MENU

तुर्कमिनिस्तानको सान

635x90_1

गोविन्द रेग्मी शनिवार, असोज २१, २०७४ 1383 पटक पढिएको

Share This

635-X-85

खेल

तुर्कमिनिस्तानको राजधानी अस्गबादको ओलम्पिक भिलेज बनेको स्थान आठ वर्ष अघिसम्म उजाड मरुभूमि थियो । कहिल्यै अन्तर्राष्ट्रिय स्तरको ठूला प्रतियोगिता आयोजना नगरेको तुर्कमिनिस्तान यही मरुभूमिमा ठूलो खेलकुद प्रतियोगिता आयोजना गरेर आफ्नो देशको छवि माथि लैजान चाहन्थ्यो । संसारलाई देखाउन चाहन्थ्यो आफ्नो उचाइ ।

तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दिमुहामेदो आफ्नो देशमा खेलकुदको ठूलो प्रतियोगिता गरेर छिमेकी देशमा प्रभाव छाड्न चाहन्थे । राष्ट्रपति गुर्वानगुलीको एक दशक अघिको त्यो सपना अहिले पूरा भएको छ ।

सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएको तुर्कमिनिस्तान आफैंमा युवा देश हो । युवा देश तुर्कमिनिस्तानले अस्गबातमा नौ वर्ष लगाएर महत्वाकांक्षी खेलस्थल मात्र बनाएन, पहिलोपटक एसियाका ४५ देश, ओसियाना क्षेत्रमा १९ देश र एउटा शरणार्थी टोलीलाई समावेश गरेर पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्स भव्य रूपमा सम्पन्न पनि गर्योम । सहभागी देशले विभिन्न २१ खेलमा कुल तीन सय ४७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

सोभियत संघबाट स्वतन्त्र भएको तुर्कमिनिस्तानका ६० लाख जनता राष्ट्रपति गुर्वानगुलीप्रति निकै बफादार छन् । तुर्कमिनिस्तानमा परराष्ट्रसम्बन्धी अध्ययन गरिरहेका २५ वर्षीय फरहात राष्ट्रपतिको लगाव र जनताको परि श्रमले यस खेलकुद भव्य भएको ठान्छन् । संयोगवश फरहात र तुर्कमिनिस्तान दुवै युवा अवस्थामा छन् ।

 

‘छोटो समयमा हामीले जति उपलब्धि हासिल गरेका छौं, त्यो उल्लेख्य छ । सोभियत संघबाट स्वतन्त्र हुँदा हामीसँग केही थिएन । अहिले हामीसँग खेलकुदमा विश्वकै उत्कृष्ट पूर्वाधार तयार भएका छन् । हामीले अझ धेरै काम गर्न बाँकी छ’, फरहात भन्छन् ।

तुर्कमिनिस्तानको राष्ट्रिय टेलिभिजनमा कार्यरत फातुरोभ पुलाका बाहिरी मुलुकबाट हेर्दा कडा शासन देखिए पनि यहाँका जनतालाई कुनै मतलब नभएको बताउँछिन् । ‘स्वतन्त्र भएदेखि नै तुर्कमिनिस्तानमा एकतन्त्री शासन छ तर गुर्वानगुलीप्रति यहाँका जनतामा ठूलो आस्था र भरोसा छ’, फातुरोभ भन्छिन्।

तुर्कमिनिस्तानले यस प्रतियोगिता आयोजनाका लागि सन् २००९ देखि भौतिक संरचना निर्माण सुरु गरेको थियो । सन् २०१० मा अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए)बाट आयोजनाको अधिकार पाएपछि तुर्कमिनिस्तानले खेलकुदको भौतिक संरचना झनै लोभलाग्दो बनाएको हो । टर्किस निर्माण कम्पनीले निर्माण गरेको अस्गबाद ओलम्पिक भिलेज अहिले एसिया महादेशकै उत्कृष्ट खेलस्थल बनेको छ ।ह्वाइट मार्बलको सहर अस्गबादको छेउमा २० वर्ग किलोमिटर श्रेत्रफलमा फैलिएको ओलम्पिक भिलेजमा ६६ वटा अत्याधुनिक कभर्ड हल र खेलकुदका सुविधासम्पन्न संरचना तयार छन् ।

तुर्कमिनिस्तानका राष्ट्रपति गुर्वानगुली बेर्दीमुहामेदो आफ्नो देशमा खेलकुदको ठूलो प्रतियोगिता गरेर छिमेकी देशमा प्रभाव छाड्न चाहन्थे । राष्ट्रपति गुर्वानगुलीको एक दशक अघिको त्यो सपना अहिले पूरा भएको छ ।

