MENU

क्रिकेटरको चिया गफ : के अब हामी हलो जोत्‍न जाने?

अन्नपूर्ण आइतवार, भदौ ११, २०७४ 34774 पटक पढिएको

Share This

635-X-85_1

‘खेल्न नसक्ने खेलाडी बाहिरिन्छन, काम नगर्ने पदाधिकारी किन नहट्ने ?’

नेपाल क्रिकेट संघ (क्यान) पछिल्लो डेढ वर्षयता अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को निलम्बनमा छ। २०७३ वैशाख १२ गते आईसीसीले निष्पक्ष निर्वाचन गर्न नसकेको तथा सरकारी हस्तक्षेप भएको कारण जनाउँदै नेपाली टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न दिने तर, क्यानलाई निलम्बनमा राख्ने निर्णय गरेको थियो।

आईसीसीको उक्त निर्णयसँगै नेपाली क्रिकेटको विकासको गति अवरुद्ध बन्न पुगेको छ। यो अवधिमा सिनियर राष्ट्रिय टोलीले केही अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेबाहेक क्रिकेट विकासका गतिविधि भएकै छैनन् भन्दा पनि फरक पर्दैन। यो अवधिमा नेपाली खेलाडीको अवस्था, नेपाली क्रिकेटले बेहोरेको क्षति, नेपालले अर्का महिना हङकङविरुद्ध खेल्न लागेको आईसीसी विश्व क्रिकेट लिग (डब्लूसीएलसी) च्याम्पियनसिप अन्तर्गतको खेलको तयारीलगायत विषयमा अन्नपूर्ण पोस्ट्का रोशन राउत र दीपेन्द्र गुरुङले नेपाली राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लसँग गरेको कुराकानीको सम्पादित अंश :

 

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङ्कङविरुद्धको खेलको तयारी कस्तो हुँदैछ ?
हङ्कङविरुद्धको खेल हाम्रा लागि कति महŒवपूर्ण छ भनेर सबैलाई थाहा छ। पछिल्लो समय हामीसँग धेरै प्रतियोगिता छैनन्। गत जेठमा भएको प्रधानमन्त्री कपमा गरेको प्रदर्शन र त्यसअघिका अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीलाई समेटेर प्रारम्भिक टोलीको घोषणा गरिएको छ। त्यसमध्ये दुई तीनजना यू–१९ खेल्न गएका छन्। बन्द प्रशिक्षण पनि सुरु भइसकेको छ। लगत्तै दसैं आउँदैछ। चाडपर्व र अन्य कारणले तयारी केही समय ‘ब्रेक’ हुने भएकाले क्याम्प चाँडै सुरु गर्ने योजनामा थियौं तर केही व्यावहारिक समस्या पनि देखिए।

व्यावहारिक समस्या भन्नाले कस्तो समस्या होला ?
अहिले मनसुन चलिरहेको छ। वर्षा भइरहँदा अभ्यास गर्न मिल्ने सुविधा हामीसँग छैन। हामीले छिट्टै कन्डिसनिङ क्याम्प भए पनि सुरु गर्न पाए हुन्थ्यो भनेका थियौं तर त्यो सबै हाम्रो हातमा थिएन र छैन। क्याम्प बस्ने विषयमा सम्पूर्ण योजना आईसीसीबाट स्वीकृत भएर आउनुपर्छ। क्याम्पका लागि चाहिने रकम आईसीसीले स्वीकृत गरेपछि मात्र प्राप्त हुन्छ। अहिले हाम्रो सम्पूर्ण काम आईसीसीले हेरिरहेकाले हामीले मात्र चाहेर हुने अवस्था छैन।

