MENU

संगति र विसंगति बीचका कथा

635x90_1

कृष्ण धराबासी शनिवार, भदौ २४, २०७४ 827 पटक पढिएको

Share This

635-X-85

किताब

कथा, कविता, उपन्यास, समालोचना, जीवनी, अन्तर्वार्ता, सम्पादन आदि अनेकौं विधामा समानान्तर कलम चलाउँदै आइरहेका साहित्यकार गोविन्द गिरी प्रेरणाका तीन दर्जनभन्दा बढी किताब बजारमा छन्। तीसको दशकदेखि नै काव्यिक यात्रामा सक्रिय कवि गिरी २०३६ सालको सडक कविता आन्दोलनका पनि एक प्रतिनिधि कवि थिए। लेखन क्षेत्रमा निरन्तर सक्रिय रहिरहनु नै उनको पहिचान हो। साहित्यिक बहस र विवादमा आफ्नो मत राख्न नहिच्किचाउने व्यक्ति हुन् उनी।

विगत एक दशकदेखि अमेरिकी प्रवासमा रहँदै आए पनि उनी लेखनमा उस्तै सक्रिय छन्। विभिन्न विधामा समानान्तर कलम चलाइरहे पनि गोविन्दको विशेष सफलता आख्यानमै हो। कविता विधाबाट स्थापित उनी अनेक विधा हुँदै आख्यानमा आइपुगेर अडिएका छन्। उनका आख्यानमा यौन, गरिबी र सामाजिक विसंगति भरिभन्ड रूपमा आएका हुन्छन्। समाजमा रहेको टड्कारो विषय नै यही हो भन्ने उनको भनाइ पनि छ। व्यक्तिलाई समाजबाट उठाएर उसका निजी जीवनमा प्रवेश गराई त्यसभित्र खेलाउन उनी सिपालु छन्। समाजलाई पढ्न पनि पहिला व्यक्तिलाई पढ्नुपर्छ। समाज भनेको पनि व्यक्तिकै समूह हो।

 

तिनै व्यक्ति समूहमा पुगेपछि त्यहाँ एउटा समाज र वातावरण बन्छ। समाजभित्र पनि व्यक्तिकै मनोविज्ञान नदेखिने गरी सक्रिय भइरहेको हुन्छ। उनको ‘अन्तिम खाडल' उपन्यास मलाई मन परेको किताब हो। काठमाडौंभित्रको चरम गरिबीको चित्रण गरिएको त्यस उपन्यासले सहरकेन्द्रित निराशा, कुण्ठा, निर्लज्जता र सत्ता विकृतिलाई मिहिन पाराले उधिनेको छ। विद्रोहको डरलाग्दो संकेत त्यहाँ पाइन्छ। माओवादी विद्रोहमा जानुअघि कैयौं मनभित्र उठ्ने विद्रोहको संकेत त्यो उपन्यासको अन्त्यसम्म पुग्दा पाठकले थाहा पाइसक्छ। गरिबीको पत्रपत्रले थिचिएको कुनै पनि व्यक्तिलाई हामी कानुनी वा सामाजिक नैतिकताको सीमामा बाँध्न सक्दैनौं। त्यस्तो बेलामा मलाई प्रेमचन्दको ‘कात्रो' कथा सधैं याद आउँछ।

पछिल्लोपल्ट मैले पढेको उनको किताब हो, ‘गन्तव्य गणबहाल'। आठवटा लामा कथाले भरिएको दुई सय सत्र पृष्ठको यो किताब पढ्न पटक्कै अल्छी मान्नु पर्दैन। साझा प्रकाशनबाट प्रकाशित यस संग्रहका कथाले मलाई निकै पछि राम्ररी आकर्षित गरे। शीर्षक कथा ‘गन्तव्य गणबहाल'मा एक विसंगत जीवनको विम्ब छ। रहस्यात्मक ढंगले कथामा प्रवेश भएको एक विशेष पात्र रहस्यात्मक ढंगले नै कथाबाट बाहिरिन्छ।

