MENU

रुद्राक्ष अप्राकृतिक बनाउन चिनियाँलाई रोक

635x90_1

छेटु शेर्पा मंगलवार, भदौ २७, २०७४ 75342 पटक पढिएको

Share This

635-X-85

काठमाडौं: चिनियाँ व्यापारीले नेपाली रुद्राक्ष अप्राकृतिक बनाएर बजारमा पुर्‍याएको भन्दै स्थानीय प्रशासनले रोक लगाएको छ। गोला, अण्डाकार र थेप्चो आकारमा उत्पादन हुने दानालाई चिनियाँ व्यापारीले मेसिनको सहायतामा चिचिलादेखि नै अप्राकृतिक रूप दिने गरेको पाइएको छ।

संखुवासभा र भोजपुर क्षेत्रमा किसानसँग बगान नै खरिद गरी रुद्राक्षको आकार अप्राकृतिक परिवर्तन गर्न थालेपछि किसान र स्थानीय व्यवसायीले स्थानीय प्रशासनसमक्ष उजुरी दिएका थिए।

उजुरीपछि संखुवासभाका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले कानुनी आधारभन्दा पनि कुनै वस्तुलाई परिमार्जन गर्न नहुने भएकाले तत्काल रोक लगाउने बताए। जिल्ला समन्वय समितिका अध्यक्ष सुमन शाक्यले भने चिनियाँलाई सचेत गराउने र बनाएकालाई छुट दिएर आगामी वर्षदेखि अप्राकृतिक बनाउन पूर्ण रोक लगाउने बताए।

अप्राकृतिक आकार र रूपले विश्वबजारमा नेपाली रुद्राक्षको गुणस्तर र छवि बिग्रने रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष सुरेश चापागाईंले बताए। रुद्राक्षको प्राकृतिक आकार र रूप जोगाउन व्यापारिक भिसामा आएका चिनियाँ व्यापारीलाई मात्र खरिद-बिक्री गर्न दिने पाँचखपन नगरपालिकाका मेयर विपिन राईले बताए। तीन वर्षयता चिनियाँ व्यापारी गाउँ-गाउँ पुगेर रुद्राक्ष खरिद गर्छन्।

गाउँ-गाउँमा प्रवेश गर्दा स्थानीय सरकारसँग अनुमति लिन भोजपुरका षडानन्द नगरपालिका, खाँदबारी नगरपालिकाका मेयरले सूचना जारी गरेका छन्। गत वर्ष पनि दानाको बीचमा बाँधेर डमरु आकारको अप्राकृतिक रुद्राक्ष बनाएकाले भारत र चीनकै बजारमा बिक्री नभएको व्यापारीको भनाइ छ। प्रतिकूल मौसम र जलवायु परिर्वतनको असरले यस वर्ष रुद्राक्ष उत्पादनमा कमी आएको छ।

छिमले हुँदा दाना उत्पादन डेढ महिना ढिलाइ भएको छ। गत वर्षसम्म भोजपुर र संखुवासभामा मात्र ३० करोड रुपैयाँभन्दा बढीको रुद्राक्ष खरिदबिक्री भएको महासंघको तथ्यांक छ।

बालगुरु षडानन्दले भोजपुरको दिङलामा रुद्राक्ष रोपेपछि पूर्वमै खेती विस्तार भएको छ। धनकुटा, सुनसुरी, मोरङ, इलाम, पाँचथरमा समेत केही मात्रामा रुद्राक्ष उत्पादन हुँदै आएको छ। हिन्दु परम्पराअनुसार भारतमा धार्मिक आस्थाको वस्तुका रूपमा रुद्राक्ष खरिद-बिक्री हुने गरेको छ भने चिनियाँ व्यापारीले सजावट, टाँकलगायत सामग्री बनाउन रुद्राक्ष खरिद गर्ने गरेका छन्।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1