डब्लूसीएलसी भनेको विश्वकप छनोटमा पुग्ने र डिभिजन एकमै रहने बाटो पनि हो। त्यसका लागि बाँकी रहेको खेलमा हङ्कङ र यूएईलाई हराउनैपर्ने बाध्यता हामीसँग छ। यत्तिका समस्याबीच हामी कसरी त्यो उद्देश्यमा सफल हुन्छौं त ?
हामी पछिल्लो दुईतीन वर्षदेखि समस्यामै छौं तर खेल्ने बेलामा हामी समस्याको विषयमा सोच्दैनौं। समस्याको बारेमा सोच्दा खेलमा प्रभाव पर्छ। मैदानमा उत्रिएपछि विपक्षीलाई कसरी हराउने भन्ने विषयमा मात्र हाम्रो ध्यान केन्द्रित हुन्छ। हामीले सधैं जित्नकै लागि खेल्ने हो। अहिले झन् छनोटको कुरा छ तर त्यो कुरा हाम्रो नियन्त्रणमा छैन। हाम्रो काम क्रिकेट खेलेर कसरी टोलीलाई जिताउने भन्ने हो। अन्य खेलाडीले पनि यसरी नै बुझ्ने गरेका छन्। हामी बाँकी खेल पनि जित्नकै लागि खेल्नेछौं। हामी शीर्ष चारभित्र रहन्छौं। त्यसो भएन भने पनि हामीसँग अर्काे अवसर रहन्छ। हामी यो अवस्थामा कसरी आइपुगेका छौं भन्ने कुरा खेलाडीदेखि सबैलाई थाहा छ। कसैले पनि यो अवस्थालाई सजिलै गुमाउन चाहँदैन। खेलाडी पनि त्यसका लागि मानसिक र शारीरिक रूपमा तयार छन्।

gyanendra_malla

यसपटक प्रारम्भिक चरणमा २५ जनामात्रै खेलाडी छानिएका छन्। प्रारम्भिक चरणमै किन यति थोरै खेलाडी ?
बन्द प्रशिक्षणमा छानिनुको आधार भनेको हालै भएका प्रतियोगितामा गरेको प्रदर्शन नै हो। गएको अन्तर्राष्ट्रिय र घरेलु प्रतियोगितामा उसको प्रदर्शन कस्तो थियो भन्ने विषय नै छनोटको प्रमुख आधार हो। तर, अहिलेको अवस्था त्यति सहज छैन। बन्द प्रशिक्षण राख्नका लागि आईसीसीबाट बजेट स्वीकृत भएर आउनुपर्छ। पहिले धेरै खेलाडी राख्दा पनि यस्तै अन्योल भएको थियो। आईसीसीले स्वीकृति देला कि नदेला भन्ने डर हुन्थ्यो। त्यसैले २५ जना ठिकै मान्नु परेको छ। आखिर हामीलाई चाहिने १४-१५ जना खेलाडी त हो।

प्रारम्भिक छनोटमा केही बढी खेलाडी राख्न सकेको भए नयाँ क्षमतावान् खेलाडी पनि टोलीमा पर्ने सम्भावना रहन्थ्यो नि ?
हामीले बुझ्नुपर्ने कुरा के हो भने छनोट प्रतियोगितामा रन हान्दैमा टिममा पर्ने हैन। उसको भूमिकाअनुसार पनि टिममा अटाउने नअटाउने हुन्छ। राम्रो प्रदर्शन गर्‍यो भन्दैमा हामी टिममा पहिलेदेखि नै स्पिनर बढी राख्छौं। ब्याट्सम्यानको हकमा पनि त्यस्तै हुन्छ। हाम्रो राष्ट्रिय टोलीको मिडल अर्डर एकदमै अनुभवी छ। पारस, शरद, विनोद अनि अहिले त दीपेन्द्र पनि आइसकेको अवस्था छ। अर्का मिडल अर्डर ब्याट्सम्यानले उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्नुपर्‍यो नि त, अनि पो टिममा पर्न सक्छ। आज एउटा प्रतियोगितामा पाँच÷सातवटा छक्का हान्यो भने भोलि ऊ टिममा पर्नैपर्छ भन्ने हाम्रो मान्यता छ तर टिममा उसको रोल छैन भने उसलाई राखेर के गर्ने ? बरु हामी उसलाई बन्द प्रशिक्षणमा बोलाएर भोलिका लागि तयार पार्न सक्छौं। त्यसपछि ऊ पनि एउटा सेटअपमा आउनसक्छ।

