MENU

जलन्धरमा फसेको एक यात्री

635x90_1

मीनराज वसन्त शनिवार, भदौ २४, २०७४ 6550 पटक पढिएको

Share This

635-X-85

२४ अप्रिल २०१७ । घडीमा रातको १० बजिसकेको थियो । म आफ्नो यात्रालाई निरन्तरता दिँदै दिल्लीको आईएसबीटी अर्थात् इन्टर स्टेट बस टर्मिनलबाट पञ्जाबको अमृतसरका लागि रवाना भएँ । गन्तव्य गुजरात (सुरत) त हुँदै हो । तर अमृतसर पुगेर एक झलक गोल्डन टेम्पल हेर्ने आफ्नो हठको सम्मुख म आफैं निरीह थिएँ ।

अमृतसर उत्रेर घडीसँग आँखा जुधाउँदा बिहानको साढे चार भइसकेको रहेछ । तारिख फेरिएछ । रातले कोल्टे फेर्न भ्याएछ । चराहरूले कोलाहलमय संगीतको थालनी गरिसकेका थिए । बिहानपख सिरसिरजस्तो हावाको लहरो चल्दै थियो । सामान्य टिसर्ट लगाएको ज्यानमा दुब्ला र होचा काँडाहरू उम्रिएको देखेँ । रौंहरूले चनाखो बनेर कान ठाडा पारेजस्तै लाग्यो । व्यग्र गर्मीको सिजन भए पनि दिल्लीको अनुपातमा पञ्जाब केही चिसो सहर मानिन्छ । तर, महँगो भाडा तिरेर वातानुकूलित बसमा सफर गर्दा पनि केके नपुगेको आभाष भने भइरह्यो ।

आफूसँग आफ्नै भाषामा गफिने मान्छे नहुनुले पनि यस्तो लागेको होला, मैले यसभन्दा धेरै केही सोचिनँ । तर, एक्लै यात्रामा निस्कनुका सामान्य फाइदामध्ये एउटा ठूलो बेफाइदा यो पनि रहेछ भन्ने पाठ सिकिरहेको थिएँ । कतिसम्म भने, सबैका तस्बिर खिचिहिँड्ने म आफूलाई मन लागेको ठाउँ र पोजमा आफ्नै तस्बिर लिइदिने दोस्रो व्यक्ति नहुनु पनि कम पीडाको विषय थिएन ।

काठमाडौंका गेस्ट हाउसवालाहरूकै शैलीमा अमृतसरमा पनि एउटा गेस्ट हाउसवाला 'पाजी' देखाइपर्‍यो । उसँगको बार्गेनिङपश्चात् अन्ततः पाँच सय रुपैयाँमा मध्यान्ह १२ बजेसम्म चेक आउट भइसक्नुपर्ने मौखिक सहमतिसहित एउटा कोठा लिएँ । दुई दिनदेखिको अनिँदो, लगातारको यात्राले दिएको थकान र शरीर शुद्धिका लागि पनि कोठा नलिएर धर थिएन ।

 

केही घण्टाको आरामपश्चात् नुवाइधुवाइ गरेर बाहिर निस्कँदा घामको नेप्से क्रमशः बढ्दै रहेछ । यससँगै मान्छेको चहलपहल पनि बढ्दै थियो । अब चराहरूको संगीत कतै विलुप्त भइसकेको थियो । बरु बस, टेम्पुलगायतका अन्य सवारीसाधनबाट एकोहोरो हर्न मात्रै निस्किइरहेको थियो । यात्रु चढाउने होडमा दुई पक्षका टेम्पु चालकबीच तीता-टर्रा गालीको आदानप्रदान आक्कलझुक्कल मेरा कानसम्म पनि आइपथ्र्यो । त्यही कोलाहमा टीभी तथा रेडियोको माध्यमबाट मिसिन आइपुगेको थियो- गुरुवाणी अर्थात् भक्तिगान । जुन गोल्डन टेम्पलबाट लाइभ प्रसारण हुन्थ्यो ।

