MENU

बालबालिका विद्यालय जान पाएनन्, टहराको बास

635x90_1

कुमार लुइँटेल आइतवार, भदौ १८, २०७४ 335 पटक पढिएको

Share This

635-X-85

विराटनगर : राधिका ऋषिदेव कक्षा ४ मा पढ्छिन् । घर विराटनगर-१९ खापटोलमा पर्छ । दुई साताअघि सिंघिया खोलामा उर्लिएको बाढीले उनको घर पनि डुबायो । उर्लिएको भेलले पूरै बस्ती बगायो । राधिकाको घरमा भएभरका सबै सामान पानीमै बगेर बेपत्ता भए । पढ्ने किताब, कापी, कलम, स्कुल ब्याग, लुगाफाटा केही बचेनन् । बाँकी रहेको भन्नु सग्लो ज्यानमात्र छ । बाढीपछि अहिले बस्ती उजाड बनेको छ । बचेका घरलाई बालुवा र हिलोले छोपेको छ । राधिकाजस्ता त्यो टोलका धेरै विद्यार्थीको शैक्षिक सामग्री केही पनि बाँकी छैन । आफूलाई चाहिने सामग्री नै नरहेपछि धेरै विद्यार्थी विद्यालय जान पाएका छैनन्।

 

अलि अग्लो भागमा बनाइएको प्लास्टिकको पालमुनि धेरै बालबालिका परिवारसँगै बस्न थालेका छन् । ‘बाढीले स्कुलसम्म पुग्ने बाटो पनि भत्काएको छ । किताब, कापी, कलम, झोला, लुगा केही छैन,' राधिकाले भनिन्, ‘यही छाप्रोमा बसेर एउटै कापीमा सबै विषयको होमवर्क गर्ने गरेकी छु ।' प्लास्टिकको पालमुनि बसेर होमवर्क गर्दै गरेको अवस्थामा कुराकानी गर्दै उनले आफ्नो टोलका धेरै बालबालिका अहिले पनि विद्यालय जान नपाएको दुःखेको पोखिन् ।
सरिता ऋषिदेव पनि कक्षा-४ कै विद्यार्थी हुन् । घिनाहाघाटको पञ्चकन्या प्राविमा पढ्ने उनको विद्यालय छुटेको निकै दिन भए ।

‘बाढीले खोलो भरिन थालेपछि घर छाडेर भाग्यौं,' उनले भनिन्, ‘खुनियाकट्टामा भन्ने ठाउँमा बस्ने दिदीको घरमा तीनचार दिन बसेर बाढी घटेपछि फर्केर आयौं ।' अहिले आङमा भएको एकसरो लुगाबाहेक उनको साथमा पनि केही छैन । बाढी प्रभावितलाई राहत बाँड्न आएकाहरूले दाल, चामल, तेलजस्ता खानेकुरा दिएका छन् । तर, विद्यार्थीलाई चाहिने पोसाक, किताब, कापी कलम भने कसैले नदिएको उनले गुनासो गरिन् ।

कक्षा १ का विराज ऋषिदेव र कक्षा २ का राज ऋषिदेव बाढी आउनुपूर्व नियमित विद्यालय जाने गर्दथे । साउन २८ गतेयता दुवैजना गएका छैनन् । पढ्नका लागि विद्यार्थीलाई चाहिने केही पनि छैन उनीहरूसँग । आफ्ना दुई छोरा विद्यालय जान नपाएको बताउँदै बुवा सुरज ऋषिदेवले भने, ‘हामी गरिबले अब कसरी विद्यालय पठाउनु ? उनीहरूलाई चाहिने केही नै छैन । सबै बाढीले बगायो ।' धेरै दाताले खाद्यान्नलगायत सहयोग गरेका छन् तर, विद्यार्थीलाई चाहिने सहयोग नभएको ऋषिदेवले बताए ।

खापटोलमा अढाइ सय जति बालबालिका छन । तीमध्ये एक सय १५ जना घिनाहाघाट चोकको पञ्चकन्या प्रावि र बाँकी टोलमै रहेका तीनवटा बाल विकास केन्द्रमा पढ्छन । तर, बाढीपछि बालविकास केन्द्र बन्द भएका छन् । बालविकासको घरलाई पनि खोला भत्काइदियो । विद्यालय जानेमध्ये धेरैको पढाइ छुटेको छ । झर्की ऋषिदेवका छोरा पनि विद्यालय जान्थे तर बाढीपछि जान सकेका छैनन् । उनले भनिन्, ‘भएको जायजेथा सबै बगायो त्यसमा केटाकेटीका लुगा, कपडा र किताब पनि थिए ।'

जिल्ला शिक्षा कार्यालय मोरङले बाढी गएको दुई साता बितिसक्दा पनि विद्यार्थीलाई परेको असरको सम्पूर्ण विवरण अध्यावधिक गर्न सकेको छैन । जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनाल भन्छन, ‘एक सय ३८ विद्यालयका करिब दस हजार विद्यार्थी बाढीबाट प्रभावित भएको अनुमान छ ।' उनले दाताको समेत साथ लिएर प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गर्ने तयारी रहेको जानकारी दिएका छन् ।

साउन २८ गते र त्यसपछि लगातार तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीले मोरङमा १६ जनाको मृत्यु भएको थियो । पाँचजना बेपत्ता भएका छन् । सोमबार जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार तीन हजार एक सय १९ घरमा पूर्ण र सात हजार १३ घरमा आंशिक क्षति पुगेको छ । तीन हजार आठ सय ८० परिवारका १६ हजार आठ सय ७९ जना विस्थापित बनेका छन् ।



प्रतिकृया दिनुहोस

Annapurna635x90_1