MENU

शैक्षिक सामग्रीमा पल्किए विद्यार्थी

635x90_1

अन्नपूर्ण आइतवार, असोज २२, २०७४ 282 पटक पढिएको

Share This

635-X-85

बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा नं ११ नागार्जुनका कक्षा ३ का करिश्मा पन्त आजभोलि विद्यालय जान निकै हतार गर्छिन् । सुरुमा स्कुल जान नमान्ने करिश्मा विद्यालयमा शैक्षिक सामग्रीको व्यवस्था भएपछि विद्यालय जान हौसिएकी छिन् । गाउँकै नानीगाड आधारभूत विद्यालयमा जिल्ला शिक्षा कार्यालयले विश्व खाद्य कार्यक्रम, विश्व शिक्षा र सामाजिक चेतना तथा विकास संघ साडाको सहयोगमा शैक्षिक सामग्री उपलब्ध गराएपछि विद्यालयमा आउने विद्यार्थीको संख्या बढेको प्रधानाध्यापक देवबहादुर चन्दले बताए । उनले भने, ‘अहिले हामीसँग आधारभूत तहका विद्यार्थीलाई पढाउनका लागि प्रशस्त शैक्षिक सामग्रीहरू छन् । भाषा विषय र गणित विषय पढाउनका लागि आवश्यक शैक्षिक सामग्री उपलब्ध भएका छन् । विद्यार्थी ती सामग्रीको प्रयोग गरेर पढ्न निकै रुचि राख्ने गर्छन्।'

 

कक्षा २ का छात्र प्रेम दयालले पनि आजभोलि विद्यालयमा पुग्न निकै हतार गर्ने गरेको उनका बुवा जयराम दयालले बताए । उनले भने, ‘सुरुसुरुमा विद्यालय पठाउन निकै गाह्रो हुन्थ्यो । गएको एक वर्षदेखि विद्यालयमा शैक्षिक सामग्री आएपछि ऊ स्कुल जान निकै खुसी हुन्छ ।' विद्यालयकी शिक्षिका मञ्जु पन्तका अनुसार विद्यालयमा शैक्षिक सामग्री उपलब्ध भएपछि बालबालिका रमाएर पढ्ने गर्छन् । उनले भनिन्, ‘शैक्षिक सामग्री प्रयोग गरेर पढाउँदा विद्यार्थीले पनि चाँडै सिक्ने गर्छन् । हामीलाई बुझाउन सजिलो हुन्छ ।'

विद्यालयमा शैक्षिक सामग्री उपलब्ध भएपछि विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत सुधार आएको प्रधानाध्यापक देवबहादुर चन्द दाबी गर्छन् । उनले भने, ‘शैक्षिक सामग्री नहुँदा शैक्षिक उपलब्धि कम थियो । शैक्षिक सामग्रीसहित पढाउन थालेपछि शैक्षिक उपलब्धिमा पनि सुधार भएको छ ।' नानीगाड आधारभूत विद्यालयमा मात्र नभएर जिल्लाका एक सय ९७ वटा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिए । जिल्लाका दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको उनले बताए । उनले भने, ‘अहिले आधारभूत तहमा पहिलाको तुलनामा जिल्लाभरि विद्यालय आउनेको संख्या पनि बढेको छ । विद्यार्थीको सिकाइ उपलब्धि पनि बढेको छ ।'

जिल्लामा आधारभूत तहमा अहिले पनि तीन प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालयको तथ्यांक छ । विद्यालय बाहिर रहेका विद्यार्थीलाई पनि विद्यालयमा भित्र्याउनका लागि शैक्षिक सामग्रीले सहयोग पुर्‍याउने जिल्ला शिक्षा अधिकारी टेरले बताए । उनले भने, ‘विद्यालय बाहिर रहेका तीन प्रतिशत बालबालिकालाई विद्यालयभित्र ल्याउनका लागि हामीले शैक्षिक सामग्री वितरण गरेका छौं । शैक्षिक सामग्रीबाट बालबालिकाले चाँडो सिक्ने गर्छन् ।'
विद्यार्थीले सुनेर भन्दा देखेर बढी सिक्ने गरेको स्रोतव्यक्ति अमर ठगुन्नाले बताए । उनले भने, ‘जिल्लाका विभिन्न ठाउँका आधारभूत विद्यालयमा शैक्षिक सामग्री आएपछि शिक्षकहरूलाई भाषा विषय र गणित विषय पढाउन सजिलो भएको छ । पहिलेको तुलानामा शैक्षिक उपलब्धिमा पनि धेरै प्रगति भएको छ ।'
जिल्लाका आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गर्नुभन्दा पहिला कक्षा १ मा नेपाली विषयको औसत सिकाइ उपलब्धि ५७ प्रतिशत रहेकोमा यो वर्ष ६५ प्रतिशत पुगेको छ ।

यस्तै गणित विषयमा ५१ प्रतिशत रहेकोमा यो वर्ष ६१ प्रतिशत पुगेको विद्यालय निरीक्षक शंकरदत्त भट्टले बताए । उनले भने, ‘कक्षा २ मा नेपाली विषयमा ५६ प्रतिशत सिकाइ उपलब्धि रहेकोमा अहिले ६८ प्रतिशत पुगेको छ भने गणितमा पनि ५० बाट ६३ प्रतिशत पुगेको छ । यस्तै कक्षा ३ मा पनि नेपाली विषयमा सिकाइ उपलब्धि बढेर ५७ बाट ६४ पुगेको छ भने गणितमा ५२ बाट ५७ प्रतिशत पुगेको छ ।'

आधारभूत तहमा शैक्षिक सामग्री वितरण गरेपछि सिकाइ उपलब्धिमा आएको बढोत्तरी र विद्यार्थीको रुचि बढेकाले जिल्लाका अन्य विद्यालयमा शैक्षिक सामग्री वितरणका लागि पहल गर्ने जिल्ला शिक्षा अधिकारी टेरले बताए ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2