MENU

दुई झगडिया बूढा

635x90_1

भुवनहरि सिग्देल शनिवार, साउन २८, २०७४ 562 पटक पढिएको

Share This

635-X-85

मानिस माटोमाथि संघर्ष गर्छ।कति शाश्वत छ यो भनाइ? संग्राम गर्छ माटोमाथि मानिस।कति सर्वकालीन छ यो सत्य ! यी प्रसंग यस विषयका आफ्ना स्मृति ओराल्ने क्रममा त्यसै आइदिए।म के भनुँ? कुरा २०१२-१३ सालतिरकै हो मेरो व्रतबन्ध भएकै थिएन।

लामो र कालो कपाल थियो मेरो।कोरी तलासी गरेर चुल्ठी बाटिदिनुहुन्थ्यो आमाले।चूडा र बर्तुन नगरी त्यो कपालमा छुरा कैंची लगाउन निषेध थियो।भनुँ छुरा निषेधित क्षेत्र !

हाम्रो घरभन्दा पश्चिमपट्टि ठुलाबाबाको घर थियो।पूर्णचन्द्र सिग्देल हो उहाँको नाम।ठूलाबाबा, पूर्णचन्द्र निकै जोधाहा हुनुहुन्थ्यो- निरक्षर।तर, मुद्दा मामिलामा खप्पिस हुनुहुन्थ्यो।अनेकौं मुद्दा थिए उहाँका, सबै माटोसँग मात्र सम्बन्धित।एउटा काठको बाकस थियो।त्यसको साँचो हरहमेसा आफ्नै जनैमा झुन्डिरहने।

बाकसमा कागजैकागज थिए- तमसुक, लालमोहर, मुद्दाउतार आदि।ती कागजको बीचतिरबाट कुनै पनि कागज झिकेर उहाँको अगाडि राख्नेबित्तिकै उहाँ भटभटाउन थाल्नुहुन्थ्यो- यो यस्तो कागज, यसमा यस्तो बेहोरा लेखिएको छ, वादी-प्रतिवादीका तीनपुस्ते सुनाउनुहुन्थ्यो।तर, कागज भने खोल्नै नपर्ने।यो विषय भने मैले रुद्री, चण्डी पढ्न थालिसकेपछिको कुरा भयो।

त्यस पूर्व, उहाँको बालमस्तिष्कमा अहङ्कार भरियो।उहाँ कसैको कुरा नसुन्ने हुनुभयो।जोधा हुनुभयो, जुझारु भनुँ।उहाँलाई चित्त बुझेन भने मुख र मुक्का एकैचोटि चलाउनुहुन्थ्यो, पछिसम्म पनि।छिमेकका खगेन्द्रप्रसादसँग घटनाबाट सुरु भएको द्वन्द्व समाप्त हुँदै भएन।दुवैले खोइरो उतार्ने प्रयत्न गरे।मुद्दामामिलाका जन्म भए, बाँचेसम्म ती बेर्ना हुर्किरहे।

यो एउटा पाटो भयो प्रसंगको।जुन कुरा म जन्मिनुभन्दा दुई दशकपूर्वका थिए।म केही जान्ने भएपछि ‑मेरो उमेर पाँच या ६ वर्ष हुनुपर्छ) सम्झनलायक घटना बनाइयो- मलाई नै माध्यम बनाएर।

ठुलोबा आफ्नै आँगनको डिलमा नुहाउनुहुन्थ्यो, एकाबिहानै।उहाँको निमित्त एक गाग्रो पानी आँगनमा राखिन्थ्यो, अघिल्लै दिन साँझमा।‘आकाशमुनि राखेको पानी बासी हुँदैन' भन्ने उहाँको सिद्धान्त थियो।उहाँ नित्य त्यसै गरी नुहाउनुहुन्थ्यो, धारो-पँधेरोमा गएर उहाँले नुहाएको कसैले देखेको थिएनन् रे।त्यसै भन्थे सबैजना, मैले देखेको सत्य पनि त्यही थियो।

नुहाइसकेर अँगेनामा भुजुंगो बसालेर कुँडो पकाउने, भैंसी-गाईलाई ख्वाउने ‑दुई भैंसी र दुई गाई थिए) अनि दुहुना दुहुने, घाँस-पराल दिने, ठूलो कुँडेमा दूध तताउने, मोही पार्ने, नौनी खारेर घिउ तुल्याउने काम समाप्त हुँदा बल्ल अरू परिवारको उठ्ने बेला हुन्थ्यो, भनुँ झिसमिसे।

