MENU

'दुर्इ पुस्ताले दुख गर्‍यो, हामी व्यापारमा स्थापित हुँदैछौं'

635x90_1

आशा थपलिया बिहीबार, असोज १२, २०७४ 4094 पटक पढिएको

Share This

635-X-85

मुम्बई: गाउँघरमा एक जना बृद्ध थिए। भारतबाट नेपाल जाँदा उ हेर हुर्रे आए.. हुर्रे भन्थे। हुर्रे भनेको लाहुरे रैछ। पुख्यौली घर गुल्मीबाट बुटबल बसाइ सर्दै हाल मुम्बइमा होटल व्यवसायमा जमेका मोहन शर्माले अनुभव साझा गरे। भारतमा उद्योग व्यवसायको क्षेत्रमा जति नै प्रगति गरेको भएपनि नेपालमा अझै पनि हुर्रै मै गनिएको दुखेसो रैछ उनको। त्यसको कारण उनले ठम्याइसकेका रैछन, भारतमा नेपाली व्यवसायीहरुको संगठित समाज नहुनु, मुम्बइको बरौलीमा होटल व्यवसाय गर्दै आएका मोहन शर्माले प्रस्टयाए।


उहिल्यै बाजेका पालामा मुग्लाँन पसेका नेपालीहरु दैनिक जीवनयापनकालागि मजदुरी नै गर्थे। भारतमा नेपालीहरुको पहिलो परिचय गोर्खा सैनिकको रुपमा थियो। अर्को, होटलमा काम गर्ने कामदार, पाले, अनि मजदुरको रुपमा। नेपालीहरुको छवि अहिले बदलिएको उनीहरुले बुझेका छन्। व्यवसायिक प्रगति र भारतमा स्थापित नेपालीहरुको हैसियत उजागर भने नभएको सत्यलाइ नकार्न सक्दैनन्। अमेरिका, बेलायत,जापान,अष्ट्रेलिया लगायतका मुलुकमा बसोबास गरिरहेका गैरआवाशीय नेपाली तथा भारतमा उद्योग व्यवसायमा जमेका नेपाली व्यवसायीहरुलार्इ नेपाल सरकारले हेर्ने दृष्टिकोणको भिन्नता उनीहरुलाइ बिझ्न थालेको छ।

'अर्काको मुलुकमा नेपालीहरु निकै मेहनती छौं, इमान्दार छौं। विभिन्न राजनीतिक स्वार्थका लागि संगठित भएपनि आर्थिक प्रगतिका लागि हामी संगठित हुन सकेका छैनौं। व्यसवसाय गर्छु भन्ने नेपालीहरुलाइ वित्तिय सहयोग गर्न नेपालीहरु नै तयार छैनन्। प्रगति गर्छ कि भन्ने असुरक्षित भावनाले ग्रस्त छौ। यो भयलाइ तोडेर बाहिर आउनु पर्छ। गुजराती र मारवाडीहरुले आफ्नो समुदायलाइ गरेको सहयोगबाट पाठ सिक्नु पर्छ। भारतीयहरुले विदेशमा गएर पंचम लहराएका छन्, नेपालीहरु पनि उत्तिकै सक्षम छन्', एस.आर.सर्भिसेजका स्याञ्जा मालुंगाका शंकर जोशी भन्छन्।

पाँच दशकदेखि मुम्बर्इमा बसोबास गर्दै आएका बस्यालले बुटबलमा शंकर टावर बनाएर मार्वल र टायल्सको व्यवसाय बिस्तार गरेका छन्। भारतमा ख्यातिप्राप्त डोमिनोज पिज्जाको टपिंगमा प्रयोग गरिने भेजिटेबलका एक सप्लायर उनी पनि हुन्।

तीन दशक अघि भारत आउँदा होटलमा काम गरें तर मेहनत गरेर आज होटलको मालिक भएको छु, शर्माले अनुभव विगत सुनाए। पुनादेखि मुम्बर्इसम्म बियर बार संचालन गदैं आएका उनी अहिले आठ दशवटा बियर बारका संचालक हुन्। ९९ प्रतिशत साउथ इन्डियन हावी रहेको यो व्यवसायमा नेपालीले हात हाल्दा निकै कठिनाइ भएको थियो। गोर्खालीले पनि यो व्यवसायमा हात हाल्ने भनेर भारतीयहरुको हेपाहा शब्द अनि धम्की उनले अझै बिर्सेका छैनन्।