जब उसले पैसा छ-छैन भनेर सोध्यो, अचानक मेरा आँखाबाट बाँध फुटेजस्तै गरी आँसुको निष्कासन हुन थाल्यो । यसरी त मेरी आमाले बाहेक कसैले सोध्दैन पनि । तब, आफ्ना आँसु आफैं पुछ्दै 'एक रूपैयाँ भी साथ में नहीं' भन्दै रुँदै, रुँदै भन्दै गरेँ ।

होटेलबाट लगभग दुई किलोमिटर पर्थ्यो गोल्डन टेम्पल । जसलाई गुरुद्वारा मात्रै नभई स्वर्ण मन्दिरको नामले पनि चिनिन्छ । बिहानको हिँडाइ स्वास्थ्यका लागि समेत राम्रो भएका कारण टुक्रुटुक्रु पैदल नै हिँड्ने निर्णय गरेँ ।

जतिजति दूरी छोटिँदै जान्थ्यो, त्यतित्यति सडक सफा र व्यवस्थित देखिँदै गयो । टायल लगाइएको सफा सडक । मान्छेहरूको बाक्लो आवत्जावत भएर पनि शान्तप्रायः वातावरण । विभिन्न चोक, गल्लीहरूमा ठुल्ठूला साउन्ड बक्स लगाएर गुरुद्वाराको भजन प्रत्यक्ष प्रसारण भइराखेको थियो । नबुझेतापनि कुनै मन्त्रोच्चारण जस्ता लाग्ने भजनहरूले आनन्दको असीम गहिराइमा मलाई आफूतिर चुम्बकीय शैलीमा खिचिरहेका थिए । हृदयका तारहरू झनन झनन झंकृत भएको आभाष पाउँथे । रक्त कोषिकाहरूमा अपूर्व आनन्दको सञ्चार भइराखेको थियो ।

कडा चेकजाँच गराएपछि मात्रै गोल्डन टेम्पल प्रवेशका लागि अनुमति मिल्यो । शिरमा कुनै वस्त्र वा रुमाल राख्नु अनिवार्य रहेछ । जुन नियम 'रब ने बना दी जोडी'मा शाहरुख खानले पनि पालना गरेको देख्न सकिन्छ । तर, आफूसँग त्यस्तो कुनै वस्त्र नभएका कारण, दस रुपैयाँ तिरेर 'गोल्डन टेम्पल' लेखेको रुमाल किनेँ । त्यसपछि 'निःशुल्क जुत्ते चप्पल' स्टलमा आफ्ना चप्पल राखेर त्यो विशाल, भव्य, शान्त र सौम्य परिवेश अवलोकन गर्न मेरा आँखाहरूले शरीरलाई पनि चलायमान बनाइदिए ।

गोल्डन टेम्पल, गुरुद्वारा, हरमन्दिर साहिब जे भने पनि उनै सिख धर्मावलम्बीहरूको पावनतम तीर्थस्थल हो यो । सन् १५७४ मा सिख धर्मका चौथा गुरु रामदासजीले यसको स्थापना गरेका भए पनि पाँचौँ गुरु अर्जुनदेवले सन् १५८८ मा यसको निर्माण आरम्भ गरी सन् १६०४ मा पूर्णता दिइएको थियो । झन्डै चार सय वर्ष प्राचीन गुरुद्वाराको डिजाइन स्वयं अर्जुनदेवले गरेका थिए, इतिहास यही भन्छ । उक्त गुरुद्वाराको शिल्प र सौन्दर्य देखेर मोहित नहुने कोही छैन ।

