MENU

जो सम्झनामा आइरहन्छन

635x90_1

शैलेन्द्र साकार शनिवार, भदौ २४, २०७४ 565 पटक पढिएको

Share This

635-X-85

संस्मरण

एउटा लामो यात्रा हो जीवन जसले विभिन्न मोडमा स्मृति चिन्ह छोडेर जान्छ । जीवनलाई सम्झनलायक बनाइदिन्छन् साथीहरुले । उमेरका विभिन्न खुड्किलामा अनेकन साथी भेटिए । समयक्रमसँगै ती अस्तित्वको पर्दामा धूमिल हुँदै गए । तर, जीवित छन् स्मृतिको पर्दामा । उमेरको यो उचाइमा पुगेपछि म ती पुराना साथीहरु सम्झिन्छु । नेपाली साहित्यमा आफ्ना रचनाले कहिल्यै नमेटिने उपस्थिति छोडेर गएका छन् ती, जसलाई सम्झिँदा सम्झना पनि रमाइलो हुन्छ । स्मृतिको पर्दामा धर्साहरु कोरिछोडेका तिनै साथीहरु सम्झिएको छु यहाँ मैले ।

Shailendra_Sakar-kavitakosh_1विजय मल्लसँग हाम्रो धेरैजसो भेट भइरहने । रानी रत्नकी बुबा हरिशमशेर जबराको महलमा उनका बुबा ऋद्धिबहादुर मल्ल सुब्बा थिए । त्यसैले विजय मल्ल दरबारबाट परिचित थिए । दरबारका काजीहरू सबैले विजय मल्ललाई राम्रैसँग चिन्ने । पछि पनि प्रज्ञाप्रतिष्ठानमा सदस्यसचिव हुनु र उपकुलपतिसम्म पुग्नु उनका लागि गाह्रो भएन । तर, २००७ सालमा कांग्रेसलाई साथ दिएका कारणले उनको छवि 'लोकतान्त्रिक' बनेको थियो । उनका सम्पूर्ण रचनामा त्यो झल्कन्छ पनि ।

उनको एउटा कविता छ, 'झन्डा उठाउँदै आएको तिमीलाई सबैले देख्लान्' । 'विजय मल्ल्को कविता'मा संकलित उनका कविताहरू पढ्दा अत्यन्त प्रभावित भएको थिएँ म । 'छोरीलाई मानचित्र पढाउँदा' जस्तो कालजयी कविता थोरैले लेखेका छन् । विजय मल्लको शैक्षिक योग्यता खालि आईएसम्म मात्र भए पनि त्यस बेलाको चर्चित अस्तित्ववादबारे उनलाई राम्रो अध्ययन थियो । मानवीय अस्मिताको खोजी उनको उपन्यास र कथाको मूल विषय हुन्थ्यो । विजय मल्ल र हाम्रो बीचमा पुल बनेका थिए ईश्वरमान रञ्जितकार । उनी विजयको घरमा निस्किरहन्थे र हाम्रो डेरामा पनि आइरहन्थे ।

 

विजयको भाइले चलाएको जोर गणेश प्रेसमा पनि जागिर दिलाइदिएका थिए मल्ल बन्धुहरूले । ईश्वरमान अत्यन्त राम्रा संकलन, अध्यवसायी र इमानदार व्यक्ति थिए । उनको घरमा कैयौं अप्राप्य साहित्य सामग्रीहरू होलान् । त्यसको खोजी गर्नुपर्ने मलाई लाग्छ । नेपाली लेखक संघको पहिलो ख्रेसा पनि उनीसँग हुनुपर्छ । त्यो खेस्रा लेखेका थिए कथाकार गोविन्दबहादुर मल्ल गोठालेले ।

एकजना दरबारी कवि थिए नीरविक्रम प्यासी । भेट भयो कि कविताको एक वाक्यांश सुनाइहाल्ने । त्यस बेला उनको कविताको एक हरफ निकै प्रसिद्ध भएको थियो- 'तँ पनि आगो, म पनि आगो, दुवैमा जलन।'

