MENU

'वनफूल थिएँ, मालिकले भुइँफूल बनाए'

635x90_1

निभा शाह शनिवार, साउन २८, २०७४ 4406 पटक पढिएको

Share This

635-X-85

'म वनफूलजस्तै सुन्दर थिएँ, मलाई मालिकहरूले कुल्चिएर भुइँफूल बनाए।'
-काली पातर
'वेश्याहरूको जीवन मुसाभन्दा पहिला पनि नारकीय नै थियो। पछि पनि यस्तै नै रहनेछ।'
-लियो टोल्सटोय
संसद् भवन मलाई
चोखा वस्त्र बनाएर लुट्छ
संसद् भवन मेरो पहिलो लुटेरा
पुलिस त्यही सेतो वस्त्र देखाएर
मलाई ब्ल्याकमेल गरेर लुट्छ
मलाई बलात्कार गरेर लुट्छ
पुलिस मेरो दोस्रो लुटेरा
पाखण्डी समाज
सेतो रङ
शुद्धताको रङ भन्दै
मलाई सेतो रङ देखाएर लुट्छ
पाखण्डी समाज मेरो तेस्रो लुटेरा
मेरो देहको लालपुर्जा बोक्ने
यी बुँदागत लुटेराहरूले
मलाई कहिल्यै यो सोधेनन् अम्रपाली
तिमी नगरवधू हुन्छौ कि ?
घरवधू हुन्छौ कि ?
वा मात्र
अम्रपाली हुन्छौ भनेर
यो बलात् लुटेराको दुनियाँमा
म वन वेश्याको
जीवनको पर्दा
च्यातिदिने को छ?
यहाँ त मात्र
म वन वेश्याको जीवन च्यात्ने हजारौं सेता हातहरू छन्।

नयाँनयाँ खाले मालिक बोकेर हाँसिरहने सिंहदरबारलाई केही वर्षअघि उमा वादीले भित्री वस्त्र देखाएर गाउँ फर्किइन्। उमा वादीको भित्री-वस्त्र दृश्यावलोकनले सनातनी लज्जाहीन सिंहदरबारको न चरित्र बदलियो, न संरचना नै। न उमा वादीहरूको जीवनले नै यो देशाटनमा कोल्टे फेर्‍यो।

हो, तिनै उमा वादीको गाउँ कैलाली जिल्लाको धनसिंहपुर गाविसमा पर्छ।यो गाउँलाई कसैले वादी टोल भन्छन्, कसैले बिस्नुकान्तिपुर। कसैले सुन्दरी टोल, परी टोल वा शिवलिंग टोल पनि भन्छन्। जति-जति शिवलिंगका मुख छन्, उतिउति यस टोलका नाम छन्। खैर, यस 'पातर वस्ती'लाई ज-जसले जुन-जुन नामले जे-जे सम्बोधन गरे पनि खासमा यो वादी टोलले आइमाई उत्पीडनको गाथा बोल्छ।

यो बिस्नुकान्तिपुर टोलमा छोरा जन्मिए शोक मनाउने गरिन्छ। छोरी जन्मिए उत्सव मनाइन्छ। यिनका छोराछोरीलाई ‘हुडुल्ला-हुडुल्ली' भनिन्छ। हुडुल्ला-हुडुल्लीको शाब्दिक अर्थ हुन्छ- जारज सन्तान। यस्तो जारज सन्तान जो पातरहरूको गर्भाशयबाट जन्मिन्छ जसका बाउ-बीउहरूको नाम थाहा हुन्छ। तर, सार्वजनिक रूपमा तिनका बाउहरूको नाम उच्चारण गर्न मिल्दैन। यो शब्द अछामी भाषाबाट लिइएको हो।
...
हुडुल्ला-हुडुल्लीहरूको बाउ-बीउहरू नेपाल, भारत देशाटनका कथित ठूलाठूला साहु-महाजन, जमिनदार, नेता, कर्मचारी, पुजारी, खेलाडी आदि-इत्यादि हुने गर्छन्। ती सत्ताका बाहुबलीहरूको नाम पातरले सार्वजनिक रूपमा कहिल्यै पनि लिँदैनन्। पातरहरूलाई थाहा छ- बाहुबलीको नाम लिनेबित्तिकै पातर र हुडुल्ला-हुडुल्लीहरूको बध हुनसक्छ। त्यसैले पातरहरूको सन्तानलाई त्यताको गाउँघरमा यसो भनिन्छ, ‘बाउ-बीउ चिनारी, बाउ-बीउको नाउँ नाई, त यसो पनि हुँदो काहीँ !'

