MENU

स्वास्थ्य विधा: अवसरको खानी

635x90_1

दीपा दाहाल सोमवार, भदौ २६, २०७४ 690 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: राम्रो अंकका साथ प्लस टु उत्तीर्ण गरेका विद्यार्थीलाई स्वास्थ्य क्षेत्रका विभिन्न विधामा अध्ययन गर्ने क्षेत्र फराकिलो बन्दै गएको छ।
केही वर्षअघिसम्म सरकारी शैक्षिक संस्थाहरूमा सीमित स्वास्थ्यका विधामा केन्द्रित उच्च स्वास्थ्य शिक्षा गैरसरकारी, सामुदायिक र निजी क्षेत्रमा विस्तार हुन पुग्दा यसको पहुँचमा पुग्ने विद्यार्थीको संख्या बढ्दै गएको छ। 

प्लस टुमा विज्ञान विषयमा राम्रो नतिजा ल्याएको खण्डमा एबीबीएस पहिलो प्राथमिकतामा पर्ने गरेको यथार्थका बीच स्वास्थ्य क्षेत्रका अन्य विषय पनि विद्यार्थीका लागि रुचिकर र व्यावसायिक हिसाबमा आकर्षक मानिन थालेका छन्। एमबीबीएसमा नाम निकाल्न नसकेका वा त्यसमा रुचि नभएका विद्यार्थीले ब्याचलर इन् पब्लिक हेल्थ, ब्याचलर इन् मेडिकल ल्याबोेरेटरिज (बीएमएलट), ब्याचलर इन् फार्मेसी, ब्याचलर इन् माइक्रोबायोलोजी, ब्याचलर इन् मेडिकल बायोकेमेस्ट्री, ब्याचलर इन् रेडियोलोजी, ब्याचलर इन् नर्सिङ, ब्याचलर इन हेल्थ कियर म्यानेजमेन्टलगायत दर्जनौं विषय छनोटको मौका विद्यार्थीले स्वदेशमै पाउनु थाल्नु गर्वको कुरा हो।

यी विषय अध्ययन गरेका जनशक्तिको माग पनि बजारमा विस्तारै बढ्दै गएको छ। विशेषगरी निजी क्षेत्रमा खुलेका स्वास्थ्य संस्थाहरू र मेडिकल कलेजहरूमा यी जनशक्तिको खपत बढी हुने गरेको छ। यी विषय अध्ययन गर्ने र अध्यापन गराउने दुवै स्वस्थ समाज निर्माणमा समेत सहयोगी बन्दै आएका छन्। यस हिसाबले यी विषयहरू सामाजिक र व्यावसायिक हिसाबले उपयोगी भएको विज्ञहरू बताउँछन्।

काठमाडौंस्थित नोबेल कलेज, विज्ञान तथा प्रविधि संकायका प्रमुख रामचन्द्र सिन्हा स्वास्थ्यका विभिन्न विधामा अध्ययन गर्ने विद्यार्थीको संख्या बढ्दै जाँदा यसबाट लाभान्वित हुनेको संख्या पनि बढ्दै गएको बताउँछन् ।

‘यी विषयहरू अध्ययन गरेपछि अवसर ज्यादै धेरै रहेको पाइन्छ । उदाहरणका लागि हाम्रै कलेजमा बीपीएच अध्ययन गरिरहेका विद्यार्थीलाई विभिन्न संघसंस्थाले अनुबन्ध गरिसकेका छन्, ‘सिन्हा भन्छन्,' देशविदेश जहाँ भए पनि अवसरको कमी छैन, मात्र विद्यार्थीले लगनका साथ अध्ययन गर्नुपर्ने खाँचो देखिन्छ ।'

सिन्हाका अनुसार बीपीएच अध्ययन गरेकाहरू लोकसेवाको माध्यमबाट सरकारी स्वास्थ्य संस्थाहरूमा पनि प्रवेश गर्न सक्छन् भने उनीहरूको माग गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा पनि उत्तिकै छ । बजारमा अहिले प्रशस्तै स्वास्थ्य प्रयोगशाला खुलेका छन् र ती संस्थाहरूमा मेडिकल ल्याबोरेटरी, माइक्रोबायोलोजी र मेडिकल बायोकेमेस्ट्रमा स्नातक तहमा अध्ययन गरेको गुणस्तरीय जनशक्तिको माग भइरहको छ । त्यो माग पूर्ति गर्न कलेजहरूबीच तीव्र प्रतिस्पर्धा छ।

नेपालमा खपत हुने औषधिमध्ये ६० प्रतिशत हिस्सा स्वदेशी औषधि उत्पादकहरूको छ । त्यसका लागि हाल तीन दर्जनभन्दा बढी औषधि उद्योगहरू विभिन्न ठाउँमा सञ्चालनमा छन् । नेपाल औषधि उत्पादक संघका अनुसार नेपाली औषधिको बजार बर्सेनि बढ्दो छ। बजार वृद्धिसँगै नयाँ औषधि उद्योग खुल्ने क्रम पनि जारी छ र स्तरीय औषधि उत्पादनका लागि सोहीअनुसारको दक्ष जनशक्ति अनिवार्य सर्त हो। दक्ष जनशक्ति उत्पादनमा नेपाल आफैं सक्षम भइसकेको छ। स्वदेशी शैक्षिक संस्थाहरूबाट बर्सेनि औषधि उद्योगहरूका लागि अनिवार्य मानिने बीफर्मा उत्तीर्ण जनशक्ति उत्पादन भइरहेका छन्।

फार्मेसी काउन्सिल अध्यक्ष बाबुराम हुमागाई फार्मेसी अध्ययन गर्ने विद्यार्थीको संख्या पछिल्लो समय बढ्दै गएको बताउँछन् । उनका अनुसार औषधि उद्योग स्वदेशमै फस्टाउँदै जानुले सम्बन्धित जनशक्तिको खाँचो पनि पर्न थालेको छ । सुस्त गतिमै भए पनि सहरी क्षेत्रमा सीमित स्वास्थ्य सेवा गाउँसम्म विस्तार हुँदै गएको छ। सँगै स्वास्थ्य परीक्षण गर्ने र रोग पहिचान गर्ने संस्थाहरू पनि बढ्दै गएका छन्। ती संस्थाहरूमा डिप्लोमा इन् रेडियोलोजी उत्तीर्ण जनशक्तिको माग पनि उच्च छ।

त्यस किसिमको जनशक्ति आपूर्ति गर्ने सवालमा डिप्लोमा इन् रेडियोलोजी अध्ययन गराउने कलेजहरूबीच तीव्र प्रतिस्पर्धा छ। प्रतिस्पर्धा बढ्दै गएकाले विद्यार्थीले लगनशीलता र मेहनतका साथ अध्ययन गर्नुपर्ने खाँचो झनै बढेको छ। स्वास्थ्यका विषयहरू अध्ययन गरिसकेपछि उत्कृष्ट काम गर्नुपर्ने चुनौती पनि नेपाली विद्यार्थीसामु छ।

ब्याचलर इन् पब्लिक हेल्थ, ब्याचलर इन् मेडिकल ल्याबोरेटरिज (बीएमएलट), ब्याचलर इन फार्मेसी, ब्याचलर इन् माइक्रोबायोलोजी, ब्याचलर इन् मेडिकल वायोकेमेस्ट्री, ब्याचलर इन् रेडियोलोजी, ब्याचलर इन् नर्सिङ, ब्याचलर इन् हेल्थ कियर म्यानेजमेन्ट विद्यार्थीको छनोटमा परेका छन्।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1