गोविन्दबहादुर मल्ल 'गोठाले' जति अन्तर्मुखी स्वभावका थिए त्यत्तिकै बहिर्मुखी थिए विजय मल्ल । विजयलाई चुरोट खाइरहनुपर्ने र गफ गरिरहनुपर्ने । विजयको जीवनमा एउटैमात्र चिन्ता थियो— नौवटी छोरीहरू । छोरा हुन्छ भनेर पर्खंदा पर्खंदा लगालग छोरीहरू जन्मे । तिनै छोरीहरूमध्ये कोही छोरी ज्वाइँ अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्न थालेका थिए र विजय त्यहाँ घुमेर आइरहन्थे । ओहरदोहर राम्रै थियो । तर, उनले कहिल्यै पनि विदेश बस्ने चाह देखाएनन् । नत्र विदेश बस्नु उनका लागि कुनै आइतबार थिएन ।

मेरो विवाहकै दिन उनले हामीलाई 'अनुराधा' उपन्यासको खाका पूरै सुनाएका थिएजस्तो लाग्छ । 'शारदा' पत्रिकाको प्रकाशनकालका दुःखहरू देवकोटा, सम, सिद्धिचरण र व्यथितबारे नयाँनयाँ कुराहरू सुनाइरहन्थे । जस्तो म अहिले मन्त्र, अस्वीकृत जमात, बुट पालिस अभियान, सडक कविता क्रान्तिकाबारे गफ गर्न र लेख्न पनि रुचाउँछु; त्यही र त्यस्तै अवस्था रहेछ विजयको त्यस बेला ।

खास गरेर भवानी भिक्षुलाई सुब्बा ऋद्धिबहादुर मल्लले कसरी 'शारदा'मा काम दिएका थिए भन्ने विषय कोट्याइहाल्थे, हामी लठ्ठ परेर सुनिरहन्थ्यौं उनको कुरा । औसत उचाइका अलि कालाकाला लाग्ने विजय ठ्याक्कै नेवार देखिन्थे त्यस बेला । न मोटा न दुब्ला ठिक्कका । अर्का एकजना दरबारी कवि थिए नीरविक्रम प्यासी । भेट भयो कि कविताको एक वाक्यांश सुनाइहाल्ने । त्यस बेला उनको कविताको एक हरफ निकै प्रसिद्ध भएको थियो- 'तँ पनि आगो, म पनि आगो दुवैमा जलन ।' 

भेट भयो कि यही हरफ नाटकीय ढंगले सुनाएर मनोरञ्जन गरिरहन्थे उनी । बाहिरतिर 'मन' उपन्यासका लेखक लीलाध्वज थापा साइकल रोकेर साइकलमा 'फिट' गरेको ऐना हेर्दै जुँगा टिप्दै गरेको भेटिन्थे । भेट भयो कि 'मिस टेक ? ' 'अन्डरल्यान्ड? ' भनेर छिल्लिरहन्थे । कुनै खरेल थरका मित्र भेटमा 'क रेलचाहिँ कहाँ छ नि तपाईं ख श्रेणीको रेल हुनुभयो', भनेर जिस्क्याइहाल्थे । 

बाहिरफेर डुलिरहेको बेला कुमार नेपाललाई 'दाइ भात खानुभयो ? ' या 'सन्चै हुनुहुन्छ ? ' भनेर कसैले सोध्यो भने उनी असाध्य रिसाइहाल्ने । जवाफ उस्तै बांगो र टिमुर्किएको हुने । उनी त्यस्तो व्यक्तिलाई तुरुन्त जवाफ फर्काइहाल्ने, 'तँैले मात्रै भात खा होला होइन यो देशमा ? '