भारतमा उद्योग व्यवसाय गरिरहेका नेपालीहरु संगठित हुने क्रममा छन्। विगतमा आफनो परिचयलाइ लुकाएर व्यापार व्यवसायमा संलग्न नेपालीहरु अहिले नेपाली कै परिचयबाट संगठित हुन थालेका छन्। नेपाली उद्योगी व्यवासायीहरुको छाता संगठन एभरेष्ट चेम्बर अफ कमर्शले यो अभियानलाइ द्रुत गतिमा अघि बढाइरहेको छ। भारतमा स-साना काम गरेर जीवीकोपार्जन गर्दै आएका तीन पुस्ता छन्। हजुरबुबा पुस्ताले मेहनत मजदुरी गरे। दोश्रो पुस्ताले व्यापार व्यवसाय सुरु गरे अनि तेश्रो पुस्ता त्यसको निरन्तरतामा संलग्न छन्। दोश्रो र तेश्रो पुस्ता भारतमै स्थापित भइसकेका छन्।

१६ वर्षअघि भारतको मुम्बइ-हैदराबाद पुगेका कपिलबस्तुका सुनिल बरालले हाल मुम्बइमा लजिष्टिक तथा कार्गो व्यवसाय संचालन गरिरहेका छन्। रेमण्ड, रेडबुल, बाटा,मेट्रो सुज,स्केचर जस्ता ब्राण्ड उनका क्लाइन्ट छन्। बर्षको ८ करोडको टर्नओवर छ उनको। ‘मुम्बइमा स-सानादेखि ठूला-ठूला नेपाली उद्योगपतिहरु छन्, हामीले उनीहरुलार्इ संगठित गर्ने प्रयास गर्दैछौं, बराल भने।

भारतका पूर्व प्रधानमन्त्री मुरारजी देसाईको घरमा तीस वर्षअघि काम गर्न पुगेका रामजी भण्डारी अहिले गोल्ड र डायमण्डको व्यवासाय गर्छन्। धादिंगबाट बनारस हुँदै मुम्बइ बसाइ सरेका प्रकाश हमाल गत पन्ध्र वर्षदेखि रियल स्टेटको व्यवसायमा संलग्न छन। धादिंग पुर्ख्यौली घर भएका उनी बनारस हिन्दू विश्वविद्यालयबाट स्नातक गरेका उनी तेश्रो पुस्ताका नेपाली हुन्। टेक प्रसाद पराजुली, मीरारोडमा बसोबास, पाल्पा जिल्ला जम्घा गाविसका पराजुली तीस वर्षदेखि मुम्बइमा बसिरहेका छन् वेलकोड टेक्सटाइलमा मार्केटिंग म्यानेजरको रुपमा कार्यरत छन्।

एम के बोहरा इन्टरप्राइजेज संचालन गरेका मीन बहादुर बोहरा, होटल इण्डस्ट्रीमा म्यानपावर सप्लायर्सको काम गर्छन। संखुवासभाका संतोष निरौला वेयरहाउसिंगको काम गर्छन्। ५० हजार स्कायर फिटको जग्गामा उनको वेयर हाउस छ। विभिन्न क्षेत्रमा काम गरेका यी व्यवसायीहरुले नेपालीहरुका साथै भारतीयहरुलाइ पनि रोजगारी दिइरहेका छन्।

'कमाइ खाने जोहो गर्न नै धेरै जसो नेपालीहरु भारत छिरेका हुन्। सीमानाका नजिक पर्ने भारतका विभिन्न शहरहरुमा भाँडा माझ्नै आएका हौं। पछिल्लो दुइ पुस्ताले स-साना काम गरेरै परिवार धानेका थियौं। तर अहिले नेपालीहरुले निकै प्रगति गरेका छौं। तीस वर्षअघि नेपाली भनेर चिनाउन गाह्रो थियो। गोर्खालीले बनाइदिएको पृष्ठभूमीमा टेकेर काम गर्न सजिलो त थियो। तर व्यवसायिक छवि बनाउन गाह्रो थियो, संघर्षरत समयमा न त कसैले नेपालीहरुबारे जानकारी राख्यो न त आफनो परिचय खोल्ने प्रयास गर्यौं', भारत आउने नेपालीहरुको तीतो र साझा अनुभव व्यवसायीहरुले साझा गरे।