प्वाइटर
- घरभित्रै कुरा मिल्दैन भने अरूले गरिदिएन भनेर भन्नु मूर्खता हो ।
- नेटमा अभ्यास गरेरमात्रै ब्याटिङमा सुधार हुँदैन ।
- कडा परि श्रम गर्दासमेत राष्ट्रिय टोलीमा पर्नबाट चुकेका खेलाडीले खर्चेको समयको पनि मूल्यांकन हुनुपर्छ ।
- नेपाली क्रिकेट भनेर राष्ट्रिय टोलीका १२ वा १४ जना खेलाडीलाई मात्रै बुझेर हुँदैन ।
- निजी क्षेत्रले आयोजना गर्ने प्रतियोगिताले देशभित्र क्रिकेटलाई मर्न नदिए पनि त्यसले नेपालको क्रिकेट विकासमा भने खासै योगदान पु¥याएको छैन ।
- निजी क्षेत्रले टीट्वेन्टी प्रतियोगितामात्रै आयोजना गरेका छन्, हामीलाई चाहिएको त एकदिवसीय प्रतियोगिता हो ।
- हामीसँग क्रिकेटको क्यालेन्डर नै छैन । यसले राष्ट्रिय टोलीमा परेका र बाहिर रहेका खेलाडीबीच ठूलो खाडल ल्याएको छ ।
- महिला क्रिकेट सुरु भएको १० वर्ष भयो होला तर अहिलेसम्म महिला क्रिकेटको स्कुल प्रतियोगिता पनि हुँदैन । हामी माथिल्लो एउटा उपलब्धि हेरेर मक्ख परेर बस्छौं । सिनियर पुरुष क्रिकेटलाई मात्र हेरेर महिला र उमेर समूहका सबै क्रिकेट बिर्सिएका छौं ।
- रणजी ट्रफी होइन, बिहारको लिगमात्र खेल्ने वातावरण मिल्ने हो भने पनि हाम्रो क्रिकेट धेरै माथि पुग्छ ।
-पक्कै पनि कसैको व्यक्तिगत स्वार्थले यो प्रक्रिया रोकिएको हुनुपर्छ । क्रिकेट रहोस् वा नरहोस्, म रहनुपर्छ भन्ने मान्यताले नै हुनुपर्छ निकास ननिस्किएको ।
-राजनीतिक पृष्ठभूमिबाट आएका मान्छेले नराम्रै काम गर्छन् भन्ने पनि छैन । त्यसैले क्रिकेट संघमा क्रिकेटर नै आउनुपर्छ भन्ने जरुरी छैन ।
- हाम्रोमा सिस्टम भइदिएको भए खेलाडीहरूले यसरी बोल्नु पनि पर्दैन थियो होला । सिस्टम नहुँदा हामीले बोल्नुपर्ने हुन्छ । त्यसरी बोल्दा कुनै न कुनै पक्षलाई त असर पर्ने नै भयो, जसलाई असर पर्छ उसले त भन्ने नै भयो नि खेलाडीले राजनीति ग¥यो भनेर ।
(१३) पदाधिकारीहरू पनि क्रिकेटमा केही गर्न आएका हुन् । गर्न सकेनन् भने उनीहरू पनि खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा टोलीबाट बाहिरिएजस्तै बाहिरिनु पर्यो‍‍ नि ।
- मैदानबाहिर खेलाडी निराश छन् । खेल सकिएपछि कहिलेकाहीँ ठट्टा पनि हुन्छ— केही अब हलो जोत्न जाने भन्छन्, केही अब विदेश जाने भन्छन् । यद्यपि यो कुरालाई अझै पनि टोलीमा हावी हुन दिएका छैनौं ।

