MENU

नेपालभाषा आईसीयूमा छ

635x90_1

सुरेश किरण शनिवार, भदौ २४, २०७४ 5109 पटक पढिएको

Share This

635-X-85

भाषा

'नेपालभाषा आईसीयूमा छ !'

पोहोर साल भदौ महिनाको एक दिन नेपालभाषाका अभियन्ता डा. महेशमान श्रेष्ठले यस्तो अभिव्यक्ति दिँदा ठूलै हंगामा भयो । नेपालभाषा पढ्ने विद्यार्थीको संस्था 'नेपालभाषा क्लब'को उद्घोषण तालिममा बोल्दै उनले यस्तो भनेका थिए । डा. श्रेष्ठ एक मेडिकल डाक्टर हुन् । बिरामी कुन अवस्थामा पुगेपछि आईसीयूमा लगिन्छ भन्ने उनलाई राम्रै थाहा छ । त्यसैले नेपालभाषाको अवस्थाबारे उनले आवेशमा आएर मात्रै यसो भनेको पक्कै होइन । नेपालभाषाको वर्तमान अवस्थाबारे सबैभन्दा ठ्याक्कै मिल्ने बिम्ब सायद यही हुनुपर्छ ।

Suresh-Kiranयतिबेला नेपालभाषा आईसीयूमा किन छ ? यसको उत्तर सजिलो छ । अहिले देशैभरि नेपालभाषा बोल्ने नेवारको संख्या घट्दै गइरहेको छ । स्कुल र कलेजमा नेपालभाषा पढ्ने विद्यार्थीको संख्या क्रमशः शून्यतिर झरिरहेको छ । नेपालभाषा साहित्य रचनामा डरलाग्दो कमी आइरहेको छ । जेनतेन प्रकाशित पुस्तक र पत्रपत्रिका पढ्ने पाठक पनि अहिले खोज्नैपर्ने अवस्था छ ।

एकातिर समसामयिक स्थिति यस्तो छ । अर्कोतिर भोलि प्रकट हुने तस्बिर पनि उति रंगीन देखिँदैन । नेवाः जातिको आदि-भूमि उपत्यकामै नेवारहरू क्रमशः अल्पमतमा पर्दै गइरहेका छन् । यसलाई अझै अल्पमतमा पार्ने हिसाबले उपत्यकाभित्रै नयाँ-नयाँ सहर बनाउने योजना सार्वजनिक भइरहेका छन् । सडक विस्तारका नाममा केही बचेका नेवाः आदिवासीलाई पनि थातथलोबाट विस्थापित गर्ने कार्य अगाडि बढाइँदैछ । यस्तो अवस्थामा आईसीयूमा रहेको नेपालभाषाको स्वास्थ्य सुधार होला भनेर आशा गर्न सकिँदैन ।

 

नेपालभाषा आईसीयूमा थला परेको यो पहिलोपटक होइन । सायद दो श्रोपटक हुनुपर्छ । पृथ्वीनारायण शाहले काठमाडौं जितिसकेपछि नेवाः जातिको संस्कृतिलाई त स्वीकार गरे । तर, नेवाः जातिलाई भने बहिष्कार गरे । दरबारमा कार्यरत सबै नेवाः कर्मचारीलाई निकाले । नेवारहरूको जग्गाजमिन जम्मै हडपेर आफ्ना भारदार, सैनिक अधिकारी र दरबारका कर्मचारीलाई बाँडे ।

जंगबहादुर राणाको उदयपछि साहित्य सिर्जनामा पनि नेपालभाषा प्रतिबन्ध लाग्यो । चन्द्रशमशेरले त नेपालभाषामा लेखिएका कागजपत्रलाई समेत सरकारले मान्यता नदिने घोषणा गरे । यसरी राणाकालको १०४ वर्षे अवधिमा नेपालभाषा करिब-करिब मृत्युकै मुखमा पुगिसकेको थियो । सायद नेपालभाषा पहिलोपटक आईसीयूमा परेको त्यतिबेलै हुनुपर्छ ।

