MENU

शब्द श्रद्धा मुनाल दाइ !

635x90_1

अनन्त वाग्ले शनिवार, असोज २१, २०७४ 830 पटक पढिएको

Share This

635-X-85

अबिच्युअरी

 

पुस्तक, पत्रिका र टीभी पहुँचबाहिरका विषय थिए । अनलाइन र इन्टरनेट त शब्दै सुनिएका थिएनन् । फाट्टफुट्ट उपलब्ध हुने किताबपछिको एकमात्र विकल्प थियो रेडियो । रेडियो अर्थात् रेडियो नेपाल । त्यतिबेला अहिलेजस्तो छ्यासछ्यास्ती एफएम थिएनन् । रेडियो नेपाल नै एकमात्र मनोरञ्जन ग्रहणको माध्यम थियो । ज्ञान र सूचनाको स्रोत । जिज्ञासा र कौतुहल मेट्ने साधन । घरमा सबैजना सुतेपछि सिरानीमा बज्ने साथी । बारीमा काम गर्दागर्दै डिलमा गुञ्जने अन्तरंग मित्र ।

Ananta-Wagle-copyफुर्सदमा रेडियोका सबै कार्यक्रम लगातार सुन्नु धेरैको निर्विकल्प माध्यम थियो, जस्तो कि मेरो । बिहान ६ बजे सुरु हुने धार्मिक कार्यक्रमदेखि राति ११ बजे बज्ने ‘ श्रीमान् गम्भीर नेपाली...’ (तत्कालीन राष्ट्रिय गान) अघिका पुराना गीत वा अनुरोध संगीतसम्म पनि नबिराई सुनिन्थ्यो । कृषि कर्मबाट थकित भई घर फर्कंदा होस् या रत्तेली उत्सवहरूमा केही लोकगीत खुबै बज्थे । गाइन्थे । सुनिन्थे । स्वर मिलाइन्थे टुक्रे उस्तादका रूपमा । यिनैमध्येका यी दुई गीत पनि निकै लोकप्रिय थिए :

तिम्रो घर चाँचरी तिँ पर होइन र !
तिम्लाई हाम्ले चाँचरी चिनेको छैन र !
बाबरी फूलको बोट
आयो ढल्काउँदै झमझम इस्टकोट..

हे.. ..उकालीमा पनि हजुर मोटर जाँदो रैछ
ड्राइभर दाइलाई सासना माया सरर जाऊँ हिँड रेलैमा..
यी दुवै गीतमा वासुदेव मुनाल र पाण्डव सुनुवारको स्वर थियो । दुवै रेडियो नेपालका हस्ती । हस्ती प्रस्तोता । वासुदेव मुनाल ‘बाल कार्यक्रम’का आइकन थिए भने सुनुवार ‘फोन इन’लगायत अन्य कार्यक्रमका । एक आपसमा ‘वासे’ र ‘अनुहार न दनुवार’ भनी ठट्टा र प्रेम गर्ने यी दुवै अब हामीमाझ रहेनन् । सुनुवार केही वर्षअघि नै बिदा भइसकेका थिए भने मुनाल गत दसैंको अष्टमीको साँझलाई अँधेरो बनाइगए । हाम्रो मन अमिलो बनाई अलबिदा भए । अनि दिनको घामले ओइलिए पनि साँझको शीतलमा ब्युँतने बाबरी सधैंका लागि मुर्झाइगयो ।

अलि दिनअघि बाल विकास समाजका पूर्वअध्यक्ष शरद शर्माले मुनाल दाइको स्वास्थ्य नाजुक भएकाले मिडियाहरूमार्फत् ध्यानाकर्षण गराउन भन्नु भएथ्यो । उपचारका लागि तत्काल दिल्ली जाँदै हुनुहुन्छ भनेर पनि उहाँले भन्नुभएको थियो । दिल्लीमा उपचार हुँदै होला र ठीक होला भन्ने हाम्रो आशा रह्यो । यता सुटुक्कै मुनाल दाइ भक्तपुर अस्पतालबाटै बिदा हुनुभएछ । हाम्रै नजिकबाट । हामीलाई सम्झनाको अझै अर्को कुरी-कुरी थमाइदिएर ।

बाँसुरीको मीठो पार्श्व धुनपछि बालबालिका समूहको ‘जय नेपाल’ कोरससँगै गुञ्जन्थे मुनाल दाइ- ‘आओ । मेरा प्यारा प्यारा भाइबैनी हो ! रेडियो नजिकै आओ । अब हाम्रो आजको बाल कार्यक्रम सुरु हुन्छ ।’

