MENU

नेमारको ‘डेब्यु’ खेल आइतबार

635x90_1

एजेन्सी शनिवार, साउन २८, २०७४ 5898 पटक पढिएको

Share This

635-X-85

पेरिस विश्वकीर्तिमानी रकममा स्पेनी क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) पुगेका ब्राजिलियन स्ट्राइकर नेमारले आगामी आइतबार आफ्नो नयाँ क्लबबाट ‘डेब्यु’ खेल खेल्ने भएका छन् । पीएसजीले शुक्रबार नेमारको स्थानान्तरणको विषयमा बार्सिलोनाबाट अनुमतिपत्र प्राप्त गरेकाले उनी आइतबार नयाँ क्लबबाट खेल्न स्वतन्त्र भएका हुन् ।

यसअघि स्पेनिस फुटबल महासंघले स्थानान्तरण पूरा भएकोबारे अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) मार्फत बनाउनुपर्ने अन्तर्राष्ट्रिय स्थानान्तरणसम्बन्धी प्रमाणपत्र नपठाएका कारण पीएसजीमा नेमारको ‘डेब्यु’ खेल अन्यौलमा परेको थियो । सोही प्रमाणपत्र प्राप्त नभएका कारण नेमारले फ्रान्सेली लिगमा पीएसजीको पहिलो खेल गुमाएका थिए । लिगअन्तर्गत आगामी आइतबार हुने गुइनगाम्पविरुद्धको खेलमा ‘डेब्यु’ गर्न अब नेमार स्वतन्त्र छन् ।

नेमार यसै साता बार्सिलोनाबाट २२ करोड २० लाख युरोमा पीएसजीमा आबद्ध भएका हुन् । उनको अनुबन्धसँगै हौसिएका पीएसजीका फ्यानले नेमारलाई अहिलेसम्म मैदानमा देख्न पाएका छैनन् । पीएसजीले गत शनिबार नेमारको अनुपस्थितिमै एमिन्सलाई २–० गोलले पराजित गरेको थियो । २५ वर्षीय नेमारले उक्त खेल मैदानबाहिर बसेर हेरेका थिए ।

‘स्थानान्तरण पूरा भएकोबारे फिफाले दिएको प्रमाणपत्र स्पेनिस फुटबल महासंघमार्फत फ्रान्सेली फुटबल महासंघाई प्राप्त भएको छ । फ्रान्सेली फुटबल महासंघले फ्रान्सेली लिग वान फुटबल आयोजना गर्ने फ्रेन्च प्रोफेसनल फुटबल लिगलाई उक्त पत्र उपलब्ध गराएपछि नेमार हाम्रो क्लबबाट खेल्न स्वतन्त्र छन्’, पीएसजीका एक अधिकारीले भनेका छन् ।

नेमारलाई भित्र्याउन पीएसजीले ठूलो रकमको प्रस्ताव गरेसँगै बार्सिलोनाले त्यसको विरोध गर्दै आएको थियो । पीएसजीले युरोपेली फुटबल महासंघ (यूईएफए) को फाइनान्सियल फेयर प्लेको बन्देज तोडेको आरोप बार्सिलोनाले लगाउने गरेको छ । बार्सिलोनाले त्यस सम्बन्धमा आफूले पीएसजीविरुद्ध यूईएफएमा उजुरी गर्ने चेतावतीसमेत दिएको थियो ।

यूईएफएको फाइनान्सियल फेयर प्ले नियमअनुसार कुनै पनि क्लबले नयाँ खेलाडी भित्र्याउँदा आफ्नो आम्दानीले भ्याउनेभन्दा बढी रकम खर्च गर्न पाइँदैन । राम्रो खेलाडी भित्र्याउन क्लबहरूले ऋणमा समेत ठूलो रकम खर्च गर्दा खेलाडी र अन्य कर्मचारीलाई तलब दिन नसक्ने तथा क्लब नै धराशयी हुने अवस्था आएपछि यूईएफएले फाइनान्सियल फेयर प्लेको बन्देज लगाएको हो । पीएसजीले भने आफूले नियमभित्र रहेर नै नेमारको स्थानान्तरण प्रक्रिया सम्पन्न गरेको दाबी गरेको छ ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2