नेपाल साहित्यको इतिहासमा 'जोग मण्डली'बारे उल्लेख छ । त्यो वास्तवमा कवि योगवीरसिं कंसाकारको कपडा पसलमा जम्मा भएर साहित्य रचना गर्ने नेपाली तथा नेपालभाषाका साहित्यकारहरूको मण्डली हो ।

कुनै बिरामी जब आईसीयूमा पर्छ तब उसको लागि जाने बाटो दुइटा हुन्छ - जनरल वार्ड अथवा मूर्दाघर । त्यतिबेला नेपालभाषालाई आईसीयूबाट निकालेर जनरल वार्डमा सार्न सफल भए भाषाका केही युवा अनुरागी, जसमा विशिष्ट रूपले योगदान गरेका ६ जना महारथीलाई नेपालभाषाको इतिहासले सदैव स्मरण गरिरहेका छन् । उहाँहरू हुनुहुन्छ - महाकवि सिद्धिदास अमात्य, पं. निष्ठानन्द वज्राचार्य, मास्टर जगतसुन्दर मल्ल, कवि योगवीरसिं कंसाकार, सहिद शुक्रराज जोशी 'शास्त्री' र पहिलो पत्रकार धर्मादित्य धर्माचार्य ।

मर्नै लागेको नेपालभाषालाई साहित्यको माध्यमबाट पुनर्जीवन दिन उहाँहरू छजनाले ६ वटै विशिष्ट ढंगबाट योगदान गर्नुभएको छ । जस्तो महाकवि सिद्धिदास अमात्यले बन्द भइसकेको नेपालभाषा काव्य सिर्जनाको धारलाई पुनः जीवित गर्नुभयो । पहिले पहिले नेपालभाषा नेपाललिपिमै लेख्ने गरिन्थ्यो । तर, राणाकालीन कालरात्रिमा नेपाल-लिपिमाथि प्रतिबन्ध लगाई देवनागरी लिपिलाई स्थान दिन थालेपछि मानिसहरूले नेपाललिपि बिर्सन थाले ।

त्यस्तो अवस्थामा अब नेपालभाषालाई नेपाललिपिमै मात्र लेख्नुपर्छ भन्ने छैन, देवनागरीमा पनि लेख्न सकिन्छ भनेर देवनागरीमा नेपालभाषा लेख्ने कार्यको सुरुवात उहाँले गर्नुभएको थियो । यदि त्यतिबेला नेपाललिपिमै नेपालभाषा लेख्नुपर्छ भनेर पर्खेर बसेको भए लिपिको साथसाथै भाषा पनि लोप हुनसक्थ्यो । नेपालमा 'भाषा म्वाःसा जाति म्वाइ' अर्थात् 'भाषा जीवित रहे जाति जीवित रहन्छ' भन्ने पहिलो उद्गार पनि उहाँले नै व्यक्त गर्नुभएको थियो, त्यो पनि लेखेरै । हाल दार्जिलिङमा चलिरहेको गोर्खाल्यान्ड आन्दोलनमा पनि यही नारा लेखिएका ब्यानर प्रदर्शनमा आइरहेको पाइन्छ । त्यसैले महाकवि सिद्धिदासको योगदान केवल काव्य रचनामा मात्र सीमित छैन ।

जंगबहादुरले नेपालभाषाको लिखतमाथि प्रतिबन्ध लगाएपछि यो भाषामा लेख्ने परम्परा करिब ६५ वर्ष ठ्याम्मै बन्द रह्यो । ६५ वर्षपछि यी युवाले जब साहित्य रचना गर्न थाले, नेपालभाषाको बोलाइ र लेखाइ त धेरै फरक भइसकेको रहेछ । बोल्ने भाषा परिवर्तन हुँदै आए । लेख्ने भाषा भने सय वर्षअघिकै अवस्थामा थियो । फलतः बोल्ने भाषा र लेख्ने भाषा छुट्टाछुट्टै जस्तो हुन थाल्यो । पुरानो भाषामा लेखिएका रचनाहरू नयाँ पाठकले बुझ्नै सकेनन । यस्तो अवस्थामा अब नेपालभाषा पुरानो शैलीमा लेख्ने होइन, 'अहिलेजस्तो बोल्ने हो त्यस्तै लेख्ने' भन्ने सूत्र बनाएर लेख्ने काम पं. निष्ठानन्द वज्राचार्यले थाल्नुभएको थियो ।

