MENU

चुनौती बन्‍न सक्छ भारतीय अपराधी र हतियार

635x90_1

क्रान्ति शाह बिहीबार, भदौ २९, २०७४ 994 पटक पढिएको

Share This

Annapurna-635-pix-85pix_2

प्रदेश-२ को चुनाव

वीरगन्ज: पर्सामा भारतसँग सीमा जोडिएका ७३ मतदानस्थल सुरक्षाका दृष्टिले अति संवेदनशील देखिएका छन्। असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि पर्सामा एक सय ६७ मतदानस्थल तोकिएका छन्। तीमध्ये सुरक्षा दृष्टिले ७३ वटा अति संवेदनशील, ७९ संवेदनशील र बाँकी १५ सामान्य मतदानस्थलका रुपमा निर्धारण गरेको जिल्ला सुरक्षा समितिले जनाएको छ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलले भारतसँग सीमा जोडिएका स्थानमा तोकिएका सबै ७३ वटै मतदानस्थललाई अति संवेदनशील भनेर विश्लेषण गरिएको जानकारी दिए । पौडेलका अनुसार ठोरी, बेल्वा, चोर्नी, जगरनापुर, भेडिहारी, जानकीटोला, प्रसौनी, सोलखपुर, लम्हरिया, हरिहरपुरबिर्ता, कटीबलुवा, पिडारी गुठी, पर्शुरामपुर, सबैठवा, धोरेका साथै वीरगन्ज महानगरपालिकाका छपकैया, इनर्वा, नगवा, भेडियाही, लक्ष्मणवा, अलौं, सिर्सियालगायत स्थानका मतदानस्थल अति संवेदनशील छन्।

आसन्न निर्वाचनको सुरक्षा चुनौती र संवेदनशीतलतालाई आधार मानेर मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन समूहमा वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका निमित्त प्रजिअ पौडेलले बताए।

'खासगरी भारतीय सीमासँग जोडिएका स्थानका सबै मतदानस्थललाई अति संवेदनशील क्षेत्रका रूपमा विश्लेषण गरिएको छ', उनले भने, 'पारिबाट असामाजिक र गलत प्रवृत्तिका मान्छे निर्वाचनका बेला नेपालमा प्रवेश नगरोस् भन्ने उद्देश्यले ती मतदानस्थललाई अति संवेदनशील समूहमा राखिएको हो।'

महानगरपालिका क्षेत्रमा भने मदिराका पसल र होटल बढी भएका स्थानका मतदानस्थलहरूलाई अति संवेदनशील क्षेत्र मानिएको छ। 'आसन्न निर्वाचनमा सुरक्षाको सवालमा जिल्लाभित्र कुनै त्यस्तो चुनौती छैन', उनले भने, ‘सीमापारिबाट आपराधिक र असामाजिक प्रवृत्तिका मान्छेहरू प्रवेश गर्न सक्छन कि भन्ने मात्र चुनौती छ।'

भारतीय सुरक्षा अधिकारीले आसन्न निर्वाचनमा पूर्ण सहयोग गर्ने आश्वासन दिएकाले खासै त्यस्तो चुनौती नहुने विश्वास लिएको उनले सुनाए।

३८ सय सुरक्षाकर्मी परिचालन
आसन्न स्थानीय तह निर्वाचनमा पर्सामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार आठ सय सुरक्षाकर्मी परिचालन भएका छन्। असोज २ को निर्वाचनलाई लक्ष्य गरी नेपाल प्रहरी मात्र दुई हजार तीन सय ७५ जना परिचालन गरिने पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिए।

पर्सामा भारतसँग सीमा जोडिएका सबै मतदानस्थललाई अति संवेदनशील समूहमा वर्गीकरण गरिएको छ।

पर्सामा अहिले नौ सय ३८ जना मात्र प्रहरी कार्यरत रहेको उल्लेख गर्दै प्रहरी उपरीक्षक गिरीले अपुग एक हजार चार सय ३७ जना अन्य प्रदेशबाट झिकाएको बताए।सशस्त्र प्रहरीतर्फ एक हजार चार सय २८ जना जनशक्ति परिचालन गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक सुशील पराजुलीले जानकारी दिए। पर्सामा अहिले ६ सय ६३ सशस्त्र प्रहरी कार्यरत रहेकाले अपुग आठ सय ६५ जनशक्ति अन्य प्रदेशबाट झिकाएको पराजुलीले बताए।

लाइसेन्सप्राप्त हतियार पनि चुनौती
पर्सामा व्यक्तिगत प्रयोजनका इजाजतप्राप्त हतियार आसन्न निर्वाचनका लागि चुनौती बन्न सक्ने सम्भावना देखिएको छ। पर्सामा ६ सय आठवटा इजाजतप्राप्त हतियार व्यक्तिको प्रयोगमा रहे पनि बुधबारसम्म जिल्ला प्रहरी कार्यालयमा दुई सय १६ वटा मात्र हतियारधनीले बुझाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार इजाजतप्राप्त बन्दुक र पेस्तोल व्यक्तिगत प्रयोगमा रहेका हुन्।

स्थानीय प्रशासनले त्यस्ता हतियार बुझाउन फागुनदेखि चारपटक सार्वजनिक सूचना जारी गरेको थियो। बुधबारसम्म जिल्ला प्रहरीमा १२ बोरको दुईनाले बन्दुक एक सय १४ थान, १२ बोरको एकनाले बन्दुक ४६ थान, २२ टुटु राइफल १५ थान, हावादारी राइफल तीन थान, टुटु राइफल १५ थान, १२ बोरको बन्दुक २० थान, ३८ बोरको बन्दुक एक थान र माउजर एक थान सम्बन्धित व्यक्तिले बुझाएको पर्साका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार तीन सय ९२ हतियार अझै सम्बन्धित व्यक्तिले बुझाएका छैनन्।निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलले ती हतियार पनि आसन्न निर्वाचनमा चुनौतीको विषय बन्न सक्ने बताए।

प्रतिकृया दिनुहोस

Annapurna635x90_1