MENU

पाठशाला

635x90_1

टंक चौलागाईं आइतवार, भदौ १८, २०७४ 651 पटक पढिएको

Share This

635-X-85

दृश्य ः एक
समय ः सोमबार, बिहान १० बजे
बाहिर सिमसिम पानी परिरहेको थियो । वर्षायामको आकाश अँध्यारो थियो । एउटा विद्यालयमा अभिनय पढाइरहेको थिएँ । हामी थिएटर कोठामा थियौं । कोठामा थिए कक्षा ६ का २७ जना विद्यार्थी । आँसुरचनासम्बन्धी एक खेल खेलिरहेका थियौं । कोठाको ढोका ढकढक्याएको आवाज आयो । मैले ढोका खोलिदिएँ । एकजना शिक्षक अनुमति लिएरै कोठाभित्र आए । उनको कम्प्युटरमा काम रहेछ !
‘सर हजुरको जुत्ता ' सबै विद्यार्थी एकै स्वरमा चिच्याए ।


‘सर ढोकामा सूचना छ त ! जुत्ता बाहिरै फुकाल्ने भनेर । यहाँ कसैले जुत्ता लगाउने गरको छैन । हामी सबैले खोलेका छौं । तपाईंलाई पनि थाहा छ ।' मैले पनि सजग गराएँ ।
‘अलि हतार छ क्या, कहाँ जुत्ता खोलिरहने', निरन्तर आफ्नो काम गरिरहेका उनले सजिलै जवाफ दिए ।
हामी पनि आफ्नो खेललाई निरन्तरता दिन थाल्यौं ।
दृश्य ः दुई
समय ः शनिबार, बिहान ७ बजे
राति पानी परेर बिहान सफा थियो । उज्यालो पनि थियो । विद्यार्थी समयमै जम्मा भइसकेका थिए । विद्यार्थीलाई गोलो घेरामा राखेर कक्षा सुरु गर्नै लागेको थिएँ । एकजना नयाँ अभिभावक आउनुभयो । उहाँले हात समाएर एउटा विद्यार्थीलाई डोहोर्‍याउनुभएको थियो । म उहाँको नजिक पुगेँ । उहाँको बोलीभन्दा अगाडि चुरोटको गन्ध ह्वास्सै आयो । त्यसपछि उहाँ बोल्न सुरु गर्नुभयो ।
‘नमस्कार सर ।'
‘हजुर नमस्कार ।'
‘यो मेरो छोरो । यो पनि नाटक गर्छु भन्छ, सक्ला त ? '
‘किन नसक्नु ! छोडिदिनुस् न ।'
‘हस् सर । कति बजे लिन आउने होला ? '
‘८ः३० मा आइपुग्नु न ।'
यो सूचनामूलक संवादपछि मैले विद्यार्थीलाई लिएर गएँ । विद्यार्थीको हातमा समेत चुरोट गनाएको थियो । जुन हात उसको बुवाले समातेका थिए ।
दृश्य ः तीन
समय ः राति ८ बजे
एक दिन हामी परिवारै एउटा साथीको घरमा गयौं । खाना खाने गरी निम्तो थियो । साथी टीभी हेरिरहेको थियो । हामी गएपछि कुरा गर्न थाल्यौं । उसको छोराको हातमा टीभीको रिमोट पर्‍यो । छोराले कार्टुन लगायो । टीभीको आवाज अलि चर्काे थियो । साथीले उसको छोरालाई ठूलो स्वरले गाली गर्‍यो । ‘आफैं सानो स्वरले बोल्ने भनेर रुल बनाइसिन्छ अनि आफैं ठूलो स्वरले कराइसिन्छ ।' गाली खाएको उसको छोरो रोयो । टीभी बन्द गरेर अर्काे कोठामा गयो ।
यस्ता धेरै घटना छन् जहाँ हामी आफैंले धेरै नियम पालना गरेका हुँदैनौं । हामीले पालना नगरेपछि हाम्रा बालबालिकाले कसरी पालना गर्छन् ?
यस्ता अनेकौं उदाहरण छन् जहाँ हामी आफैंले खेलाँची गरिरहेका हुन्छौं । हामी आफैं वेवास्ता गर्छाै भने हाम्रा बालबालिकाले कसरी सिक्छन् ?
नियम बनाएर आफैंले पालना गरेनौं भने यो खोक्रो उपदेश हुन्छ । कुनै पनि बालबालिका यस्तो उपदेस मान्न तयार हुँदैनन् ।
कुरा सामान्य लाग्न सक्छ । तर, बालबालिकामा यी कुराहरूले ठुलो असर गरेको हुन्छ । आफैं गल्ती दोहोर्‍याउँदै बालबालिकालाई नगर भन्न कत्तिको सुहाउँछ ? बारम्बारको यस्तो व्यहारले उनीहरू झन् दिक्दार बन्छन् ।