त्यसैले उहाँलाई नेपालभाषाका पहिलो आधुनिक गद्यकार पनि भन्ने गरिन्छ । त्यतिबेला पुस्तक लेख्ने काम हातैले मात्र गर्ने चलन थियो । उहाँले पहिलोपटक आफैंले काठको छपाइ मेसिन बनाएर नेपालभाषाको पहिलो 'प्रिन्टेड पुस्तक' निकाल्नुभयो, जसका नाम थियो - 'एकविंशति प्रज्ञापारमिता ।' यो नेपालकै पनि पहिलो प्रिन्टेड पुस्तक हो । पं. वज्राचार्यको नाम नेपालको छापाखानाको इतिहासमा पनि विशेष रूपले उल्लेख गरिएको छ । अहिलेका चल्तीका संगीतकार न्ह्यु वज्राचार्य पं. निष्ठानन्द वज्राचार्यकै खनाती हुन् ।

मास्टर जगतसुन्दर मल्ल मूलतः भक्तपुरका हुन् । बच्चाहरूलाई छिटो सिकाउने हो भने उनीहरूको आफ्नै मातृभाषामा शिक्षा दिइनुपर्दछ भन्ने विचारको उहाँ पहिलो अभियन्ता हुनुहुन्छ । उहाँले राणाकालमै बच्चाहरूलाई मातृभाषामा शिक्षा दिने काम गर्नुभएको थियो । अंग्रेजीको 'एसप्स फेबल' बालपुस्तकलाई उहाँले नेपालभाषामा उल्था गरी प्रकाशन गर्नुभयो । त्यसलाई नेपालभाषाको पहिलो बाल पुस्तक मानिन्छ । पञ्चायतकालमा भक्तपुरको खौमा टोलमा उहाँको प्रतिमा स्थापना गरिएको थियो । तर उद्घाटन गर्ने दिनमै तत्कालीन नगर पञ्चायतले प्रतिमा चोरेर लगे जो २०४६ सालको आन्दोलनपछि मात्रै फिर्ता भयो ।

नेपाल साहित्यको इतिहासमा 'जोग मण्डली' बारे उल्लेख गरिएको छ । त्यो वास्तवमा कवि योगवीरसिं कंसाकारको कपडा पसलमा जम्मा भएर साहित्य रचना गर्ने नेपाली तथा नेपालभाषाका साहित्यकारहरूको मण्डली हो । योगवीर सिंको मण्डली भएकोले त्यसलाई 'जोग मण्डली' भनिएको हो । यो मण्डलीले राणाशासनविरुद्ध साहित्य रचना गर्ने, पर्चा लेख्ने र गोप्य पुस्तकालय खोल्ने कामसमेत गरेको थियो । त्यतिबेला नेपाली विद्यार्थीहरू उच्चशिक्षाको लागि भारतको विश्वविद्यालयमा पढ्न जानुपथ्र्याे । त्यसैले भारतीय विश्वविद्यालयबाट नेपालभाषालाई पनि मान्यता दिलाउनुपर्‍यो भन्ने अभियान योगवीर सिंले चलाउनुभएको थियो ।

सहिद शुक्रराज शास्त्रीलाई नेपालको राजनीतिक इतिहासमा पहिलो सहिद भनेर चिनिन्छ । तर, उहाँ राजनीतिक नेतामात्र हुनुहुन्न । उहाँ नेपालभाषाका लेखक एवं व्याकरणविद् पनि हुनुहुन्थ्यो । नेपालभाषाको पहिलो व्याकरण पुस्तक नै सहिद शुक्रराज शास्त्रीले लेख्नुभएको थियो । शुक्रराजको त्यही व्याकरणले नै नेपालभाषाको मानक निर्धारण गरिएको थियो ।

