MENU

जीवनका उल्झनहरु

635x90_1

महेश पौड्याल शनिवार, भदौ २४, २०७४ 437 पटक पढिएको

Share This

635-X-85

किताब

अरस्तुकै पालादेखि सिर्जनामा कथ्यको एकात्मकताको कुरा गरिएको हो । सँगसँगै मूल कथा अर्थात् प्लटको पनि ऐक्यको कुरा गरियो । समय सँगसँगै एउटै रचनामा उपकथाहरू अटाउने र कथ्यको पनि बहुलता स्थापित गर्ने प्रयोग भए ।

समसामयिक नेपाली आख्यानले मिखाइल बाख्तिनले भनेजस्तो बहुल स्वरहरूलाई समेटेको हुन्छ र त्यो स्वाभाविक रूपमा एकभन्दा बढी कथा र धेरै कथ्यको जगमा उभिएको हुन्छ । यस्तो प्रयोगका आलोचक पनि नभएका होइनन्, तर, समसामयिक सामाजिक बहुलवादको मनोविज्ञान नै यस्तै छ— बहुल, खण्डित र अस्पष्ट । समकालीन नेपाली समाजको यो स्वभाव हेमप्रभासको भर्खरै प्रकाशित उपन्यास ‘उल्झन'मा पनि स्पष्टसँग देखिएको छ ।

‘उल्झन' सपाट कथा बोकेको उपन्यासको हारमा आउँदैन । यो प्रयोगहरूको एउटा पुञ्ज हो र लेखकले आफ्नो आख्यानलाई संरचना र कथ्य दुवैमा अपारम्परिक दखाएर केही जोखिम मोलेका छन् । धेरै कथानक अर्थात् ‘मल्टिपल प्लट'का धेरै आलोचकहरू छन् समसामयिक साहित्यको वृत्तमा । त्यसैले उनीहरूबाट खरो प्रतिक्रिया नआउला भन्न पनि सकिँदैन । धेरै-धेरै कथाहरू जेलिएका छन् ‘उल्झन'मा र कथाजत्तिकै धेरै छन् उठाउन खोजिएका मुद्दा ।

 

प्लटको बहुलता सँगसँगै संरचनाकै तहमा उपन्यासकारले आफ्नो समाख्याताको रूपमा आफूले पनि नचिनेको ‘चित्र' नाम गरेको पात्रलाई उभ्याएका छन्, जसको टेपमा उसका युवा साथीहरूको र केही हदसम्म आफ्नै पनि असफलताको कारुणिक कथा छ । त्यो टेप समाख्यातासम्म ल्याउने पनि अर्कै अपरिचित मान्छे छ । हुन त चित्रमा हेमप्रभासको निजी जीवनको छाया भेट्टाउन पाठकलाई खासै हम्य पर्दैन ।

तर, पनि यो नेरेटर लेखकबाट चित्रमा र चित्रबाट उसका साथीहरूतिर क्रमशः सर्दै जाँदा यो एउटा लेखकीय रणनीति हो भनेर बुझ्न केही गाह्रो पर्दैन । आखिर, आजको नेपालको मनोविज्ञान नै यस्तो छ कि कोहीसँग पनि कुनै ठोस निक्र्योलमा सजिलै पुग्न सक्ने सम्भावना छँदै छैन । वर्तमान नेपालमा यथार्थहरू यस्ता पोचिला छन् कि, यहाँ न सरकार, न अदालत अथवा न कुनै व्यक्तिले त्यसको विवेचना गर्न सक्छ । सबै तरल तरल छ र आकारविहीन पनि ।

 ‘उल्झन'ले परम्परागत आख्यानको सिलसिलामा क्रमभंगता हुनेगरी केही प्रश्न पनि छोडेको छ । उपन्यास यथार्थवादी हो र आजको समयको आख्यानीकरण हो ।

चित्र आफैंले र उसका साथीहरूले देखे-भोगेको कहालीलाग्दो समयको आख्यान हो- ‘उल्झन्', जसमा पात्रहरूका सपना एकपछि एक गर्दै दुर्घटित हुन्छन् । माओवादी द्वन्द्व चर्किएको बेला किशोर अवस्थामा प्रवेश गर्दै गरेका यी पात्रहरू धादिङको नीलगिरि वरिपरिका बासिन्दा हुन्, जहाँ विकटता आफैंमा एउटा जीवनपद्धति हो र गरिबी एउटा सिद्धान्त । सानैमा बाबु हराएको, आमाले दिदीहरूको सामीप्यमा हुर्काएको, पढाइमा औसत, बालसुलभ चकचक र बदमासीको पृष्ठभूमि बेकेको, गाउँमै प्रेम पनि गर्न थालेको अतीतबाट आएको चित्र औसत नेपाली युवाजस्तै अनेक सपना बोकेर काठमाडौं पुग्छ ।