सुनको परत लगाएको उक्त गुरुद्वाराको चार दिशामा प्रवेशार्थ चार मूल द्वारहरू छन् । समाजमा रहेका चार जातिका लागि भनेर चारद्वार बनाइएको जानकारहरू बताउँछन् । मन्दिरको वरिपरि कञ्चन, निर्मल र शान्त सरोवर छ । जसलाई अमृत सरोवर पनि भनिँदो रहेछ । कालान्तरमा यसकै नामबाट जिल्लाको नाम पनि अमृतसर रहेको रहेछ । मुख्यतः सिख धर्मावलम्बीहरूको मन्दिर भए पनि सबै जाति-धर्मका मानिस बिना भेदभाव यहाँ आउने गर्दछन् ।

अमृतसरपश्चात् अबको यात्रा पञ्जाबकै चण्डीगढको थियो । चडीगढलाई कामुक सहरको नाममले समेत चिनिन्छ । भारतमा दुईवटा राज्य हरियाणा र पञ्जाबको एउटै सदरमुकाम पनि चण्डीगढ नै हो । जहाँ मसँग सम्पर्कमा रहेका एकजना नेपाली भाइ श्रम गर्थे । खासमा उनकै आग्रहमा चण्डीगढ पुग्ने तालिका बनेको थियो मेरो ।

गोल्डन टेम्पल घुमफिरपछि उनलाई निकैबेर फोन गरिरहेँ । घण्टी गइरह्यो, तर उठेन । पटकपटकको प्रयासमा पनि फोन नउठ्दा अब भने 'दाल में कुछ काला है' लाग्न थालिसकेको थियो । उसो त अघिल्लो दिन दिल्लीबाट पञ्जाब हिँड्ने बेलामा पनि उनलाई फोन गरेर लोकेसन नसोधेको होइन । जवाफमा उनले— 'पहिले अमृतसर आइपुग्नु । बाँकी कुरा फोन छँदैछ, गर्दै गरौंला नि' भने । यसलाई सामान्य रूपमा नै लिएँ मैले । तर जब अमृतसरदेखि चण्डीगढ हिँड्ने बेलामा फोन उठेन, तब अघिल्लो दिन उनले गरेको नागबेली बाटोजस्तो कुराको रहस्योद्घाटन भएझैं लाग्यो ।

अबको विकल्प के ? पञ्जाबपछिको यात्रा सोझै मोदीको गृहजिल्ला गुजरात थियो । अमृतसरदेखि गुजरातका लागि बस नपाउने जानकारी पाएपछि पञ्जाबकै अर्को जिल्ला जलन्धर पुग्नुपर्ने देखियो । स्थानीयको भनाइमा त्यहाँबाट गुजरात जाने बस सहजै पाउन सकिन्थ्यो ।

म होटेलबाट चेक आउट भएर जलन्धरको बसमा बस्दा उनै भाइको फोन आयो । उनले अनेक भूमिका बाँधेर यावत् कारण देखाए । 'दाइ ! म तुरुन्तै दिल्ली जानुपर्ने भयो' उनले भने- 'यसपटक भेट हुने भएन दाइ । मलाई माफ गर्नुहोला ।'

फोनमा उनको आवाज सुनिरहँदा ओठ थरथरी काँपिरहेका छन् भन्ने प्रष्टै थाहा लाग्थ्यो । तर, एउटा कामदारको अचानक दिल्ली यात्रा तय हुनु, अघिल्लो दिन फोनमा स्पष्ट तरिकाले नबोल्नुले यो सब झुट हो भन्ने प्रमाणित गर्दथ्यो । यदि, यसमा साँच्ची नै सत्यता छ भने उनै जानुन्, यसमा म क्षमाप्रार्थी पनि छु । तर, यस्तो गजबको संयोग सायदै बन्छ । अनि अन्त्यमा उनले, 'फेसबुकमा मेसेज पनि छाडेको छु' भने । म पनि के कम ? तुरुन्तै फेसबुक खोलेर उनले पठाएको मेसेजको समय र मोबाइलमा कुराकानी गरेको समय मिलाउँदा फोनपछि मात्रै मेसेज पठाएको भन्ने पुष्टि हुन आयो ।