विशालनगरबाट साइकलमा दिनभर काठमाडौं घुमिरहन्थे उनी । एकपल्ट उनले भने, 'हेर न बिरामी नभए पनि बिरामीको बहाना बनाएर दुई महिना वीर अस्पतालको बेडमा सुतेँ म । नर्ससँग प्रेम भएपछि के गर्नु? म हाँस्थे र कतै लाग्थँे । कुनै पनि साहित्यिक समारोहहरूमा सभापति र वक्ताका रूपमा भेटिन्थे बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ र केदारमान व्यथित । 'व्यथित'को वक्तृत्वकलाबाट प्रभावित नहुने व्यक्ति नै थिएनन् त्यस बेला । उनले 'राजनीति शौचालय हो र साहित्य भोजनालय हो' भन्ने भनाइ त्यस बेला निकै चर्चामा थियो ।

मोहन कोइरालालाई त्यस समयको विद्रोही पिँढीका कृष्णभक्त, द्वारिका, उपेन्द्र, मदन रेग्मीहरूले उचालेका थिए र बूढा पिँढीका स्वनामधन्यहरू मञ्जुल र मलाई निकै मन पराउँथे । जसरी बाजेले आफ्ना नातिलाई मन पराउँछन् नि, हो त्यस्तै खालको ।

म दमौली जान मन नलागेर औलो उन्मूलन संघको कमलपोखरीस्थित प्रधान कार्यालयमा 'प्रशासकीय अधिकृत' पदमा नियुक्त भई काम गर्न लागेको थिएँ । मलाई कामको राम्रो जानकारी थिएन । त्यसैले उपप्रमुख रुद्रशंकर गिरी मलाई भेट भयो कि हप्काउन थाल्थे । प्रमुख थिए डा. राणा कृष्णजंग । उनी नेपालगन्जका हुनेखाने परिवारबाट आएका थिए र कविता पनि लेख्थे ।

अमिजातपन उनको हरेक व्यवहारबाट झल्कथ्यो । उनले 'देश-लागि मन दुखाऊ' भन्ने कवितासंग्रह निकालेका थिए र मलाई प्रोत्साहन पनि दिइरहन्थे । उनलाई अहिले पनि देख्छु र उनको दीर्घायु देखेर आश्चर्य पनि लाग्छ । भर्खरै उनले तीनवटा कृति लोकार्पित गरेको खबर पढेँ । सायरी, गजल र मुक्तकमा उनको ठूलो रुचि थियो ।

पछि उनी विश्व स्वास्थ्य संगठनमा काजमा खटिएर गए । म पनि विवाह हुनेबित्तिकै दाजुले छुट्याएर राख्न खोजिदिएको लगनटोलको डेराबाट डिल्लीबजार धोबीधारानेर सरेँ कार्यालय नजिक । लगनटोलको डेरा सर्वोच्च अदालतको न्यायाधीश जनकमान श्रेष्ठको घर थियो भने अहिलेको डेराका घरपट्टि थिए कवि कुमार नेपाल ।

कुमार नेपालको वास्तविक नाम थियो- काननलाल शर्मा नेपाल । उनी प्रोफेसर शंकरप्रसाद नेपालका जेठा छोरा थिए । शंकरप्रसाद नेपाल शंकरदेव क्याम्पसमा पढाउँथे रे पहिला । अहिले निवृत्त जीवन बिताइरहेका । बिहानभरि लंगौटी मात्र लगाएर घर सफा गरिरहने र श्रीमीतसँग बोल्न छाडेको बीस वर्ष भइसकेको । कवि कुमार नेपालको 'चर्केको पर्खाल' भर्खरै निक्लेको थियो । उनको 'मैयाँ साहेबको डायरी' नामक कथाको निकै चर्चा थियो ।

