MENU

शृंगारमा गाजल आकर्षण

635x90_1

रामकला खड्का शुक्रवार, भदौ २३, २०७४ 550 पटक पढिएको

Share This

635-X-85

सन् १९९७ ताका विश्वमा सबभन्दा बढी तस्बिर खिचिने महिलामा पर्थिन् बेलायती राजकुमारी डायना । डायनाको निधन भएको २० वर्ष बितिसक्यो । तापनि उनको सौन्दर्य, जीवनशैली र मानवताका बारेमा गरेका कार्यलाई संसारले बिर्सेको छैन । डायना विश्वमा प्रभावशाली हुनुमा उनको स्वभावका साथै रूपको पनि महत्व रहेको भनिन्छ । शृंगार गर्दा आँखामा नीलो रङको आइलाइनर लगाउने उनको ब्रान्डजस्तै मानिन्थ्यो ।

Eyeliner-Pencil

राजकुमारी डायनाकी मेकअप आर्टिस्ट मेरी ग्रिनवेलले एकताका ‘डायनाले आफ्नो आँखालाई उत्कृष्ट विशेषताका रूपमा लिन्थिन्’ भनेकी थिइन । डायना नीलो रङको गाजललाई बाक्लो घेरा बनाएर लगाउन रुचाउँथिन् । डायनालाई मेकअप असाध्यै मन पर्ने हुनाले उनी नयाँनयाँ प्रयोग गर्न रुचाउने र त्यसमा पनि आँखाको मेकअपमा बढी रुचि राख्ने ग्रिनवेलले एक अन्तर्वार्तामा खुलासा गरेकी थिइन्।

 

 

यी प्रसंगहरू २० वर्ष अगाडिका हुन् । तर, शृंगारमा गाजलको महत्व अहिले पनि उत्तिकै छ । आँखा महिलाको आकर्षक अंगमध्येमा पर्छ । हरेक महिलाले आफ्नो आँखाको सुन्दरता बढाउने प्रयास गर्छन् । आँखाको सुन्दरता बढाउने कुरामा गाजलभन्दा राम्रो सौन्दर्य प्रसाधन सायदै होला । गाजलको प्रयोग धेरै पहिलेदेखि हुँदै आएको छ । पहिले सूर्यको हानिकारक किरण, कीराहरू र प्रदूषणबाट बचाउन गाजल प्रयोग हुन्थ्यो ।

मेकअपबिना मेरिना

धरानकी मोडल एवं आर्जे मेरिना तुम्सा लिम्बू कार्यालयमा मेकअप नगरी जान्छिन् । सबै कर्मचारी बिनामेकअप आउने भएकाले उनी पनि कार्यालयमा त्यत्तिकै जान्छिन् । बाहिर कतै जाँदा शृंगारका साथै गाजल नियमित लगाउने गर्छिन् । र्‍याम्प सोहरूमा भने कार्यक्रमको थिमअनुसार मेकअप आर्टिस्टले ‘हेभी मेकअप’ गरिदिने हुनाले यस्तो बेलामा आफूले यस्तोउस्तो भन्न नमिल्ने उनले बताइन् ।

आँखा आकर्षणको केन्द्र

चलचित्र ‘साइना’, ‘उहिले बाजेको पालामा’, ‘सुकुल गुन्डा’ आदिमा अभिनय गरेकी नायिका खुश्बु खड्का सानो छँदा आँखामा गाजल लगाउँथिन् । अहिले पनि आँखाको तल्लो भागमा हल्का कालो लगाउन रुचाउँछिन् । विभिन्न कार्यक्रममा जाँदा आँखाको माथिपट्टि गाजल लगाउने गर्छिन् । ‘महिलाको सौन्दर्यमा आई मेकअपले ठूलो महत्व राख्छ’, अभिनेत्री खड्काले भनिन्, ‘आँखा आकर्षणको केन्द्र भएकाले मलाई आई मेकअप मन पर्छ ।’ उनी ल्याक्मेको जेल र पेन्सिल गाजल प्रयोग गर्ने गर्छिन् ।

पुरुषलाई पनि गाजल

आँखाको मेकअप जति गरे पनि गाजलबिना अपूरो हुने ब्युटिसियन मञ्जु कार्कीको भनाइ छ । महिलाको लुक्समा बढी परिवर्तन ल्याउने भनेकै गाजलले हो । आँखाको तलमाथि दुवैतिर गाजल लगाउँदा आँखा ठूलो र सुन्दर देखिन्छ । हिजोआज जेल गाजल बढी प्रचलनमा रहेकाले क्र्यालोन, नेपोलियन, लोटस, रेभ्लन, लोरिय ब्रान्डका गाजल छानेर लगाउन मञ्जुको सुझाव छ । गर्मी महिनामा वाटरप्रुफ गाजल उपयुक्त हुन्छ । आँखाका लागि लाभदायक हुने भएकाले महिलामात्रै नभई कतिपय पुरुषले पनि गाजल लगाउने गरेको उनको भनाइ छ ।

हिजोआज महिलाले झोल गाजल, डाँठ भएको गाजल वा जेल गाजलको बढी प्रयोग गर्छन् । बजारमा पाइने कतिपय गाजलमा हानिकारक रसायन प्रयोग हुने भएकाले यसबाट बच्नु आवश्यक छ । हानिकारक रसायनबाट आफ्नो आँखालाई जोगाउन पछिल्लो समय धेरैले घरमै गाजल बनाएर लगाउन थालेका छन् ।

आइब्रोलाई सही आकार दिन पनि गाजलको प्रयोग गर्न सकिन्छ । यसका लागि पेन्सिल आइब्रो लाइनर उपयुक्त हुन्छ । कतिपय अवस्थामा कपाल झरेका कारणले हेयरलाइन असमान हुन्छ । यस्तो अवस्थामा महिलाको रूप बिग्रन्छ । गाजल लगाएर हेयर लाइन कोर्नुका साथै सेतो फुलेको कपाललाई पनि छोप्न सकिन्छ ।

शुभकार्यका लागि गाजल

गाजललाई शृंगारका साथै शुभकार्यमा पनि प्रयोग गरिन्छ । शिशुहरूलाई कसैको आँखा नलागोस् भनेर नजरदोषबाट बचाउन गाजल लगाइने गरिन्छ । बच्चालाई आँखामा नभई उसको कानको पछाडि वा निधारमा कालो टीका लगाएर नजरदोष मेटाउन सकिन्छ । बच्चाको आँखामा गाजल लगाउँदा आँखा सुन्दर देखिन्छ । तर, यसको वैज्ञानिक अनुसन्धान अहिले भने भएको छैन । गाजलको प्रयोग कतिपय शिशुमा हानिकारक पनि साबित भएको छ ।

घरपरिवारमा सधैं झैझगडा भइरहन्छ र सुखशान्ति हराएको छ भने पनि शनिबार बिहान कालो कपडामा काँचो नरिवललाई बेरेर त्यसमा गाजलको २१ वटा टीका लगाई घरबाहिर झुन्ड्याइदिँदा घरमा कसैको आँखा लाग्दैन र सुखशान्ति प्राप्त हुन्छ भन्ने जनविश्वास पनि छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1