जलन्धर बस अड्डा आइपुग्यो । कैयौं दिनदेखि पिठ्युँमा गह्रौँ झोलाले थिचिरहेकै थियो । घाँटीमा गरुंगो क्यामेराको माला थियो । गर्मी उस्तै । शरीरबाट चिटचिट पसिना छुटिरहेका थिए । धुलोले बालुवाजस्तै खस्रो बनाइदिएको थियो आफ्नै चेहरा । खाना खाने कुनै समय थिएन । दिसा-पिसाबको डरले भोकै-तिर्खै पनि हुन्थेँ । किनकि, नेपालको भन्दा बेग्लै थियो त्यहाँको सिस्टम । सरकारी बस भएकोले बसहरू केवल बसअड्डामा मात्रै रोकिन्थे । त्यो पनि निश्चित समयका लागि मात्र । न क्षमताभन्दा बढी यात्रु बोक्थे, न जहाँ दिसा-पिसाब लाग्यो त्यहीँ रोकिन्थे । आफ्नो र बसबीच तालमेल नमिल्न सक्थ्यो । त्यसकारण तिर्खा लाग्दा घाँटी भिजाउनु र भोक लाग्दा स्वाद चाख्नुबाहेक मसँग यात्रामा अर्को उपाय थिएन ।

जलन्धर पुगेर सोध्दा त्यहाँबाट पनि गुजरातको लागि बस नपाइने जानकारी हात लाग्यो । मलाई भने त्यसै विरक्त लागेर आयो । यात्राको उत्साह र रोमाञ्चकता स्खलितसरह भएको थियो । पहिल्यै सुकिसकेका ओठमुख थप के सुक्नु थियो र ! यदि बसद्वारा नै गुजरात जाने भए फर्केर पुनः दिल्ली जानुपथ्र्यो । त्यसो गर्दा उल्टो बाटो पथ्र्यो । अब एकमात्र विकल्प रेल नै रह्यो ।

बस अड्डाबाट टेम्पु लिएर असिनपसिन हुँदै म रेल्वे स्टेसन पुगेँ । तर, गुजरातको लागि सातामा कतिदिन ट्रेन जान्छ भन्ने चाहिँ थाहा थिएन । त्यसको लागि 'पुछताछ' जरुरी थियो । बाहिर टाँगिएको चार्ट हेरेर पनि पत्ता लगाउन नसकेपछि 'पुछताछ'को लाइनमा उभिएँ । मेरो अगाडि दुई-तीनजना र पछाडि पाँचसात जना मात्रै थिए । खासै भीड थिएन ।

'सुरत नु गड्डी किन्ने बजे है जी' मैले पञ्जाबीमै सोधेँ । यसरी पञ्जाबीमै सोध्नुको कारण, पञ्जाबी मोहमात्र नभएर मलाई पनि बोल्न आउँछ भन्ने प्रमाण थियो । भित्रबाट 'टेन थर्टी' भन्ने जवाफ आयो । जुन ट्रेन अमृतसरबाटै छुट्थ्यो र जालन्धर, सुरत हुँदै मुम्बईसम्म पुग्थ्यो । तर म ? म भने सजिलो यात्राका लागि बसको चक्करमा उल्टो बाटो हिँड्न खोजिरहेको थिएँ । अमृतसरबाटै प्रस्थान गर्ने ट्रेन पकड्न म जलन्धर आइपुगेको थिएँ ।

जसै लाइनबाट निस्किएँ, शरीर केही हल्का भएको महसुस गरेँ । तर, पिठ्युँमा उही झोला, घाँटीमा भिरिराखेको क्यामेरा थियो । अनि सबै ठीकठाक हुँदा किन अचानक मलाई शरीर हल्का लाग्यो, म आफैंले पत्तो पाइन । एकछिनपछि टिकट काट्न जानुपर्‍यो भनेर पर्स निकाल्न खोजेको त, ज्या ! पाकेटमार भइसकेछ ।

