MENU

फरक शैलीमा सिकाइ

635x90_1

नितु घले आइतवार, भदौ ११, २०७४ 3173 पटक पढिएको

Share This

635-X-85

तेरो दिमाग छैन, तैले केही गरेर खान सक्दैनस् । धेरैले बालबालिकालाई गाली गर्दै यस्तो भन्ने गरेको सुनिन्छ । बालबालिकाको इच्छा, चाहना, रोजाइ नबुझिकनै अभिभावक होस् या शिक्षकहरू, जबर्जस्ती उनीहरूलाई आफ्नो रुचि विपरीतका विषय एकोहोरो घोकाउँछन् । ती बालबालिकाले पढ्न जानेनन् भने उल्टै उनीहरूलाई गाली गर्छन् र पिट्छन् पनि । यस्ता बालबालिकालाई नजान्ने विद्यार्थीको कोटीमा राखेर उनीहरूलाई विस्तारै वास्तै गर्न छाडिदिन्छन् । सबैले नजान्ने भनेर हेयको भावले हेर्ने गर्छन् । फलस्वरूप बच्चाको कलिलो दिमागमा नकारात्मक प्रभाव पर्न गई उनीहरू तनावको समेत सिकार हुन पुग्छन्।

 

तर वालडर्फ शिक्षा पद्धतिमा बालबालिकामाथि यस्तो व्यवहार गरिँदैन । यो संसारको उत्कृष्ट शिक्षा प्रणालीमध्येमै गनिन्छ । यसमा बालबालिकाको मानसिक तथा शारीरिक विकासको परीक्षण गरेर त्यसैअनुसार उनीहरूलाई कक्षा कोठामा पठाइने गरिन्छ । यस पद्धतिमा बालबालिकामा समस्या देखिएको खण्डमा उनीहरूको पारिवारिक पृष्ठभूमि बुझिन्छ ।

धेरै बालबालिकाले पारिवारिक अवस्थाका कारण पढाइमा राम्रो गर्न नसकेको र तनावमा परेको देखिएको बताउँदै शान्ति प्राथमिक अंग्रेजी विद्यालयकी प्रिन्सिपल रविना शाहीले भनिन्, ‘यस पद्धतिअनुसार बालबालिकाको मानसिक र शारीरिक दुवै अवस्था बुझेर त्यसैअनुसार उनीहरूलाई निपुर्ण बनाइन्छ ।’

नेपालमा सबैभन्दा पहिले नेपाल बाल मन्दिरबाट सुरु भएको यो शिक्षा प्रणाली शान्ति स्कुलले सन् २००० देखि सुरु गरेको हो । शान्ति स्कुलमा यतिबेला एक सय २० जना विद्यार्थी यही पद्धतिबाट शिक्षा लिइरहेका छन् । उनीहरूलाई १५ जना तालिमप्राप्त शिक्षकहरूले अध्यापन गराउँदै आएका छन् ।

यो शिक्षा प्रणालीको सुरुवात जर्मन नागरिक रुडल्फ स्टिनरले गरेका थिए । संसारभर मान्यता प्राप्त शिक्षा प्रणालीको रूपमा सुरु भएको यस पद्धति अपनाउन निकै कठिन रहेको चाल्नाखेलस्थित अंकुरन वालडर्फ किन्डर गार्डेन स्कुलका संस्थापक कृष्ण गुरुङले बताए । सन् २०१२ मा विद्यालय स्थापना गरेका गुरुङका अनुसार शारीरिक तथा मानसिक विकासलाई बुझेर बालबालिकाको रुचिको आधारमा उनीहरूलाई त्यसै विषयमा पोख्त बनाइन्छ।

बालबालिकालाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाइने बताउँदै उनले भने, ‘वालडर्फ फर्मुलाअनुसार बच्चाको शून्यदेखि सात वर्षलाई नक्कल गर्ने उमेर, सातदेखि १४ वर्षलाई कल्पना गर्ने उमेर, १४ देखि २१ वर्षलाई मैले केही गर्नुपर्छ भन्ने उमेर भएकाले उनीहरूको मानसिकता बुभ्mनु आवश्यक हुन्छ । उनीहरू असामान्य देखिरहेमा उनीहरूको पारिवारिक पृष्ठभूमि बुझिन्छ । कुन घरमा कसरी हुर्केका छन् त्यो पनि हेरिन्छ । शारीरिक चेकजाँच पनि गरिन्छ ।’

यस पद्धतिअनुसार शिक्षकहरूले बालबालिकालाई अनुशासनमा बस्न सिकाउँछन् । तर उनीहरूलाई जबर्जस्ती कुनै पनि कुरामा लाद्न लगाइन्न । वालडर्फको पाठ्यक्रम यस्तै खालको छ । बालबालिकाको मनोविज्ञान राम्ररी नियालिसकेपछि उनीहरूको आफ्नै रुचिको आधारमा त्यसैमा अझ पोख्त बनाउन सहयोग गरिन्छ यो पद्धतिमा । उनीहरूलाई व्यावहारिक ज्ञान लिने कुरामा नै विशेष जोड दिइन्छ । यसका लागि शिक्षकहरूलाई समेत स्विट्जरल्यान्ड, भारतलगायतका देशमा तालिमका लागि जाने गरेका गुरुङले बताए ।

वालडर्फ पद्धतिअनुसार अध्ययन गर्ने बालबालिका सिर्जनशील र नयाँपनको खोजी गर्न सक्ने हुने उनले बताए । यस स्कुलमा किन्डरगार्डेनदेखि तीन कक्षासम्म सञ्चालन भइरहेको छ । मासिक तीन हजार सात सय रुपैयाँ शुल्क तिरेपछि यसमा ट्युसन फिका साथै खाना, यातायात, अतिरिक्त क्रियाकलाप र आफ्नो फर्ममा फलेका तरकारी खान पाउने सुविधा पनि विद्यार्थीलाई दिइन्छ ।

यो शिक्षण पद्धति अंकुरन किन्डरगार्डेन, शान्ति प्राथमिक स्कुलका साथै टासी वालडर्फ स्कुल र पोखरामा माइट्रिया पाठशाला वालडर्फमा सञ्चालनमा रहेका छन् । सबै मापदण्ड पूरा गरेपछि जर्मनीबाट निरीक्षकहरू आएर पारित गरेपछि मात्रै यो पद्धतिअनुसार विद्यालय सञ्चालनमा अनुमति दिइने भएकाले नेपालमा थोरै स्कुलले मात्र वालडर्फ पद्धति अपनाएको शाहीले बताइन् ।

शान्ति स्कुलमा भने विशेषगरी कुष्ठरोग लागेका अभिभावकका सन्तान अध्ययन गर्छन् । साथै नेपालका विभिन्न स्थानबाट आएका, अभिभावक नभएका, बेसहारा तथा पैसा तिर्न नसक्ने बालबालिकालाई निःशुल्क अध्यापन गराउँदै आएको बताउँदै शाहीले भनिन्, ‘हाम्रा बालबालिकालाई कुनै पनि परिस्थितिको सामना गर्न सिकाउने वातावरण तय गरिदिन्छौं । हामी किताब र कोर्स पूरा गर्नुलाई उपलब्धि मान्दैनौं ।’ यहाँ किन्डरगार्डेनदेखि कक्षा ८ सम्म सञ्चालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1