MENU

मनले नाच्ने दृष्टिविहीन डान्सर सृष्टि

635x90_1

नितु घले शुक्रवार, भदौ ३०, २०७४ 1274 पटक पढिएको

Share This

635-X-85

‘कल्पना गरेर कोरियाग्राफ गर्छु । स्टेजको म्याप दिमागमा बस्छ अनि नाच्न थाल्छु’, १६ वर्षको उमेरमा दृष्टि गुमाएकी नृत्यांगना सृष्टि केसी भन्छिन्, ‘लडिन्छ भनेर नाच्नुभन्दा पहिले नै दर्शकलाई ताली बजाउन लगाउँछु ताकि उहाँहरू कतातिर बस्नुभएको छ थाहा होस् ।’ अन्य दृष्टिविहीनभन्दा भिन्न (रोलर भएको) सेतो छडी हातमा लिएर संसारका विभिन्न मुलुक पुगिसकेकी सृष्टि आँखा नदेख्नुलाई असक्षमता मान्दिनन् । उनले दृष्टि गुमाए पनि नृत्यलाई आधार बनाएर जिन्दगी अगाडि बढाइरहेकी छन् । भन्छिन्, ‘पहिला आँखाले हेरेर हिँड्थेँ, नाच्थे । अहिले मनले महसुस गरेर हिँड्छु र नाच्छु । जसरी पनि अगाडि बढ्नु हो ।’

 

सलक्क परेको जीउडाल, हँसिलो मुहारमा कालो चस्मा लगाउँदा उनी यति स्मार्ट लाग्छिन् त्यो उनको स्ट्रेन्थ हो । आफूजस्तै अन्य दृष्टिविहीनलाई सकारात्मक विचार भर्दै कसरी प्रभावकारी रूपमा अगाडि बढ्ने भन्ने सूत्र सिकाउँदै आएकी छन् उनी । भर्खर २५औं वसन्तमा हिँड्दै गरेकी उनी सानैदेखि नृत्यकी सोखिन थिइन् । दृष्टि गुमेपछि पनि उनले आफ्नो सोखलाई निरन्तरता दिएकी छन् । यही विषयमा अध्ययन गरेकी छन् । गत जुनमा ‘डान्स एन्थ्रोपोलोजीमा’ स्नातकोत्तर पूरा गरी नेपाल फर्केकी हुन् । खुल्ला प्रतिस्पर्धाबाट नर्वे, फ्रान्स, हंगेरी र यूकेमा ‘इरास्मुस इन्डुस छात्रवृत्ति’ प्राप्त गरी उनले यो कोर्स पूरा गरेकी हुन् । ‘प्रत्येक सेमेस्टर फरकफरक मुलुकमा गर्नुपथ्र्यो’, सृष्टिले भनिन् ।

अध्ययनमा प्रखर सृष्टिले प्रमाणपत्र तहमा कन्या क्याम्पसबाट त्रिभुवन विश्वविद्यालय टप गरेकी थिइन् भने स्नातक तहमा पनि ‘नेपाली साहित्य’मा पुनः त्रिवि टप गर्न सफल भइन् । दृष्टिविहीनलाई कमजोर, असक्षम र अपांगता भएको भन्न नमिल्ने उनको तर्क छ र यसलाई पुष्टि पनि गरेकी छन् । ‘हाम्रा सबल पक्षलाई हेरिँदैन । हरेक व्यक्तिमा केही गर्ने क्षमता हुन्छ । उसको सबल पक्ष हेरेर त्यसमा राम्रो गर्न प्रोत्साहित गर्नुपर्छ’, सृष्टिले भनिन्, ‘अपांगता भएकालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ ।’

