MENU

क्राइस्टको देशमा : सलाम इस्रायल !

635x90_1

सरुभक्त मंगलवार, असोज २४, २०७४ 932 पटक पढिएको

Share This

635-X-85

इसाई संवत् २०१६, नोभेम्बरको मध्यतिर सप्ताहव्यापी भ्रमणका लागि इजरायल पुगेको थिएँ । प्राचीन धर्म र संस्कृतिको महान् इतिहास भूमि इजरायलबाट फर्केको केही दिनपछि, नोभेम्बरको अन्तिम सातामा मैले सुनेँ- मैले भ्रमण गरेको जेरुसलम, हाइफा र वेस्ट ब्यांकका धेरै बनेली एवं आवासीय क्षेत्रहरूमा भयानक आगलागी भएको छ । बीबीसी, सीएन्एन् र फेसबुकका भित्ताहरूमा आगलागीका प्रत्यक्ष दृश्यहरू देखिए । आगलागीका सामानसहित कत्ति व्यक्ति गिरफ्तार भएको समाचार आए । प्रधानमन्त्री नेतान्याहुले यस भयानक अग्निकाण्डमा आतंककारीको हात रहेको घोषणा गरे।

मन अमिलो भयो । मैले इजरायलका लागि कार्यवाहक नेपाली राजदूत रामेश्वर पौडेल, साहित्यकार बहिनी भगवती बस्नेत र समा श्रीसित सम्पर्क स्थापित गरेँ । सावधान रहन आग्रह गरेँ । अनि सोच्न थालेँ- यही त हो, इजरायलको नियति र संघर्षशीलता ! दोस्रो विश्वयुद्धको समाप्ति र इजरायल राष्ट्रको जन्मदेखि यस राष्ट्रले सधैं युद्धनियति भोग्दै शक्ति आर्जन गरिरहेको छ । हिट्लरले समाप्त पार्न चाहेको यहुदी जाति, जो अधिसंख्यामा इजरायलमा छन्, तिनलाई यस्ता आगलागीले कसरी जीवन र कर्मदेखि निराश पार्न सकिन्छ ?संकटहरूका बीच बाँच्ने राष्ट्रको नाम हो- इजरायल । म तिम्रो महानतालाई सलाम गर्छु- सलाम इस्रायल !

 

इजरायल भ्रमणमा जानुभन्दा केही दिनपूर्व म एउटा कार्यक्रमको सिलसिलामा थानकोट ओर्लंदै थिएँ, आकस्मिक रूपले इजरायलका महामहिम राजदूत यारोन मेयरको फोन आयो । उहाँले नोभेम्बर १६-१९ तारिखसम्म इजरायलमा ‘अन्तर्राष्ट्रिय जाज तथा विश्वसंगीत उत्सव’मा सहभागी हुने निम्ता दिनुभयो । मैले निम्ताको लागि आभार प्रकट गर्दै काठमाडौं फर्केपछि भेट्न आउने वचन दिएँ । केही दिनपछि दूतावासभित्र प्रवेश गर्दा गम्भीर सुरक्षा-जाँचका प्रक्रियादेखि मैले महसुस गरेँ- इजरायल साँच्चै नै संकटहरूले घेरिएको देश हो ।

मैले अतीतमा प्रशान्त महासागर र आन्ध्र महासागरको पानी छोएझैं भू-मध्यसागरको पानी पनि छोएँ । मनमनै सोचेँ- कतै यी सागर-महासागरहरूमा हाम्रा हिमालका पानी पनि त मिसिएका होलान् !

यारोन मेयरले मलाई आत्मीयतापूर्वक स्वागत गर्नुभयो र औपचारिक निम्तापत्र दिनुभयो । बिदा गर्नेबेला उहाँले एस वाई एगननको ‘द ब्रिडल क्यानोपी’ पढ्नका लागि दिनुभयो ।
‘धन्यवाद महामहिमजी ! म यस उपन्यासलाई अवश्य इजरायल यात्रामा पढ्नेछु ।’ मैले परराष्ट्र मन्त्रालय, साहित्यकार राधेश्याम लेकाली, यादव भट्टराईमार्फत इजरायलका लागि नेपाली कार्यवाहक राजदूत, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इजरायलका अध्यक्ष भगवती बस्नेत, समा श्रीसित सम्पर्क स्थापित गरेँ । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाबाट पनि आवश्यक सहयोग प्राप्त भयो ।

नोभेम्बर १४ तारिखका दिन काठमाडौंबाट टर्किस् एयरको उडानमा (दिनको पौने दुई बजे) इस्टाम्बुल हुँदै तेल अविभको वेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा नेपाली दूतावासका सहचारी भोजकुमार भट्ट, गणेश गौतम सागर र समा श्री बहिनीले आत्मीय स्वागत गरे । उनीहरूले मलाई कार्यवाहक राजदूत रामेश्वर पौडेलको हर्जेलियास्थित निवासमा लिइगए । रामेश्वरजी र उहाँकी सहधर्मिणी उषा पौडेलले मलाई आत्मीय आतिथ्य प्रदान गर्नुभयो ।
मध्यरात । भोजन गरी सुत्दा २ बज्यो ।

बिहान उठेपछि मैले इस्टाम्बुल उडानको क्रममा विमानमा भेट भएका २० जना नेपाली विद्यार्थीलाई सम्झेँ जो स्टुडेन्ट भिसामा स्लोभेनियामा पढ्न जाँदै थिएँ । मैले रामेश्वरजीलाई सुनाएँ । हामी कुरा गर्दै प्रात: भ्रमणमा निस्क्यौं ।
मौसम चिसो र मीठो थियो । आँखाअगाडि मध्य एसिया, अफ्रिका र युरोपलाई छुट्याउने, क्षितिजहरू छोइरहेको भू-मध्यसागर

(मेडिटेरिनियन सी) थियो । मैले अतीतमा प्रशान्त महासागर र आन्ध्र महासागरको पानी छोएझैं भू-मध्यसागरको पानी पनि छोएँ । मनमनै सोचेँ- कतै यी सागर-महासागरहरूमा हाम्रा हिमालका पानी पनि त मिसिएका होलान् !

