MENU

प्रेमको यायावरीबाट गुज्रिँदै

635x90_1

रेशम विरही शनिवार, साउन २८, २०७४ 2036 पटक पढिएको

Share This

635-X-85

एकपटक राधाले कृष्णलाई सोधिन्, 'प्रेमको असली मतलब के हो?'
'जहाँ मतलब हुन्छ, त्यहाँ प्रेम कहाँ रहन्छ?' कृष्णले मसुक्क हाँसेर जवाफ दिए।

फेरि राधाले सोधिन्, 'तपाईंले मसँग प्रेम गर्नुभो तर विवाह भने रुक्मिणीसँग गर्नुभो किन?'
कृष्ण मुसुक्क मुस्कुराए र प्रेमपूर्वक भने, 'विवाह दुई शरीरको सम्बन्ध मात्र हो तर तिमी र म त आपसमा समाहित छैनौं र?'

राधा कृष्णको छातीमा लपेटिइन्।प्रेमको 'क्लाइमेक्स' के हो ? विवाह, सेक्स वा जीवनका अरू नै कुनै वैध- अवैध, उचित-अनुचित सम्बन्धहरूको लामो कार्यसूची ? प्रेमको निरवच्छिन्न यात्रा कहाँ गएर ठोकिन्छ ? अथवा कतै पुगेर भत्किन्छ ? कतै गएर ठोक्किने र भत्किने सम्बन्ध नै प्रेम हो ? प्रेम आगो र पानीको उपनाम हो कि अतुल गहिराइको सामुद्रिक क्रीडा हो ?

यावत् प्रश्न र असीमित परिभाषा गरिन्छन् प्रेमका। तर, कतिपय प्रेमका घटना र सम्बन्ध जीवन्त स्मृतिमा रहँदा रहेछन्। आफैंले गरेको प्रेम वा अरू प्रेमसागरमा डुबेको देखेको प्रेमको चुडान्त रहस्यले जीवनको उत्तराद्र्धसम्म रोमाञ्चित तुल्याउँदो रहेछ।

प्रेम एकप्रकारले रहस्य यात्रा पनि हो। (यो जुन म लेखिरहेछु, आफैंले भोगेको प्रेमको विवेचना होइन। मैले प्रेम गरिनँ भनूंँ भने गरेँ, गरेँ भनूँ भने त्यो राधा-कृष्णको जस्तो भइदिएन। म प्रेमबाट निख्रिएँ। मैले देखेका केही प्रेमकथ्यहरू स्मृतिविम्बमा यसरी प्रकट भए।)

वेदना एउटा प्रतिनिधि पात्र थिई मेरो स्वैरकल्पना लोककी। ऊ आफ्नी आमासँग साग टिप्न मेरो घरको करेसामा आउँथी। म आमाको गुन्यूको फेर समातेर उसलाई हेरिरहन्थेँ। ऊ पनि मलाई हेरेर हाँसिरहन्थी। के मैले उसलाई प्रेम गरेको थिएँ ? साग टिप्ने समयमा मात्र होइन धान रोप्ने, धान काट्ने र मकै गोड्ने अर्मपर्ममा पनि उसकी र मेरी आमा सँगै हुन्थे। आमाहरू सँगै हुनुको स्वाद उसलाई थियो र मलाई पनि थियो।

प्रेम के हो थाहा नभएको त्यस बेला हामी नजिकिँदै गयौं। स्वभाववश सहबासको उत्सुकता बढ्दै थियो। एकखुट्टे खेल्दा उसको ज्याम्फर उचालिँदा मेरा आँखा त्यहीँ पुगेर अड्कन्थे, जहाँबाट रहस्य उत्खननको कार्य आरम्भ हुन्थ्यो। यो काँचो प्रेमको टुसा पलायो, अलिकति बढ्यो तर कालान्तरमा महाभारतको कर्ण र द्रौपदीको जस्तै भयो। जातीय उचनिचका तन्तुहरूले उसलाई र मलाई छुट्याइछाडे।

