MENU

चरिमायाको सपना साकार पार्दै ज्योति

635x90_1

रामकला खड्का आइतवार, भदौ २५, २०७४ 2278 पटक पढिएको

Share This

635-X-85

यस वर्षको मिस लिटिल आइडल ज्योति पाख्रिन घोषित भए पछि उनले आफ्नो हर्षका आँसु थाम्न सकिनन् । गत दुई साता अगाडि काठमाडौंमा भएको कार्यक्रममा निकै भावुक बनेकी ज्योति केही बेरपछि साथीहरूसँग सामूहिक फोटो खिचाउँदै बल्ल हाँस्न र बोल्न थालेकी थिइन् ।

प्रतियोगितामा भाग लिने उनको कुनै योजना थिएन । आयोजक एक्सन इन्टरटेनमेन्टका केही प्रतिनिधि प्रतियोगिताको फारम लिएर उनको विद्यालय पुगेका थिए । विद्यालयकी हेड म्याम विद्या श्रेष्ठले भाग लिनुपर्छ भने पछि मात्रै उनी तम्सिएकी थिइन् । बसुन्धरास्थित माउन्ट ग्लोरी इन्टरनेसनल बोर्डिङ हाइस्कुलमा कक्षा ७ मा पढ्ने ज्योति सोही विद्यालयको होस्टेलमा बस्दै आएकी छिन् । विद्यालयका अन्य दुई छात्राले पनि उक्त प्रतियोगितामा भाग लिएका थिए ।

 

प्रतियोगिता पूर्व करिब तीन सातासम्म भएको तालिमको क्रममा उनलाई निकै डर लागेको थियो । त्यहाँ रहेका हरेक प्रतिस्पर्धी निकै आत्मविश्वासी र उत्तिकै जान्ने लाग्थ्यो उनलाई । त्यसैले जितिन्छ नै होला भन्ने त्यति लागेको थिएन । तर तालिम लिने क्रममा आफूमा आत्मविश्वासका साथै व्यक्तित्व पनि विकास भएको र आफ्नो प्रतिभा कसरी प्रस्तुत गर्ने भन्ने कला उनले सिकिन् । यसैले गर्दा उनले हरेक चरणहरू पार गर्दै शीर्ष उपाधिसम्मको यात्रा तय गरिन् ।

विजेताको रूपमा ज्योतिको नाम घोषणा भएपछि उनी, उनकी आमा चरीमाया तामाङले मात्रै नभई त्यहाँ उपस्थित उनका साथीहरू र आफन्तका पनि हर्षको आँसु बगे । प्रतियोगिता जितेर विद्यालय पुगेपछि त्यहाँ पनि उनलाई साथीहरूले बधाई दिँदै उनीसँग कार्यक्रमका बारेमा धेरै जिज्ञासा राखे । 
कतिले त आफू अर्को वर्ष सोही प्रतियोगितामा भाग लिनेसमेत उनलाई बताए । भोलिपल्ट बिहानको प्रार्थनासभामा आफ्नो नाम घोषणा हुँदा त उनको खुसीको सीमा नै रहेन । प्रतियोगितामा भाग लिएपछि उनी आफूमा धेरै परिवर्तन आएको महसुस गर्छिन् । ‘अहिले मलाई मानिसको अगाडि बोल्न डर लाग्दैन । मेरो आत्मविश्वास पनि बढेको छ’ उनले भनिन् ।

विद्यालयमा हुने खेलकुद, नृत्यलगायतका अतिरिक्त क्रियाकलापमा सक्रिय ज्योति पढाइमा पनि उत्तिकै अब्बल छिन् । उनी कक्षाकी ‘फस्ट गर्ल’ हुन् भने परीक्षामा औसतमा ९७.९८ प्रतिशत ल्याउने गरेकी छिन् । भविष्यमा डाक्टर बनेर उपचार नपाएर मर्न बाध्य बिरामीको उपचार गर्ने उनको लक्ष्य रहेको छ ।

विद्यालय छुट्टीको बेलामा उनी घरमा जान्छिन् र आफ्नी आमालाई भान्छाको काममा सघाउँछिन् । खाना बनाउन त आउँदैन तर तरकारी काट्न आउँछ भन्ने ज्योतिको आफ्नी आमालाई धेरै खुसी दिने पनि इच्छा छ । कामको सिलसिलामा जिल्लाजिल्लामा गइरहनुपर्ने भएकाले छोरीलाई होस्टेलमा राखिदिएको बताउने चरीमाया छोरीको बोल्ने र प्रस्तुति शैली राम्रो भएकाले प्रतियोगिताको लागि भाग लिन लगाएको बताइन् । धेरै नबोल्ने ज्योति जति बोल्छिन् शालीन र सटिक बोल्छिन् ।

त्यसैले आफ्नी छोरी भित्रको प्रतिभालाई बाहिर ल्याउन उनलाई ठाउँ दिनुपर्छ भन्ने चरीमायालाई पनि लाग्ने गथ्र्यो । मिस लिटिल आइडल आफ्नी छोरीको प्रतिभा देखाउने उत्कृष्ट माध्यम बनेको उनले बताइन् । प्रतियोगितामा जित्नुपर्छ भनेर उनले छोरीलाई कहिले पनि भनिनन्, सिक्नुपर्छ र परिणाम जस्तो आए पनि लगनशील भएर अगाडि बढ्नुपर्छ भन्ने नै उनले छोरीलाई सिकाइन् ।

प्रतियोगिताका अन्तिम चरण हेर्नका लागि दक्षिण अफ्रिकाको आफ्नो साथीसमेत फ्लाइट क्यान्सिल गरेर बसेको प्रसँग सुनाउँदै उनले भनिन्, ‘पहिलो राउन्डमा २० जनामात्रै प्रतिस्पर्धी छानिँदा धेरै रोए र कतिपय अभिभावकले आफ्ना नानीलाई गाली पनि गरे । तर मैले छोरीलाई प्रतिस्पर्धी देखेर डराउने होइन, ऊबाट सिकेर अगाडि बढ्ने हो भनेर हौसला दिएँ ।’

मानव बेचबिखनविरुद्ध ठूलो योगदान पुर्‍याउने चरीमायाले आफू आमा भएको नाताले छोरीलाई सपना देखाउने र बाटो हिँड्न सिकाउने कर्तव्य भएको बताइन् । आफ्नी आमाले देखाएको यही बाटोमा हिँड्दै सुनौलो भविष्यतिर लम्कने ज्योतिलाई धेरै बधाई तथा शुभकामना ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1