‘हिजो प्रवासी भारतीय थियौं। व्यापार,नोकरी, सरकारी नोकरीबाट रिटायर्ड हुन्थ्यौं, फर्केर जान्थ्यौं। आज त्यो अवस्था छैन्। रोजगारीका लागि तेश्रो मुलुक खुला भएपछि भारत भन्दा त्यता तर्फ नेपालीहरुको आकर्षण बढेको छ। पढेलेखेका नेपाली युवाहरु अमेरिका, बेलायत, अष्ट्रेलिया अनि मजदुरी गर्ने वर्गका नेपालीहरु खाडी मुलुक तर्फ हानिएका छ्न, व्यापार व्यवसायमा जमिसकेका नेपालीहरु धेरै संख्यामा भारतमा छौं', बरालले भने।

'भारतमा दोश्रो पुस्ता व्यवसायमा जमिसकेका छन् भने तेश्रो पुस्ता उच्च शिक्षा अध्ययन गरेर कपोरेट लेभलमा परिणत हुन सक्ने क्षमताका छन्। यो पुस्ताले नेपालमा फर्केर भारतमा जस्तो अवसर प्राप्त गर्न सक्दैनन्, त्यसैले भारतमै बस्नु आवश्यक्ता हो', कार्गो तथा लजिष्टिक व्यवसायलाइ झण्डै आठ दश राज्यमा बिस्तार गरिसकेका बरालले तीस वर्षको अनुभव सुनाए। 'अब हामी कर्पोरेट लेभलमा जानुपर्छ', उनले थपे।

महाराष्ट्रमा नर्थ इस्ट (मणिपुर, आसाम, मेघालय, अरुणान्चल प्रदेश, मिजोरम, नागालैंड)का नेपाली भाषीलार्इ हेप्ने हुँदा सुरुवातका दिनमा नेपालीले पनि बाध्यतावश परिचय लुकाएर जीविकोपार्जन गर्नुपरेको भएपनि हाल त्यस्तो अवस्था नरहेको अनुभव व्यवसायीहरु बताउँछन्।

भारतमा नेपाली उद्योगी व्यवसायीहरु संगठित भएर अघि बढ्ने क्रममा सन् २००८ मा एभरेष्ट चेम्बर अफ कमर्शको स्थापना भएको हो। पछिल्लो केहि वर्ष सुस्त गतिमा अघि बढेको चेम्बर एक वर्षअघि बरालको नयाँ नेतृत्वसँगै आर्थिक गतिविधिमा सक्रिय भएको छ। चेम्बरमा अहिले ४ सय बढि सदस्य आबद्ध भएका छन्।

२८ राज्यमा संगठन बिस्तार गर्ने क्रममा भोपाल र कलकत्ता, पूना तथा महाराष्ट्रमा शाखा विस्तार गरेको छ। अन्य राज्यहरुमा विस्तारको क्रममा रहेको छ। नेपालीहरुले २८ वटा विविध क्षेत्रमा उद्योग व्यवसाय गरिरहेको चेम्बरमा रेकर्ड छ। भारतमा क्षमता भएका नेपाली व्यवसायीहरु आफैले अघि बढनुपर्ने कुरामा एकमत भएका व्यवासायीहरुले गैर आवासिय नेपालीहरु सरह सुविधा पाउन सके नेपालमा लगानी समेत लैजान सक्ने विश्वास राख्छन्।

(दुर्इ साता अघि मुम्बइ यात्राको क्रममा अँधेरी इस्टस्थित होटल कन्कर्डमा भेला भएका २५ नेपाली उद्योगी व्यवासायीहरुले सुनाएको अनुभवका आधारमा तयार पारिएको फिचर स्टोरी)

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2