पाटनका जगतमान वैद्यको साहित्यिक नाम धर्मादित्य धर्माचार्य हो । अत्यन्त तीक्ष्ण बुद्धिका उहाँलाई तत्कालीन राणा सरकारले नै कलकत्तामा पढ्ने व्यवस्था मिलाइदिएको थियो । तर, कलकत्ता पुगेर उहाँले राणाशासनकै विरोध गर्न थालेपछि उहाँ नेपाल आउन पाउनुभएन । कलकत्तामै बसेर नेपालभाषामा 'बुद्ध धर्म' नामक पत्रिका सुरु गर्नुभयो । यो नै नेपालभाषाको पहिलो पत्रिका थियो । आजभन्दा ९४ वर्षअघि प्रकाशित यही पत्रिकाका कारण आज उहाँलाई नेपालभाषाकै पहिलो पत्रकारको रूपमा सम्मान गरिएको छ ।

त्यसो त त्यतिबेला नेपालभाषालाई मृत्युशय्याबाट निकाल्ने काममा अरू पनि धेरै भाषाप्रेमीहरूको योगदान रहेको पाइन्छ । तर, पनि उहाँहरू ६ जनाको योगदान विशिष्ट र अत्यन्त मौलिक खालको छ । त्यसैले उहाँहरूले भाषाको लागि काम गर्नुभएको त्यो कालखण्डलाई नेपालभाषा साहित्यको 'पुनर्जागरण काल' भन्ने गरिन्छ । नेपाल संवत् १०२९ देखि १०६२ (आज भन्दा ७५ वर्षअघि) सम्म नेपालभाषाको पुनर्जागरणकाल जारी रह्यो जसले यो भाषालाई आईसीयूबाट निकालेर पुनः जनताको घरघरमा पुर्‍याइदिए ।

आज ७५ वर्षपछि नेपालभाषा पुनः आईसीयूमै फर्केको छ । यसमा पञ्चायती व्यवस्थाका ३० वर्षे शासनले धेरै ठूलो भूमिका खेलेको छ । राजा महेन्द्रले राष्ट्रवादका नाममा एक भाषा एक भेष नीति लागू गरेपछि नेपालभाषालाई स्थानीय नगरपालिका, रेडियो नेपाल, स्कुलस्तरीय शिक्षा, लोकसेवा आदि विभिन्न ठाउँबाट घोक्रेठ्याँक लगाउँदै गए । नेपालभाषाका राम्रा साहित्यकारहरूलाई तान्दै नेपालीमा अल्झाइदिए । १९९७ सालमा सहिद भएका नेवार नेताहरूको नामबाट थर झिकिदिए (धर्मभक्त माथेमालाई 'धर्मभक्त' मात्र लेख्ने, शुक्रराज जोशीको ठाउँमा 'शुक्रराज शास्त्री' लेख्ने, गंगालाल श्रेष्ठको ठाउँमा 'गंगालाल' मात्र लेख्ने आदि) । यिनै कारणले गर्दा अहिले नेपालभाषामा लेख्ने, पढ्ने, बोल्ने व्यक्तिहरूसमेत कम हुँदै जान थालेको छ ।

यो भाषालाई आईसीयूबाट नझिक्ने हो भने यो जाने त सिधा मूर्दाघरमै हो । त्यसैले आफ्नो मातृभाषालाई आईसीयूबाट बाहिर निकाल्न अहिले विभिन्न ठाउँबाट विभिन्न प्रयास हुँदै आइरहेका छन् । त्यसैमध्ये एउटा प्रयास हुँदैछ, नेपालभाषा साहित्य नखः अर्थात् नेपालभाषा साहित्य महोत्सव । यही आउँदो भदौ ३१ गते पाटन दरवारमा हुने यो महोत्सव नेपालभाषामा पहिलो हो । नेपालभाषामा गरिने र भइरहने यस्ता कार्यक्रम नै अहिले भाषाप्रेमीहरूका त्यस्ता प्रयास हुन् जसले आईसीयूमा रहेको भाषालाई मूर्दाघरतिरको बाटाबाट मोडेर जनरल वार्डमा ल्याउन सक्ने आशा गरिएको छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1