MENU

सन्ते र पुन्टे

635x90_1

घनबहादुर थापा आइतवार, भदौ ४, २०७४ 2161 पटक पढिएको

Share This

635-X-85

अंकुर कथा

सन्ते माझी कक्षा ४ मा पढ्छ । एक दिन स्कुलबाट फर्कंदा छिमेकी काकाले उनकै छोरा पुन्टेलाई कुटेको देख्यो । ठूलोठूलो स्वरमा गाली गरेको पनि सुन्यो । पुन्टे सन्तेको साथी हो । साथी कुटिएको देखेर उसलाई साह्रै दुःख लाग्यो । ज्यादै नरमाइलो पनि भयो । साथीको मायाले ऊ रुनमात्रै सकेन ।

dhan_bahadur‘किन कुटेका होलान् पुन्टेलाई !’ उसले मनमनै भन्यो, ‘घरमा गएर बाबालाई लिएर आउँछु’ ऊ सरासर घरतिर लाग्यो । बाबा घरबाहिर जानुभएको रैछ । पुन्टेलाई बचाउने प्रयास असफल भयो । स्कुल पोसाक फेर्‍यो । हातमुख धोयो । खाजा खान मन लागेन । गृहकार्य गर्न पनि सकेन । उसको वरिपरि पुन्टे रोएको आवाज गुञ्जिरह्यो । केही सोचेर ऊ फुत्त बाहिर निस्कियो ।

काकाको घर अगाडि पुगेर सन्ते उभियो । केही पर त्रिशूली नदी सुसाइरहेको थियो । काका ठूलो स्वरमा पुन्टेलाई गाली गर्दै थिए । काकाले भने, ‘भन् आज माछा बेचेको पैसा कता लगिस् ? ’
पुन्टेले माछा बेचेको पैसा बाबालाई दिएनछ । पुन्टे कुटिनुको कारण सन्तेले थाहा पाइहाल्यो । रिसाएका काकाको डरले घरभित्र पस्ने आँट उसले गरेन ।

पुन्टे अझै सुँकसुँक रुँदै थियो । ‘बेस्मारी कुटे होलान् । कस्तरी दुखेको होला’, सन्तेले मनमनै भन्यो । होमवर्क नगरेको दिन स्कुलमा गुरुले आफ्नो हातमा छडीले हिर्काएको सम्झ्यो । पुन्टेको पीडा आफ्नै जस्तै लाग्यो उसलाई ।

स्कुल बिदाको दिन सन्ते र पुन्टे सँगै खेल्छन् । तर पुन्टेलाई बाबाले स्कुल पठाउँदैनन् । बरु माछा मार्ने काममा पठाउँछन् । ऊ दिनभरि खोलामा माछा मार्छ । साँझ पसलमा बेचेर आएको पैसा बाबालाई दिन्छ ।

‘पुन्टेलाई स्कुल पठाइदिनुस् न काका’, एक दिन सन्तेले साहस गरेर भनेको थियो ।
‘बढी बोल्ने थुतुनो यही होइन,’ सन्तेको मुख समाउँदै काकाले भनेका थिए, ‘हाम्रो पेसा नै माछा मार्ने, बेच्ने र पैसा लिने हो । किन जाने पढ्न ? यस्ता कुरा फेरि गरिस् भने तेरो मुख नै च्यातिदिन्छु ।’ सन्तेको होस् उड्यो । ‘अहिलेको जमानामा सबैले पढ्नुपर्छ भन्ने पनि नबुझ्ने कस्ता मान्छे हौ काका तिमी ? कुरा बुझ्नु न’ भन्न मन थियो तर भन्नै सकेन । डरले थुरथुर काप्दै घरतिर दौडियो ।

त्यो दिन सम्झेर आज काकासँगको डर पुनः जाग्यो । पुन्टेलाई नकुट्नु भन्ने आँट गर्नै सकेन । ‘अब कसरी बचाउने पुन्टेलाई’ उसको अगाडि कुनै उपाय सुझेन । हतपत केही कुरा सम्झियो र प्रवीण सरको घरतिर दौडियो ।
‘नमस्ते सर’ सन्तेले हात जोड्यो । तर केही बोल्न सकेन ।
‘भन् केटा किन आइस् ? ’ प्रवीण सरले भन्नुभयो ।
‘काकाले पुन्टेलाई कुट्नुभएको छ,’ उसले आत्तिँदै भन्यो । यस्तो सुन्नेबित्तिकै प्रवीण सर सरासर पुन्टेको घरतिर हिँड्नुभयो । सन्ते पछिपछि लाग्यो ।
सन्तेलाई गुरुसँगै भित्र जान मन थियो । तर गएन । ‘के भन्ने हुन् काकाले ! प्रवीण सरलाई किन बोलाएर ल्याइस् भन्दै मलाई पिट्ने पो हुन् कि ? ’ यस्तै सोच्दै डराई–डराई बाहिरै उभिइरह्यो । भित्तामा टाँसिएर कुराकानी सुन्यो ।