विवाहको मण्डपमा मैले उसको लोग्नेलाई गहिरोसँग आँखा गाढेर हेरिरहेँ। जीवनको छोटो आख्यान बनाएर उसको लोग्ने मर्‍यो। ऊ आफ्नो जीवनको हिस्सा आफैंले बोकेर बाँचिरहेकी छे। म पनि आफ्नो प्रेमको भवितव्य सहेर बाँचिरहेको छु।


कवि विष्णु नवीन चुरा-पोते र साडी लगाएर आउँथ्यो। पहिलो दिनमा त म तर्सिएँ उसको हुलिया देखेर। कतै यो अपरिचित ठाममा कुनै भूतप्रेत त आएन ? मेरो आङभरि काँडा उम्रियो। पछि थाहा भयो, ऊ असफल प्रेमी र शक्तिशाली कवि रहेछ।

 यो प्रेम हो कि के हो ? मलाई अझै पनि थाहा छैन। सायद उसलाई पनि थाहा छैन। तर, यदाकदाको भेटघाटमा स्मृतिगंगा छचल्किने रहेछ। ऊ आँखा चिम्सा बनाएर मुस्कुराउँछे, म आफ्नो अनुराग दबाएर हाँसिदिन्छु।

प्रेमकथा होइन र प्रेम अनुभव पनि होइन। आधा शताब्दीपछि वेदना एउटा निबन्धको विम्ब भएर आउनु प्रेम होइन र ?आमाहरूको साग टिप्ने सम्बन्धबाट सुरु भएको झिनो प्रेम हाइस्कुलको लक्का जोबने विद्यार्थी हँदासम्म तन्किँदै गयो। म भलिबलको कुशल खेलाडी। ऊ मेरो खेलको कुशल दर्शक।

सेन्टर प्वाइन्टबाट बल उठाउने छरितो मेरो खेलकलाबाट अभिभूतार्थ उसको मनोविज्ञान म सहजै बुझ्थेँ। विपक्षीबाट प्रहार भएको 'सर्ट बल' घुँडा घसेर उठाउँदा घुँडा दधारिएको घाउ खेल सकिएपछि मलाईभन्दा पहिला उसलाई थाहा हुन्थ्यो। 'हेर त तिम्रो घुँडाबाट रगत बग्या छ।' ऊ यसो भन्थी। म खेल जितेको उन्माद र उसको मन जितेको आनन्दमा चोटको पीडालाई बेवास्ता गर्दै हात्तीझैं लस्कन्थेँ। त्यो कस्तो प्रेम थियो ? भावनाको आवेग थियो कि प्रेमको तत्व बुझेको संवेग थियो ?

विद्यालयनजिकै एकजना कपडा सिलाउने दर्जी बस्थे। मैले एउटा पाइन्ट सिलाउन दिएको थिएँ। विद्यालय सकिएपछि म पाइन्ट लिन दर्जीको पसलभित्र छिरेँ।'बाबु तपाईंको पाइन्ट त चेतमानकी छोरीले लगिन्', दर्जीले भने।

मैले आश्चर्य मान्दै सोधेँ, 'मेरो पाइन्ट उसलाई किन दिया ? ''तपाईंको किताब धेरै छन्, अटाउँदैन भनेर म लगिदिन्छु भनिन् र लगिन्', दर्जीले जवाफ दिए।

मलाई रिस उठेन, एउटा मसिनो आनन्दले कुत्कुती लगायो। म उसले पाइन्ट लग्नुको अर्थको रोमान्समा घर पुग्नै लागेको थिएँ, ऊ बाटैमा भेटिई। उसले मेरो पाइन्ट आफ्नो झोलाबाट झिकेर पट्याउने बहानामा छातीमा टाँसी र आफैंले मेरो झोलामा राखी। उसले मेरो पाइन्टलाई यति धेरै माया किन गरी ? यो उसको मप्रतिको लाक्ष्मणिक प्रेम थियो कि ?

