौदागर मोतियों से जहाज भरे हुए
आमरण भटकते रहे
एक प्यास से दूसरी तक !
-अनामिका

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2