ठुलीआमा र भाउजूहरू धारा-पँधेरा सकेर आउँथे।पूजाको लागि घल्चीमा चोखो पानी ल्याएर चोटाको चौकी र दैलो पोतेर काटेको तरकारी अगेनासँगै राखिदिन्थे।घिउ खारेको ताप्केमा त्यो तरकारी झानिदिएपछि ठुलाबाको काम सकिन्थ्यो- अगेनाको।

 

लोक चकित हुन्थ्यो मानौं यी दुईजना बूढाको जस्तो मित्रता लोकमा कतै छैन।मुद्दाको तारेख र पेसी खेप्न हिँडेका बूढाहरू अदालतमा झगडा, ‘तँ फटाहा ! डाँका ! खालास् अर्काको बाउको सम्पत्ति।चोर लुटाहा दुष्ट!' आदि इत्यादि।हात हालाहालमात्रै बाँकी राखेर कठालो समातासमातसम्म भ्याउँथे।

 

ठुलाबा पूजातिर लाग्नुहुन्थ्यो।ठुलीआमा र भाउजूहरू भने घाँसपत्करतिर।पूजाको कामपछि बल्ल ठुलाबालाई फुर्सद हुन्थ्यो।तमाखु भर्नुहुन्थ्यो चिलिममा।नरिबोले हुक्का थियो।बाहिर पिँडीको फलैंचामा बसेर त्यो तमाखु तान्नुहुन्थ्यो।

ठीक यही समय ठुलाबा मलाई बोलाउनु हुन्थ्यो ... 'ठुल्नानी ! ए ठुल्नानी !' चर्को स्वर थियो, ज्यादै तीखो खालको।उहाँको मात्रै ‘ठुल्नानी' थिएँ म।अरू कसैले पनि मलाई यो नामले बोलाउँदैनथे।सुन्नेबित्तिकै म ठूलाबाको घरतिर कुदिहाल्थेँ।कहिले त म उठेकै हुन्नथेँ।आमाले उठाइदिनुहुन्थ्यो ... ‘ए उठ् ! ठुलाबाले बोलाइसक्नु भो, मुख धोएर जा !' मलाई हतारै हुन्थ्यो ठुलोबाकहाँ जान।

म हस्याङफस्याङ उहाँको घर पुग्थेँ।मलाई देख्नेबित्तिकै हुक्का चिलिम भित्तामा ठड्याएर- ‘ए ल आउ ! माथि।' म पनि पछि लाग्थेँ उहाँको।चोटामा पुगेर जनैको साँचोले ठूलो काठको बाकस खोल्नुहुन्थ्यो।

सिङमाङबाट एक थुर्पी घिउ झिकेर- ‘ल खाउ !' भन्दै मेरो हातमा हालिदिनुहुन्थ्यो।त्यो घिउ चाट्तै तल आएर फलैचामा बस्थेँ।त्यो बाकसमा थुप्रै सिङमाङ थिए घिउले भरिएका।तर, घिउ र दही-दूध बेच्ने चलनै थिएन।उहाँलाई भने ती घिउका सिङमाङ वकिल र न्यायाधीशलाई कोसेली दिँदै ठिक्क हुन्थ्यो रे।

चैतको अन्तिम दिन वा वैशाख सुरु भएको बेला थियो त्यो।यसैबेला मकै छर्ने काम हुन्थ्यो।सबैका बारीमा मकै छरिसकिएको थियो।गैह्रीगाउँ सिग्देलको पुख्र्याैली घडेरी हुनाले धेरैजनाका जग्गा थिए ‑अझै छन्)
टुक्राटुक्रा।एकको अर्कासँग साँध पर्थे।त्यस्तै खगेन्द्रप्रसादको जग्गा र ठुलोबाको जग्गा जोडिएको थियो ‑अझै छ)।

गोरु लगाएर मकै छरेपछि साँधका कुलेसा ‑भल) पनि पुरिन्थे।फेरि साँध छुट्टयाइन्थ्यो भल झिकेर।त्यो भल साँध पनि भयो, दुवै थरीलाई हिँड्ने बाटो पनि।सबैका साँध यसै गरी बनाउने चलन थियो।जसलाई फुर्सद मिल्छ उसले भल बनाए हुन्थ्यो तर बेइमानी गर्न भने पाइन्नथ्यो।भित्तापट्टि बस्ती हुनाले सबैका आँगनबाट सबैका बारी देखिन्थे।त्यसमाथि मकै छरिसकेपछि त दुलही सिँगारेजस्ता देखिन्थे सम्म र फराक पाटाहरू।

