MENU

निर्णयको अर्थपूर्ण पहिरन

635x90_1

नितु घले शुक्रवार, भदौ २३, २०७४ 1124 पटक पढिएको

Share This

635-X-85

रातो क्याप, कालो टिसर्ट, कालै चस्मा, ठूलो बुटमा भित्र छिराएको लामो प्यान्ट । झट्ट हेर्दा अनौठो देखिन्छ । तर, गायक निर्णय श्रेष्ठ सधैं यस्तै पहिरनमा देखिन्छन् । कुनै कन्सर्ट होस् वा सार्वजनिक समारोह, उनी यही भेषमा उत्रिन्छन् । एउटै शैलीको पहिरनमा देखा पर्नुको कारण के हो त ? उनको आफ्नै बुझाइ र तर्क छ ।

IMG_0460-copy२१औं शताब्दीमा आइपुग्दा पनि नेपाली समाजमा छुवाछूत कायमै छ । तसर्थ उनले छुवाछूतविरुद्ध रातो क्याप रोजेका हुन् । रातोको अर्थ हामी सबैको रगत रातो हुन्छ, छुवाछूत गर्न हुन्न भन्ने हो । ‘जबसम्म समाजमा छुवाछूत रहिरहन्छ तबसम्म म रातो क्याप लगाइरहनेछु’, निर्णयले भने । सन् १९९९ देखि उनले रातो क्याप लगाउन थालेका हुन् ।

ललितपुरस्थित जेभियर्स स्कुल र लगभग ५ वर्ष अमेरिकामा पढेका गायक निर्णयमा सानै उमेरदेखि सामाजिक चेतनाका लागि केही गर्नुपर्छ भन्ने सोचको विकास भयो । करिअरको सुरुतिर उनी एफएममा हिपहप कार्यक्रम चलाउँथे । सो कार्यक्रमबाट पनि आफूले सकारात्मक सन्देष दिएको स्मरण गर्छन् उनी । ‘मानिस मानिसबीच भेदभाव सामाजिक अपराध हो’, उनको भनाइ छ ।

निर्णय रातो क्यापभित्र ‘सेता रुमाल’ लगाउँछन् । यसलाई उनी शान्तिको प्रतीक मान्छन् । उमेर र करिअरले उनी समाजमा चिनिन थालेका बेला मुलुकमा आन्तरिक द्वन्द्व र अशान्ति थियो । बन्दुक बिसाएर मात्रै हैन, सम्पूर्ण नेपालीमा मानसिक रूपमा पनि शान्ति छाउन आवश्यक रहेको भन्दै उनले सेतो रुमाल लगाउन थालेको बताए । सेनाले युद्धमा जाँदा पसिना नआओस् भनेर लगाउने गर्छन् तर निर्णयले त्यसलाई शान्तिको प्रतीकका रूपमा प्रयोग गरे ।

पहिले उनी सेतो पहिरन लगाउँथे तर अहिले कालो रङको पहिरन लगाउन थालेका छन् । ‘पहिले सेतो मात्र लुगा लगाएँ । तर, वातावरण यस्तो बन्यो कि सेतो लुगा लगाएर हिँड्न नसकिने भयो’, निर्णयले भने, ‘जताततै धूवाँधूलो । घरबाट सेतो लुगा लगाएर निस्कियो, एकैछिनमा मैलो हुने । त्यसपछि कालो रङका पहिरन लगाउन थालेको हुँ ।’

नेपालमा र्‍याप गीतलाई मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका निर्णयको जुत्ता पनि फरक खालको हुन्छ । सबै मौसममा ठूलो माथिसम्म आउने बुट लगाउँछन् उनी । बुटभित्र लामो प्यान्ट, टाउसर लगाउँछन् । योचाहिँ सजिलोका लागि लगाएको उनको भनाइ छ । ठूलो र माथिसम्म आउने जुत्ता उनलाई औधि मन पर्छ । सन्देष प्रवाह गर्ने पहिरनका कारण पनि उनको चर्चा सधैं हुने गर्छ । पछिल्लो समय उनी शैक्षिक अभियानमा लागिपरेका छन् ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1