MENU

सुविधा कटौतीले अस्पतालको सेवा ठप्प

patan-college

सुवास योञ्जन बिहीबार, भदौ २९, २०७४ 655 पटक पढिएको

Share This

635-x-85

चरिकोट : सेवा-सुविधा कटौती गरेको भन्दै प्रस्तावित चरिकोट अस्पतालका कर्मचारी आन्दोलित भएका छन्। कर्मचारी विरोधमा उत्रिएपछि बुधबारदेखि एक्स-रे र प्रयोगशालाको काम अवरुद्ध भएको छ। दोलखा सदरमुकाम चरिकोटमा न्याय हेल्थले सरकारसँगको सम्झौतामा प्रस्तावित चरिकोट अस्पताल सञ्चालन गरिरहेको छ। अस्पतालको एक्स-रे र ल्याब (प्रयोगशाला) विभागमा कार्यरत कर्मचारी जोखिम भत्ताको माग गर्दै आन्दोलनमा उत्रिएको ल्याब टेक्निसियन सन्तोष पोखरेलको भनाइ छ। गत आर्थिक वर्षको अन्तिमसम्म प्रोत्साहन भत्ता पाएको उल्लेख गर्दै उनले नयाँ आवसँगै सेवा-सुविधा कटौती बताए।

 

अस्पताल व्यवस्थापनसँग पटक-पटक सेवा-सुविधाको विषयमा आवाज उठाउँदा पनि सम्बोधन नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको कर्मचारीको भनाइ छ। माग तत्काल सम्बोधन नभए कडा आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्। स्वास्थ्यकर्मीले जोखिम मोलेर एक्स-रे र प्रयोगशालामा रात-दिन खटिनुपर्ने कारण सरकारले प्रयोगशाला जोखिम भत्ता निर्देशिका २०७२ लागू गरी आधार तलबको २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको थियो। उक्त निर्णय न्याय हेल्थले पनि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो। सम्झौताअनुसार डेढ वर्षदेखि खाँदै आएको भत्ता कटौती गरेको विषयमा ध्यान दिन उनीहरूले सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

स्वास्थ्य प्रयोगशाला तथा रेडियोलोजी विभागमा कार्यरत कर्मचारीलाई रसायन तथा विकिरणबाट पर्ने अल्पकालीन र दीर्घकालीन असर/जोखिम न्यूनीकरणको उद्देश्यले सरकारले विशेष भत्ता दिने व्यवस्था गरेको थियो। प्रयोगशाला तथा रेडियोलोजी विभागमा कार्यरत कर्मचारीले विज्ञप्ति जारी गरी सेवा-सुविधा कटौती गरी कर्मचारीहरूमाथि श्रमशोषण गरेको बताएका छन्। प्रयोगशाला तथा रेडियोलोजीमा ६ कर्मचारी कार्यरत छन्। दैनिक ७० देखि ९० जनाको ल्याब टेस्ट र एक्स-रे हुने गरेकोमा बुधबारदेखि आकस्मिकबाहेक अन्य सेवा बन्द गरेपछि बिरामी मारमा परेका छन्।

न्याय हेल्थ दोलखाका भूषण प्रसाईंले कर्मचारीका मागको विषयमा छलफल भइरहेको उल्लेख गर्दै चाँडै समस्या समधान हुने बताए।

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2