यो सोचमा परिवर्तन ल्याउनकै लागि सन् २०१२ मा उनले ‘ब्लाइन्ड रक्स’ नामक संस्था स्थापना गरेकी छन् । ‘हामी देख्न सक्दैनौं तर अरू कुरामा सक्षम छौं । क्षमता भएर पनि समाजले जबर्जस्ती अपांग बनाउँछ’, उनी गुनासो गर्छिन् । नेपालमा पहिलो पटक हुन लागेको दृष्टिविहीनहरूको राष्ट्रव्यापी क्विज प्रतियोगितामा उनी कोहोस्टको रूपमा रहनेछिन् । ‘लिभ एन्ड लिड’ र ‘ब्लाइन्ड रक्स’ को सहकार्यमा हुन लागेको यो कार्यक्रमले दृष्टिविहीनप्रतिको धारणा र सोच परिवर्तन हुने विश्वास गरिएको छ ।

सृष्टिले कक्षा आठमा अध्ययन गर्दैगर्दा आँखाको दृष्टि गुमाउनु परेको थियो । आँखामा एलर्जी भएपछि डाक्टरलाई जचाउन जाँदा एउटा औषधि दिएको थियो । उक्त औषधि प्रयोग गरिनँ तर राम्रो मोनिटर नहुँदा उनलाई जलबिन्दु हुन पुग्यो । अनि आँखाको ज्योति गुम्यो । जीवनमा यति ठूलो नोक्सानी बेहोर्नु परे पनि उनी डाक्टर र हस्पिटललाई दोष दिन चाहन्नन् । बरु विकल्प सोच्दै अगाडि बढिरहिन् । उनलाई विश्वास थियो दृष्टि पक्कै फर्किन्छ । तर उनको विश्वास साकार भएन ।

जिन्दगीदेखि कहिल्यै हार नखाएकी सृष्टि आँखाले देख्दासम्म एउटा शैली र तरिकाले काम गर्थिन् । दृष्टि गुमेपछि अर्कै शैली र तरिकाले काम गर्न थालेकी छन् । ‘चराले आफ्नो गुँड बनाउँदा कहिल्यै भर्‍याङ हाल्दैन, उडेर बनाउँछ । निरन्तर प्रयास गर्छ अन्तिममा गुँड बनाएरै छाड्छ । हामी पनि त्यस्तै हौ’, उनले उदाहरण दिइन् ।

आफूमात्रै नृत्य गर्दिनन् जानेको कुरा अरूलाई पनि सिकाउँछिन । अरूलाई नृत्य सिकाउँदा विभिन्न ‘टुल’ प्रयोग गर्छिन् । शरीरमा स्पर्श गरेर, आवाज निकालेर, वर्णन गरेर उनी नृत्य सिकाउँछिन् । सृष्टिले विभिन्न विद्यालयमा रहेका दृष्टिविहीन बालबालिकालाई पनि नृत्य सिकाउँदै आएकी छन् । दृष्टिविहीनलाई सशक्त बनाउने लक्ष्यका साथ अगाडि बढेकी उनी कसैका लागि दयाको पात्र होइन समाजमा एउटा उदाहरण बनेर उभिने उनको लक्ष्य छ । दृष्टि गुमाएकाहरूले पनि पछुतो गर्नुभन्दा विकल्प खोजेर अगाडि बढ्न उनको सुझाव छ ।

प्रतिभावान् सृष्टि रुसमा हुन लागेको ‘वल्र्ड कंग्रेस फर द पर्सनन्स अफ डिसएबिलिटी’मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छन् । सो अवसरमा उनले अमेरिका एवं युरोपका विभिन्न विभिन्न मुलुकका दृष्टिविहीनलाई प्रशिक्षण पनि दिने छिन् । दृष्टिविहीनका मुद्दालाई मूलधारमा कसरी ल्याउन सकिन्छ भन्ने बारेमा छलफल एवं उनको मन्तव्य पनि रहने सृष्टिले जानकारी दिएकी छन् ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा उच्च छवि बनाउँदै अगाडि बढिरहेकी सृष्टिको वास्तविक जीवनमा आधारित चलचित्र पनि निर्माण भएको छ । मिलन चाम्सको निर्देशन रहेको यस चलचित्रलाई ‘ब्लाइन्ड रक्स’ नाम दिइएको छ । चलचित्रमा सृष्टिको भूमिका नायिका बेनिशा हमालले निर्वाह गरेकी छन् ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2