त्यो दिन मैले घिउ खाइसकेको थिएँ।ठुलोबासँगै फलैचामा बसेर केके गफ गर्दैथिएँ, थाहा छैन।ठुलोबा भने तमाखु तानिरहनु भएको थियो- टुर्र टुर्र।खगेन्द्रप्रसाद बारीमा देखा परे।उनको हातमा कोदाली थियो।निहुरेर भल बनाउन थाले।‘आउ ! यता आउ ! हेरौं !'

उहाँ हुक्का चिलिम लिएरै आँगनको डिलमा गएर टुक्रुक्क बस्नुभो र तमाखु तान्न थाल्नुभो।म पनि उहाँसँगै पुगेर ठिंग उभिएँ।एक छिनपछि ठुलोबाले मतिर हेरेर भन्नुभयो- 'ठुल्नानी- ऊ त्यो दुष्ट हो।कानो हो त्यो।त्यसलाई ए काना ! भनेर बोलाऊ त !' मलाई कुन कानो कुन दुष्ट।म कराउन थालेँ- काना ! काना ! भनेर।यसरी लगातार काना भनेको सुनेर होला खगेन्द्रप्रसादले कोदाली भुइँमै राखेर दुवै हात कम्मरमा अड्याएर हामीतिर हेर्नुभो।‘ए काले ! फटाहा, आफू त फटाहा भइस् भइस्, अब बच्चालाई पनि फटाहा बनाउने भइस् तैंले।'

यसरी युद्ध आरम्भको मृदङ्ग बज्यो।ठुलोबाले हुक्का र चिलिम मलाई समाउन दिनुभो।नलीमात्रै हातमा लिएर उठ्नुभो।बुङ्गबुङ्ग भुइँमा गोडा बजार्दै- ‘ए कप्टी काना ! तेरो आँखा पनि कानो, मन पनि कानो छ बुझिस् ! तँलाई डाँका ! दुई कोदाली माटो चोर ! दुई कोदाली माटो आफ्नोतिर, एक कोदाली माटो मेरोतिर किन हालिस् ? तेरा हातगोडा भाँचेर त्यही भलमा पुरिदिन्छु, पापी कीर्ते !'

उहाँको हातको नली घुमिरहेको थियो।डाँकोले गैह्रीगाउँ थर्किरहेको थियो।अब के उत्पात हुने भो भनेर मेरा गोडा लगलग काम्दै थिए।हुक्काचिलिम उठाइराख्न पनि मलाई हम्मेहम्मे पर्दै आयो।ठुलोबाको क्रोध शान्त भएको थिएन।उहाँ त उफ्रीउफ्री कराउन थाल्नुभो केके केके।एउटा कुरा भने सम्झन्छु- ‘सत्र खेलेर खेत हात लाएको जस्तो ठानेको होलास्, जाली कागज लेखेर फलानालाई उठीबास लगाएको जस्तो सम्झेको होलास्, ढाड भाँचिएला है गरिबमारा !' म त लोतेलोते फलैंचामा पुगेर दुमुक्क परेँ।हुक्काचिलिम त्यतै ठड्याएँ हुँला।

ती दुई वृद्धका बीच भयंक्र झगडा भयो त्यो बिहान।खगेन्द्र काका केके भनिरहेका थिए मैले बुझिनँ।ती दुवैको वाक्ययुद्ध चलिरहेका बखत मेरा आँखाले ठुलोबा उभिएको ठाउँको नाङ्लो जति फराक जमिन माडिएर बेग्लै रङको बनेको देखेँ।तल खगेन्द्र काका उभिएको बारी पनि त्यसै गरी माडिएको थियो, घुमेर।

मेरो मनमा भने अज्ञात भय उत्पन्न भएको थियो, मानौं मैले जघन्य अपराध गरेको छु।ककसबाट सजाय पाउने हुँ अब- बाआमाबाट, खगेन्द्र काकाबाट, उहाँका छोराहरूबाट वा कसबाट ? मेरो मुख सुकेको थियो।घर जाने आँट थिएन।