अहिले म सम्झन्छु- त्यो पोखिनका लागि छचल्किएको प्रेम थियो। मैले कतै एउटा प्रेमकथामा पढेको थिएँ- आवश्यकभन्दा ज्यादा भयो भने त्यो प्रेम कालान्तरमा पोखिन्छ। उसको र मेरो प्रेम त्यसैगरी पोखियो। या कृष्णले राधालाई भनेझैं कतै हामी पनि दूरदराजमा बसेर आत्मिक रूपमा समाहित त छैनौं ?

यदाकदा उसलाई भेट्दा उसको अनुहारमा यस्तै काव्यात्मक बान्कीहरू पढ्छु। उसका मसिना केशराशि मुलाको गुन्दु्रक झैं सेता-काला भएर गुजुल्टिएका छन्। ती हिजोका जस्ता सुरिला र चिल्ला छैनन्। वैधव्यको शास्त्रीय अनुतापमा पिल्सिएकी छ ऊ। अनुहारको चमक उसै गरी, उस्तै गरी मेरो आँखामा पोखिन्छ। मचाहिँ आफ्नै भवितव्य सम्झेर निथु्रक्क हुन्छु र उसको अनुहारबाट आँखा उठाएर टाढा क्षितिजतिर फालिदिन्छु।

भर्खरै। यसै वर्ष अर्थात् २०७४ सालको पहिलो महिनाको पहिलो साता। एउटा वैवाहिक कार्यक्रममा उसको र मेरो जम्काभेट भयो।
'कहिले आयौ ? '
'हिजो मात्र'
'कहिले फर्कन्छौ ? '
'पर्सि बिहानै'
'कति किताब लेख्यौ ? '
'आठवटा'
'तिम्रा किताबहरूमा कतै मेरो उपस्थिति छ कि ? '
'छैन'
'तिम्रो निष्ठुरता अझै बाँकी रहेछ ? '
'अर्को किताब तिम्रो नाममा'
'त्यो मेरो चितामा राखिदिनू'
ऊ रत्यौलीको रमझमतिर लागी। म टाई मिलाउँदै जन्तीमा मिसिएँ।
(अब अर्को कथा। यो मेरो होइन। शुकदेवको हो। सत्ताइस वर्षअगाडि अचानक शुकदेव रत्नपार्कमा भेटियो। एकजना छिमेकीलाई उपचारका लागि वीर अस्पताल ल्याइएको रहेछ। सामान्य कुराकानीपछि उसले आफ्नो अस्पतालभित्रको प्रेमकथा सुरु गर्‍यो।)

'चेतमान बा सिकिस्त भए।'
म झसंग भएँ र सोधेँ, 'को चेतमान ? वेदनाका बा ? '
'अँ, वेदनाका बा।'
'ऊ पनि आएकी छ ? '

'आएकी थिई, फर्किई, उसको लोग्ने पनि आज कि भोलिजस्तो छ, चौबीसै घन्टा रक्सीले सक्किन लाग्या छ। तिमीलाई पनि भेट्ने मन गर्दै थिई तर, सक्किन विचरा। लोग्ने नै घिटिघिटी भएको खबर आयो र फर्किई', मैले सुनिरहेँ। उसले भनिरह्यो:

-चेतमान बा टीबी र दमले ग्रस्त भए। उताबाट यता रिफर भयो। एम्बुलेन्समा ल्याएर यहाँ भर्ना गर्‍यौं। वीर अस्पतालको माथिल्लो तला। चारवटा बेड राखिएको वार्ड थियो। दुइटामा बिरामी थिए। दुइटा खाली। एउटामा हाम्रो बिरामी राखियो। एउटा अझै खाली थियो।

हाम्रो बिरामी भर्ना गरेको करिब एक घन्टापछि खाली बेडमा अर्को बिरामी ल्याइयो। स्लाइन र अक्सिजनका पाइप, बोतल र सिलिन्डरसहित चारजना मानिसले त्यस बिमारीलाई बेडमा सुताए। ती चारजनामध्ये एक सत्र अठारकी लाग्ने सुन्दर युवती थिइन्। बिमारीको सबै व्यवस्थापनपछि अरू तीनजना फर्किए। बिरामी कुरेर ती युवती मात्र बसिन्। बिरामीको अगाडि एउटा स्टुलमा ती युवती बिरामीतिरै अनुहार फर्काएर बसिन्। चेतमानको छोरा र म पनि एक एक स्टुलमा बसेका थियौं।

