MENU

कान्छो जिल्लाको सदरमुकाम बन्ने सपना बुन्दै रुकुमकोट

635x90_1

महेश केसी बुधवार, भदौ २८, २०७४ 6228 पटक पढिएको

Share This

635-X-85

रुकुम : वि.सं. २०१८ साल बैशाख १ गते सल्यान र जाजरकोट जिल्लाबाट छुट्टै जिल्लाको रुपमा कायम भएको रुकुम जिल्लाको पहिलो सदरमुकाम रुकुमको पुर्वी क्षेत्रको सुन्दर स्थल रुकुमककोटले आजभन्दा ४४ बर्ष अगाडी गुमाएको सदरमुकामको अस्तित्व फेरी स्थापना हुने सपना बुन्न थालेको छ । नयाँ संविधानको परिकल्पना अनुसार देश संघीय संरचना बमोजिम पुर्नसंरचित भएपछि रुकुम जिल्ला दुई भागमा विभाजित हुन पुग्यो । सुरुमा जिल्ला विभाजनको विषयलाई लिएर सिगों जिल्ला एउटै कायम हुनुपर्ने माग राखेर विरोधमा उत्रिएका रुकुम जिल्लावासी रुकुमको पुर्वी भाग र पश्चिम भाग छुट्टा-छुट्टै जिल्लामा कायम हुने भएपछि रुकुमकोटबासीले सदरमुकामको साख पुणःस्थापित हुने सपना बुन्न थालेका हुन् ।

 

पहिलेको सर्पकोट बराहक्षेत्रबाट शोभा संगै रुकुमकोट नामाकरण रहन गएको रुकुमकोटबाट आजभन्दा ४४ बर्ष अघि वि.सं. २०३० साल वैशाख २ गते तत्कालीन पञ्चायती व्यवस्थामा शासन गरिरहेका केही पञ्चहरुको सत्ता स्वार्थका कारण रुकुम जिल्लाको सदरमुकाम रातारात मुसीकोट (हाल सदरमुकाम रहेको स्थाल)मा सारिएको थियो । सदरमुकाम सारेपछि यहाँका स्थानीयसँगै रुकुमकोट पुर्वका जनताले सदरमुकाम रुकुमकोटमै राख्नका लागी गरेको निरन्तर संघर्षको इतिहास लामो छ । रुकुमकोटमै जिल्लाको सदरमुकाम रहनुपर्छ भन्ने मागको पक्षमा रहेर लडेका र पञ्चायती कालमा दुई पटक संसद समेत भैसकेका ७८ वर्षीय लोकेन्द्रबहादुर शाहले ४४ बर्ष अघिको त्यो दिन सम्झदै भन्छन्, ‘म सदरमुकाम रुकुमकोटमै कायम हुनुपर्छ भन्ने एक सुत्रीय मागमा जीवनभर लडे तर माग पुरा हुन सकेन । अहिले आएर फेरी छुट्टै जिल्ला बन्ने र त्यसको सदरमुकाम रुकुमकोट नै हुने सम्भावनाले बर्षौ पछि भएपनि खसी बनाएको छ ।'

नेपालको संविधान २०७२ को अनुसुची-४ मा उल्लेख गरिए अनुसार हाललाई रुकुम जिल्लाको दुई भाग मध्य प्रदेश नं. ५ मा ‘रुकुम (पुर्वी भाग)' र प्रदेश नं. ६ मा ‘रुकुम (पुश्चिम भाग)' भनेर उल्लेख गरिएको छ । यसैलाई आधार मान्दै पुर्वमा रहेका सिस्ने, भुमे र पुथा उत्तरगंगा गाँउपालिकालाई पुर्वी भाग मानिएको छ, भने हाल सदरमुकाम रहेको मुसीकोटसहित आठविसकोट र चौरजहारी नगरपालिका गरी तिन नगरपालिका तथा त्रिवेणी, सानीभेरी र बाँफिकोट गाउँपालिका गरी तीन गाउँपालिका सहित कुल छ वटा स्थानीय तहलाई पश्चिम भाग मानिएको छ । भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचानमा रुकुम जिल्लाको पुर्वी र पश्चिमी भागमा पहिलो र दोस्रो गरी दुई चरणमा चुनाव सम्पन्न भएको थियो ।