यी हुडुल्ला-हुडुल्लीमा जब हुडुल्लाहरू पन्ध्र÷सोह्र वर्षका हुन्छन्- धेरैजसो यिनीहरू भारततिर भासिन्छन्। यही उमेरमा हुडुल्लीहरूको 'नथनी' उतारिन्छ। ‘नथनी' उतार्नुको अर्थ हुन्छ- शिवलिंगको देहले पहिलोपटक हुडुल्लीसँग सम्भोग गर्नु ! यो सम्भोग प्रक्रियामा हुडुल्ली-देहका लागि मोल बढाबढमा टेन्डर गरिन्छ।

यो टेन्डर प्रक्रियामा जसले बढी मोल तिर्छ, उसैले हुडुल्लीको नथनी उतार्छ। तर, यो नथनी उतार्ने प्रक्रियामा पनि बडो सत्ताको सत्तरञ्ज चल्छ। जसरी ठेक्कापट्टामा सत्ताको सत्तरञ्ज चल्छ, हो ठीक त्यसरी नै।

यथार्थमा जसको सत्तामा बढी बाहुबली छ उसैले सस्तो दाममा हुडुल्लीको नथनी उतार्छ। उसै पनि पातरहरूसँग महँगो दाममा देह बेच्ने कुनै राजनीतिक अस्त्र हुँदैन। यी सबै शिवलिंगे-पैतालामुनिका धुला हुन्।

वादी टोलका पातरहरू सस्तो दाममा बिकुन्जेल देह बेचिरहन्छन्। जब देह बिक्न छोड्छ, यिनीहरू गाउँ पसेर मागी खान्छन्। जब यी गाउँ पस्छन्, यिनको शब्दकोषमा एउटै बोली हुन्छ, ‘हजुर म त अब बूढी भएँ, बिक्न छाडेँ, अब सरकारको निगाहा होस्, म के गरुम् सरकार ? अब मागेर भए पनि बाँच्नै पर्‍यो।'

यिनै ‘बूढी भएँ' भन्दै मागेर खाने पातरहरूले मागी खाने दौरानमा गाउँगाउँ गई आफ्नो जीवनको गाथा भनिरहन्छन्। त्यसलाई पातर-गाथाको लोक साहित्यभन्दा पनि फरक पर्दैन। जसरी बौद्ध साहित्यमा थेर (भिक्षु)हरूले आफ्नो जीवनको गाथा भने, त्यसलाई ‘थेरगाथा' भनियो र थेरी (भिक्षुणी)ले आफ्नो जीवनगाथा भने त्यसलाई थेरी गाथा भनियो। हो, त्यसरी नै पातरहरूको गाथा अर्थात् पातर-गाथा।
...
मैले आफ्नो जीवनको आठ वर्षजति समय कैलालीमा बिताएकी छु। त्यही बसाइमा मलाई पातर-गाथा सुन्ने अवसर मिल्यो। ‘बूढी भएँ' भन्दै गाउँ पस्ने पातरहरूको समूह एक दिन हाम्रो घर आइपुग्यो, तीमध्ये एक थिइन्- काली पातर, जो हेर्दा हिमालजस्तै सेती थिइन्, तर किन हो कुन्नि सबैले उनलाई ‘काली पातर' भन्थे। काली पातरको पातर गाथा यस्तो थियो :