छनोटमै सशक्त प्रदर्शन गर्‍यो भने त टोलीमा राख्नुपर्ला नि ?
खेलाडीको प्रदर्शनमात्रै हैन, उसको ‘बडी ल्यांग्वेज’ले पनि अर्थ राख्छ। घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगितामा रन जोड्नु फरक कुरा हो। घरेलु प्रतियोगितामा एउटा, दुइटा वा पाँचवटै लुज बल पाउन सक्छ। त्यो बलमा ब्याट्सम्यानले चौका वा छक्का हान्ला। अन्तर्राष्ट्रिय प्रतियोगितामा भने पाँचैजना बलर क्वालिटीका हुन्छन्। यस्तोमा लुज बल नै पाएन भने घरमा लुज बलमा चौका वा छक्का प्रहार गरिरहेका खेलाडीले कसरी खेल्न सक्ला ? त्यति बेला खेलाडीको अनुभव र आत्मविश्वासको कुरा पनि आउँछ। अर्काे महŒवपूर्ण कुरा भनेको फिटनेस हो। फिटनेस ‘इस्यु’ हाम्रोमा छैनभन्दा पनि हुन्छ। हामी यसै पनि क्रिकेट कम खेल्छौं। फिटनेस पनि आवश्यक छ भनेर निकै कम सोच्छौं। क्यान नहुँदा नेपाली क्रिकेटलाई परेको असरलाई कसरी मापन गर्न सकिन्छ ? क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेटको विकासक्रम नै रोकिएको छ। क्रिकेट विकास गर्ने हो भने त्यसका लागि आधिकारिक निकाय सक्रिय हनुपर्छ, त्यो भनेको क्यान हो। आधिकारिक निकाय निलम्बनमा रहेको अवस्थामा त्यसको सट्टामा काम गर्ने अर्का निकाय छैन। अब आईसीसीले यहाँ आएर यो सबै हेर्दा पनि हेर्दैन। क्यानको निलम्बनले खेलाडी वा कुनै एक पक्षलाई मात्रै होइन, समग्र क्रिकेटलाई नै असर पारेको छ।

यो अवस्थाले खेलाडीहरूको मनोदशामा कस्तो असर पारेको छ नि ?
क्यान भनेको घर हो। अब घरमै झमेला हुन्छ भने त्यसले सबैलाई असर पार्छ। त्यसबाट खेलाडी पनि अछूतो रहने कुरै हुँदैन। यू-१९ मा भर्खरै आएका खेलाडीले मेहनत गरिरहेका छन्। आफ्नो महत्वपूर्ण सबै समय क्रिकेटलाई दिन्छु भनेर आएका छन् तर यस्तो अवस्थामा उनीहरूको भविष्य के हुन्छ ? कसैलाई थाहा छैन। सिनियर खेलाडीको अवस्था पनि त्यस्तै छ। हामीले क्रिकेटलाई यस्तो दयनीय अवस्थामा पुर्‍याउन मैदानमा रगतपसिना बगाएका होइनौं। राम्रो होस् भनेर नै केही नहुँदा पनि खेलेका थियौं। अहिले आएर त्यति दुःखले प्राप्त गरेको उचाइ नै गुम्ने स्थिति आउँछ भने त्यसले खेलाडीलाई पक्कै पनि निराश बनाउँछ। अझै पनि खेलाडीमा केही गर्नुपर्छ भन्ने भावना छ। बाहिर जस्तो भए पनि मैदानमा प्रवेश गरेपछि खेलाडीमा जित्नुपर्छ भन्ने भावना नै हुन्छ। त्यसैले आजसम्म म मेरा खेलाडीदेखि खुसी छु। जेजस्तो भए पनि उनीहरू खेल्नुपर्छ, जित्नुपर्छ भनेर खेलिरहेका छन्। तर, मैदानबाहिर खेलाडी निराश छन्। खेल सकिएपछि कहिलेकाहीँ ठट्टा पनि हुन्छ—केही अब हलो जोत्न जाने भन्छन्, केही अब विदेश जाने भन्छन्। यद्यपि यो कुरालाई अझै पनि टोलीमा हावी हुन दिएका छैनौं।

