MENU

जितिया पावैन बड भारी...

635x90_1

पार्वता चौधरी बुधवार, भदौ २८, २०७४ 1212 पटक पढिएको

Share This

635-X-85

राजधानी लगायत तराईमा जितियाको रौनक

काठमाडौं: आज जितिया पर्व। छोराछोरीको दीर्घायुको कामना गर्दै आमाहरूले गर्ने कठिन व्रत जितिया विधिवत् रूपमा सुरु भएको छ। पितृपक्षको सप्तमी तिथिमा व्रत बस्ने महिलाले पवित्र जलाशयहरूमा नुहाएर (नहायखाय) घिरौलाको पातमा तोरीको पिना र तेल जिमुतवाहन भगवान्‌लाई चढाएर व्रत आरम्भ गरेका छन्। व्रतभन्दा एक दिन अगाडि व्रतालुहरूले माछा, कोदोको रोटी, नौनीको सागसहितका परिकार खाने गर्छन्।

 

पर्वको रमाइलो पक्ष औगठन (दर) हो। व्रतको एक दिनअगाडि सूर्योदयभन्दा पहिला व्रतालु महिलाले चुरादही, मिठाईलगायतका परिकार खानुलाई औगठन भनिन्छ। औगठन (दर)को सन्दर्भमा एउटा उखान मिथिलामा प्रसिद्ध छ ‘जितिया पावैन बड भारी, धियापुताके ठोकी सुतावे अपना ले भैर थारी'।थारु आमाहरूले यो व्रत सुरु गरी नवमी तिथिसम्म निराहार बस्ने प्रचलन छ। तिजिया व्रतमा पानीसमेत नखाने र व्रत अवधिभर व्रती महिलाले कुनै सामान नतोड्ने, सियो नचलाउने, कुचो नछुने, जुठो नछुनेजस्ता कडा नियमहरू छन्।

ब्राह्मणका अनुसार सत्ययुगमा एक दम्पतीले आफ्ना एकमात्र छोरालाई गाउँमा रहेको दुष्ट गरुडले आहारा नबनाओस् भनेर भगवान्सँग प्रार्थना गरेर जितवाहन भगवान्को पूजाअर्चना गरेका थिए।ती दम्पतीको पूजापाठले खुसी भएका भगवान्ले बालबालिकालाई खाने गरुडलाई आफ्नो शरणमा लिएर उनीहरूको छोरासहित गाउँका अन्य बालबालिकालाई पनि मृत्युबाट जोगाएका थिए। त्यही सम्झनामा यो पर्व छोराछोरीको दीर्घायुको लागि मनाउन थालिएको धर्मग्रन्थहरूमा उल्लेख छ।

कसरी मनाइन्छ जितिया?
आश्विन कृष्ण सप्तमीका दिन भएको पर्व ३ दिनसम्म मनाउने गरिन्छ।विवाहित महिलाहरुले त्यस दिन विहान नदी, कुवा तथा पोखरीमा स्नान गरी चोखो बस्त्र पहिरेर व्रत सुरु गर्ने गर्छन्। व्रत बस्नुअघि सप्तमीकै दिन बेलुका उनीहरुले घिरौंलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई घिरो.लाको फूल, पिनालाई प्रसाद स्वरुप चढाइ पुजा सुरु गर्छन्। त्यसपछि सुर्योदय हुनुपूर्व भोलिपल्ट विशेषगरी माछा, दही, चिउरा, ओलको तरकारी लगायतको परिकार बनाएर ओटगन खाने गर्छन्।

अष्टमीका दिन चराचुरुङ्गी कराउनु अगावै सुर्य उदाउनु पूर्व ओटगन खाएर सुरु गरिएको व्रतमा ब्रतालुहरु दिनभर, रातभर निराहार उपवास बस्ने गर्दछन्। आटगन खाने बेलामा चराचुरुङ्गीको आवाज सुने ब्रत नै भङ्ग हुने विश्वास छ । नवमीका दिन विहान सबेरै नुहाईधुवाई गरेर चोखोनिधो भई जीतमहानको पुजा गरेर कथा सुन्ने गरिन्छ।

पूजा र कथासँग जितिया पर्व सम्पन्न हुने गर्दछ। माइतमा भेला भएका विवाहित महिलाले नाचगान गरेर रमाइलो गर्ने चलन पनि रहेको छ । सन्तानको दीर्घ जीवन, पुत्रप्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्व समेत रहेको छ।