हाल सिस्ने गाउँपालिकाको ५ र ६ नं. वडामा अवस्थित यस रुकुमकोट उपत्यका १४ औं शताब्दीमा मगर राजाको राजधानीको रुपमासमेत रहेको र १४ औं शताब्दीपछि भने मल्ल राजाहरुले शासन गरेको इतिहासमा पाइन्छ । स्थानीय शिक्षक मोहन केसीका अनुसार मध्यकालीन समयमा तत्कालीन राजारजौटाहरु बस्ने यस ठाउँलाई कोट भनिन्थ्यो । रुकुमकोट तिनै राजारजौटाहरु बस्ने कोटहरु मध्ये एउटा हो । तत्कालीन बाइसे-चौबिसे राज्यहरु मध्ये रुकुमकोट एक शक्तिशाली राज्यका रुपमा मानिथ्यो । ‘रुकुम जिल्लाको नामाकरण नै रुकुमकोटबाट भएको र जिल्लाको पहिलो सदरमुकाम पनि यही भएकाले पुर्वी रुकुम छुट्टै जिल्ला कायम हुदाँ यसको सदरमुकाम रुकुमकोटमै कायम हुनु यहाँको ऐतिहासिकताको सम्मान हो भने जनतालाई पनि न्याय हुन्छ ।' केसी भन्छन् ‘दशकौं अघि गुमेको सदरमुकामको शक्ति फेरी फर्किने सम्भावनाले हामीलाई उत्साहित बनाएको छ । हामी यो अवसरको सदुपयोग गर्न तयार भएर बसेका छौ ।'

नेपालकै दुर्लभ मानिने कमल पाइने कमल दह, छिप्रदह, देउराली गुफा र भगवती मन्दिर, शिव मन्दिर, कालिका स्थान, कोटघर र तामाखानी जस्ता प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरुले सु-सज्जित रुकुमकोटलाई पुर्वी रुकुमको सदरमुकाम कायम गरेर यस क्षेत्रलाई विकासको मुल प्रवाहमा अगाडी बढाउने एउटा सुन्दर सम्भावनाको नजिक रहेको र यस अवसरलाई सदुपयोग गर्न लाग्नुपर्ने भनाई छ रुकुमकोटकै सिस्ने शिक्षा क्याम्पसका प्रमुख एवं स्थानीवासी तिब्र गौतमको । उनी भन्छन्,‘पुर्वी रुकुमका अरु पनि धेरै सुन्दर स्थालहरु छन् यसमध्ये रुकुमकोट पनि एक हो । यस स्थललाई पुर्वी रुकुमको सदरमुकामका रुपमा कामय गरी यहाँको इतिहासलाई फेरी स्थापित गर्नुपर्छ ।'

सदरमुकाम फर्काउने संघर्ष

कमल दह, छिप्रिदहसंगै अन्य स-साना पोखरी र टाकुरीहरुले गर्दा ‘बाउन्न पोखरी, त्रिपन्न टाकुरी'को उपनामले चिनिने यस रुकुमकोटबाट बि.सं. २०३० साल बैशाख २ गते रातारात सदरमुकाम मुसीकोट सारेपछि सदरमुकाम रुकुमकोटमै कायम गर्न यहाँका जनताले गरेको संघर्षपूर्ण बलिदानीको बर्णन अहिले कथा जस्तो लागेपनि त्यो वास्तविकता थियो । तत्कालीन समयमा सदरमुकाम मुसीकोटबाट रुकुमकोटमै कायम गराउने आन्दोललमा सहभागी भएका रुकुमकोटका स्थानीय भक्तबहादुर केसीका अनुसार ४४ बर्ष अघि सदरमुकाम सर्दा रुकुमकोटले सदरमुकाम मात्र गुमाएन । अरु धेरै चिज गुमाएको छ ।

