MENU

घरबारपछि करिअर

635x90_1

शिवराज योगी शुक्रवार, भदौ २३, २०७४ 1038 पटक पढिएको

Share This

635-X-85

करिअर बनाएर घरबार जोड्नेको संख्या अधिक हुन्छ समाजमा । तर घरबार जोडेर करिअरको पछि लाग्ने थोरैमध्येमा पर्छिन्, मीरा कार्की । काठमाडौंको धर्मस्थली- ५ पैयाटारमा जन्मिएर कलिलै उमेरमा विवाह गरेकी मीराको एउटा सपना दमित बन्यो । स्कुल पढ्दापढ्दै विष्णु कार्कीसँग गाँसिएको प्रेम सफल पार्न उनले हुनेखाने परिवार त्यागिन् । आमाबुवाको माया लत्याइन् । ‘कहाँ बस्ने ? के खाने ? ठाउँ ठेगाना केही थिएन', मीराले भनिन्, ‘नभागौं भने गाँसेको प्रेम तोडिने डर थियो । घरमा विवाहको कुरा चलिसकेको थियो ।'

२०५२ सालमा ९ कक्षा पढ्दापढ्दै विष्णुसँग प्रेमविवाह गरेपछि उनको संघर्ष सुरुभयो । श्रीमान् विष्णुले होटेलदेखि ट्राभल एजेन्सीसम्ममा काम गरे । २०५६ मा पहिलो सन्तान आशिष जन्मिए । २०६० मा छोरी आयुषा । त्यसैताका श्रीमान् विष्णुले आफ्नै ट्राभल एजेन्सीमात्रै खोलेनन्, घर, गाडीसमेत जोडे ।

 

छोराछोरी हुर्कंदै गएपछि मीराको दमित चाहनाले पिरोल्दै गयो । मीरा कहिले पढाउन पुगिन् त कहिले श्रीमान्कै अफिसमा कामका लागि दबाब दिन थालिन् । छोरा ९ कक्षा पढ्दै गर्दा मीराले उनलाई ऐच्छिक विषय ‘म्युजिक' लिन सुझाव दिइन् । ‘ श्रीमतीको यो कुराले मलाई रातभर निद्रा परेन', विष्णुले भने, ‘मैले किन त्यस्तो सुझाव दिएको ? भन्दा उनी झर्किइन्, मेरो चाहना त पूरा भएन, भएन, त्यो रहर अब छोरामार्फत पूरा भएको हेर्न चाहन्छु भनिन् ।' त्यसको भोलिपल्टै विष्णुले मीरालाई संगीत कक्षा भर्ना गरिदिए । अहिले उनी संगीत सिकीरहेकी छन् ।

यसबीचमा मीराले सातवटा गीतमा स्वर दिइसकिन् । गीत रचनामा पनि उनी अब्बल छन् । आफ्ना, श्रीमान् र केही अरूका शब्दमा स्वर भरेर मीराले ‘बहार' एल्बम सार्वजनिक गरिन् । मीरा र प्रमोद खरेलले स्वर दिएको गीत ‘शिरशिर शिरशिर बतास' बोलको गीतको म्युजिक भिडियो निकै रुचाइएको छ । उनले नयाँ एल्बमका लागी दुई गीत समेत रेकर्ड गरिसकेकी छन् । ‘यो मेरो यात्राको सुरुवातमात्रै हो', मीराले भनिन्, ‘मेरो यात्राको लक्ष्य भनेको कालजयी गीत नै हो ।'

बालबच्चा हुर्किसकेपछि सुरुभएको सांगीतिक यात्रामा उनी तनमन दिएर लागेकी छन् । ‘संगीतकर्म ढिलो सुरुभयो, त्यसबेला सुरु गर्न सम्भव थिएन', उनले भनिन्, ‘अब बाँकी जीवन यसैमा खर्चेर स्थापित गायिका बन्ने लक्ष्य लिएकी छु ।'

मीराको यात्रामा विष्णुको साथ छ । उनले भने, ‘धन सम्पत्ति बाँच्नका लागि रहेछ, उनको चाहना संगीत रहेछ । यो यात्रा थालेपछि उनको अनुहारमा अर्कै खुसी देख्छु । यो यात्रामा मैले भ्याएसम्म साथ दिन्छु ।'

नेपाल सांगीतिक संघ तथा सांस्कृतिक संस्थानमार्फत उनी उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्मानित भइसकेकी छन् । त्यस्तै म्युजिक खबर डट कमले सर्वोत्कृष्ट नवप्रतिभा महिला सुगम संगीत अवार्ड प्रदान गरेको छ । मीरा भन्छिन्, ‘यस्तो कालजयी गीत गाउन चाहन्छु, जसले मलाई नेपालीको हृदयमा सधैं राख्न सकोस् ।'

प्रतिकृया दिनुहोस

Annapurna635x90_1