जे थियो सबै पर्समा नै थियो । एसबीआईको एटीएम कार्ड, पाँचसात हजार नगद, प्रेस कार्ड, बैंक डकुमेन्ट्स् आदि इत्यादि । पर्सबाहेक बाहिर फुटेको कौडीसमेत थिएन । हँ, बिहानसम्म दुई हजारको नोट पाइन्टको चोर खल्तीमा सुरक्षित थियो । त्यो पनि 'अब गुजरात गइहालिन्छ नि' भन्ठानेर पर्समा राखेको थिएँ । तर अब मोबाइलमा तीस रुपैयाँ ब्यालेन्सबाहेक मसँग अरू कुनै ब्यालेन्स थिएन । एकछिन त पर्स चोरी भएको पनि सामान्य लाग्यो । तर, बाँकी यात्रा पनि पर्ससँगै हराएको सम्झिँदा रुँरुँ लाग्यो । पैसा हराएकोमा त्यति चिन्ता थिएन, जति चिन्ता परदेशमा अलपत्र परिनेको थियो ।

सबैभन्दा पहिले गुजरातको साथी कमल एकतारेलाई फोन गरेर दुई सय रूपैयाँ ब्यालेन्स राखिदिन आग्रह गरेँ । उनले तुरुन्तै मेरो आग्रह माने । लगत्तै नेपालमा हरिश दाइलाई फोन गरेर एसबीआईको एटीएम कार्ड डिसेबल गर्न लगाएँ । त्यो काम पनि भयो । अब के गर्ने ? मेरो दिमाग अनियन्त्रित भइसकेको थियो ।

भारतमा प्रशस्तै साथीभाइहरू भएकाले कतै न कतैबाट सहयोग हुनेमा संकोच थिएन । बरु यहीँ पञ्जाबमै कोही थिएनन् । म भटाभट साथीभाइलाई फोन मिलाउन थालेँ । तर नेपालको जस्तो पैसा पठाउन र प्राप्त गर्न सहज थिएन । कि त बैंक टु बैंक कारोबार गर्नुपथ्र्यो । कि कसैले पठाएको पैसा लिन आफूसँग कुनै कागजात हुनुपथ्र्यो । तर, यी दुवै उपायका लागि म 'समस्या' नै थिएँ । साथीभाइले पनि सहानुभूति मात्रै प्रकट गर्न सके ।

अन्ततः म सहायताको लागि 'रेलवे पुलिस बल'को बिटमा पुगेर घटनाको जानकारी गराएँ । अफसोच, ड्युटीमा रहेका जवानले आफूले केही गर्न नसक्ने भन्दै कोतवाली (थाना) जानुपर्ने बताए । ओठ अब सुकिसकेका होइन, फुटिसकेका थिए । चोरीको पीडाले भतभती छाती पोलिरहेकै थियो । त्यसमाथि आगोमा घिउ थप्न गर्मी पर्याप्त थियो । सम्झेँ— 'मर्निङ सोज् द डे' । दिन खराबको लक्षण त बिहानै देखिएको थियो नि !

कोतवाली पुगेँ । अशोक कुमार र दिलवाग सिंहका दुई सिनियर रेलवे पुलिस त्यहाँ थिए । अशोकले सुरुमा निकै केरकारको शैलीमा सोधपुछ गरे । 'नेपाल में क्या करते हो ? ' भन्ने उनको प्रश्नमा 'जर्नालिस्ट हुँ भनेपछि अकस्मात् उनमा नम्रता अंकुरण भयो । मैले आफ्नो पर्समा रहेका सामान भन्दै गएँ, उनले डायरीमा नोट गर्दै गए । र उनले एफाइआर् दर्ज भएको खबर दिए । स्मरण छ, भारतमा बलात्कार, हत्या, दमन आदिका घटनाहरूको पनि पुलिसले एफाइआर् दर्ज गर्न अस्वीकार गरेका धेरै समाचार आउँछन् । यहाँ त रिपोर्ट दर्ज हुनुपनि ठूलै कुरा हो ।

