MENU

राजधानीमा अचाक्ली धुलोधुँवा : थलिँदै बालबालिका

635x90_1

 दीपा दाहाल बुधवार, भदौ २८, २०७४ 4554 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

काठमाडौं : अक्सिजन लिन सुरु गरेपछि कपनका रिदम सिटौला बर्रर रुन थाले । रुवाइ नथामिएपछि आमा मन्दिरा आत्तिदै उनलाई सम्हाल्न तल्लीन थिइन् । उपत्याकाको धुवाँधुलोका कारण दुई वर्षमै रिदमको छाती खराब भएको छ । खानापान, सुताइ र बसाइमा ध्यान दिइरहे पनि छोरा पटक-पटक बिरामी पर्दा मन्दिरालाई पर्नु चोट परेको छ ।

चार दिनअघि बल्झिएको छाती घ्यारघ्यार गर्ने, स्याँस्याँ हुने र लगातार खोकी लाग्ने समस्या निको नभएपछि मन्दिराले मंगलबार बिहान उनलाई कान्ति बाल अस्पतालको ओपीडीमा पुर्‍याएकी थिइन् । चिकित्सकले जाँचेलगत्तै रिदमलाई अक्सिजन दिन थालिएको थियोे । रिदमपछि अक्सिजन लिन १९ जना बच्चा लामबद्ध थिए । रुँदा, चिच्चाउँदा र झिँझो मान्दा शिशु सम्हाल्न आमाहरू सकसमा देखिन्थे ।

ओपीडीको अर्को कोठामा अस्पतालका निर्देशक डा.गणेशकुमार राई थानकोटकी सात वर्षीया अनुसा न्यौपानेलाई धुवाँधुलोबाट बच्न सल्लाह दिँदै थिए । आमा शिलाले चिकित्सकको सल्लाह ध्यानपूर्वक सुन्दै थिइन् । तर, उनीहरूलाई कुर्ने धैर्यता छेउतिर ठेलमठेल गर्दै उभिएका अन्य बच्चाका अभिभावकमा थिएन । डा. राई नजिकै बसेका अर्का चिकित्सकलाई कुपण्डोलका रोशन घिमिरेले आफूलाई घाँटी दुख्ने र सुख्खा खोकी लाग्ने गुनासो गर्दै थिए । रोशनकी फुपू निसाले भनिन्, ‘अचेल उसलाई थकाइ धेरै लाग्छ, झिँझो मान्छ । तनाव लिएजस्तो देखिन्छ ।'

धापासीकी निर्मला सुवेदी भीडमा छोरा सच्चन रुन थालेपछि कोठाबाट बाहिरिइन् । सच्चनलाई अचानक लगातार सुख्खा खोकी लागेपछि उनको पनि होसहवास उडेको थियो । मन्दिरा, शिला, निसा, निर्मलाजस्ता सयौं आमा अस्पतालको ओपीडीमा आफ्ना नानीलाई जँचाउन पालो कुर्दै थिए । कोठाको उकुसमुकुस भीडमा बिरामी बच्चाले असहज मानिरहेको प्रस्ट देखिन्थ्यो । यस्ता दृश्य अहिले हरेक सरकारी अस्पतालमा देखिन थालेको छ ।

‘बिरामीको संख्या ह्वात्तै बढ्यो । जाँच गर्न हामीलाई हम्मेहम्मे परेको छ', भीडबाट फुत्किएपछि डा.राईले अन्नपूर्णसँग भने, ‘यसको मुख्य कारण धुवाँधुलो नै हो । यसले बच्चामा भयानक रोग देखिन थालेको छ ।' विश्वकै प्रदूषितमध्येको सहर मानिने काठमाडौंमा धुवाँधुलोले कलिला बच्चालाई रोग बोकाउन थालेको छ।

श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति

बालबालिकाको उपचार गरिने मुलुककै एक मात्र सरकारी बाल अस्पताल कान्तिको तथ्यांक डरलाग्दो छ । डा.राईका अनुसार गत वर्ष हरेक दिन सरदर पाँच सय बच्चा ओपीडीमा आउने गर्थे । यो वर्ष त्यो संख्या हजारसम्म पुगेको छ । तीमध्ये अधिकांश धुवाँधुलोका कारण श्वासप्रश्वास प्रणालीमा गम्भीर क्षति पुगेका बच्चा छन् ।