बिरामी हाड छाला मात्र भएको जीर्ण शरीरको थियो। झट्ट हेर्दा उसको उमेर पचास नाघेजस्तो देखिन्थ्यो।
करिब आधा घन्टापछि बिरामीले युवतीसँग विस्तारै केही भन्यो। युवतीले उठेर हरियो पर्दाले उसलाई छेकी। मैले हरियो पर्दाको चेपैबाट देखेँ- युवतीले बिरामीलाई आफैंले लिंग समातेर पिसाब गराइरहेकी थिइन्।

म चकित परेँ। भोलिपल्ट थाहा भयो। ती दुई दम्पती रहेछन्। रक्सी र ड्रग्सले सकिएर त्यस्तो हालतमा पुगेको युवक पो रहेछ त्यो। जेपी हाइस्कुल पढ्दापढ्दै प्रेमसम्बन्धमा परेकी ती दम्पतीको दाम्पत्य अस्पतालमै समाप्त भयो। ड्रगिस्ट युवकले देहत्याग गर्‍यो। युवतीको यौवन र सुन्दरता सिसाझैं झर्‍यामझुरुम भएर फुट्यो।
...
शुकदेवले सिसाझैं फुटेको प्रेमकथा सुनाएर गयो। म अहिले सत्ताइस वर्षपछि शुकदेव, ती युवती र वेदनालाई सम्झिरहेछु।
कालान्तरमा शुकदेवले नै ती युवतीलाई प्रेम गर्‍यो। तर, मैले वेदनालाई प्रेम गर्न सकिनँ। संवेदनालाई प्रेम गरेर वेदनाले प्रेम पाउँछे र ? मैले प्रेमलाई वासनाको मोहसँग जोडेको भए दाम्पत्यको आगोमा डढाएर सक्थेँ होला। सायद त्यो नभएरै त, मसँग अहिले पनि ऊप्रतिको प्रेम जीवित छ।

मैले प्रेम गरिनँ भनौं भने गरेको छु तर गरेँ भनौं भने शाश्वत प्रेम गर्न सकिनँ। प्रेमलाई दाम्पत्यसँग जोड्नैपर्ने अथवा दाम्पत्यबाहेक हुने प्रेमलाई अनुचित र अमर्यादित मान्ने संस्कृतिका बर्खिलाप म कसरी प्रेमकथा भन्न सक्छु र ? तथापि मैले केही भनेको छु। आफ्नो प्रेमको तिखो स्पर्शलाई उतार्ने चेस्टा गरिरहेको छु।

(यो कथा पनि होइन, निबन्ध पनि होइन। मात्र एउटा आफैंभित्रको भ्रम हो। प्रेमको महत्ता र प्रतिष्ठालाई स्थापित गर्न नसक्ने मजस्तो एउटा लाचार पात्रको बकपत्र मात्र हो। वास्तवमा शुकदेव म आफैं हुँ। मैले नै गरेको थिएँ ती रूपवती युवतीसँग प्रेम।)

उनी अलग छिन्। म अलग छु। तर, हाम्रो प्रेम सँगसँगै छ। विस्तारै बगेको छ। निरन्तर बगेको छ। सङ्लो छ, पवित्र छ, इमानदार छ र घनिभूत छ। के प्रेम शरीरमा मात्र हुन्छ ? आत्माको क्लिष्ट गहिराइमा लुक्न सक्दैन र ? यस्तो प्रेम मैले अल्लारे भएर गरेँ, वयस्क भएर गरेँ र प्रौढ शुकदेव भएर पनि गरेँ र अहिले वृद्धावस्थाको सिँढी चढ्दै गर्दा पनि सबै पात्रप्रतिको प्रेम जीवन्त राखेको छु।

ती रूपवती अहिले त बूढी भइन्। उनका आँखामा अझै पनि प्रेमीबाट पति भएको दिवंगत युवकप्रतिको प्रेम छचल्किन्छ। र, त्यो छचल्किएको मनतातो आँसुको तलाउमा शुकदेवको प्रतिविम्ब हेर्छे र चित्त बुझाउँछे। कतै यी प्रेमका नाममा गरिएका अनर्गल कुरा त लाग्दैनन् ?