जितियाबारे पौराणिक कथा
एकजना राजाकी छोरी सूर्य उदाउनु अगावै सधैं नुहाउन खोलामा जाने गर्दथिन्। एक दिन नुहाउन जान अलि ढिला भइन् र उनी सुर्य उदाइसकेपछि मात्र खोलामा पुगिन्। यसै क्रममा उनी गर्भवती भइन्। समय पुगेपछि उनले छोरालाई जन्म दिएको दन्त्य कथा छ। छोरा हुर्किदैं गएपछि उसका साथी सबैले उसलाई बुबाको नाम सोध्न थाले।

घरमा आमालाई आएर उसले सोध्यो, 'आमाले पनि नाम बताउन सकिनन्। एक दिन ती खेल्ने क्रममा साथीहरुले ती बालकलाई उउटा सर्त तेर्‍साउँछन्। एउटा खाल्डो हुन्छ, त्यो खाल्डोमा पस्दा आमाको नाम लिने र बाहिर निस्कदा बुबाको नाम लिएर निस्कने तर ती बालकसंग बुबाको नाम हुँदैन र उनी त्यो खाल्डोबाट बाहिर निस्कदैनन्। पछि आमाले खोज्दै जाँदा बालकलाई खाल्डोमा भट्टाउछिन्।'

बाहिर निस्क भन्दा बुबाको नाम बताउने शर्त राख्छन् ती बालकले। आमाले बालकको बुबा सुर्य हुन् भन्दा बुबालाई भेट्न उनी आतुर हुन्छन् र सुर्य जता देख्छन् त्यतै जाने गर्छन्।बालकको हैरानी देखेर सुर्य देवता जोगीको भेषमा प्रकट भएर उनलाई बरदान दिन्छन् । बरदानसँगै उनको नाम पनि जितमहान राखिदिन्छन्।

बालक घर फर्केर आफ्नी आमा, गाउँका सबैलाई आफुले बुबालाई भेटेको र बुबाले उनलाई भेटेको दिन ब्रत बसे फलिफाफ हुने, सन्तान सुख हुने, पुत्र लाभ हुने बताएपछि , महिलाहरुले ब्रत बस्दा सांच्चै नै ती बालकले भने झै भएको भन्ने किंवदन्ती छ। र सोही दिन अथवा आश्विन कृष्ण सप्तमीका दिनदेखि नवमीका दिनसम्म यो पर्व मनाउने गरिन्छ । अष्टमीका दिन निराहार जितमहानको उपासना गरी ब्रतालुहरु ब्रत बस्ने गर्दछन्।

अर्को एउटा पौराणिक कथा पनि रहेको छ। राजा शालिवहानको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई जितमाहान नामाकरण गरी राजाको सम्झनामा उपवास बसेर यो व्रत सुरु भएको पौराणिक कथन छ।

थारुसँगै कुन कुन समुदायले मनाउँछन्?
तराईमा बसोबास गर्ने आदिवासी थारु, मैथिल, भोजपुरी समुदायका विवाहित महिलाले यो पर्व धुमधामका साथ मनाउने गर्छन्। नयाँ विवाहित महिलाका लागि त झन यो पर्व महत्वपूर्ण रहन्छ। भर्खर भर्खर विवाह भएका दुलहीलाई माइती पक्षले बोलाउने एउटा बहानाका रुपमा पनि यस पर्वलाई लिने गरिन्छ।

दाजु, भाई अथवा माइती पक्षका कोही गएर नयाँ दुलहीलाई माइत बोलाउने गरिन्छ । दिदी बहिनी भेट हुने एउटा मौकाका रुपमा पनि यस पर्वलाई लिने गरिन्छ।

यता, राजधानी काठमाडौंमा बस्ने थारु समुदायका महिलाले यो पर्व धुमधामका साथ मनाउने गर्दछन्। संस्कृति झल्काउने पोशाकमा सजिएर थारु महिलाहरुले यो पर्व मनाउने गरेका छन्। थारु महिला समाज र थारु महिला सभाले पर्वका अवसरमा बुधवार काठमाण्डौंको कमलादीमा विशेष कार्यक्रमको आयोजना गरेको छ। सांस्कृतिक कार्यक्रमका बीच प्रज्ञा प्रतिष्ठानको हलमा पर्व मनाइने थारु महिला समाजका अध्यक्ष गीता चौधरीले जानकारी दिइन्।

लेखक थारु पत्रकार संघ नेपालकी सचिव हुन्।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1