‘म वनफूलजस्तै सुन्दर थिएँ, मलाई मालिकहरूले कुल्चिएर भुइँफूल बनाए। म ज्याई (मेरी आमा) झैं सुन्दर थिएँ। फलानो गाउँ छ नि, हो त्यहाँका जमिनदार बाबुसाहेब ! तर, ती ठकुरी होइनन्, क्षेत्री बाबुसाहेब हुन्, फलानो के...। हो ती मालिकले मलाई ५० रुपैयाँमा नथनी उतारेका हुन्। त्यति बेला म जम्माजम्मी १५ बर्खकी थिएँ। मलाई नथनी उतारिसकेपछि दुई बर्ख क्षेत्री बाबुसाहेबले लखनउको डेरामा लगी राखे।

त्यही के यताका बाबुसाहेब, रानी साहेबहरू बसी बक्सिन्छ नि, अमिनावादवाला राजकमल होटलको नजिकै डेरा लिई राख्या। त्यहाँ तीनचोटि मालिकले मेरो पेट खुसाए (अबोर्सन), त्यहाँदेखि म आमा हुन सकिनँ। म २० बर्खकी हुना हुँ, किन आमा हुन सकिनँ भनेर दागदर्नी साहेबलाई जचाँए, उहाँले भन्नुभयो- तिमले त बच्चा नपाउने अप्रेसन गरिसक्यौ। म त छाँगाबाट खसेँजस्ती पो भएँ ! मेरी ज्याई !

मेरो बन्ध्याकरण मलाई चालै नाइँ ! किन मालिकले ममाथि यति धेरै अपराध गरेका होलान् ? कस्ता मालिक? न मालिकले मलाई जीवनभर नै राखे। १९ बर्खकी हुँदा हुम्, ‘तेरो बैंस ढल्यो राधा' भन्दै मालिकले छोडी त हाले। बैंस छउन्जेलकी राधा न हुँ, बैंस ढलेपछि काली पातर भईं। म काली पातरका जीवनमा कति ग्राहक आए-गए, गनिसाध्न न भनिसाध्य !'

आफ्नो जीवन-गाथा भन्दाभन्दै काली पातरको आँसु झर्‍यो। र, फेरि भनिन्, ‘यी मेरो बाँझो गर्भ हेरी बक्सियोस्।' र, उनले पेटीकोट उँधो गरेर आफ्नो गर्भाशय देखाइन्। फेरि तिनी केही बिर्सेझैं मौनतामा हुन्थिन् र भन्थिन्, ‘मालिकले मलाई सम्भोग गरेपछि भन्थे- राधा तिमीलाई सम्भोग गरेपछि म फूल फक्रिएझैं फक्रिन्छु।'
...
पितृसत्ताले दिमाग चाटेका केही आईमाई भन्थे, 'यी पातरका कुरा कहिल्यै नपत्याउनू। पातरको जातले गर्भभित्रै झूठ बोल्ने, पुरुष लटपट्याउने कला सिकेर आएका हुन्छन्।' त्यति बेला मलाई लाग्थ्यो, 'पातरको कुरा नपत्याएर, मैले बाबु साहेबहरूको कुरा पत्याउनु त !' ती बाबुसाहेबहरू जसले बैंस छउन्जेल पातरलाई उपियाँले चुसेजस्तै चुस्छन् र बैंस ढल्किएपछि उपियाँले सिनो छोडेजस्तै छोड्छन्। त्यस्ता बाबुसाहेबका कुरा कसरी पत्याउनु !