अहिलेको अवस्थामा पनि आईसीसीबाट केही सहज तरिकाले सहयोग हुन सक्दैनथ्यो र ?
आईसीसीअन्तर्गत धेरै देश छन्, उसले एउटालाई हेर्ने र अर्कालाई नहेर्ने गर्न सक्दैन। जस्तो आईसीसीले हामीलाई तीन महिना क्याम्पमा राख्ने तर हामीसँगै खेल्ने हङ्कङलाई एक महिनामात्र क्याम्पमा बस भन्न मिल्दैन। हाम्रो समस्या हेर्ने भनेको लोकल बडीले हो, जुन यतिबेला निलम्बनमा छ। अफगानिस्तानले आईसीसीबाट हामीले भन्दा केही बढी फन्ड पाउँछ। तर, अफगानिस्तानको प्रदर्शन आयरल्यान्डको भन्दा पनि राम्रो छ। यसका लागि पक्कै पनि अफगानिस्तानको बोर्डले केही राम्रो गरेको होला नि त। अफगानिस्तानले आफ्नै देशमा चार दिवसीय पहिलो श्रेणीको क्रिकेट खेलिरहेको छ। आफ्नो ‘ए’ टोली बनाएको छ। हामीले कुनै पनि टोलीको प्रदर्शन र सफलतालाई मात्रै हेर्ने होइन, त्यसको पृष्ठभूमिलाई पनि हेर्नुपर्छ। सबै कुरा एकैपटक हुने होइन, त्यसका लागि लामो गृहकार्य आवश्यक पर्छ। होम बोर्ड हुँदा र नहुँदाका फाइदा÷बेफाइदा यिनै हुन्। आईसीसीले चाहेको भए अझ राम्रो गर्न सक्थ्यो होला तर त्यो उनीहरूको चाहनाको कुरा हो। घरभित्रै कुरा मिल्दैन भने अरूले गरिदिएन भन्नु मूर्खता हो।

आईसीसीले लामो समयपछि खेलाडीलाई तलब दिएको छ। त्यसले खेलाडीमा केही उत्साह जगाएको होला ?
राष्ट्रिय टोलीका सदस्यको मात्रै हिसाब गर्ने हो भने त ठीकै छ, उनीहरूका लागि केही भइरहेको छ। तर, क्यान नहुँदा आईसीसीको मात्र भर परेर कहिलेसम्म बस्ने ? कसैको पनि करिअर बनाउने गोल्डेन समय भनेको १८ देखि २० वर्ष हो, जुन अवधि हामीले क्रिकेटलाई दियौं। मानसिक र शारीरिक रूपमा बलियो भएको बेला हामी त्यो समय करिअर नै नभएको क्षेत्रमा करिअर बनाउन खोज्दैछौं। त्यसको परिणाम यस्तै अन्योलपूर्ण भविष्य हुने रहेछ। यो समस्या अन्य खेलसँग सम्बन्धित खेलाडीको पनि हो। हामी समाचारमा पढ्छौं— भारोत्तोलन, कबड्डीका पदक विजेता खेलाडी कोही ठेलामा छन्, कोही गार्डको काम गर्दैछन्। उहाँहरूले आफ्नो ऊर्जाशील समय देशका लागि दिनुभएको थियो। त्यसको बदलामा उहाँहरूको अवस्था त्यो स्थितिीमा पुग्यो। अहिलेको अवस्थाले क्रिकेटलाई पनि अनिश्चिततातर्फ लैजान्छ, निराशातर्फ लैजान्छ। अहिले पनि हामीले मेहनत गर्न छाडेका छैनौं। हामी अझै पनि उत्कृष्ट प्रदर्शन गरेर विश्वकप छनोटमा पुग्ने लक्ष्यमा छौं।