यौन साहित्यमा बीपीको 'कर्नेलको घोडा'पछि विजय मल्लको 'कालो चस्मा' दौलतविक्रम विक्रमको 'एक साँझ', पोषण पाण्डेको 'भिनाजुको स्वेटर' पछि उनकै कथाको चर्चा साहित्य जगत्मा थियो । बाहिरफेर डुलिरहेको बेला कुमार नेपाललाई 'दाइ भात खानु भयो ? ' भनेर या 'सन्चै हुनुहुन्छ ? ' भनेर कसैले सोध्यो भने उनी असाध्य रिसाइहाल्ने । जवाफ उस्तै बांगो र टिमुर्किएको हुने । उनी त्यस्तो व्यक्तिलाई तुरुन्त जवाफ फर्काइहाल्ने, 'तँैले मात्रै भात खा होला होइन यो देशमा ? अरु त भोकै घुम्न निस्कन्छन्' अथवा 'बिरामी भएको भए ओछ्यानमै हुन्थे नि तँसँग भेट हुन्थ्यो त ? '

त्यसैले उनलाई चिन्नेहरू खालि नमस्कारमात्र गर्थे, केही बोल्दैन थिए । उनलाई पुतलीसडकनेर भेटेर उनको घर हेर्न गएँ । भुइँतलामा एउटा कोठा र भान्साको रु. ९०।- त्यति सस्तो पनि होइन र धेरै महँगो पनि होइन । रु. ४००।- तलब खाने मलाई त्यो भाडा ठीकै लागेको थियो । मेरो कार्यालय कमलपोखरीको पोखरी नजिक भएकोले त्यो ठाउँ बस्न मलाई ठीक लागेकाले सरिहालेँ म त्यहाँ । पिता शंकरप्रसाद नेपाल भने श्रीमतीसँग नबोलेरै एउटै छानामुनि २० वर्ष बिताउन सक्ने भने छोरा कुमार नेपाल भने फुर्सद भयो कि श्रीमतीको चोलो सिएर दिनभरि बस्ने । अर्को भाइ जगदीश नेपाललाई यी कुनै पनि कुरामा कुनै रुचि थिएन ।

उनी जनक शिक्षातिरै काममा व्यस्त र अलिकति पनि साहित्यिक थिएनन् । त्यही घर पर्दो रहेछ भवानी घिमिरेको ससुराली । अनि झापाका भवानी घिमिरे स्वाभाविक रूपले मेरा नजिक भए । हामी बिस्तारै सारै नजिक हुँदै गयौं, खानापान पनि मिल्यो हाम्रो । बेलुका भयो कि 'सांस्कृतिक कार्यक्रम'मा रुचि राख्ने । मद्यपानलाई भवानी घिमिरे संक्षिप्त सांस्कृतिक कार्यक्रम भन्ने गर्थे । त्यस्तै एउटा संक्षिप्त सांस्कृतिक कार्यक्रमबाट फर्केर रातको १० बजेतिर डेरामा आउन लाग्दा गल्लीबाट एउटा पातलो व्यक्ति दौडेर भाग्यो मूल सडकतिर ।

एक हुन मानिसहरू लट्ठी बोकेर पछिपछि दौडेका 'चोर चोर' भन्दै । सबभन्दा अगाडि देखिए जगदीश घिमिरे खेद्नेहरूमा । मैले उनलाई भनेँ 'चोर त भर्खरै तिम्रै अगाडिबाट खुट्टा लतार्दै भाग्यो । तिमी त टक्क अडियौ । तिमी अगाडि बढेको भए समात्न सक्थ्यौ त चोरलाई किन टक्क रोकिएको ? ' उनले स्वाभाविक रूपमा भने, 'चोरलाई चिन्नु नलखेट्नु भने भनाइ छ । अझ नसमात्नु लखेट्नु मात्र भन्ने पनि नीति वचन छ । चोरलाई चिनिहालियो किन लखेट्नु ? ' मैले सोधेँ, 'को रहेछ त चोर ? ' उनी भोलि भनूँला भनेर डेरातिर लागे ।