म चुपचाप फलैंचामा दुम्केर तिनका शब्दसंग्राम सुनिरहेँ।निकैबेरको झगडापछि ठुलोबाले मतिर हेरेर भन्नुभो- ‘ठुल्नानी ! तिमी बस्तै गर, म त्यसका नलीखुट्टा भाँचेर आउँछु।' उहाँ त बारीतिर कुद्नुभो।निकै पर हुनुहुन्थ्यो खगेन्द्र काका।

उहाँले यत्ति भनेको सुनेँ- ‘लौ काले ! तेरो मसान तै बना ! म कोदाली लिएर अब भल बनाउन आउन्नँ।' त्यसपछि कोदाली टिपेर आफ्नो घरतिर फड्किनुभो।ठुलोबा भने बीच बारीबाट जंगिँदै घरमा आउनुभो- ‘देख्यौ ठुल्नानी।चोर भागिहाल्यो नि, नत्र भने आज त्यसका चारवटा करङ भाचिने थिए।'

त्यसबेला त त्यो झगडा नै रहस्यमय थियो मेरा निम्ति।कालान्तरमा बुझेँ- एक कोदाली माटोमाथिको विवाद थियो त्यो।एउटा अध्यायको सूत्रपात थियो माटोमाथि।समाजका दुई प्रतिनिधिले रोपेको समीको बिरुवा थियो त्यो।बिरुवा हुक्र्यो र बढ्यो।झाँगियो र फैलियो।हामीले ताप्यौं द्वन्द्वको सिँयाल।

यी दुईले आपसमा बनाएका उनका उपनाम काले र कानु, फटाहा र गरिबमारा समाजमा गुञ्जिरहे।अहँ, कसैले गरेनन् यिनका बीचमा मध्यस्थता।यी आफैं योद्धा भए, कुस्ती लडे।सुनिन्थ्यो, आज फलानोले फलानालाई गोदेछ।ती गोदाइ र कलह मुद्दा बने, माटो कारण बन्यो र हाँसिरह्यो त्यो माटोचाहिँ खित्का छोडेर।

तिनका जीवनकालभरि विवादित र विभाजित भयो माटो।तिनीहरू कुकुर बिरालोजस्तै त्यो माटोमाथि चिथोराचिथोर गरिरहे।तिनका रगतले भिजिरह्यो माटो।ती दुवै वृद्ध भने एक वर्षको अन्तरमा बिते २०१८ र २०१९ सालमा।

ती पात्रलाई यहाँ मैले किन प्रस्तुत गरेँ भने त्यसको कारण छ।एउटा उदाहरण स्वरूप भनुँ।म अहिले गैह्रीगाउँमा जान सक्तिनँ साथीबेगर।जंगलले ढाकेको छ, वनमाराले छोपेको छ।कसको घडेरी कहाँ थियो ?
त्यो भन्न सक्ने मानिस पनि एक चौथाइमात्र होलान् समाजमा।कसको साँध कता थियो ? त्यो २० वर्षपछि नि ? एउटा युगको निसाना मेटिइसकिने छ।एउटा सिंगो इतिहास वनमाराको झाडीभित्र विसर्जन भइसक्नेछ।दरसन्तानले कुनै बखत फेरि माटोको भाग लगाउँलान्, तर इतिहास फेरि त्यसरी नै दोहोरिएला भन्न सकिएन।

एक कोदाली होइन पूरै माटो त जीवित छ नि त्यहाँ।तर, एक कोदाली माटोमाथि विवाद गर्ने पात्र खोइ त ? मूल प्रश्न यो हो।माटोलाई समानुपातिक साँधसिमानामा दिन सकेको भए, एक कोदालीमात्रै भए पनि मचाहिँ बढी नै माटोमाथि अधिकार राखुँ भन्ने प्रवृत्ति नजन्मिएको भए माटोमाथि रगत बग्ने थिएन।तर के गर्ने ? हराउन सकेन त्यो पक्ष, त्यो विडम्बना, त्यो प्रवृत्ति।त्यसैले पुरानो चिहान खोतलियो आज भनुँ म।
माटोको कुरा एक किसिमले सजिएको थियो।तर, मलाई कलम बन्द गर्न मन लागेन- तिनका बीचको रोचक प्रसंग पूरा नगरी।

विवादैविवादमा पूर्णचन्द्रले खगेन्द्रपसादको जग्गा हडपे।मुद्दा बन्यो अदालतमा।एकले अर्काको बाटो छलेर हिँड्थे उनीहरू।उनीहरूको बाटो नै अलग थियो- घरमा आउजाउ गर्न समेत।टाढा कतै सम्मुख परेमा हान्ने राँगोले जस्तै हेराहेर हुन्थ्यो।जम्काभेट भयो भने ता मारमुक्का चलिहाल्ने।कस्तो वैरत्व ? कस्तो क्रोध?