‘नमस्कार है काका’, गुरुले काकालाई अभिवादन गर्नुभयो ।
‘नमस्कार मास्टरबाबु’, काकाले मलिनो स्वरमा अभिवादन फर्काए । गुरु आएको उनलाई राम्रो लागेन । तैपनि पाहुनाको स्वागत गर्नै पर्‍यो । सुकुल बिछ्याए र भने, ‘बस्नुस् मास्टरबाबु बस्नुस्, के कति कामले आउनुभो कुन्नि ? ’
‘खास कामले आएको त होइन काका । यही बाटो हिँड्दै थिएँ, यसो सञ्चो विसञ्चो सोधुँ भनेर पसेको नि । गुरुले केही थाहा नपाएझैं गर्नुभयो ।
‘अब काकाले के जवाफ देलान्’ सन्तेले लेघ्रो तान्यो । ‘गुरुसँग पनि झगडा पो गर्ने हुन् कि’ ऊ वेचैन भयो । काका एकछिन केही बोलेनन् । त्यही बेला अर्को कोठाबाट पुन्टे रोएको आवाज आयो।

‘के भयो पुन्टेलाई ? किन रुँदैछ । ढोका खोल्नुस् त ।’ गुरुले कडा स्वरमा भन्नुभयो ।
‘केही होइन मास्टर साहेब, पेट दुख्यो भनेर आराम गरी बसेको छ ।’ काकाले सीधै ढाँटे ।
‘मलाई सबै कुरा थाहा छ । किन पिट्नु भयो पुन्टेलाई ? ’ गुरुले ढोका खोल्दै भन्नुभयो । कोठाभित्र पुन्टे थरथर काप्दै बसेको थियो । गालामा नीलडाम देखियो ।
‘मेरो कुनै गल्ती छैन सर, मलाई बचाउनुस्’ अगाडि प्रवीण सरलाई देखेर पुन्टेले रुँदै भन्यो, ‘माछा बेचेको पैसा नदिए मार्छु भनेका छन् बाले ।’
प्रवीण सरले आफूलाई थाम्न सकेनन् । बरर आँसु चुहाए । पुन्टेलाई अँगालो हाले र सुस्तरी भने, ‘नरोऊ पुन्टे, तिम्रो म छु नि !’
गुरुले पुलुक्क काकालाई हेरे ।

‘मलाई माफ गर्नुस् मास्टरबाबू । रिसको झोकमा मबाट ठूलो गल्ती भयो’ काकाले हात जोडेर गुरुसँग माफी मागे ।
बाहिर बसेको सन्तेलाई साहस आयो । लुसुक्क भित्र पसेर पुन्टेको नजिकै उभियो । उसको आँसु पुछिदियो । साथीलाई देखेर पुन्टे पनि हिक्क–हिक्क गर्न थाल्यो ।
‘आज माछा बेचेको पैसा के गर्‍यौ त पुन्टे’ प्रवीण सरले माया दर्शाउँदै सोध्नुभयो ।
पुन्टे केही बोलेन । भर्‍याङमुनि देखायो । त्यहाँ नयाँ स्कुलको झोला, किताव, कापी र कलम लुकाएको रैछ । माछा बेचेको पैसाले किनेर ल्याएकोले बाबालाई देखाउन डराएछ ।
सबै सामान बटुल्दै गुरुले भन्नुभयो, ‘पुन्टेलाई स्कुल जाने रहर रैछ । भोलिदेखि स्कुल पठाउनुस् है काका ।’
‘जस्तै गल्ती गरे पनि बालबालिकालाई पिट्न पाइँदैन । अझ पढ्छु भन्नेलाई उल्टै पिट्दा त झन् पाप लाग्छ । बालक पिटेको थाहा पाए भने तपाईंलाई प्रहरीले पक्राउ गर्छ,’ प्रवीण सरले चेतावनी दिनुभयो । भन्नुभयो, ‘सन्तेले खबर नगरेको भए आज के हुन्थ्यो, हुन्थ्यो । अहिले माछा मार्दै समय खेर फालेमा भोलि उसले के खान्छ ? अहिले तपाईं काम गर्नुस्, उसलाई पढ्न पठाउनुस् । पढेको मान्छेले राम्रो जागिर पाउँछ । अनि बुढेसकालमा तपाईंलाई राम्ररी पाल्छ ।’
‘गल्ती भयो सर । मैले बल्ल पढाइको महत्व बुझें । भोलिदेखि उसलाई सन्तेसँग स्कुल पठाउँछु । काम पनि लगाउँदिनँ’ काकाले कसम खाए । सन्ते र पुन्टे खुसी भए ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1