कोही अभिभावक बालबालिकाले नदेखून् भनेर घरभन्दा बाहिर आएर लुकीलुकी धूमपान गर्छन् । बाहिर बसेर धूमपान गर्दा कुनै न कुनै बालबालिकाले त पक्कै देखेका हुन्छन् । आफ्ना बालबालिकाले देखेनन् भनेर यसरी पन्छिन मिल्छ र ? आफ्ना बालबालिकाले पनि त अन्त कतै देखेका हुन्छन् नि ।
अचेल विद्यालयले आफ्ना विद्यार्थीलाई शिष्ट व्यवहार सिकाइरहेका छन् । बालबालिकालाई दबाबरहित शिक्षा प्रदान गरिरहेका छन् । विद्यालयमा मायालु वातावरण छ । प्रतिस्पर्धात्मक व्यावसायिक शिक्षाले पनि यस्तो भएको हुनसक्छ । तर, घरमा हामीले प्रदान गर्ने वातावरणमा फरक पर्नसक्छ । घरमा रिसाउने, गाली गर्ने, चिच्याउने, पढाइमा दबाब दिने गरियो भने राम्रो मानिँदैन । विद्यालयले सिकाएको कुरा लागू गर्ने वा अभिभावकको व्यवहार लागू गर्ने बालबालिका दोधारमा पर्छन् । अन्ततः अभिभावककै शैली पछ्याउँछन् ।
विद्यालयले प्रदान गरिरहेको शैली र अभिभावकको शैलीमा मेल खाएन भने अभिभावकले विद्यालयमा गरेका लगानी व्यर्थ हुन्छ । यस्तै वातावरणको अन्तरले गर्दा आफूले अपेक्षा गरेअनुसार नतिजा पाउन पनि गाह्रो पर्छ ।
बालबालिकालाई हरेक समय सिर्जनात्मक काममा व्यस्त राख्नुपर्छ । खेलकुदमा व्यस्त राख्नु उपयुक्त हुन्छ । यसले गर्दा नकारात्मक कुराहरू सोच्ने फुर्सद उनीहरूलाई हुँदैन । यसै सन्दर्भमा काठमाडौं प्रज्ञाकुञ्ज स्कुलकी प्रधानाध्यापक सुनिता पौडेल भन्छिन्, ‘हामी सीपमूलक गुणात्मक शिक्षा दिन खोज्छौं । यस्तो शिक्षा जसले परीक्षामा राम्रो अंक ल्याउनमात्र सहयोग नगरेर बुद्धि, सीप र संस्कार विकासमा सहयोग गरोस् ।'
परियोजनामूलक शिक्षण पद्धतिमा विभिन्न परियोजना कार्य गर्दै बालबालिकाको बौद्धिक, शारीरिक, भाषिक र सामाजिक सीपको विकास गरिन्छ । अझ आफैं संलग्न भएर गरिने प्रयोगात्मक प्रणालीले विद्यार्थीलाई तर्क गर्ने, खोज विधि प्रयोग गरेर स्वअध्ययन गर्ने र आफैं ठीक बेठीक छुट्ट्याउनसक्ने बनाउँछ । साथै दैनिक रूपमा विद्यालयमा गरिने नैतिक शिक्षा र सामाजिक सीपका कार्यहरूले उनीहरूलाई संस्कारी र नैतिकवान् बनाउन मद्दत गर्छ ।
शिक्षण सिकाइको पहिलो स्थल नै घर हो र पहिलो गुरु नै अभिभावक । विद्यालयको निश्चित समयसीमा भित्रमात्रै बसेर शिक्षाको यो उपलब्धि हासिल हुनै सक्दैन । यसका लागि घर र अभिभावकको ज्यादै नै महत्ववपूर्ण भूमिका रहन्छ । सामाजिक र भाषिक सीपको विकासका धेरै चरण त घरबाट नै सुरु हुन्छ । जिम्मेवारीबोध गराउने, राम्रो नराम्रो छुट्ट्याउनसक्ने क्षमता वृद्धि गर्ने र राम्रो संस्कार सिकाउने थलो नै घर हो ।
यसर्थ अभिभावकको साथ र समयसमयको पृष्ठपोषणबिना विद्यालयले दिन खोजेको शिक्षाको अवधारणा सम्भव हँदैन । कतिपय अवस्थामा घर र विद्यालयमा सञ्चालन गरिने तौरतरिकामा मेल नखाँदा विद्यार्थीमा अन्योलमात्र उत्पन्न नभई उनीहरू मानसिक तनावमा समेत पर्ने गरेको पाइन्छ । यो समस्या हाम्रोमा पनि छ । तर, अभिभावकसँग गरिने धेरै अन्तरक्रिया एवं कार्यशालाले यो दूरी घटाउन मद्दत गरेको छ । तसर्थ बालबालिकाको पहिलो पाठशाला घर अनि पहिलो शिक्षक बुवाआमा नै हुन् ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1