MENU

मौलिक फिल्मका तत्वबारे नवीन सुब्बा

635x90_1

अन्नपूर्ण आइतवार, साउन २९, २०७४ 677 पटक पढिएको

Share This

635-X-85

पोखरा : के भयो भने मौलिक फिल्म बन्न सक्छ ? मूल प्रश्न र बहसको विषय यही थियो । वक्ता नवीन सुब्बाले सुरुमै त्यस प्रश्नको उत्तर दिएनन् । एउटा भिडियो क्लिप देखाए अनि उल्टै सहभागीलाई प्रश्न सोधे, जो उनकै उत्तरहरू सुन्न उत्सुक थिए । खासमा उनले सुरुमा दृश्यभाषा बुझाउन खोजेका रहेछन् । फिल्म ‘बर्डम्यान’को दुई मिनेट लामो एकै सट्को दृश्य देखाइसकेपछि सुब्बाले भने, ‘निर्देशकलाई मन लाग्दैमा दृश्य एक सट्मा खिचिएको होइन, पात्र सिजोफोनियाको बिरामी छ, यस्ता बिरामीले निरन्तर एकै थरी कुरामात्रै सोच्छन्, त्यसैले त्यो दृश्य एक सट्मा खिचियो।’

त्यसपछि नवीन मौलिक फिल्म बन्ने तत्व सुनाउनतिर लागे । कथ्य संरचना, अभिनय, दृश्यबन्ध र ध्वनिले फिल्मलाई मौलिक बनाउने उनले बताए । कथ्य संरचना पनि पश्चिमतिरको र पूर्वतिरको भिन्नै रहेको उनको भनाइ थियो । बलिउड फिल्महरू भरतनाट्यमको कथ्य संरचनामा आधारित रहेको नवीनले बताए ।

पश्चिमाहरूको कथ्य संरचना बाइबलबाट प्रभावित रहेको बताउँदै उनले नेपालका विभिन्न जाति र समुदायभित्र पनि छुट्टाछुट्टै कथ्य संरचना रहेको विचार प्रकट गरे । फिल्म ‘नुमाफुङ’ र टेलिफिल्म ‘दलन’ निर्देशनपछि अलग पहिचान बनाएका र छिट्टै फिल्म ‘गुडबाई काठमाडौं’ सार्वजनिक गर्ने तयारीमा रहेका नवीनलाई र्‍यान्डम रिडर्स सोइसाइटीले विमर्शका लागि शनिबार निम्त्याएको थियो ।

अभिनयमा पछिल्लो समय स्टानालाभस्कीले विकास गरेको मेथड एक्टिङ चल्तीमा रहेको उनले बताए । ‘भरत नाट्यशास्त्रले शरीरको हाउभाउ र स्वरलाई जोड दिन्छ, हामी त्यसैको पछिपछि दौडिरहेका छौं, नाटकमा टाढाटाढा बस्ने दर्शकले सुनून् भनेर त्यसो गरिएला तर भिज्युअल माध्यममा क्यामेराले त मनको अनुभूति पनि खिचिदिन्छ’, उनले भने ।

मौलिकतालाई चाहिने अर्काे तत्व दृश्यबन्धबारे नवीनले सेट र लोकेसनमा आफ्नोपना चाहिने खाँचो औंल्याए । ‘न्युयोर्कको कोठामा नेपाली फिल्म खिचिन्छ भने पनि पात्रको कोठामा कुन कुन सामान भइदियो भने नेपाली हुन्छ भनेर ख्याल गर्नुपर्छ’, उनले भने । क्यामेराको खिचाइ पनि महत्वपूर्ण हुन्छ भन्दै उनले व्यंग्य गरे, ‘एउटा नेपाली फिल्मको क्यामेरामेनले क्यामेरा कहाँ राखौं भनेर डाइरेक्टरलाई सोधेछ, डाइरेक्टरले जहाँ सफा छ त्यही राख भन्दिएछ ।’

अर्काे महत्वपूर्ण तत्व ध्वनिको प्रयोग गर्दा पात्रहरूबीचको संवाद, पात्रले उत्पादन गर्ने आवाज र वातावरणमा सुनिने ध्वनिको ख्याल गर्न नवीनले सुझाए । उनले भने, ‘ध्वनिको पनि रङ हुन्छ, संस्कृति हुन्छ, वर्ग हुन्छ । धनीको घरको ढोला खोल्दा जुन आवाज निस्कन्छ, गरिबको घरको ढोका खोल्दा पनि त्यही आवाज निस्कन्न, त्यो ख्याल हुनुपर्छ ।’ उनले ध्वनिकै प्रसंगमा आल्हादित पात्र हिँडिरहेको आवाज र दुःखी पात्र हिँडिरहेको आवाज पनि एकैखाले राख्ने नेपाली फिल्महरूको कमजोरी औंल्याए । ‘नेपाली फिल्ममा सिमेन्ट हिँडे पनि टकटक आवाज हुन्छ, दूबोमा हिँडे पनि त्यही’, उनले भने । फिल्म काल्पनिकै भए पनि पत्यारिलो हुनुपर्ने उनको अर्काे सुझाव थियो ।

सात वर्षदेखि पठन संस्कृति अभिवृद्धिमा केन्द्रित आयोजक संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले यतिका वर्षको बीच फिल्ममाथिको बहस यो तेस्रोपटक भएको सुनाए । विषय छनोट समितिकी संयोजक तथा कवि सरस्वती प्रतीक्षाले अर्को महिना भारतीय लेखक अरुन्धती रोयको पछिल्लो उपन्यास मिनिस्ट्री अफ अटमोस्ट ह्याप्पिनेसमाथि उज्ज्वल प्रसाईंले चर्चा चलाउने जानकारी दिइन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2