रहस्यात्मक ढंगले कथामा प्रवेश भएको एक विशेष पात्र रहस्यात्मक ढंगले नै कथाबाट बाहिरिन्छ। दुवै रक्स्याहाका घिनलाग्दा गतिविधिहरूले निकै पृष्ठ खाएपछि मात्र थाहा हुन्छ, दुवै पत्नीपीडित रहेछन्।

दुवै रक्स्याहाका घिनलाग्दा गतिविधिहरूले निकै पृष्ठ खाएपछि मात्र थाहा हुन्छ दुवै पत्नीपीडित रहेछन्। तीमध्ये एकले त आत्महत्या नै गर्छ भने अर्कोले आफूलाई आफ्ना कुलतहरूबाट पाखा निकाल्ने कुनै प्रयत्न गर्दैन। समाजमा यस्ता असंख्य मानिस हुन्छन्। धन र यौनमा नै अडेको छ मानिसका जीवनका सफलता र असफलता। मानिसमा देखिने विसंगतिका बाह्य कारण अनेक भए पनि भित्री कारण घरभित्र वा घरबाहिर रहेका यौनकै अव्यवस्था हुन्छन्। यस कथामा पनि ती दुवैको परिवार बर्बाद भएको छ। कथाले सुन्दर गृहस्थीको विकृत रूप देखाएर पाठकलाई सचेत गराएको देखिन्छ।

यस संग्रहभित्रका इन्द्रलीला र ‘लस्कर' दुई सबैभन्दा राम्रा कथा लागे मलाई। ‘इन्द्रलीला' कथा त साँच्चै नै लीलालेखनको प्रविधितिर आकर्षित देखिन्छ। लेखकले सचेतनापूर्वक लीलाको प्रयोग नगरेको भए पनि यसमा लीलाचेत भरपूर आएको छ। एउटा पात्र इन्द्रे मरेको खबर जसरी विभिन्न पात्रले सुन्दै जान्छन् र तिनीहरूका त्यो मृतकमाथिका प्रतिक्रियाहरू आउन थाल्छन्, त्यसैले नै कथामा लीलाको प्रवेश गराएको छ। ऊ बाँचुन्जेलसम्म कुनै अर्थ र महत्वव नभएको कुरा पनि अब मूल्यवान् हुन थालेको थियो।

उसको मृत्युपछि अब उसको सामाजिक मूल्यको खोजी हुन थालेको छ। हिजो घृणा गर्नेहरू पनि अब सहानुभूति दिन थालेका छन्। उसको सामाजिक, राजनीतिक, पारिवारिक, आर्थिक, व्यावहारिक पक्षहरू छताछुल्ल भएर बाहिर आउन थालेका छन्। एउटा मान्छे समाजमा कति किसिमको व्यक्तित्व लिएर बाँचेको हुन्छ र ती कति हदसम्म गोप्य पनि रहेका हुन्छन् भन्ने यस कथामा देख्न सकिन्छ। मृत्यु भएकै क्षणदेखि मानिस कतै देव र कतै दानवमा रूपान्तरित हुन थालिसक्छ।

‘लस्कर' उस्तै मार्मिक कथा छ। विदुर ससुरा र विधवा बुहारी एउटै घरमा बस्नुपर्दा समाजले हेर्ने दृष्टिकोणको संकुचनलाई मिहिन पाराले चर्चा गरिएको यो कथामा ससुरामा बुहारीको अस्मिताको सुरक्षा गर्ने चिन्ता र बुहारीमा समाजले हालिदिएको पुरुषमाथिको असुरक्षाको भावनाको अध्ययन गरिएको छ। ससुराले गाउँ छोडेर भाग्ने हतारोमा बुहारीलाई कारण प्रस्ट नगर्दा बुहारीभित्र उत्पन्न भएको तनाव एकदम नै कौतूहलमय छ। अन्तिममा जब ससुराको मनको निष्कलंकता थाहा हुन्छ, अनि पाठक अर्कै भावुकतामा पुग्छ।