रुकुमकोट आसपास र रुकुमकोट पूर्वका हजारौं जनताले बैशाख २७ गते सदरमुकाम रुकुमकोटमै हुनुपर्ने माग गर्दै हालको सदरमुकाम रहेको मुसीकोटमा पुगी ठुलो आन्दोलन गरे । तर उक्त माग पुरा भने हुन सकेन । उल्टै तत्कालीन राज्यले सदरमुकाम फिर्ता लिन आएकाहरु माथी दमन गर्‍यो । हजारौंको संख्यामा रहेका आन्दोलनकारीमाथि तत्कालीन अञ्चलाधिश र पञ्चहरुको आदेशमा लाठी चार्ज गरियो र गोली चल्यो । यही आन्दोलका क्रममा २४ वर्षीय मनविर थापाले ज्यान गुमाए भने सयौंको संख्यामा सर्वसाधारणहरु घाइते भए ।

साथै आन्दोलनको अग्र मोर्चामा रहेका भक्तबहादुरसँगै १७ जनालाई गिरफ्तार गरी राजकाज अपराध ऐन अन्तरगत मुद्घा लगाएर जेल चलान समेत गरियो । ‘हामीले न्याय माग्दा तत्कालीन सरकारले हामीलाई जेल हाल्यो ।' त्यो बेलाको दिन सम्झदैं भक्तबहादुर भन्छन्, ‘तत्कालीन पञ्चहरुको शक्ति संञ्चयको स्वार्थमा रुकुमकोटले क्षती बेहोर्नुपर्यो । अब फेरी एउटा अवसर आएको छ यसलाई सदुपयोग गरेर अगाडी बढ्न सके रुकुमकोटवासीले यस ऐतिहासिक स्थालको अस्तित्वका लागी गरेको योगदानको केही मात्रामा भएपनि कदर हुनेछ ।'

सरकारले राष्ट्रिय गौरवको आयोजना मानेर तिब्र रुपमा काम अगाडी बढाइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्गले समेत छोएको रुकुमकोटलाई पूर्वी रुकुमको हेडक्वाटरका रुपमा कामय गर्नु ऐतिहासिक र भौगोलिक हिसावले न्यायपुर्ण हुने बताउदै पुर्व संसद लोकेन्द्रबहादुर शाहले आफुले आफ्नो जीवनभर यही सदरमुकाम कायम गराउन र यही ठाउँको विकासका लागि लडेको बताउदै अब यसपल्ट रुकुमलाई न्याय हुनुपर्ने दावी प्रस्तुत गर्छन् ।

सुरुमा जिल्ला विभाजनको बिषयमा रुकुम जिल्लाबासी र राजनैतिक पार्टीबीच नै समानान्तर बुझाई नहुँदा केही समय जनतामा अलमल भएको थियो । तर पछि स्थानीय तहको निर्वाचन ताका पूर्वका तीन गाउँपालिका प्रदेश नं. ५ अन्तरत रहने भएपछि नै संविधानको अनुसुची ४ को आधारमा रुकुम पूर्वको भाग छुट्टै जिल्लाको रुपमा कायम हुनुपर्ने माग यहाँका राजनैतिक दल र जनता स्वयम्ले गरेका थिए । हाल आएर जिल्ला समन्वय समिति गठनका लागि पूर्वका तीन गाउँपालिकालाई छुट्टै अधिकार दिएसँगै रुकुमको पूर्वी भाग छुट्टै जिल्ला हुने लगभग निश्चित भएको छ । रुकुमको पुर्वी भाग र कपिलवस्तुको बर्दघाट सुस्ता पूर्वको भाग छुट्टै हुने भएपछि हालका ७५ जिल्लाबाट यी दुई जिल्ला थपिएर अब ७७ जिल्ला हुनेछन् ।