काठमाडौंमा अनभिज्ञता, गरिबी, बिरानोपन, पढाइको बोझ, प्रेमका अनेक असफल प्रसंग, माओवादी द्वन्द्व, सेनाको धरपकड, सरकारको उदासीनता आदि अनेक नकारात्मक यथार्थको बीचमा चित्र विरक्ति र विक्षिप्तताको अवस्थामा पुग्छ । उसको मस्तिष्कमा आत्महत्याको गुञ्जन लामो समयसम्म प्रतिध्वनित भइरहेको पाइन्छ ।

आठ पटक आत्महत्या गर्न हिँडेको चित्र यस स्वेच्छिक महाप्रस्थानमा पनि विफल हुन्छ । हरेकपटक उसको बाटोमा अतीत बोकेका उसका दौंतरी कतै छाया बनेर आउँछन्, कतै भूत बनेर आउँछन्, कतै यथार्थ बनेर आउँछन् र उसलाई आफ्नो काम गर्न दिँदैनन् । यी तिनै पात्र हुन्, जसले चित्रको मस्तिष्कमा सपना हुर्काउन सघाए र आफू समयको प्रवाहसँगै असफलताको फेरो समातेर समाजबाट या जीवनबाटै पलायन भए । यी सम्पूर्ण पात्रका दुर्दशा चित्रको दिमागमा पत्रैपत्रै चोट बनेर बसेका छन् । आफैं पनि धेरै असफलताले चुटिएको चित्रभित्र साथीहरूका यी दर्दनाक कथाले उसलाई पनि विक्षिप्तता र आत्महत्याको बाटोतिर अभिप्रेरित गरिरहेका छन् ।

बेपत्ता नारायणको आत्मा, हराएको बाबुसँगको कहालीलाग्दो साक्षात्कार, आफूले माया गरेकी रेखाको कलकत्तामा बीभत्स हत्या र यसैबारेको समाचार बोकेको पत्र, क्रान्तिमा होमिएका कमरेड रजनी र पूजाको प्रेतात्माको तिलस्मिक प्रवेश, सहपाठी वसन्त र सन्तोषको मृत्युपछिको अभिव्यञ्जना, विमानस्थलमा आइपुगेको आफ्नै साथी तिलकको लास र आत्महत्या गर्न भनेर पुगेको मानसिक अस्पतालको वार्डमा भेटिएको आफ्नै साथी हरेरामको दर्दनाक र असफल प्रेम-जीवन ती प्रसंग हुन्, जसले उसलाई आफ्नो आत्महत्याको ध्येयमार्गबाट पटकपटक विचलित गराएका छन् ।

अन्त्यमा, चित्रले एउटा मन्दिरमा शरण लिन्छ, जहाँ उसले बाल्यकालमै चिनेको राजनैतिक कार्यकर्ता उत्तम पुजारी भएर अध्यात्मको बाटो लोगेको रहेछ । उत्तमको लामो र गम्भीर परामर्शपछि चित्रले आत्महत्याको बाटो छोड्छ । फर्कन त ऊ एकपल्ट नीलगिरि फर्कन्छ र गाउँमै कृषि गर्ने सोच्छ, तर भुइँचालोमा पहाडै लडेर सोत्तर भएको नीलगिरिले पनि उसको मन बाँध्न सक्दैन, र कथाको अन्त्यमा ऊ विदेशतिर कतै पलायन हुन्छ ।

विवेचनाका लागि हेमप्रभासले थुप्रै खुराक दिएका छन् पाठकलाई । उनको आख्यानका अधिकांश पात्र युवा हुन् र कसैको पनि भविष्यले कुनै ठोस बाटो अवलम्ब गरिसकेको छैन । सबै अलमलमा छन्, उल्झनमा छन् । यस अर्थमा, उनको आख्यान देशको युवाशक्तिको मस्तिष्कमा विद्यमान भय, अनिश्चितता, दिग्दारी र पलायनवादको द्योतक हो । यो राज्यको अकर्मण्यता, सामाजिक-आर्थिक बेथिति र शान्ति-सुरक्षामाथिको एउटा कठोर टिप्पणी पनि हो किताब ।