सामान्यतया पुरुषको परिचय उसभित्र रहेको आक्रामक यौन व्यवहारका कारण अविश्वसनीय मानिन्छ। पुरुषले महिलालाई एकान्तमा पाए भने यौनजन्य दुव्र्यवहार गर्ने प्रबल सम्भावना हुन्छ भन्ने सामाजिक मान्यताका कारण पुरुषको भलो सोचाइ पनि सधैं धरापमा परिरहेको हुन्छ। ससुरासँग आतंकित हुँदाहुँदै पनि बुहारीभित्र लुकेर रहेको यौनइच्छा बाध्यताको खोल ओढेर भए पनि पाखा निस्कन खोज्छ। समाजमा महिलाको असुरक्षित अवस्था र तिनको अस्मिता जोगाउन पुरुषले लड्नु परेको लडाइँको पनि यो एक विम्ब कथा हो। नारीलाई आफ्नै शरीर सधैं कसरी भार र आतंकमय हुन्छ भन्ने यो कथाले गाउँका सामन्तहरूको असहाय, गरिब र एकल महिलामाथि हेर्ने दृष्टिकोणको संकेत गरेको छ। द्वन्द्वकालमा जनमिलिसियाको नाममा कसरी घरघरबाट महिला र युवालाई अपहरण गरी लगेर सेनामा हाल्थे भन्ने पनि देखाइएको छ।

पछिल्ला चार कथा विदेशी भूमिसँग जोडिएका छन्। विभिन्न कारणले विदेश पुगेका मानिसका तनाव, कुण्ठा र निराशासँग जोडिएका यी कथा लहरिँदै जीवनयात्राको अनौठो मोडमा पुगेका छन्। ‘मिसेस ली र उनका चिसा हात' अनमेल विवाह र यौन कुण्ठाको वरिपरि घुमेको छ। धेरै समय पारिवारिक दूरीमा रहनुपर्दा स्त्री वा पुरुषमा उत्पन्न हुने यौन चाहनाका कारण उनीहरू कसरी परसम्बन्धमा पुग्छन् र त्यसपछि फेरि कसरी आफैं नैतिक प्रश्नले प्रताडित हुन पुग्छन् भन्ने राम्रो वर्णन छ यसमा। मिसेस लिका चिसा हात नायकसँगको यौनसम्पर्कबाट केही समय ताते पनि फेरि लगत्तै चिसिएका छन्। महिलाको आग्रहबिना पुरुष यदि आपराधिक मानसिकताको होइन भने त्यसले महिलालाई छुने आँट पनि गर्दैन र धेरैजसो परसम्बन्धमा महिलाको सक्रिय सहमति हुन्छ भन्ने पनि यस कथाले दर्शाएको छ।

‘जब म्यापलका पातहरू झर्न थाल्छन्' कथामा लोग्नेकै अनुरोधमा अमेरिका आएकी महिलाको आफ्नो घर, लोग्ने र सन्तानप्रतिको दायित्वमा कुनै कमी छैन तर देशमा रहेको लोग्नेले भने छोराछोरीलाई केही समय हेरचाह गर्न आएकी सालीलाई नै पत्नी बनाइहाल्छ। पुरुषको गैरजिम्मेवारपूर्ण यौन चरित्रको यो एक नक्सा पनि हो। यता पत्नीको मनमा पनि यौन भावना नउठेका छैनन्।