gyanendra
तर, महत्वपूर्ण कुरा के हो भने हामीले नेपाली क्रिकेट भनेर राष्ट्रिय टोलीका १२ वा १४ जना खेलाडीलाई मात्रै बुझेर हुँदैन। म क्रिकेटर बन्नुमा मैले गल्लीमा क्रिकेट खेल्दा जसजसले बलिङ गरेर सहयोग गरिदिए, नेपाली क्रिकेट बन्नुमा उनीहरूको पनि योगदान छ। टुँडिखेलमा खेल्न जाँदा अर्का टोली नभइदिएको भए म क्रिकेटर नबन्न पनि सक्थेँ होला। जसले नेपालमा क्रिकेट भित्राए, उनीहरू नभएको भए हामीले खेल्नै पो पाउँदैन थियौं कि ? हो, मैले आज केही पाउँदा उनीहरूले पनि त केही पाउनु पर्‍यो नि। जस्तो अहिले राष्ट्रिय प्रतियोगिता खेल्ने अन्य खेलाडीले के पाउँछन् ? क्लब क्रिकेट खेल्नेले के पाउँछन् ? यी सबैले क्रिकेटबाट केही पाउने हो भनेमात्रै नेपाली क्रिकेट एउटा स्तरमा पुग्छ। हामी १४ जना खेलाडीलाई दिन्छौं, अनि क्रिकेट विकास भयो भन्छौं। कडा परि श्रम गरेर पनि राष्ट्रिय टोलीमा पर्नबाट चुकेका खेलाडीले खर्चेको समयको पनि मूल्यांकन हुनुपर्छ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रायः नेपालको ब्याटिङको समस्या देखिन्छ। यसपटक त्यसलाई मिलाउने प्रयास भएको छ ?
हो, पहिलेदेखि नै अन्तर्राष्ट्रिय प्रतियोगितामा हाम्रो ब्याटिङ नै कमजोर देखिन्छ। समस्या के हो भने एसोसिएट टोलीसँग तुलना गर्दा पनि हामीले क्वालिटी क्रिकेट खेल्न पाउँदैनौं। डब्लूसीएलसीबाहेक हामीले यो स्तरका अन्य कुन प्रतियोगिता खेल्छौं, जसले गर्दा खेलाडीले अझ एक्सपोजर पाऊन्। बंगलादेशले पहिलोपटक टेस्ट टोलीको मान्यता पाउँदा सबैले आलोचना गरेका थिए। त्यस बेला बंगलादेशका खेलाडी रन बनाउन सक्दैन थिए। तर, विस्तारै उनीहरूले प्रगति गर्दै गए। माथिल्लो स्तरका प्रतियोगिता खेल्ने अवसर पाए। अहिले बंगलादेशले भारतजस्तो टोलीलाई पनि हराएको छ।

बंगलादेशको क्रिकेट अहिले परिवर्तन भएको उनीहरूले माथिल्लो स्तरको क्रिकेट खेल्ने अवसर पाएर नै हो। हामीले पनि यस्तै प्लेटफर्म पाउने हो भने हाम्रो क्रिकेट पनि परिवर्तन हुन्छ। अहिले लगभग हाम्रै अवस्थाबाट अघि बढिरहेको अफगानिस्तानको परिवर्तन पनि दुईचार वर्षमा बंगलादेशको जस्तै हुन्छ। मैले आफ्नो कमजोरी लुकाउन खोजेको हैन, तर हामीसँग त्यस अनुसारको कुनै सेटअप नै छैन। हामीसँग अझै क्वालिटीको पिच छैन। कीर्तिपुरको पिच नै कत्तिको गतिलो छ र ? हामीले भारतमै गएर लिगहरू खेल्ने अवसर पाउने हो भने पनि खेलमा सुधार हुँदै जान्छ। नेटमा अभ्यास गरेरमात्रै ब्याटिङमा सुधार हुँदैन।

हाम्रो होम बोर्ड निलम्बनमा रहे पनि अन्य क्षेत्रबाट केही प्रतियोगिता भइरहेका छन्। खेलाडीले खेल्ने अवसर त पाइरहेकै छन् नि ?
निजी क्षेत्रले टीट्वेन्टी प्रतियोगितामात्रै आयोजना गरेका छन्। निजी क्षेत्रले आयोजना गर्ने टीट्वेन्टी प्रतियोगिताले क्रिकेटलाई मर्न त दिएको छैन तर त्यसले नेपालको क्रिकेट विकासमा भने खासै योगदान पुर्‍याएको छैन। हामीलाई चाहिएको त एक दिवसीय प्रतियोगिता हो। हामी वास्तवमा क्रिकेट विकासका लागि भनेर उल्टो रूख चढिरहेका छौं। पहिले टेस्ट, एक दिवसीय अनिमात्रै टीट्वेन्टी क्रिकेट आएको हो। हामी भने उमेर समूहदेखि नै टीट्वेन्टी क्रिकेट आयोजना गरिरहेका छौं। तर, ५० ओभरको खेल आयोजना गर्दैनौं। दुईदिवसीय त झन् हुँदै हुँदैन।