उनी पनि नजिकै विमलराज बस्नेतको घरमा डेरा लिएर दुर्गा घिमिरेसँग बस्थे । छोराछोरी भएको थिएन । भोलिपल्ट कार्यालयतिर लाग्ने बेलामा मैले फेरि जगदीशलाई भेटेर सोधिहालेँ, 'भोलि भन्छु भनेको होइन ? को रहेछ त चोर ? ' उनले हाँसेर भने, 'कथाकार सन्तोष भट्टराई ।' 'ए त्यो अलि त्यस्तै छ...' भनेर म कमलपोखरीतिर लागेँ । धोबीधाराकै छेउमा जसलाई खास मूलधारा भनिन्छ, त्यसकै नजिकै दुई मित्रहरू पनि बस्थे- ओममणि शर्मा र मोहन घिमिरे ।

ओममणि अहिलेसम्म अशेष मल्लको प्रत्येक नाटकमा बुद्ध पुरुष या पिताको अभिनय रिठ्ठो नबिराई गर्नमा जीवन बिताइरहेछन् र मोहन घिमिरे भर्खरै पुनरावेदन अदालतको विशिष्ट श्रेणीको न्यायाधीशबाट निवृत्त भएर घरमै थन्केका छन् । राम्रै कविता लेख्थे, आजभोलि लेख्न पनि छोडिसकेछन् । हामीहरू खास गरेर भवानी घिमिरे, कविताराम, मोहन घिमिरे, किशोर नेपाल, सन्तोष भट्टराई, हरि अधिकारी, ध्रुव सापकोटा प्रत्येक शनिबार मेरोमा अथवा मोहनकोमा भेला हुन्थ्यौं र देशको अवस्थाबारे चर्चा गरिरहन्थ्यौं । उमेरले पनि भवानी घिमिरे निकै अग्रज भएकाले हामी उहाँलाई खुबै आदर गथ्र्यौं ।

उहाँको विरोधी भावनाहरू सुनेर र 'भानु' प्रकाशित गर्नमा उहाँले देखाउनुभएको उत्साह र जाँगरबाट प्रभावित पनि थियौं । त्यसरी चोर्नु हुन्छ ? के गरेको सन्तोष ? भनेर मैले सन्तोषलाई सोधँे । 'कसले भन्यो ? ' भनेर ऊ जंगियो । जगदीशले भनेको भनेपछि ऊ चुप लाग्यो र भन्यो, 'त्यो जगदीश कुरै बुझ्दैन । त्यसै लठ्ठी बोकेर मेरोपछि दौडिहाल्यो । म उसको नजिक चोर्न गएकै होइन । उसको नजिकै दिउँसो विवाह भएको थियो र राति दुलहादुलहीको सुहागरात चियाउन गएको, मानिसहरूले 'चोर चोर'भन्दै लखेटिहाले ।'

यस्तै थियो सन्तोष भट्टराई अत्यन्त अराजक । लंगडो भए पनि जताततै छतबाट हाम्फाल्न सक्ने । पुलबाट तल खोलामा हाम्फाल्न सक्ने । शरीरको अलिकति पनि माया नभएको । उनको बुवा पुष्कर भट्टराई वकिल थिए र सधैं किसुनजीकहाँ बिहानभरि बिताएर घर फर्कन्थे । बीपी भारतबाट मेलमिलाप भन्दै नेपाल फर्केपछि चाबहिलमा बस्दा उनलाई कानुनी सल्लाह दिने पनि उनै थिए । सन्तोष र उनको पिताजी पुष्करको बारे अर्को एउटा कुरा पनि बताउन मन लाग्यो । दुवैजना सुरापानका अत्यन्त प्रेमी ।

एकपल्ट के भयो भने रातको ११÷१२ बजे दुवै बाबुछोरा एकैपल्ट घर पुगेछन् । छोरो भन्दो रहेछ, 'यो मेरो घर तँ के चोर्न आएको ? ' बाबु पनि छोरोलाई त्यही भन्दो रहेछ । हल्ला नि बढेपछि छिमेकीहरू उठेछन् र दुवैलाई घचेटेर घरभित्र हुल्दिएछन् । अब यस्तो हल्ला गरेमा नसहने जनाउ पनि दिएछन् । बाबु छोराले केही दिनपछि आफ्नो घर पस्ने समय परिवर्तन गरे रे ।