जग्गा मुद्दा चलेको थियो कीर्तिपुर माल अड्डामा।मुद्दाको तारेख र पेसीका दिन दुवै जना वादी-प्रतिवादीको उपस्थिति अनिवार्य भइहाल्थ्यो, सवारीसाधनको नामै थिएन।हिँडेरै आउजाउ गर्नुपर्ने बखत हो।अदालतले जाने दिन ८ बजे नै खाना खाएर हिँडिहाल्थे।त्यसमा पनि केही छिटो लुगा लगाएर पूर्णचन्द्र ‑सेतो दौरासुरुवाल, कालो कोट, कालै जुत्ता, कम्मरमा टपक्क कसेको पटुकी, माखाबुट्टे ढाकामा तीनतह छापेको टोपी र बेतको बिँड भएको छाता) पूर्व तर्फको सातोमाटो डाँडामा गएर उभिनुहुन्थ्यो।त्यो डाँडो खगेन्द्रप्रसादको घरबाट सामुन्ने पथ्र्यो।पूर्णचन्द्रले त्यहाँबाट कौलास्नुहुन्थ्यो- ‘ए दामु ! ‑खगेन्द्रप्रसादका जेठा छोरा), ए गोवर्धन ‑कान्छा छोरा)। खोइ, बाबु त निस्केन, ढिला भइसक्यो।आज तारेख÷पेसी छ, बिस्र्यो कि क्या हो ? '

लौ हेर्नुहोस् अचम्म।पूर्णचन्द्र कुरेर बस्नुहुन्थ्यो खगेन्द्रप्रसादलाई।गोरेटो बाटो निस्केर त्यही डाँडाको पूर्वपट्टि बाटो जोरिन्थ्यो।खगेन्द्रप्रसादसँग भेट भएपछि ती दुवै बूढा घर-व्यवहारका, गाई-भैंसीका, छोराछोरीको बिहे-दानका, कुलाचारका, समाजका, इष्टमित्रका विषयमा चर्चा र सल्लाह गर्दै मालटार, नैकाप हुँदै कीर्तिपुर पुग्थे।

लोक चकित हुन्थ्यो मानौं यी दुई जना बूढाको जस्तो मित्रता लोकमा कतै छैन।तिनका साथमा हिँड्ने छिमेकीले भनेका यो कुरो।जब अदालत पुग्थे, उनीहरूको बीचमा भनाभन सुरु हुन्थ्यो- ‘तँ फटाहा ! डाँका ! खालास् अर्काको बाउको सम्पत्ति।चोर लुटाहा दुष्ट !' आदि इत्यादि।हात हालाहाल मात्रै बाँकी राखेर कठालो समातासमात सम्म भ्याउँथे।

अदालतमा मुद्दाको बहस हुनु थियो कि, अर्को तारेख लिनु थियो कि पूरा हुन्थ्यो।काम सकिन्थ्यो जे होस्।पूर्णचन्द्र भन्नुहुन्थ्यो- 'ए खगेन्द्र ! जाऊँ बाबु हिँड् ! रात पर्छ घर पुग्दा।' क्या नमुना बूढाहरू, विश्वासै नलाग्ने कुरा।

अरूले विश्वास गरुन्÷नगरुन् ती ‘नमुना'लाई मतलव थिएन।सँगै घर फर्किन्थे।दुवैले कतै पनि मुद्दाको विषयमा चर्चा गर्दैनथे।शुद्ध कुरा व्यावहारिक र घरायसीमात्रै।

कहाँसम्म भने छोराका लागि बुहारीको र छोरीका लागि ज्वाइँ-केटोको कुरा आफ्ना इष्टमित्रमा चलाउन एकले अर्कालाई अनुरोध गर्थे।कुरा पनि चलाउँथे।बिहे-बर्तुनमा डाकबोलाउ हुन्थ्यो, त्यहाँ भने सामेल हुँदैनथे।अरू बेला गाउँछिमेकको व्यवहार भने उही हो- न एक इन्ची तल न एक इन्ची माथि।

लोकलाई दंग पार्ने नमुना बूढाहरू !

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2