मेरो भय जुर्मुराउँछ र फेरि शान्त हुन्छ। कस्तो अपव्याख्याको संस्कृतिमा बाँचिरहेछौं हामी ? अन्तमा हामीले आपसी समझदारीमा भौतिक प्रेमलाई थान्को लगायौं।
...
चारआलीबाट जिप दुगुरेपछि मेरो मन पनि दगुर्न थाल्यो। गाडीको पांग्राझैं मन घुमिरहेको थियो। कहिले वेदनाको अतृप्त, अधुरो र अप्राप्य प्रेमको तलाउमा तरंगित हुन्थ्यो कहिले रूढ पत्नीसँग शारीरिक विलासको भौतिक आनन्दमा डुब्थ्यो।

म एउटा अर्धसरकारी अड्डाको सानो कर्मचारी, ठूलो अभिभारा बोकेर इलामतिर लागेको थिएँ। दसबाह्रजना मानिस थाम्ने जिप। ढुंगैढुंगाको पहाडी कच्ची बाटो। भ्यागुतो उफ्रँदाझैं उफ्रँदै इलाम पुगेर काम सम्हालेको केही दिनपछि म एउटा प्रेमको तुइनमा झुन्डिन थालेँ। कसैले मलाई तान्यो र झुन्ड्यायो एउटा आकाशको जरामा। आकाशको जराको तात्पर्य- त्यो जरा आकाशको शून्यमा रहेछ। समात्न सकिएन फुस्कियो।

कवि विष्णु नवीन चुरापोते र साडी लगाएर आउँथ्यो। पहिलो दिनमा त म तर्सिएँ उसको हुलिया देखेर। कतै यो अपरिचित ठाममा कुनै भूतप्रेत त आएन ? मेरो आङभरि काँडा उम्रियो। पछि थाहा भयो, ऊ असफल प्रेमी र शक्तिशाली कवि रहेछ। विस्तारै हिमचिम बढ्यो। म पनि प्रेमका तुइनहरूमा झुन्डिँदै झुन्डिँदै कवि बन्न खोजेको मनुवा न थिएँ !

त्यति बेला मेरो इलाम बसाइमा थोरै मात्र मानिस बाक्लो सम्पर्कमा आए। एकजना त्रिविका प्राध्यापक निवृत्तिभरण पाएर राजधानीमै जमेका छन्। अर्का एकजना मेरै कार्यालय सहायकले पनि थुप्रै कालखण्ड बिताए काठमाडौंमै, यतै छन्। विष्णु नवीनले दुनियाँ छोड्यो। अरू दुईजना सूचनामा छैनन्।

एसएलसीमा नेपाली विषयमा अनुत्तीर्ण भएर विरक्तिएकी पेमा एक साँझ छायाजस्तै मेरो कोठामा पसिन्। मेरो नेपाली भाषा राम्रो भएको र म राम्रो साहित्यकार भएको प्रशस्ती गाइन्। मैले सुनिरहेँ। मैले उनलाई नेपाली पढाउनुपर्ने भयो। स्याउका सगुनहरूबाट प्रेम प्रवेश गर्‍यो। मैले आफूलाई संयमित राखेँ र आफ्नो यथास्थिति प्रस्ट पारेँ। तथापि उनको अनुराग जोखिम मोल्न तयार भयो। मेरो मन पनि कतै पग्लँदै थियो र जोगिँदै पनि थियो।