हिजोआज सन्तोषको हालचाल के छ भनेर सोधेका एउटा मित्रले बताएअनुसार सन्तोषका दुवै छोरा अहिले डाक्टर भएका छन् । बाबु सन्तोष 'अल्कोहोलिक' भएकाले दुवै मिलेर बाबुलाई दाम्लोले बाँधेर राख्छन् । छोड्यो कि सन्तोष रक्सीपसलतिर गइहाल्ने ।' यो निकै दुःखद खबर सुनेँ आजकल उनले लेख्न पनि छाडिसकेछन्- बाँधिएर कसरी कथा लेखिरहनु ?

नेपाल औलो उन्मूलन संघमा मलाई टिकिरहन गाह्रै भयो । डा. रुद्रशंकर गिरीले हप्काउनु त छँदैछ प्रमुख भएर आए डा. कल्याणमणि आचार्य दीक्षित । उनी सही गर्दा जहिले पनि डा. कल्याणमणि आचार्य दीक्षित एम.बी.बी.एस., एम.पी.एच. भनेर सही गर्थे । दिनमा १७ पटक कार्यालयवरिपरि घुमिरहन्थे र प्रत्येक स्टाफलाई तर्साइरहन्थे । उनी टंगालका नरेन्द्रमणि आदिका छोरा थिए र बहिरा थिए । कानमा सुन्ने यन्त्र झुन्ड्याइरहने तर केही नसुन्ने । उनको तालझाल देख्दै मलाई घृणा लाग्ने।

आफू प्रशासकीय अधिकृत भएकाले जिल्लाजिल्लाबाट औलो अधिकृत र प्रमुखहरूले पठाएका समस्याहरू सुनाउनुपथ्र्यो र म पत्रहरू पढ्दै समस्याहरू सुनाउन थाल्थेँ । उनी केही सुन्दैन थिए र झर्किरहन्थे । अनि मलाई पनि रिस उठ्थ्यो र भनिदिन्थेmँ 'आफू बाहिरा छ केही सुन्दैन, यस्तालाई के बताइरहनु? '

अरू केही नसुन्ने कल्याणमणि 'बहिरा' भनेकोचाहिँ सुनिहाल्थे र उफ्रन थाल्थे, 'मलाई बहिरा भनेको ? गेट आउट ।' म लुरुक्क आफ्नो ठाउँमा फर्कन्थेँ । यसरी दिन बित्दै गएको थियो । सामन्ती संस्कारमा हुर्किएका कल्याणमणि दोस्रा 'राणा' थिए । उनी डाक्टर भए पनि के गर्नु संस्कार पूरै सामन्ती । जस्तो अहिले सुन्दरमणि दीक्षित त्यस्तै छन् भन्ने चर्चा सुन्छु । त्यो त मलाई राम्रो अनुभव छैन तर उनी मानवअधिकारवादी भएर चिच्याएको टीभीमा हेर्दा मलाई अट्टहास छाड्न मन लाग्छ । बंैककमा कुनै कामको सिलसिलामा गएको बेला डा. कल्याणमणिले पछाडिबाट आएको मोटरको हर्न सुनेनछन् र दुर्घटना भएछ । उनी त्यहीँ ढलेछन् । डाक्टरले अस्पतालमा उनलाई 'मृत' घोषणा गरिदिएछन् विचरा ।