‘उल्झन'ले परम्परागत आख्यानको सिलसिलमा क्रमभंगता हुनेगरी केही प्रश्न पनि छोडेको छ । उपन्यास यथार्थवादी हो र आजको समयको आख्यानीकरण हो । यथार्थवादी आख्यान वास्तविकता, सम्भाव्यता र आवश्यकताको परिधिबाट एक इन्च पनि यताउता हुनु हुँदैन भन्ने यथार्थवादका रूढ हिमायतीहरूको भनाइलाई भञ्जन गर्दै हेमप्रभासले स्वैरकाल्पनिक प्रसंग, जादुमय घटना र अति यथार्थवादी परिघटना आफ्नो यथार्थको मूल भँगालोमा मिसाएका छन् । यथार्थ जब बाँच्न लायक हुँदैन, अथवा अत्यन्त कहालीलाग्दो हुन्छ, मान्छेको मस्तिष्कले यसका सीमाहरू तोडेर उम्कन खोज्नु मानासिव नै हो ।

हेमप्रभासको आख्यानले आत्महत्याबारे मनोविज्ञानको सिद्धान्तले स्थापित गरेका केही मान्यतालाई पनि प्रश्नको चौघेरामा राखेको छ । आत्महत्या गर्न कृतसंकल्पित भएकाहरू हत्तपत्त जीवनमा फर्कंदैनन् । यो ‘सिल्भिया प्लाथ सिन्ड्रोम'बाट उनको नायक चित्र फरक छ । ऊ नौ-नौ पटक आत्महत्या गर्न तम्सिएर पनि अन्ततोगत्वा, पुजारीजस्तो एउटा अति सामान्य परामर्शदाताको सल्लाहमा जीवनमा फर्कन्छ । उसको पीडाको गाम्र्भीयले पुजारीको परामर्शको सरलतासँग त्यति मेल खाएजस्तो चाहिँ देखिँदैन आख्यानमा । तर, अरू आस्थाहरू अर्थहीन भएका धेरै प्रसंगमा अध्यात्मले मान्छेलाई उद्धार गरेका धेरै दृष्टान्त छन् विश्वसाहित्यमा । यस दृष्टिकोणबाट हेर्दा यो परिवर्तन पनि तर्कसंगत देखिन्छ ।

कविताको पृष्ठभूमिबाट आएका हेमप्रभासको भाषा लालित्यपूर्ण र बिम्बात्मक छ । छोटा वाक्य छन्, संगीतमय अभिव्यक्ति छ । कवि हुनुको पृष्ठभूमिका कारण उनको वर्णन यथार्थवादी कार्यपिठिकामा पनि निकै रुमानी लाग्छ र कहिलेकाहीँ यो कटाइदिएको भए पनि हुन्थ्यो जस्तो पनि लाग्छ । धादिङका पहाडतिरको भाषाको आञ्चलिक कलेबरले हेमप्रभासको एउटा निजी शैली पनि उद्घाटित गरेको छ ।

यी तमाम शक्ति र सन्दर्भका बाबजुद ‘उल्झन'का लेखकले केही प्रश्नको जवाफ भने उनका पाठकलाई दिनुपर्ने हुन सक्छ । मुद्दा धेरै छन् । मर्ने पात्र भिन्नाभिन्नै कारणले मरेका छन् । उसो भए, आख्यानको मूल मुद्दाचाहिँ के भन्ने कुरा त्यति स्पष्ट हुँदैन । उनले कहाँ, केमा र कस्तो परिवर्तन खोजेका हुन्, त्यो बुझिँदैन । दुई सय ८८ पृष्ठ लामो आख्यानमा एउटा पुजारीबाहेक कुनै पनि पात्र सकारात्मक सोचको वा बलियो आत्मबल भएको भेटिँदैन । यीभन्दा पनि जटिल अर्को एउटा यक्ष प्रश्न छ ‘उल्झन'मा : चित्रलाई आत्महत्या गर्न उक्साउने घटनाहरू उसको आफ्नै जीवनमा भन्दा उसका सहपात्रहरूको जीवनमा बढी घटेका छन् ।

आफ्ना लागिभन्दा ऊ अरूका लागि बढी भत्किएको देखिन्छ । यो एउटा परानुभूति हो, तर परानुभूतिको हद यहाँसम्म हुन्छ कि हुन्न, त्यो एउटा सोधको विषय हुनसक्छ । अन्तिम कुरा, हामी बाँचिरहेको समयको कथा धेरैले लेखेका छन् आख्यानमा । यसै भँगालोमा मिसिएका हुन् हेमप्रभास । धेरैका कथा साझा हुन्, जसले हेमप्रभासमा समकालीन आख्यानको चरित्रको प्रभाव छ भनेर पनि भन्न सक्छन् पाठकले । त्यो स्वाभाविक छ र क्षम्य पनि छ । सबैले भन्दै आएको कथामा उनी कहाँ नयाँ र पृथक् छन्, त्यसको खोजी गरिनुपर्छ ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1