यो समयको जोखना पनि अचम्मको हुने रहेछ, 'लेखेको पाइन्छ, देखेको पाइन्न।' छैठीमा भावीले लेख्छ भन्ने कुरा सत्य होस् वा नहोस् तर यो भनाइ भने सत्यझैं लाग्यो मलाई। हामी दुवैले दुवैलाई पाएनौं- देख्यौं, चाहनाको भविष्यलाई विशाल बनायौं र भत्कियौं।

हाम्रो प्रेम अर्थात् पेमा र मेरो सङ्लो सम्बन्धले तातो अनुभव नगरी चिसो पानीमा डुबेजस्तै भयो। तीन महिनाको समयसीमा सकिनै लाग्दा हाम्रो अनुष्ठान अन्तिम चरणमा प्रवेश गर्ने तम्तयारीमा थियो। एक दिन अचानक खबर आयो म वारेन्टेड भएको छु र प्रहरीले मलाई दिउँसै टर्च बालेर खोजिरहेछ।

मैले झोलीतुम्बा कसेँ।पेमाको अनुहारमा झ्याउँकीरी बस्यो। किरिरिङ, किरिरिङ विषादको स्वरले मेरो मन चिथोरिरहेको थियो। मेरो पे्रमिल अवदान समाप्त भयो। ऊ आशाको त्यान्द्रोमा झुन्डिएर केही समय पर्खिरही। म वीरगन्ज कारागारमा हुलिएँ।

मेरो एकजना कवि मित्रले मलाई यायावर भनेका छन्। हो म यायावर नै हँ र, मेरो प्रेमयात्रा पनि यायावर नै भयो। प्रेमको रूप हेर्छु, छाम्छु र यसको फैलावटबिना नै कुनै अवरोधले भ्रूणहत्या हुन्छ। यसलाई म प्रेम भनेर व्याख्या गरूँ कि एउटा नैबन्धीय कथ्यका रूपमा लेखूँ ?

अहिले पनि मसँग एउटा प्रेम बाँचेको छ। राजधानीको कलंकी हुँदै हावामा बतास्सिएर नागढुंगाबाट ओरालो झर्छ र गह्रुँगो भारी बोकेको भरियाझैं स्वाँस्वाँ गर्दै त्यही नागढुंगाको उकालो चढेर ढुंगेअड्डातिर बास बस्छ। के प्रेमको अन्तिम रहस्य यौन मात्र हो ? यो बिना प्रेम बाँच्न सक्दैन ? म यी दुवै परस्पर सत्यबाट भागेको छैन।

यौन बिनाको प्रेममा मैले कतिपटक गान्धीलाई सम्झिएँ ! विवाह र प्रेमको फासला खुम्च्याउँदै स्त्री र पुरुषको विषय वासनालाई मर्यादित राख्ने हो भने स्वतन्त्र हुन्छ। मैले जीवनमा यस्तो स्वतन्त्रताको उपभोग गरेको छु।
मैले गरेका प्रेमका सबै आयाम प्रेमको अर्थमा सबै जीवित छन्।

वेदना आफ्नै वेदनाको अनुताप सहेर पनि मभित्र अझै समाहित छ र म पनि ऊभित्र छु। शुकदेवले गरेको प्रेम- मेरो प्रेम थियो। मैले त्यसलाई मात्र निबन्धको एउटा कथ्य बनाएँ। यसको जडताले मलाई अहिलेसम्म पोलिरहेको छ। राजधानीको गल्लीमा यदाकदा भेटिनु र ओठ तन्काएर मात्र छुट्टिनु हाम्रो जड परिस्थितिको परिणाम हो।

एक वर्षअगाडि मित्र सीतारामले मलाई भने, 'तपाईंकी पेमा मरिन्।'सीतारामले जेसुकै भनून्, म अर्कैमा उसको अनुहार देखिरहेको छु, शुकदेवकी पत्नीको जस्तै। कुनै बेला वेदनालाई पेमामा भेटेको थिएँ, अहिले ढुंगेअड्डाको सानो पसलमा पेमालाई देखिरहेको छु। तब किन नभनूँ म प्रेम सर्दो रहेछ, तर मर्दो रहेनछ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2