त्रिभुवन विश्वविद्यालयले त्यही बेला सुप्रिन्टेन्डेन्ट र असिस्टेन्ट रजिस्ट्रारको विज्ञापन निकाल्यो । मैले दुवै पदका लागि आवेदन दिएँ । त्यस बेला सभा मैले प्राइभेट परीक्षार्थीका रूपमा जाँच दिएर एमए (नेपाली) र एमए (राजनीतिशास्त्र) उत्तीर्ण भइसकेको थिएँ । दुई विषयमा स्नातकोत्तर गर्ने थोरै मात्र थिए । अन्तर्वार्ता लिने मुख्य व्यक्ति थिए त्यस बेलाका शिक्षाध्यक्ष डा. मोहनमान सैंजू । उनी अत्यन्त बुद्धिमान्, दयालु र तीक्ष्ण प्रतिभाका व्यक्ति थिए भन्ने मलाई लाग्छ ।

उनले मलाई स्पष्ट भनिदिए, म तपाईंलाई सुप्रिन्टेन्डेन्टमा राख्छु । केही समयपछि तपाई असिस्टेन्ट रजिस्ट्रारमा बढुवा भइहाल्नुहुन्छ, म नै तपाईंलाई बढुवाका लागि सहयोग गरौंला भने । यसरी प्रोत्साहन दिने धेरै कम व्यक्ति देखेको छु मैले जीवनमा । त्यसपछि म निश्चित भएर डेरामा फर्केको, बाटैमा कतै चिया खान पस्दा चुरोट सल्काएर आफ्नै कोटको गोजीलाई एस्ट्रेजस्तो ठानेर चुरोट त्यहीँ फालेछु ।

चुरोटले नयाँ कोटको गोजी सप्पै जलाएर धूवाँसहित खुसी हुँदै म डेरामा आइपुगेछु । श्रीमतीले पुत्पुताउँदो धुवाँ देखेर फालिदिई । आजपर्यन्त मेरो बेहोसीको कुरा गर्नुपर्दा श्रीमती त्यही कुरा उठाइहाल्छे । मलाई अहिले सोच्दा पनि छक्क लाग्छ । यसरी राम्रो भयो भन्नेसँगै एउटा विज्याइँ भएर छाड्यो । जीवनमा कैयौं कुरा यसरी नै बित्दै गएको आलो घाउ बोक्नु नै नियति बन्दै गएछ मेरो ।

औलो छाडेर त्रिविको कर्मचारी भएँ म । त्रिविको सेवा आयोगमा । हाकिम थिए ज्ञानराज शाक्य र अध्यक्ष भगवतीप्रसाद सिंह पूर्वप्रधानन्यायाधीश । कडा स्वभावका थिए भगवतीप्रसाद सिंह । त्यस्तै कडा स्वभावका उपकुलपति सूर्यबहादुर शाक्य र रजिस्ट्रार जगतमोहन अधिकारी । जगतमोहन अधिकारी मनमोहन अधिकारीका भाइ थिए । उनी पछि क्यान्सरबाट बितेछन् । दाजुभन्दा सायद अगाडि नै । त्रिविका थुप्रै प्राध्यापकसँग सम्पर्क भयो । त्यहाँबाट जाँचबुझ केन्द्रमा काजमा धेरै प्राध्यापक जाने गर्थे । तीमध्ये कवि मोहनहिमांशु थापा एकजना थिए ।

म पनि कवितामा एकदमै लागेकाले उनीसँगको सम्बन्ध मलाई विशेष लागेको थियो । उनी थापा क्षेत्री भएर पनि नेवार समुदायको बीचमा हुर्केकाले नेवारीमा कविता पनि लेख्न सक्थे र बोल्न पनि उस्तै । यस्तै केही नेपाली भाषाका कविमा केही व्यक्ति छन् जो नेपालीमा लेखेर पनि नेपाल भाषामा त्यत्तिकै राम्रो दख्खल राख्छन् । तीमध्ये समकालीन कवि राजव र दिवंगत मित्र गोविन्द वर्तमान पनि हुन् । यी दुवै ब्राह्मण जातका भए पनि असाध्यै राम्रो नेवारी बोल्न सक्थे । म उनीहरूबाट जीवनमा निकै प्रभावित भएको निसंकोच स्वीकार गर्छु । 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1