MENU

‘नागरिकता नपाएर डिप्रेसनको सिकार बन्दै थिएँ’

635x90_1

अन्नपूर्ण बुधवार, भदौ २८, २०७४ 4187 पटक पढिएको

Share This

635-X-85

सुशील थापामगर
नागरिकता दिलाउनका लागि पहल गरिदिने सबैमा आभार प्रकट गर्न चाहन्छु। उहाँहरूको सहयोग र साथ नपाएको भए मैले नागरिकता पाउन सक्ने थिइन्। आफ्नै देशमा अनागरिक भएर बस्नु पर्दाको पीडा राम्ररी अनुभव गरेँ। सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेपछि नागरिकता नभएकै कारणले चारवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइन्।

मैले प्रतिस्पर्धा गर्ने ४९ केजी तौलसमूहमा म विजेता भए पनि नागरिकता नभएकाले अरू खेलाडीले नै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाए। यसले गर्दा म विस्तारै डिप्रेसनको सिकार बन्दै गएको थिएँ। जति प्रयास गर्दा पनि नागरिकता नपाएपछि मेरो ‘मोरल’ नै डाउन भइसकेको थियो। राष्ट्रिय टोलीको प्रशिक्षणमा नियमित सहभागी भए पनि नागरिकताको कुरा सम्झँदा खेल्नै मन लाग्दैनथियो। तर सबैको साथ, सहयोग र सद्भावले गर्दा आज नागरिकता पाएको छु। नागरिकता हातमा परेपछि फेरि अर्को गोल्ड मेडल जितेको अनुभव गरेको छु। अब आफ्नो सम्पूर्ण ध्यान खेलमै केन्द्रित गर्छु। आफ्ना लागिभन्दा पनि राष्ट्रका लागि केही गर्ने कोसिस गर्नेछु।

 

खेलकुद क्षेत्रको महत्वपूर्ण उपलब्धि : केशवकुमार विष्ट

सुशील थापामगर सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालगायत थुप्रै प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडी हुन्। उनी मुलुकका लागि धेरै सम्भावना बोकेको खेलाडी हुन्। आगामी १३औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक भित्र्याउनका लागि पनि हामी उनलाई तयार पारिरहेका छौं। तर नागरिकता र राहदानी नभएका कारण हामीले उनलाई वैदेशिक प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउन पाएका थिएनौं।

सुशीललाई नागरिकता दिलाउन करिब ६ महिनादेखि पहल हुँदै आएको थियो। अहिले आएर सम्बन्धित सबै पक्षको सहयोगमा म आफैं व्यक्तिगत जमानी बसेर उनलाई नागरिकता दिलाउन सफल भएका छौं। सुशीलले नागरिकता पाएपछि पासपोर्ट बनाउने छन् र चाँडै नै वैदेशिक प्रशिक्षणमा जानेछन्। त्यसैले १३औं दक्षिण एसियाली खेलकुदलगायत नेपालले सहभागिता जनाउने विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी भएर सुशीलले नेपालको झन्डा विश्वसामु फहराउने छन् भन्ने विश्वास लिएको छु। आजको दिन खेलकुद क्षेत्रले हासिल गरेको यो महत्वपूर्ण उपलब्धि पनि हो। आफ्नो सम्पूर्ण जीवन खेलकुदमा अर्पण गरेका खेलाडीलाई सरकारले पनि न्याय गरेको छ। यसका लागि सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। 

(अन्नपूर्णकर्मी विष्णु थापासँगको कुराकानीमा आधारित) 

प्रतिकृया दिनुहोस

Annapurna635x90_1