काली पातरको पातर-गाथाको सम्झनाले अचेल मलाई यतिबिघ्न दुख्छ कि मुटु नै छियाछिया भएझैं हुन्छ। सोच्छु- कसरी खान्छ मालिकहरूले एउटा स्त्रीको सिंगो जीवन र सिंगो बैंस? जीवन घामजस्तै उदाउने र अस्ताउने एउटा लामो प्रक्रिया पनि त होइन।

जीवन छोटो छ। यही छोटो जीवनमा पनि पातरमाथि यत्रो अत्याचार? एउटी आईमाई, आईमाईको सत्तो, गर्भाशयमाथि यत्रो बलात्त दमन, बलात्त कब्जा, बलात्त बन्ध्याकरण ! यस्तै सोचाइबीच डुबिरहँदा केहीअघि मैले कविता लेखेको थिएँ-

जीवन अरूलाई नै फुलाउनमा बितेपछि
न फूल हुनुको अनुभूति रह्यो
न फूल फूल्नुको अनुभूति रह्यो
आफैंभित्र बीउ थिएँ
न बीउ हुनुको अनुभूति रह्यो
न सृष्टि हुनुको अनुभूति रह्यो।।

विसं २०५९ मा माओवादी आस्थाको बन्दी हुँदा म हनुमानढोकाभित्र थुनामा थिएँ। त्यो हनुमानढोका जसलाई एक्काइसौं शताब्दीको नरककुण्डभन्दा कत्ति पनि फरक पर्दैन- फोहोरको डुंगुरले। त्यही नरककुण्डभित्र दुईवटा सेल छन्- एउटा महिला अपराधीलाई थुन्ने सेल (राज्यसत्ताको भाषा), अर्को पुरुष अपराधीलाई थुन्ने सेल।

त्यही नरकुण्डको महिला सेलमा पुलिसले २० वर्षजति देखिने एउटी केटीलाई होटलबाट उठाएर ल्यायो। महिला सेलमा ल्याउनेबित्तिकै तिनी रिसले आगो हुँदै चिच्याउन थालिन््, ‘मेरी सौतिनी आमा र यी पुलिस मिलेर मैले यौनांग बेची कमाएको पैसा सबै लुट्छन्। सबै पैसा नलुट मलाई पनि अलिकति देऊ न भन्दा उठाएर हनुमानढोका ल्याउने ? '

यति भनिसकेपछि तिनी केही शान्त भइन् र हामीतिर हेर्दै भनिन्, ‘म यो पेसामा आफैं आएकी होइन, मेरी सौतिनी आमा र यी पुलिस मिलेर मलाई यो पेसामा लगाएका हुन्। कतिको ओछ्यान हुनु ! दलालको ओछ्यान हुनु कि ग्राहकको ? यो ओछ्यान-जिन्दगीदेखि वाक्क लागेर तरकारी बेचीखान्छु भन्दा पनि तरकारी पसलबाट उठाएर होटल लैजान्छन्, पुलिस चौकी लैजान्छन् र मलाई बलात्कार गर्छन्।'


सोह्र वर्षको उमेरमा नै हुडुल्लीहरूको 'नथनी' उतारिन्छ। 'नथनी' उतार्नुको अर्थ हुन्छ- शिवलिंगको देहले पहिलोपटक हुडुल्लीसँग सम्भोग गर्नु ! यो सम्भोग प्रक्रियामा हुडुल्ली-देहका लागि मोल बढाबढमा टेन्डर गरिन्छ। यो टेन्डर प्रक्रियामा जसले बढी मोल तिर्छ, उसैले हुडुल्लीको नथनी उतार्छ।


यति भनेपछि तिनी भक्कानिएकी थिइन्। पुलिसहरूले तिनलाई उठाएर फेरि कता लगे, थाहा भएन।
हिरासती बसाइकै क्रम। २०५९ पुसको जाडो। जाडो दिनमा हामीलाई एक हप्ताका लागि पशुपति वडाको हिरासतमा सारिएको थियो।

राति पुलिसहरू खासखुस गरे- युवती आएकी छे। उनीहरूले राति नै एउटा जोडीलाई उठाएर ल्याए। केटी सानै उमेरकी थिइन्। त्यस्तै बाइस-तेइस वर्षकी देखिन्थिन्। लोग्ने मान्छेचाहिँ अधबैंसे थिए। पुलिसले अधबंैसेलाई खल्ती-पर्स खानतलासी गरेर छोडिदिए।