थोरै भए पनि प्रतियोगिता भइरहेका छन्। तर, खेलाडीको ब्याकअप किन अझै हुन सकेन ?
यो समस्या मैले खेल्न सुरु गर्दादेखिकै हो, अझसम्म उस्तै छ। पहिले एउटा प्रतियोगिता हुन्थ्यो। त्यसमा रन हान्यो टिममा पर्‍यो। रन हान्न सकेन टिममा पनि परेन। अहिले पनि एउटा प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार बनाएर राष्ट्रिय टोलीको छनोट गर्नुपर्ने अवस्था छ। एउटा प्रतियोगिता बिग्रँदैमा टोलीमा पर्न नसकेका खेलाडीलाई पुनः पुनरागमन गर्न अर्का प्रतियोगिता छैन। हामीसँग क्रिकेटको क्यालेन्डर नै छैन। यसले राष्ट्रिय टोलीमा परेका र बाहिर रहेका खेलाडीबीच ठूलो खाडल ल्याएको छ। राष्ट्रिय टोलीमा परेका केही खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर केही एक्सपोजर पाए। तर, त्यस बाहेकका खेलाडीले केही पनि खेल्न पाएनन्। यसले गर्दा पनि हामीसँग खेलाडीको ब्याकअप कम भएको हो।

पुरुष क्रिकेटमा मात्रै हैन, महिला क्रिकेटको अवस्था पनि यस्तै छ। नेपालमा महिला क्रिकेट अहिले कहाँ छ ? कसैलाई मतलब छैन। महिला क्रिकेटमा नेपाल कुनै समय ‘पावर हाउस’ थियो। महिला क्रिकेट सुरु भएको १० वर्ष भयो होला तर अहिलेसम्म महिला क्रिकेटको स्कुल प्रतियोगिता पनि हुँदैन। हामी माथिल्लो एउटा उपलब्धि हेरेर मक्ख परेर बस्छौं। सिनियर पुरुष क्रिकेटलाई मात्र हेर्दा त्यसबाहेक महिला र उमेर समूहका सबै क्रिकेट बिर्सिएका छौं। सिनियर टोलीले पनि गल्ती गर्दा सुधारको कुनै प्रयास गरिँदैन। अहिले असफल भयो भने पाँच वर्षपछि सफल हुनका लागि कुनै प्रयास त गर्न सकिन्छ नि ? विडम्बना ! कसैले पनि यस्तो योजना ल्याउँदैन।

यो अवस्थामा नेपाली खेलाडीलाई व्यस्त बनाइराख्न के गर्न सकिन्छ ?
बलियो प्रतिबद्धता चाहिन्छ। रणजी ट्रफी होइन, बिहारको लिगमात्र खेल्ने वातावरण मिल्ने हो भने पनि हाम्रो क्रिकेट धेरै माथि पुग्छ। त्यसपछि हामी रणजी पनि खेल्न सक्छौं। मानौं तपाईंले हेभी वेटसँग बक्सिङ खेल्नुभयो भने पहिलो दिन त तपाईंको होश नै उड्छ। शरीर नचल्न सक्छ। दोस्रोपटक शरीर काँप्न छोड्छ होला। १०औं पटकमा त तपाईंले पनि एक मुक्का हान्नुहुन्छ। त्यो एक मुक्काबाट सुरु हुने हो सुधारको क्रम। हामीले त्यो स्तरको क्रिकेटचाहिँ नखेल्ने अनि एकैपटक कुनै पनि टोलीलाई हराउनुपर्छ भन्नु त गलत हो।

आईसीसीको निलम्बन फुकुवाका लागि सल्लाहकार समूहले काम गरिरहेको छ। सल्लाहकार समूहको कामबाट खेलाडीहरू कत्तिको सन्तुष्ट छन् ?
खेलाडीमात्रै हैन, नेपाली क्रिकेटलाई यो अवस्थाबाट उकास्ने प्रयासमा भएको ढिलाइप्रति कोही पनि सन्तुष्ट छैन। निकै ढिला भइसकेको छ। पक्कै पनि कसैको व्यक्तिगत स्वार्थले यो प्रक्रिया रोकिएको हुनुपर्छ। क्रिकेट रहोस् नरहोस्, म रहनुपर्छ भन्ने मान्यताले नै हुनुपर्छ निकास ननिस्किएको। व्यक्तिगत स्वार्थलाई छाड्ने हो भने यसको निकास आइसक्नु पथ्र्यो। अहिले आफ्नो लागि भन्दा पनि क्रिकेटका लागि केही गर्नुपर्ने अवस्था हो तर त्यस्तो व्यवहार कोहीबाट पनि देखिएको छैन।