मुनाल दाइलाई स-शरीर नभेट्दै उनको सुरिलो आवाज मेरो आफन्त बनिसकेको थियो । हरेक साँझ बज्ने बाल कार्यक्रमका पर्याय थिए मुनाल दाइ । बाँसुरीको मीठो पाश्र्व धुनपछि बालबालिका समूहको ‘जय नेपाल’ कोरससँगै गुञ्जन्थे मुनाल दाइ- ‘आओ । मेरा प्यारा प्यारा भाइबैनी हो ! रेडियो नजिकै आओ । अब हाम्रो आजको बालकार्यक्रम सुरु हुन्छ ।’ बालबालिकाका रचनाका साथै कथा, कविता, जीवनी, नाटक आदि बालहितकारी सामग्री प्रसारण हुने यस कार्यक्रम सम्पूर्ण नेपाली बालबालिकाको ढुकढुकी बनेको थियो । सोही कार्यक्रमबाट नै नुपूर भट्टाचार्य, गोपिनी पाण्डे, प्रभात विजयानन्दजस्ता बालबालिकाका प्रिय नामहरू पनि पहिलोपल्ट मैले सुनेको थिएँ ।

मुनाल दाइलाई मैले पहिलोपल्ट हातेमालो सञ्चारको कुपण्डोलस्थित कार्यालयमा भेटेको थिएँ । मित्र गोपी सापकोटा (हाल बेलायत)ले मलाई त्यहाँ बोलाएका थिए । हातेमालोमा अशेष मल्ल, वासुदेव मुनाल र गोपी सापकोटाहरू निकै सक्रिय हुनुहुन्थ्यो । हातेमालोबाटै ‘सुनकेस्रा’ नामक बालसाहित्यको राम्रो पत्रिका निस्कन्थ्यो ।

त्यसमा अशेष दाइ प्रधान सम्पादक तथा मुनाल दाइ तथा गोपीजीहरू सम्पादक समूहमा हुनुहुन्थ्यो । म पहिलोपटक सहभागी हुँदै गरेको हातेमालोको त्यस चकटी बैठकमा अशेष दाइ र गोपीजीसँगै एउटा अपरिचित तर बोली एकदम परिचित लाग्ने होचो कदको चमकदार मानिस थिए । उनका यता र उता घुमिरहने चलाख आँखा निकै तेजिला थिए । बोलिरहने मिजासका तिनै होचा कदवाला हुनुहुँदोरहेछ- दाजु वासुदेव मुनाल । त्यतिबेला म कान्तिपुर दैनिकको ‘कोपिला’ परिशिष्टांकमा काम गर्थेँ । पहिलो भेटमै मुनाल दाइ चिरपरिचितजस्तो पाएँ । उहाँले कोपिलाका मेरा लेख, रचनाको प्रशंसा गर्नुभयो र लेखनमा अझै राम्रो गर्न हौसला दिनुभयो ।

मुनाल दाइसँग दोस्रो भेट उहाँकै घरमा भएको थियो । कोपिलाको स्तम्भ ‘म सानो छँदा’का लागि संवादका क्रममा । त्यसबेला सिनामंगलको एक सामान्य घरको असजिलो सिँढी हुँदै जानुपर्ने कोठामा लगेर म र फोटो पत्रकार नवराज वाग्लेसँग दाइ निक्कै गफिनु भएको थियो । विराटनगरमा सांगीतिक÷सांस्कृतिक कामका लागि गठन गरेको मुनाल क्लबकै नामबाट आफ्नो नाममा कोइराला थर छाडेर मुनाल जोडेको कथा उहाँले सुनाउनुभएको थियो । जीवनका विभिन्न घटना सुनाउने क्रममा बेस्सरी हाँस्नुभएको थियो र गम्भीर हुँदै टिलपिल टिलपिल आँसु पनि भर्नु भएको थियो । यसबाट उहाँको भावुक तथा नरम प्रकृतिसँग पनि हामी परिचित भएका थियौं ।

मुनाल दाइको बाल कार्यक्रमका श्र्रोता आम जनताका छोराछोरीदेखि राजाका छोराछोरी दीपेन्द्र र श्रुतिसमेत रहेछन् । छोराछोरीले रेडियोको बाल कार्यक्रम मन पराएको थाहा पाएका राजा वीरेन्द्रले उहाँलाई दरबार बोलाएर खानासमेत खुवाएका रहेछन् । आँखामा खुसी छचल्क्याउँदै मुनाल दाइले सुनाउनुभएको थियो ।

तीन दशकभन्दा लामो समय रेडियो नेपालमा बिताएका मुनाल ‘बाख्रा झर्योो भीरैभीर, भैंसी झर्योो खोला, गोठालाले गाको गीत नबिर्सनु होला’ भन्ने लोकगीतबाट चम्किएपछि संगीतकार नातिकाजीमार्फत रेडियो प्रवेश गर्नुभएको थियो । ‘गोठालाले गाको गीत नबिर्सनु होला’ शीर्षकमै उहाँको बालक-कालबारे कोपिलामा स्टोरी छापिएपछि मुनाल दाइले निक्कै खुसी भएर मलाई फोन गरी धन्यवाद दिनुभएको थियो । यसरी कृतज्ञताको गुणले पनि भरपुर हुनुहुन्थ्यो वासुदेव मुनाल ।