'खाना खाया कि नहीं ? ' एउटा सिनियर पुलिसले मप्रति देखाएको यो सद्भावले केही खुसीका झिल्काहरू ल्याउने प्रयत्न गर्‍यो । उसको मानवता देखेर धन्य भइरहेको थिएँ । तर, खासमा खाना खाएको चाहिँ थिइनँ । मलाई पेटले मागेको खान्कीभन्दा कथाले मागेको समस्या विकराल थियो । त्यसैले भनिदिएँ- 'जी, खाया हँ ।'
'और पैसे ? ' उसले फेरि सोध्यो ।

जब उसले पैसा छ- छैन भनेर सोध्यो, अचानक मेरा आँखाबाट बाँध फुटेजस्तै गरी आँसुको निष्कासन हुन थाल्यो । यसरी त मेरी आमाले बाहेक कसैले सोध्दैन पनि । तब, आफ्ना आँसु आफैं पुछ्दै 'एक रुपैया भी साथ में नहीँ' भन्दै रुँदै, रुँदै भन्दै गरेँ । यसरी त्यो पनि परभूमिमा रोएको मलाई कुनै सम्झना छैन । पछिल्लोपटक कहिले यसरी रोएँ हुँला, त्यो पनि स्मृतिका कुनै कुना-कन्दरामा छैन ।

'गुमसुदगी' लेखिएको एउटा कागज अशोकले मेरो हातमा थमाए । त्यहाँ टुटेफुटेको हिन्दीमा घटनाको सम्पूर्ण विवरण पनि लेखिएको थियो । तलपट्टि 'पञ्जाब रेल्वे पुलिस'को मोहर लगाएर हस्ताक्षर गरिएको थियो । जुन कागज देखाएकै भरमा अल इन्डिया ट्रेनमा निःशुल्क यात्रा गर्न सकिन्थ्यो । तर, बसको लागि मान्यता थिएन । यदि म गुजरातको सुरतसम्म ट्रेनमा निःशुल्क गए पनि त्यहाँबाट जुन ठाउँमा पुग्नुपर्ने हो, त्यहाँसम्मको बसभाडा लगभग सय रुपैयाँ थियो । मसँग भने अब एक पैसा पनि बाँकी थिएन ।

नेपालबाट हरिश दाइको फोन आयो । दाइले पनि पैसाको कुरा सोध्नुभयो । मैले पैसा नभएको बताएँ । 'म गुजरातको एजेन्टलाई फोन गरेर सोध्छु' दाइले यति भनेपछि पर्स नहुँदाको जस्तै शरीर हल्का भयो मेरो । दुखेको घाउमा लगाउने मल्हम नहुँदा फुकेर पनि शीतल महसुस हुने रहेछ ।
केहीबेरमै नयाँ नम्बरबाट कल आयो, जुन कल हरिश दाइको सिफारिसमा गुजरातको कुनै अज्ञात व्यक्तिले सहयोगको खातिर गरेको कल थियो ।

उसले जलन्धरको आफ्नो एजेन्टको नम्बर टिपायो मलाई । मैले उक्त व्यक्तिलाई कल गरेर आवश्यक पैसाबारे बताएँ । उसले पैसा लिन आउने लोकेसन दियो । तर, मसँग टेम्पु वा रिक्साबाट त्यहाँसम्म पुग्न पनि सम्भव थिएन । पछि एउटा रिक्सालाई मान्छे भेटेर पैसा हात परेपछि मात्रै भाडा दिने सर्तमा उसले दिएको लोकेसन पछ्याउँदै गयौं । यसरी गुजरात (सुरत) यात्राको लागि पैसाको जोहो हुन सक्यो ।

जाँदाजाँदै यात्राले धेरै कुरा सिकाएर गएको छ । पढेरभन्दा परेर जानिएका छन् केही । अनुभवहरूको ग्रन्थमा एउटा अर्को अनुभव थपिएको छ । जिन्दगीका अविस्मरणीय यात्राहरूमा पञ्जाब-गुजरात यात्रा सधैंसधैं रहिरहनेछ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1