मुख्य स्टेडियम ४५ हजार दर्शक क्षमताको छ । बहुउद्देश्यीय कभर्ड हल, मेडिकल सेन्टर, पौडी पोखरी, जिम्न्याजियम, इन्डोर एथलेटिक्स ट्र्याक एन्ड फिल्ड, रंगशाला, घोडचढी कम्प्लेक्स लगायतका संरचनाले प्रतियोगितामा सहभागी सबैलाई चकित तुल्यायो । ओलम्पिक भिलेजलाई फेरो मार्न मनोरेलको समेत व्यवस्था छ ।

यसका साथै भिलेजभित्र तारे होटल, मिडिया भिलेज, खेलाडी, अफिसियल र पदाधिकारीको बसोबासका लागि छुट्टाछुट्टै गगनचुम्बी भवन खडा छन् । तुर्कमिनिस्तानले ओलम्पिक भिलेज निर्माणका लागि मात्र पाँच देखि ६ अर्ब अमेरिकी डलर खर्च गरेको थियो ।

पाँचवटा क्षेत्र, २४ जात एवं कला र संस्कृतिले भरिपूर्ण तुर्कमिनिस्तानको आम्दानीको मुख्य स्रोत तेल, प्राकृतिक ग्यास, कटन र मार्बल निर्यात हो । आर्थिक हिसाबले सबल तुर्कमिनिस्तानले अब एसियन र ओलम्पिकजस्ता ठूला प्रतियोगिता आयोजना गर्न तयार रहेको आभास दिइरहेको छ । 
प्रतियोगिताको सफल आयोजक तुर्कमिनिस्तान पदकको हिसाबले पनि माथि रह्यो । पदक तालिकामा शीर्ष स्थानमा रहेको तुर्कमिनिस्तानले ८९ स्वर्ण जित्यो । दोस्रो स्थानमा रहेको चीनले ४२ स्वर्ण र तेस्रो स्थानमा आसीन इरानले ३६ स्वर्णमा चित्त बुझायो ।

सहभागितामै रम्यो नेपाल

तुर्कमिनिस्तानको राजधानी अस्गबादमा गत साता सम्पन्न पाँचौं एसियन इन्डोर तथा मार्सल आर्टस् गेम्समा नेपालबाट आठ खेलमा १८ खेलाडीले भाग लिएका थिए । नेपालका लागि यो प्रतियोगिता सहभागितामै सिमित रह्यो । नेपाल पदकविहीन बन्दै घर फर्कियो ।

नेपालले तेक्वान्दो, बुद्धिचाल, पौडी, भारोत्तोलन, पुरुष थ्री बाई थ्री बास्केटबल, मुवाथाई, किक बक्सिङ र कुराँस खेलमा भाग लिएको थियो । तेक्वान्दोबाट नीमा गुरुङ र वीरबहादुर महरा, बुद्धिचालमा मोनालिसा खम्बु र मदनकृष्ण कायस्थ, पौडीमा शिरीष गुरुङ र निहारिका तुलाधर, मुवा थाईमा नवराज गुरुङ, भारोत्तोलनमा कमला श्रेष्ठ र प्रकाश केसी र कुराँसबाट अस्मिता छन्त्याल, दीपक छन्त्याल र जयन्ती श्रेष्ठ सहभागी थिए । बास्केटबलमा असीम श्रेष्ठ, विक्रम जोशी, विजय बुर्जा र सौरभ श्रेष्ठ तथा किक बक्सिङमा दिवस श्रेष्ठ र निकेश श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।

नेपालले पदकको आशा गरेको खेलमध्ये तेक्वान्दो, बुद्धिचाल, कुराँस र मुआथाईमा समेत राम्रो गर्न सकेन । प्रतियोगितामा नेपालका पहिलो प्रतिस्पर्धी खेलाडीका रूपमा रहेका मुआथाई खेलाडी नवराज गुरुङ त रिङमै उत्रेनन् । ६७ केजी तौल समूहमा प्रतिस्पर्धाका नवराज रिङमा नआएपछि मकाउका लेइका लोनले वाक ओभर पाएका थिए । रेफ्रीले दुई पटकसम्म भिडन्तका लागि नवराजलाई रिङमा बोलाए । तर, नवराज नआएपछि लोनलाई वाक ओभर दिइएको घोषणा गरियो । रेफ्रीले रिङमा बोलाउँदा नवराज भने खेलस्थल पछाडिको हलमा अभ्यास गरिरहेका थिए ।