क्यानको नेतृत्वमा पनि क्रिकेट बुझैकै व्यक्तिहरू आउनुपर्छ भन्ने धारणा बलियो देखिएको छ। यसमा खेलाडीको धारणा के छ ?
जो आए पनि क्रिकेट विकासको उद्देश्य बोकेर आउने हो। राजनीतिक पृष्ठभूमिबाट आएका मान्छेले नराम्रै काम गर्छन् भन्ने पनि छैन। त्यसैले क्रिकेट संघमा क्रिकेटर नै आउनुपर्छ भन्ने जरुरी छैन। दुवैको सम्मि श्रण हुनु जरुरी छ। भारतमा पनि त ललित मोदी क्रिकेटर थिएनन्, क्रिकेटलाई राम्रो गरे। त्यसैले क्यानमा जो आए पनि हुन्छ तर उसको एकमात्र उद्देश्य क्रिकेट विकास हुनुपर्छ।

क्यान निलम्बनमा हुँदा नेपाली क्रिकेट नै कमजोर अवस्थामा पुग्यो। क्रिकेटलाई यो अवस्थाबाट बाहिर निकाल्न खेलाडीबाट पनि प्रयास गर्न सकिन्थ्यो नि?
हामीले पहल गरेका छौं। हाम्रो प्रयास सफल भयो कि भएन भन्ने कुरा पछि थाहा होला। हामीले केही समयअघि तत्कालीन खेलकुदमन्त्री दलजित श्रीपाली, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, सल्लाहकार समूहका सदस्यलगायत सरोकारवालालाई बोलाएर वर्कसपजस्तो पनि गरेका थियौं। हामी खेलाडीले बोल्दा धेरै व्यक्तिगत भयो भन्ने खालका गुनासाहरू पनि आए। त्यसैले संस्थागत रूपमा खेलाडीका समस्याहरू उठाउने उद्देश्यले क्रिकेट खेलाडी संघ (सिपान) गठन गरेका छौं। हामीले सिपानबाटै आफ्ना कुराहरू राख्दै आएका छौं।

पछिल्ला केही घटनापछि खेलाडीले पनि राजनीति गर्न थाले भनेर कुरा उठ्न थालेका छन्। कत्तिको सत्यता छ ?
म मेरो कुरालाई मेरै पक्षबाट भन्छु। अब यो कसैलाई मन पर्दैन भने जे भन्दिए पनि भयो। सायद हाम्रोमा सिस्टम भइदिएको भए, खेलाडीले यसरी बोल्नु पनि पर्दैनथ्यो होला। सिस्टम नहुँदा हामीले बोल्नुपर्ने हुन्छ। त्यसरी बोल्दा कुनै न कुनै पक्षलाई त असर पर्ने नै भयो, जसलाई असर पर्छ उसले त भन्ने नै भयो निी खेलाडीले राजनीति गर्‍यो भनेर। तर, हामीले किन यसरी बोल्नु परेको छ भन्ने कुरा पनि बुझ्नु जरुरी छ। मैले राम्रो खेलिनँ भने भोलि कुनै पदाधिकारीले भन्नसक्छ, ज्ञानेन्द्रलाई टिमबाट हटाऊ भनेर। हो यस्तै नियम पदाधिकारीको हकमा पनि लागू हुनु पर्‍यो नि त। पदाधिकारी पनि क्रिकेटमा केही गर्न आएका हुन्। गर्न सकेनन् भने उनीहरू पनि खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा टोलीबाट बाहिरिएजस्तै बाहिरिनु पर्‍यो नि। हामीले यसो भन्दा प्रोटोकलअनुसार नमिलेकाले पनि खेलाडीले राजनीतिक कुरा गरेको जस्तो महसुस भएको होला।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2