MENU

पाँचथरको पहिरोमा बेपत्ता छोरीको शव भेटियो, हजुरबा र नातिनी अझै बेपत्ता

635x90_1

भीमकुमार बाँस्कोटा आइतवार, साउन २९, २०७४ 2518 पटक पढिएको

Share This

635-X-85

फिदिम : शुक्रबार बिहान आठ बजेको पहिरोमा पुरिएर बेपत्ता भएका फालेलुङ तीन ताङ्लेपाका तीन जनामध्ये १३ वर्षीया बालिका गंगामाया राईको शव भेटिएको छ। बेपत्ताको खोजीका लागि खटिएको नेपाली सेनाको भैरबी दल गण र नेपाल प्रहरीको टोलीले आइतबार दिउँसो तीन बजे निवा खोलामा गंगामायाको शव फेला पारेको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए।

शुक्रबारको पहिरोमा परी ताङ्लेपाका एकै परिवारका तीन जना बेपता भएका थिए। ६० वर्षीय विष्णुभक्त राई उनकै १३ वर्षीया छोरी गंगामाया र १३ वर्षीया नातीनी प्रिया राई पहिरोमा बेपत्ता भएका थिए। जसमध्ये विष्णुभक्त र नातिनी प्रिया राई अझै बेपत्ता छन्।

विष्णुक्त ३५ किलोबाट क्षमता रहेको निवा खोला लघु जलविद्युत् आयोजनाको अप्रेटरको रुपमा काम गर्दै आएका थिए। उनको परिवार सोही जलविद्युत्को पावर हाउँसमै बस्दै आएको थियो। अविरल बर्षाका कारण शुक्रबार बिहान पहिरोले श्रीमती सञ्चमाया बाहेक तीन जना बेपत्ता भएका थिए। श्रीमती सञ्चमाया राई चर्पी गएको बेला माथिबाट आएको पहिरोले पुरिएर तीन जना बेपत्ता भएका थिए।

बेपत्तामध्ये दुई दिनपछि छोरी गंगामायाको शव निवाखोलामा भेटिएको हो। श्रीमती सञ्चमाया पनि घाइते छिन्। विष्णुभत्त र उनकी नातिनी प्रियाको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक नकुल पोख्रेलले जानकारी दिए। ‘नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको टोलीले बेपत्ताको खोजी गरिएको छ,’ पोख्रेलले भने। शुक्रबारकै पहिरोमा पुरिएर फालेलुङ एक चुक्पादिनका ८३ वर्षीय तिलोचन विकको मृत्यु भएको थियो। विकको शव पुरिएको पाँच घण्टापछि नेपाली सेनाको भैरबी दल गणको टोलीले निकालेको थियो।

पहिरो पीडितका लागि राहत पठाइयो
फालेलुङ गाउँपालिकमबम पहिरोपीडित परिवारका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रारम्भिक चरणको राहत पठाएको छ। जिल्ला दैवी प्रकोप उद्धार समितिको कोषबाट पीडित परिवारलाई राहत पाठाइएको हो।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार मृतकका परिवारलाई जनही एक लाख र घर भत्किएर विस्थापित भएका परिवारलाई १२ हजार र खाद्यान्नलगायत लत्ताकपडा त्रिपालसहितको प्रारम्भिक चरणको राहत पठाइएको हो।

‘पहिरोमा पुरिएर अहिलेसम्म दुई जनाको शव भेटिएको छ,’ खड्काले भने ‘मृतक तिलोचन विक र १३ वर्षीया बालिका गंगामाया राईकको परिवारलाई एक लाख नगद पठाइएको छ।’ नगदसहित एक सय ४० किलो चिउरा, ४५ कार्टुन चाउचाउ, १५ कार्टुन विष्कुट र १५ थान त्रिपाल पठाइएको छ। त्यस्तै पहिरोपीडितका लागि फिदिम बजारमा संकलन गरिएको एक लाख ३२ हजार नौ सय नगद पनि राहतको लागि पठाइएको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति, पाँचथर उद्योग वाणिज्य संघ र रेडक्रसको अगुवाइमा राहत फिदिम बजारमा संकलन गरिएको हो। नेपाली सेनाको भैरवी दल गणको टोली राहत सामग्रीसहित पहिरो प्रभावित क्षेत्रमा गएको हो।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2