यस्तै तेक्वान्दो खेलमा सहभागी दुवै खेलाडीले पराजय भोगे । महिला ५३ केजी तौल समूहमा सहभागी नीमा गुरुङ र पुरुष ६३ केजी तौल समूहका प्रतिस्पर्धी वीरबहादुर महरा पहिलो चरणबाटै बाहिरिएका थिए । नीमा इरानकी नाहिद कियानिचानडेहसँग २२-२ ले हार खेप्दै अन्तिम १६ बाट बाहिरिएकी थिइन् । अर्का बलिया प्रतिस्पर्धीका रूपमा हेरिएका वीरबहादुरले केही राम्रो प्रदर्शन गरे।

ताजिकिस्तानका डाब्लाटमुरोड कारिमोभसँग भिडेका वीरबहादुर पहिलो बाउटमा ८-० अंकले पछि परेका थिए । तर, दोस्रो बाउटमा उनले पुनरागमन गर्दै विपक्षीलाई कडा चुनौती दिए । दोस्रो बाउटमा वीरबहादुर ६-१ अंकले अगाडि रहँदै समग्रमा ९-६ बनाए । तर, तेस्रो तथा अन्तिम बाउटमा ६-६ अंकको बराबरी खेले पनि वीरबहादुरले डाब्लाटमुरोडलाई १५-१२ को नतिजा सुम्पन बाध्य भए । पहिलो बाउटमा कमजोर खेल्दा उनको अघिल्लो चरणको यात्रा रोकिएको थियो ।
भारोत्तोलनमा खेलमा सहभागी दुवै खेलाडीको प्रदर्शन समान्य रह्यो । पुरुष ६९ केजी तौल समूहमा प्रकास केसीले स्न्याचतर्फ एक सय र क्लिन एन्ड जर्कमा एक सय २५ केजी गरी कुल दुई सय २५ केजी भार उचालेर पहिलो चरणबाटै बाहिरिए ।

महिला ५८ केजी तौल समूहमा सहभागी कमला श्रेष्ठ पनि समूह चरणबाटै बाहिरिइन् । स्न्याचतर्फ ६८ र क्लिन एन्ड जर्कमा ८० केजी गरी कुल एक सय ४८ केजी भार उचालेकी थिइन् । उनले स्न्याचतर्फ भने नयाँ कीर्तिमान बनाएकी हुन् । यसअघि यस स्पर्धामा कमलाकै नाममा ६७ केजीको कीर्तिमान थियो ।

कुराँस खेलमा सहभागी दीपक छन्त्यालले त झनै अनौठो दृश्य देखाए । पुरुषको ९० केजी तौल समूहमा सहभागिता जनाउन कुराँसको खेलस्थलमा पुगेका दीपक खेल्ने समयमा शौचालय गएका थिए । तर, शौचालयबाट फर्कंदा उनको खेल्ने समय सकिइसकेको थियो । खेलको समयमा रेफ्रीले रिङमा दीपकलाई बेलाउँदा आएनन् । त्यसपछि रेफ्रीले लेबनानका पिरे बाउट एब्बाउडलाई विजयी भएको घोषणा गरेका थिए ।

बुद्धिचाल खेलमा पनि नेपालका चर्चित दुई खेलाडीले सामान्य प्रदर्शन गरे । सातौं चरणसम्म खेलिएको खेलमा नेपालका मदनकृष्ण कायस्थ र मोनालिसा खम्बूले पहिलो चरणमै विपक्षीलाई वाकओभर दिनु परेको थियो । खेल सुरु हुनुभन्दा ४० मिनेटपछि खेलस्थल पुगेपछि उनहरूले विपक्षी खेलाडीलाई वाकओभर दिनु परेको हो । बिहान ९:०० खेलमा पुग्नुपर्नेमा कायस्थ र खम्बू ९:४० मा खेलस्थल पुगेका थिए ।

यसैगरी नेपाली बास्केटबल टोलीले पनि समूह चरणका सबै खेलमा हार खेप्यो । नेपाल उज्वेकिस्तानसँग १८-१६ अंक, किर्गिस्तानसँग १९-१५ अंकले पराजित भयो । लगातार दुई हारपछि अघिल्लो चरणको यात्रा गुमाएको नेपालले मंगोलियासँग प्रतिष्ठाका लागि खेलेको खेलमा समेत हार बेहोर्योव । पौडी र किक बक्सिङमा पनि नेपाली खेलाडी जम्न सकेनन् । 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2