MENU

राजनीतिमा अवसरवाद

635x90_1

अन्नपूर्ण सोमवार, भदौ २६, २०७४ 710 पटक पढिएको

Share This

635-X-85

तेस्रो चरणको निर्वाचनमा उम्मेदवार छनोटका क्रममा असन्तुष्ट नेता-कार्यकर्ताहरूमा दल परिवर्तन गर्ने प्रवृत्ति बढी नै देखियो । तल्लो तहका कार्यकर्तादेखि केन्द्रसम्म कार्यरत नेताहरू क्षणभरमै आफू सम्बद्ध दल छोडेर पदीय बार्गेनिङ गर्दै अर्को दलसँग आबद्ध भए । राजपाका महामन्त्री जंगीलाल राय यादवले आफूनिकट नेता-कार्यकर्तालाई टिकट नदिएको असन्तुष्टि पोख्दै एमाले प्रवेश गरे ।

वीरगन्ज महानगरपालिकामा मेयरको टिकट नपाएपछि राजपा नेपालकै अर्का नेता विमल श्रीवास्तव मधेसी जनअधिकार फोरम लोकतान्त्रिक प्रवेश गरे र सोही पार्टीका तर्फबाट मयेरका प्रत्याशी बने । राय, यादव वा श्रीवास्तवको पार्टी परिवर्तन उदारहण मात्रै हो, यो प्रवृत्ति पछिल्लो समय नेपाली राजनीतिमा हाबी छ । पद प्राप्तिको होड र अवसरवादले नेपाली राजनीतिलाई गा“ज्दै लगेको छ, यो चिन्ताको विषय हो ।

लोकतान्त्रिक पद्धतिमा दलहरू जुट्न, फुट्न, सहकार्य गर्न वा टाढिन सक्छन्, तर त्यसका पछाडि मूलभूत सैद्धान्तिक वैचारिक आधार चाहिन्छ । कम्तीमा राजनीतिक÷कार्यक्रमिक योजनामा समान धारणा हु“दा दलहरूबीच मोर्चाबन्दी वा सहकार्यको वातावरण निर्माण हुन सक्छ । नेताविशेषका हकमा पनि एक दलबाट अर्को दलमा जाने नैतिक र राजनीतिक आधार कम्तीमा कहीं न कहीं वैचारिक वा कार्यक्रमिक समानता आवश्यक पर्छ । तर चुनावको मुखमा जसरी दल अदलबदल गर्ने प्रवृत्ति बढेको देखियो, यसले राजनीतिक नेतृत्वको विश्वसनीयता र राजनीतिक प्रतिबद्धतामाथि पनि प्रश्न उठाएको छ ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा कांग्रेस र माओवादी अनि एमाले र राप्रपाबीच भएका गठबन्धनका सैद्धान्तिक आधाबारे प्रश्न उठे, तर त्यसको चित्तबुझ्दो जवाफ नेतृत्वले दिन सकेको छैन । स्थानीय स्तरमा दलहरूको प्रभाव र उपस्थिति हेरेर एमाले र माओवादी, कांग्रेस र एमालेका बीचमा समेत गठबन्धन भएका थिए । यस्ता गठबन्धन किन भएका हुन् भनेर नागरिकजनलाई बुझाउन नसक्दा मतदातामा समेत एक किसिमको भ्रम र अन्योल उत्पन्न हुने गरेको छ ।

लोकतन्त्रमा निर्वाचन असाध्यै महत्वपूर्ण अवसर हो । निर्वाचन साध्य नभई साधन भए पनि यसको स्वच्छतामा पनि ध्यान दिनु आवश्यक छ । लोकतन्त्रमा उद्देश्य मात्र राम्रो भएर पुग्दैन, त्यसलाई हासिल गर्ने माध्यम पनि उचित र सही हुनु आवश्यक छ । आदर्श निर्वाचनमा राजनीतिक दलहरूले आफ्नो सिद्धान्तको परिधिभित्र रहेर जनताका आवश्यकता पूरा गर्न लाग्नुपर्ने हो । मतदाताले पनि राजनीतिक दल र उम्मेदवारका एजेन्डा हेरेर मतदान गनुपर्ने हो । आदर्श र सिद्धान्तबाट राजनीति टाढा हुँदै जाँदा विभिन्न विकृति राजनीतिमा भित्रिएका छन् । यसखाले विकृति बढ्न नदिन र शुद्धीकरणका लागि दलहरू स्वयं नै गम्भीर हुन आवश्यक छ ।

निर्वाचन भड्किला र खर्चिला हुँदै गइरहेका छन् । उम्मेदवारले कार्यकर्ता र मतदाताहरूलाई खाजा, खाना खुवाउने, सवारी साधनमा इन्धन हालिदिने कुरा प्रवृत्तिकै रूपमा विकास हुन थालेको छ । खर्च गर्न नसक्ने नेता-कार्यकर्ता उम्मेदवार हुनबाट वञ्चित भएका छन् । निर्वाचन आचारसंहिताले तोकेअनुसारको खर्च गरेर निर्वाचन लड्न असम्भवजस्तै छ । दलहरूले पनि आफ्ना दृष्टिकोण र एजेन्डाबाट मतदातालाई आकर्षित गर्नेभन्दा पनि जित्न सक्नेलाई उम्मेदवार बनाउने अभ्यासलाई बढावा दिएका छन् ।

हुनेखानेहरूले उम्मेदवारको टिकट पाउने प्रवृत्ति विकास हुँदै जाँदा सिद्धान्त र आदर्शको राजनीति टाढिँदै गएको छ भने अवसरवाद हावी हुँदैछ । चुनावमा पैसा र बलको भूमिका पनि यसैकारण बढ्दै गएको हो । यस्तो निर्वाचन प्रतिनिधि छान्ने विधिभन्दा पनि सामाजिक र आर्थिक रूपमा बलियाहरूलाई शासन गर्ने वैधानिकता दिने माध्यम मात्र बन्ने जोखिम हुन्छ । त्यसकारण दलहरूले स्वयं यसमा गम्भीर हुँदै समीक्षा गर्नु जरुरी छ । स्थानीय चुनाव र त्यसपछिको प्रदेश र केन्द्रको चुनावले राजनीति स्थायित्वतिर बढ्दै गरेको संकेत आइरहँदा दल र नेताहरू पनि पदलोलुप र अवसरवादी होइन, राजनीतिक हुन जरुरी छ । सिद्धान्तनिष्ठ राजनीति गर्न सकेमात्रै समाज स्थिरता र स्थायित्वतर्फ लम्किन्छ ।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1