‘नेपाल बालसाहित्य समाज’मा अर्को भेट भयो मुनाल दाइसँग । त्यतिबेला उहाँको ब्रेन हेमरेज भइसकेको थियो । अलिक निराशावादी कुरा बढी गर्नुहुन्थ्यो । त्यतिबेला म नेपाल बालसाहित्य समाजमा सचिव थिएँ । हामीले समाजका तत्कालीन समयमा दिवंगत भएका स्रष्टाहरू रमेश विकल, जनक हुमागाईं, शारदा अधिकारी ढकाल र वासु रिमाल ‘यात्री’का जीवनीका छुट्टाछुट्टै पुस्तक प्रकाशित गरेका थियौं । मुनाल दाइ पनि बालसाहित्य समाजको सदस्य बन्नुभयो ।

अनि उहाँले भन्नुभयो, ‘म पनि धेरै बाच्दिनँ, मेरो पनि एउटा यस्तो किताब चाहिँ निकाल्दिनु है !’ (बालसाहित्य समाजको नेतृत्वसामु म मुनाल दाइको निवेदन यसै आलेखमार्फत बोधार्थ गराउन पनि चाहन्छु ।)

नेपाल बालसाहित्य समाजको २०६८ सालमा पाल्पामा भएको वार्षिक सम्मेलनमा पनि मुनाल दाइ सहभागी हुनुहुन्थ्यो । सम्मेलनको अन्तिम दिन मदनपोखराका स्थानीय बासिन्दाले हामीलाई रात्रि भोजन गराउनुभएको थियो । त्यस रात हाम्रो वि श्राम पनि स्थानीय बासिन्दाको घरमा बाँडिएर दुई-चार, दुई-चारजना गरी बस्ने व्यवस्था मिलाइएको थियो । यसमा मुनाल दाइ, रामबहादुर पहाडी, सूर्य बीसी र म एउटै घरको एउटै कोठामा परेका थियौं । निम्नवर्गीय परिवारको त्यस घरमा सिरक, डस्ना र बिछ्यौना मैलाधैला, काला र गन्हाउने थिए । यसमा हामी तीनजना दिग्मिगायौं । मुनाल दाइ भने कुनै अब्जेक्सन नजनाई निर्धक्क सुत्नुभयो । अनि हामी पनि सुतेका थियौं ।

यसरी जहाँ जुन परिस्थितिमा घुलमिल हुन र त्यसलाई सहज स्वीकार्न सक्ने उहाँको गुणबाट हामी प्रभावित भएका थियौं । यस्ता असल र प्रतिभाशाली मुनाल दाइ अब हामीसँग रहनुभएन । उहाँको महाप्रस्थान भए पनि धेरै बालबालिकाका प्रेरणा र संगीत पारखीका एक प्रिय व्यक्तिका रूपमा उहाँ बाँचिरहनु हुनेछ । उहाँले रेडियो बाल कार्यक्रम तथा हातेमालो सञ्चारमार्फत धेरै बालबालिकालाई सिर्जनात्मक लेखन, उद्घोषण कला र वाचनको सीप प्रदान गर्नुभएको छ । आफैंले थुप्रै बालनाटक, कथा र गीत लेखन, संकलनको काम गर्नुभएको छ ।

माथि उद्धृत गरिएबाहेक ‘सक्यो नानी सक्यो नानी सक्यो नानी, नुवाकोटे नानी गाजल लाउने तिम्रो बानी सक्यो नानी’, ‘चुरोट बिँडी म खाँदै नखाने, तिम्लाई नलिई म जाँदै नजाने’, ‘चैनपुरको करुवामा सुन्दरीजलको पानी’जस्ता मुनालकृत लोकगीत निकै लोकप्रिय छन् । रेडियो नेपालले २०३० सालमा आयोजना गरेको राष्ट्रिय लोकगीत प्रतियोगितामा उहाँ प्रथम नै हुनुभएको थियो ।

यसैगरी ‘छुनुमुनु छुनुमुनु गर्दै आइन् आँगनीमा छोरी, कहिले भन्छिन् हात्ती ल्याइदेऊ कहिले भन्छिन् घोडी’, ‘स्कुलै जाने कान्छाले गोजीमा गुच्चा हाल्दैन’जस्ता उनका बालगीत पनि धेरैले रुचाउँछन् । ‘हराएको हात’ नामक उहाँको बालकथासंग्रह बालबालिकाबीच प्रिय थियो । उहाँले थुप्रै बालनाटक पनि लख्नुभएको छ । कार्यक्रम प्रस्तोता र लोकगायकका साथै फुटबलको प्रत्यक्ष प्रसारण गर्ने राम्रो कमेन्टेटरको रूपमा पनि उहाँको परिचय स्थापित छ । २००६ साल असार ६ गते विराटनगरमा जन्मेका वासुदेव मुनाल पछिल्लो समय घाँटीको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो । शब्द श्रद्धा मुनाल दाइ !

 

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2