तर, उनले आफ्नो भावुकतालाई संयमताले जितेकी छन्। उनी आफ्नो निष्ठा र कर्मप्रति इमानदार भए पनि अरूकै कारणले दुःखी छन्। एकपल्ट विदेश आएपछि कुनै पनि मानिसले आफ्ना पूर्वसम्बन्धहरूलाई टाढाबाट जोगाएर राख्न सक्दैन। कहीँ न कहीँ फरक परिहाल्छ भन्ने यो कथाले संकेत गर्छ। यौन भन्ने कुरा एक आवेग मात्र हो, त्यसलाई आफ्नो बुद्धि र अठोटले रोक्न सकिन्छ भन्न पनि यो कथा चुकेको छैन। अमेरिकामा रहेका विभिन्न देशका आप्रवासीको जीवनको विम्ब हो यो कथा।

‘रगत' शीर्षक कथाले विदेशप्रति नेपालमा रहेका बाबुआमाको अन्ध धारणको चर्चा गर्छ। विदेश बसेको केटो भेटेजति उमेरको जस्तो भए पनि छोरी दिन तयार भइहाल्ने र त्यसबाट छोरीको जीवनमा पर्न जाने दीर्घकालीन प्रभावका चर्चा छ। विदेशप्रतिको यो अन्धमोहका कारण कैयौं प्रतिभाशाली र सम्भावनायुक्त छोरीको जीवन बर्बाद भइरहेको कुरा विदेश बुझेकाहरूलाई जगजाहेर छ। यताका अदालतमा दिनदिनै हुने पारपाचुकेका घटना यसैका साक्षी हुन्। यस कथाले त्यस्ता आमाबाबुलाई केही सूचना दिइरहेजस्तो पनि लाग्छ।

‘मलाई सेक्स मन पर्दैन' र ‘मिसेस ली र उनका चिसा हात' दुवै कथाको मनोविज्ञान उस्तै छ। दुवैमा यौनप्रति वितृष्णा छ। दुवै चिसा छन्। तर, जब लामो संगतपछि संसर्गमा पुग्छन्, त्यसपछि उनीहरूमा अनियन्त्रित यौनसंवेग देखा पर्छ। यी दुवै कथाले विभिन्न अन्य सन्दर्भको चर्चा गरे पनि लेखनको अभिष्ट यौनकुण्ठाको उत्खनन नै हो भन्ने देखिन्छ। त्यति हुँदाहुँदै पनि फेरि दुवैमा फरक पनि छ। मिसेस ली लोग्ने र सन्तान भएकी महिला हुनाले उसमा त्यो परपुरुषसँगको यौनसम्पर्कपछि फेरि नैतिक धरातलको आभास हुन्छ र पुनः चिसिन्छन् उसका हात। दोस्रो कथाकी महिला एकल भएकीले उसलाई त्यस्तो दबाब छैन। ऊ त्यो यौनकर्मप्रति सन्तुष्ट छे र गर्भधारण गर्नुमा गर्व अनुभव गर्छे।

‘कोख' कथा यौनशोषणबाट आक्रान्त नारीको कथा हो। पुरुषको गैरजिम्मेवारपूर्ण यौनखेलबाट एउटी महिलाको जीवनमा कस्ता समस्याहरू आइपर्छन् र तिनको जीवन कसरी नारकीय हुँदै जान्छ भन्ने देखिन्छ। तर, यो कथाको टुंग्याउनी अरू कथाको तुलनामा कमजोर देखिन्छ। अन्त्यमा नायिकाले पहिला आफूलाई धोखा दिएर बर्बाद गर्ने पुरुषलाई नै वरण गर्नु कथाको कमजोरी हो।

नेपाली कथा छोटाछोटा हुँदै लघुकथाको आकारमा आइपुगिरहेका बेला फेरि एकपल्ट लामा कथाको लेखन अभियान सुरु भएको छ। त्यही अभियानभित्र गोविन्दका कथाहरू पनि सामेल भएका छन्। राम्रा र पठनीय आठवटा कथाकै एउटा सिंगो संग्रह दिएर प्रेरणाले नेपाली कथा पाठकलाई गुन लगाएका छन्।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1