पूर्वी रुकुम र पश्चिम रुकुम

रुकुम जिल्लाको पूर्वी भाग पश्चिमको तुलनामा क्षेत्रफलका हिसाबले ठुलो भएपनि जनसंख्याका हिसावले भने सानो छ । २०६८ सालको जनगणना अनुसार सिंगो रुकुमको जनसंख्या संस्थागत सहित २ लाख ८ हजार ५ सय ६७ छ । यसमध्ये पश्चिम रुकुमको कुल जनसंख्या १ लाख ५४ हजार २ सय ७२ रहेको छ भने पूर्वी रुकुमको जनसंख्या ५३ हजार १८ रहेको छ । यस हिसावले हेर्दा पुर्वभन्दा पश्चिम रुकुमको जनसंख्या १ लाख १ हजार २ सय ५४ ले बढी रहेको छ ।

तर, ढोरपाटन वन्यजन्तु सिकार आरक्षण क्षेत्रको कुल भाग मध्य ६५.२९ प्रतिशत भु-भाग समेत रहेको उच्च पहाडी बुकी-पाटन, अग्ला लेक र हिमाली क्षेत्रका साथै यार्सागुम्वा, पाँचऔले, चिराइतो, तितेपाती जस्ता धेरै पहाडी र हिमाली जडिबुटीको भण्डारको रुपमा रहेको पुर्वी रुकुम रुकुमको पश्चिम भएर बग्ने धेरै नदी र खोलाहरुको शिर पनि हो । यसरी हेर्दा प्राकृतिक स्रोतका हिसाबले पश्चिम भन्दा पुर्वी रुकुम केही धेरै सम्भावना बोकेको जिल्लाका रुपमा रहेको छ । अधिवक्ता गणेश हमाल भन्छन्, ‘प्राकृतिक स्रोत-साधनको सम्भावनाको हिसावले पूर्वी रुकुम केही अगाडी छ । यहाँको सानीभेरी, उत्तरगंगा र रुकुम गार संगै अन्य दर्जनौ खोला-नालाहरुबाट विद्युत निकाल्न सकिन्छ भने जडिबुटीहरुको व्यवस्थित निकासी गर्न सके आर्थिक रुपमा समेत यो क्षेत्र अगाडी जानसक्छ।'

विभिन्न जातजाती र भाषभाषीको आदिम कालदेखि बसोबास रहेको पूर्वी रुकुममा मगर खाम जातिको बाहुल्यता रहेको छ भने पश्चिम रुकुममा क्षेत्री-बाहुन जातिको बाहुल्यता रहेको छ । प्रकृतिको खानीका रुपमा लिइने रुकुमको पूर्वी भाग छुट्टीएर अर्कै जिल्ला बन्ने खबरले रुकुम पश्चिमका जनतालाई केही दुःखी बनाएको भएपनि पुर्वका जनता भने यसबाट सन्तुष्ट नै देखिन्छन् । पहिले देशको कान्छो जिल्लाको रुपमा चिनिएको कालिकोट जस्तै कपिलवस्तुको नवलपुर र रुकुमको पुर्वी क्षेत्रलाई देशको कान्छो जिल्लाको रुपमा स्थापना गरी विकासको मार्गमा दौडाउनुपर्ने स्थानीय शिक्षक कृष्ण गौतम बताउछन् । जिल्लाको पूर्वी भाग छुट्टै जिल्ला कायम हुने निश्चित भएपछि यतिबेला यहाँका जनतामा उत्साह छाएको छ भने कान्छो जिल्लालाई कसरी अरु जिल्लासँगसँगै अगाडी बढाउने भन्ने चुनौति पनि थपिएको छ ।

 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1