MENU

चंगाचरी

635x90_1

अनिल नेपाली आइतवार, असोज २२, २०७४ 382 पटक पढिएको

Share This

635-X-85

दसैं सकिएर तिहार नजिँकिँदै थियो । यस वर्ष समयमै पानी परेकाले किसानहरूले बेलैमा धान, कोदो गोडेका थिए । किसान फुर्सदिला भएकाले उनीहरू तिहार आउन केही साता अघिदेखि नै बजार धाउन लागे । धनुषा, शुक्ला, अंकुर, मदन, नौमती पनि स्कुलबाट फर्केपछि बुबाआमासँग नजिकैको बजार जान्थे । तर, शुक्रबार बेलैमा बजार गएका उनीहरू दंग परे ।

तिहारको सामान लिन केही दिनअघि काठमाडौं आएका धर्के साहुले चंगा पनि किनेर लगेछन् । चंगालाई उनले आयो चंगा चरी भनेर झ्याली पिटे । बजार गएका केटाकेटीसहित बूढाबूढीहरू सबै छक्क परे । धर्के साहुले खेतको डिलमा बसेर ‘तिहार आयो, जसले चंगा उडाउँछ उसले खुसी पायो’ भन्दै चंगा उडाए । मगमग धानको बास्ना आएको हरियो खेतको फाँटमाथि हावामा चंगा धेरै माथिमाथि उड्यो । गाउँलेहरूले काम छोडेर हेरे ।

 

शुक्रबारको दिन बजार जानेहरू धेरै खुसी भए । धनुषा, शुक्ला, अंकुर, मदन, नौमती र अरू केटाकेटीहरूले बाआमालाई चंगा किनिदिन बिन्ती गरे । बाआमाले पनि खुसी हुँदै चंगा किनिदिए । धर्के साहुले एकैछिनमा सयौं चंगा बिकाए । हातमा चंगा पाएपछि केटाकेटीहरू धेरै खुसी भए । तर उडाउन जानेनन् । धर्के साहुले फेरि खेतको अग्लो डिलमा बसेर चंगा उडाए । सबैले खुसी हुँदै ताली ठोके । उनले सबै केटाकेटीहरूलाई जति अग्लो ठाउँबाट चंगा उडायो उति माथि उड्ने बताए ।

हातमा चंगा लिएका केटाकेटीहरू खुसी हुँदै अग्लो ठाउँको खोजीमा पूर्वतिरका पहाडहरू हेर्न थाले । अंकुरले टाढाको मैना डाँडो देखाए । पोहोर साल उनीहरू मैना डाँडामा वनभोज खान गएका थिए । सबै खुसी भए र ढिलो नगरी त्यहीँ जान तयार भए ।

बजारबाट बाआमाको आँखा छलेर केटाकेटीहरू सुटुक्क मैना डाँडामा जान रमाउँदै उकालो चढे । उनीहरूले बाटोमा अग्लो ठाउँ भेटे पनि वनको बाटो भएकाले रूखमा चंगा अल्झने डरले उडाएनन् । बाटोभरि तिहारमा घर आएका परदेशीहरू र बटुवाको लस्कर भेटे । परदेशीहरू केटाकेटीहरूलाई चकलेट दिन्थे । उनीहरू झनै खुसी भएर चकलेट र जरुवाको पानी खाँदै उकालो चढ्थे ।

आधा घण्टा उकालो चढेपछि केटाकेटीहरू मैनाडाँडाको हरियो फाँटमा पुगे । त्यहाँबाट तलतल चारैतिर हरियो खेत र घरहरू देखिन्थे भने पश्चिमको क्षितिजमा उत्तरदेखि दक्षिणसम्म अन्नपूर्ण, गौरीशंकरजस्ता हिमालको उज्यालो लहर देखिन्थ्यो । सो फाँटमा लामाका स-साना बच्चाहरू भेडा चराउन आएका थिए । धनुषा, शुक्ला, अंकुर, मदन, नौमतीले लामाका बच्चालाई साथी बनाए र सबै मिलेर फाँटमा दगुर्दैै धेरै माथिमाथि चंगा उडाए । धेरै माथि उडेकी चंगा चरी पृथ्वीको अनुपम सौन्दर्य देखेर दंग परी र गीत गाउन थाली । केटाकेटीहरू झन् खुसी हुँदै आकाशतिर हेर्दै सुन्न थाले ।
म चंगा हुँ सृजना सुन्दर बनाई उडायौं
बालक त्यो गिरीबाट फाली
नाइँनाइँ डराउँछु भने हुरीले फुत्त उडायो
फर्किंदा काली न काली
धेरै बेर केटाकेटीहरूले पूर्वको मैना डाँडोमा चंगा उडाए । बेलुका भयो । पश्चिमको क्षितिजमा घाम डुब्न लागे । पहिलोपटक चंगासँग रमाइलोसँग खेलेकाले उनीहरूले साँझ परेको पत्तै पाएनन् । अध्याँरो हुन लाग्यो । लामाका बच्चाले भेडा घरतिर खेदे । धनुषा, शुक्ला, अंकुर, मदन, नौमतीलाई जाउँ भनेनन् । चंगा उडाउन्जेल गहिरो मित्रता भयो तर साँझमा टुटिहाल्यो । केटाकेटीले घर फर्कने वनको बाटो बिर्सिए । धनुषा, शुक्ला, अंकुर, मदन, नौमती अँगालो हालेर घर सम्झँदै रुन थाले । बाआमाको आँखा छलेर आएकोमा केटाकेटीलाई धेरै पश्चाताप लाग्यो । यत्तिकैमा अध्याँरो फाँटको अलि पर पिलपिल बत्ती बल्यो ।

केटाकेटीहरू झन् डराएर ठूलो स्वरमा रुँदै भागाभाग गर्न थाले । पिलपिल बलेको बत्ती रुँदै भागेका केटाकेटीहरूको झन् नजिक आयो । झन् उनीहरू डाँको छाडेर रुन थाले । तर, घरबाट लिन जानेहरूले केटाकेटीको रुवाइलाई चिनिहाले । यत्तिकैमा शुक्लाका काका पीपलले आफूहरू केटाकेटीहरूलाई लिन आएकाले नभाग्न, नडराउन आग्रह गरे । धनुषा, शुक्ला, अंकुर, मदन, नौमतीले काका पीपलको आवाज चिने । अनि रुन छाडे । केटाकेटीले लिन आएका आफ्ना अभिभावकलाई भेटे अनि अँगालो हालेर खुसी भए ।

आफूभन्दा ठूलाको आँखा छलेर ठूलो गल्ती भएको स्वीकारे । त्यस्तै, धर्के साहुले अग्लो ठाउँबाट चंगा उडाउनु भनेकाले कुरै नबुझी हतारमा मैना डाँडोमा आएकाले दुःख पाएको बताए । कुरा नबुझी अघि बढ्दा दुःख पाइने केटाकेटीहरूले बुझे र यो कुरा अभिभावकलाई पनि बताए । अबदेखि कहिल्यै कुरा नबुझी काम नगर्ने बाचा गरेपछि केटाकेटीहरू घरबाट लिन आएकाहरूको बुई चढे अनि खुसी हुँदै घर फर्के ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2