गाडीको धुवाँ, सडकको धुलो, उद्योगको धुवाँ, बालिने धुप, घरमा लगाइने रंगको वाफ तथा चुरोटको धुवाँबाट बच्न चिकित्सको सुझाव ।

अस्पतालका मेडिकल विभागका प्रमुख डा.कृष्ण पौडेलका अनुसार बच्चाहरूमा श्वासनली सुन्निने (ब्रोङकाइटिस), बाल दम (आस्तामा) र नाक सुन्निने (राइनाइटिस­) समस्या सबैभन्दा धेरै देखिएको छ ।

- धुवाँधुलोका कारण श्वासप्रश्वासमा गम्भीर असर
- श्वासप्रश्वासका बिरामी बढेपछि कान्तिमा छुट्टै ओपीडी
- सातामा दुईपटक चल्ने ओपीडी चार दिनसम्म पनि जारी
- परीक्षण गरिएका धेरैमा दमको लक्षण
- धेरैमा ब्रोङकाइटिस, आस्तामा र राइनाइटिस­ समस्या
- शल्यक्रियाबाट जन्मिएका बच्चामा धुवाँधुलोको असर ज्यादै
- प्रदूषित धुवाँधुलोले छाला, आँखा र नाकमा एलर्जी
- मास्क, चस्मा र छाताको प्रयोग गर्न सुझाव
- छाती घ्यारघ्यार हुने, स्याँस्याँ हुने तथा लगातार खोकी लाग्ने
- गत वर्ष प्रतिदिन पाँच सय बच्चा ओपीडीमा आउने
- यो वर्ष हजार जनासम्म पुग्यो

‘श्वासप्रश्वासको समस्या बच्चामा दोहोरिएको छ । त्यसले गर्दा उनीहरूको फोक्सो तथा श्वासनलीको विकासमा अवरोध पुगेको छ', डा.कृष्ण भन्छन्, ‘ ठूलो भएपछि सीओपीडी र दीर्घकालीन दमको समस्या भोग्न बाध्य हुन्छन् ।' उनीहरूमा छिटोछोटो रुघा लाग्ने, नाक बन्द हुने, श्वास लिन गाह्रो हुने, घ्यारघ्यार हुने, सुख्खा खोकी लाग्नेजस्ता लक्षण देखिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलको पछिल्लो अध्ययनअनुसार धुवाँधुलोको सम्पर्कमा आउने बच्चामा दमजन्य र त्यसबाहेक श्वासप्रश्वासको समस्या सबैभन्दा धेरै देखिन्छ ।

शारीरिक र बौद्धिक विकासमा अवरोध

चिकित्सक कुनै न कुनै तरिकाबाट धुवाँधुलो खाइरहेका सहरी र ग्रामीण क्षेत्रका बच्चामा समग्र शारीरिक विकासमा असर परिरहेको बताउँछन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं बालरोग विशेषज्ञ डा.बाबुराम मरासिनी अहिलको प्रदूषित वातावरणका कारण बच्चामा कम तौल हुने, बढ्न नसक्ने, बौद्धिकतामा ह्रास आउने, मानसिक तनाव उत्पन्न हुने समस्या वृद्धि भएको बताउँछन् ।

धुवाँधुलोले बच्चामा तनाव सिर्जना गर्ने, थकाई धेरै लाग्ने र झिँझो बढी लाग्ने समस्या देखिएको छ । त्यसले गर्दा उनीहरू अध्ययन र अन्य क्रियाकलापमा राम्रो प्रस्तुति दिन सकेका छैनन् ।