अधबैंसे भन्दै थिए, ‘एक पैसा पनि खल्तीमा नराखिदिएपछि कसरी घर जानु? '
पुलिस भन्दै थिए, 'हिँडेर जा।'

केटीलाई पुलिसले चौकीभित्रको कुनै कोठामा लगे। केटी रोएको, चिच्याएको आवाज रातभरि सुनिइरह्यो। बिहान केटीको कुनै आफन्त आइमाई मान्छे बोलाएर १५ सय रुपैयाँ जरिवाना तिराई तिनलाई छोडियो।

रातभरि पुलिसचौकीमा ती केटी चिच्याइरहेकी थिइन्, ‘यिनका पाँचतारे होटेल, तीनतारे होटलमा के देहव्यापार हुँदैन? के यिनका दरबार र रिसोर्टहरूमा देहव्यापार हुँदैन ? के त्यहाँ पस्ने र बस्ने सबै नपुंसक हुन्छन्? हामी सानातिना होटलमा देहव्यापार गर्नेलाई समातेर ल्याउने र हिंसा गर्ने ? यो शरीर मेरो हो, मेरो शरीरमा मेरै अधिकार नहुने? '

तिनको आँखामा आँसु थिएन, आगो थियो। भन्दै थिइन्, ‘मेरो पेट खाली छ र भोकै। किन यो देशले मेरो भोको पेटका लागि कानुन बनाउँदैन? '

यिनको उद्गार र हुंकार सुनेपछि मलाई लाग्यो, यी वनफूलजस्तै वनवेश्या हुन्। ‘वनवेश्या' संसद् भवनले अवैधानिक घोषणा गरेको ‘वेश्या' शब्द हो, जहाँ संसद् भवनको कानुनले अर्काको देहलाई लालपुर्जा घोषणा गरेर कब्जा जमाउँछ। यिनै लालपुर्जा-कानुनले बनाएकी सरकारी वनवेश्याले बोलेपछि मलाई लाग्यो, यिनले कम्युनिस्ट घोषणापत्र पो बोलिन्।

कम्युनिस्ट घोषणापत्रले भन्छ, 'अहिलेसम्म अस्तित्वमा रहेका सबै समाजहरूको इतिहास वर्ग संघर्षको इतिहास हो।' काली पातरको पातर गाथाले भन्छ- मालिक छन्, हुडुल्ला-हुडुल्ली छन्, शोषण छ, पाठेघरधरी आफ्नो होइन, मालिकको स्वामित्वमा छ। यस गाथाले समाजमा वर्ग देखाउँछ। उमा वादीको भित्री वस्त्रले वर्गसंघर्ष देखाउँछ।

हनुमानढोकामा भेटिएकी वनवेश्याको गाथाले वर्गीय सत्ताले गर्ने वर्गशोषण र उनको प्रतिरोधी आवाज देखाउँछ। प्रतिरोध कहिले खुलेयाम हुन्छ, कहिले लुकिछुपी हुन्छ, कहिले सशस्त्र र कहिले निःशस्त्र हुन्छ। तर, वर्गीय समाजमा प्रतिरोध भइरहन्छ र त समाज विकास छ। यहाँ क्रान्ति छ, युद्ध छ र प्रतियुद्ध छ।

लियो टोेल्सटोयले भनेजस्तो वेश्याहरूको जीवन सधैं नारकी नै छ भन्नु गलत देखिन्छ। समाजवादी सत्ता जस्तो कि (सोभियत सत्ता), त्यहाँ कुनै नगरवधू थिएनन्, त्यहाँ कुनै आइमाईले देह बेचेर खानुपर्ने परिस्थिति थिएन।

आइमाई, त्यो समाजवादी व्यवस्थामा खुला थिए, जसलाई तसलिमा नसरिनले पनि आफ्नो संस्मरणमा लेखेकी छन्। सोभियत सत्तामा वेश्याहरू थिएनन् भन्दै उनले लेनिनको महिमा गान गरेकी छन्।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2