सहरी बालबालिका झन् प्रताडित

ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बच्चामा धुवाँधुलोका कारण धेरै समस्या देखिने गरेका छन् । ग्रामीण क्षेत्रका बच्चा जन्मेदेखि नै कुनै वस्तु, पशुपक्षी वा वातावरणमा घुलमिल हुन्छन् । त्यसले गर्दा उनीहरूमा रोगप्रतिरोधात्मक क्षमता बढी हुन्छ र हत्तपत्त रोगले आक्रमण गर्दैन ।
त्यस्तो वातावरण नपाउने सहरी बच्चामा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा घुलोधुवाँको सम्पर्कमा आउनासाथ अनेक समस्या देखिन्छन् । सहरका बच्चा घरभित्रै पनि चुरोट, आगो, लामखुट्टे मार्ने धुप, पूजा गर्ने धुपबाट निस्केको धुवाँ खान बाध्य छन् । बाहिर निस्केपछि सवारीसाधनबाट निस्केको धुवाँ, सडक निर्माणका क्रममा निस्केको धुलो, उद्योग कलकारखानाबाट निस्कको धुवाँ, मन्दिरमा बालिने धुपको धुवाँ, घरमा लगाइएको रंगको बाफ, चुरोटको धुवाँको सम्पर्कमा आउन बाध्य छन् । मास्कले थेग्न नसक्ने र फाहोरका कारण अझै प्रदूषित अहिलेको धुवाँधुलोले बच्चामा छाला, आँखा र नाकलगायतको एलर्जीसमेत देखिएका छन् ।

दमका बच्चाका लागि छुट्टै ओपीडी

दमबाट ग्रसित बालबालिकाको संख्या वृद्धि भएपछि अस्पतालले उनीहरूका लागि छुट्टै ओपीडी सञ्चालनमा ल्यायो । सातामा दुई पटक चल्ने ओपीडी चार दिन सञ्चालन गर्दा पनि बिरामीको भीड भने थेगिनसक्नु छ ।

दम ओपीडीमा कार्यरत बालरोग विशेषज्ञ डा.महेशकुमार गौतमका अनुसार सातामा दुई दिन ओपीडी सञ्चालन गर्दा एकै दिनमा ३०÷४० जना नयाँ बच्चामा दम भेटिने गरेको थियो । तर, अहिले हप्तामा चार दिन ओपीडी सञ्चालन गर्दा पनि दैनिक उत्तिनै संख्यामा बिरामी आउँछन् ।

‘जनरल वार्डबाट पठाइने बिरामीको मात्र यहाँ रेकर्ड राखिन्छ । कति बिरामी यहाँसम्म पनि आइपुग्दैनन् । गम्भीर अवस्थामा पुगेकालाई सिधै आईसीयूमा भर्ना गर्नुपर्ने हुन्छ', डा.महेश भन्छन्, ‘बच्चामा दम बढ्नुको मुख्य कारण पनि धुवाँधुलो नै हो ।'

डा.गौतमका अनुसार दम भएका बच्चामा ९० प्रतिशत कुनै न कुनै एलर्जीको पृष्ठभूमि छ ।' बच्चाको जाँच गर्ने उपत्यका अन्य अस्पतालमा पनि धुवाँधुलोका कारण यस्ता समस्या लिएर जाने बालबालिकाको संख्या बढेको पाइन्छ । डा.मरासिनी हिजोआज हरेक अस्पतालमा सबैभन्दा धेरै उपचारका लागि बालबालिकाकै भीड लाग्ने गरेको बताउँछन् । उनीहरूमा धेरैजसो समस्या श्वासप्रश्वासकै छ ।

कसरी बचाउने धुवाँधुलोबाट

डा.गौतम बच्चाहरूलाई श्वासप्रश्वासजन्य रोगबाट बचाउन सबैभन्दा पहिले धुवाँधुलोबाट जोगाउनुको विकल्प नभएको बताउँछन् । त्यसका लागि बच्चा गर्भमै रहेदेखि आमाहरूले विशेष ख्याल गर्नुपर्छ । आमा प्रदूषित वातावरणमा बस्दा वा उनले धूमपान गर्दा दम लिएरै बच्चा जन्मिन सक्छन् ।
कुपोषणका कारण कम तौलमा वा समयअगावै जन्मिएका बच्चामा धुवाँधुलोले छिट्टै समस्या देखिन्छ । डा.गौतमका अनुसार शल्यक्रियाका माध्यमबाट जन्मिएका बच्चामा पनि धुवाँधुलोको असर ज्यादै हुन्छ । हिँडडुल गर्दा उचित मास्क, चस्मा र छाताको प्रयोग गर्दा केही हदसम्म बच्चाहरू धुवाँधुलोबाट बच्ने डा. गौतम बताउँछन् ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1