बिहान १० बजेपछि रामेश्वरजीले मलाई दुई कोकम्यान स्ट्रिट, तेल अविभस्थित नेपाली राजदूतावास लिई जानुभयो । राजदूतावास चौधौं तलामा रहेछ । टेक्स्टायल सेन्टर बिल्डिङ भनिने त्यस विशाल भवनमा रूसलगायत अन्य केही देशका राजदूतावास पनि रहेछन् ।

रामेश्वरजीले मलाई राजदूतावासका कर्मचारीसित परिचय गराउनुभयो । पछि राजदूतावासकी आस्था सुब्वाले मलाई निकटको अरबीहरू बसोबास गर्ने जाफा भ्रमण गराउनुभयो । भू-मध्यसागर किनारमा अवस्थित इजरायलको सर्वाधिक आधुनिक सहर तेल अविभमा प्राचीनताका स्मारकजस्ता जाफा, नेभ जेडेक देख्दा आनन्द लाग्यो ।

नेभ जेडेक यहुदीहरूको पहिलो बस्ती रहेछ ।आस्था बहिनीले मलाई अब्रासा पार्क, दि विसिड ब्रिज, द सिक मोस्क, नेपोलियन प्रतिमास्थलमा पुर्‍याउनुभयो । पछि हामी इजरायली मलको ४९औं तलामा अवस्थित अब्र्जभेटरीमा गयौं जहाँबाट तेल अविभको विहङ्गम दृश्यावलोकन गर्न सकिन्थ्यो ।

मध्यान्न २ बजेपछि रामेश्वरजी र म तेल अविभबाट एक सय किलोमिटर परको हाइफा भ्रमणमा गयौं । त्यहाँ बसोबास गर्ने भगवती बस्नेत बहिनीको आमन्त्रण थियो । उनी हामीलाई विश्वप्रसिद्ध बहाई बगैंचाको माथिल्लो प्रवेशद्वारमा पर्खिरहेकी थिइन् ।

हाइफाको सानो पहाडी भूगोल सुन्दर थियो । माथि बहाई बगैंचाको प्रवेशद्वाराबाट तल मैदानी भू-भागमा फैलिएका असंख्य घर देखिन्थे । बहाई बगैंचा पनि पहाडको माथिबाट तलसम्म फैलिएको थियो- सुन्दर, व्यवस्थित, हरियालीयुक्त । बहाई बगैंचा देख्दा मैले मनमनै बहाई मतका दार्शनिक अवधारणा सम्झेँ । ‘दादा त्यो परेको हाइफा बन्दरगाह !’ भगवती बहिनीले देखाइन् ।

हामीले गाडीमा हाइफा पहाडको एक फन्को मार्‍यौं । भोलिपल्ट- १६ नोभेम्बरका दिन मलाई जेरुसेलम पुग्नु थियो । रामेश्वरजीका साथ म बिहान प्रात: भ्रमणमा निस्केँ । उहाँले मलाई बस्ती र सडकको बाटो हिँडाउँदै नेपाली राजदूतको निवाससम्म पुर्‍याउनुभयो । त्यहाँबाट फर्कंदा हामी आइन्स्टाइन स्ट्रिटमा निस्क्यौं । मैले महान् वैज्ञानिक आइन्स्टाइनलाई सम्झेँ । केही पाइला अघि लागेपछि भू-मध्यसागरको किनारा भेटियो । हावा हिजोभन्दा चिसो र तेज थियो । सागरकिनारमा छालहरू उर्लिएर ठूलै आवाज आइरहेको थियो ।

मध्याह्नमा म दूतावासबाट रामेश्वरजीसित बिदा भई जेरुसेलमका लागि प्रस्थान गरेँ । मेरा सहयात्री थिए भोजकुमार भट्टराई र चण्डिका सिटौला ।मैले रामेश्वरजीलाई जेरुसेलम जाँदा मृतसागर भएर जाने चाहना व्यक्त गरेको थिएँ । उहाँले त्यही अनुरूप प्रबन्ध मिलाइदिनुभएको थियो । करिब दुई घण्टामा मृतसागरमा पुग्दा बाटोमा मुसलमान बस्तीहरू, ऊँट तथा अन्य बस्तुभाउहरू, टिनका अस्थायी घरहरू, फोहोर र अस्तव्यस्तताहरू देखिए । इजरायलभित्र यहुदी र मुसलमानका जीवनस्तरका भिन्नता बुझ्न मलाई गाह्रो परेन ।

मृतसागर चौडाइमा कम, लम्बाइमा बढ्ता फैलिएको तालजस्तै रहेछ । इजरायल, जोर्डन र प्यालेस्टाइनको सिमामा अवस्थित यो मृतसागर नुनले र समुद्र सतहभन्दा कम्ती उचाइ भएको कारणले प्रसिद्ध छ ।पानी सफा । किनारमा जमेका नुनहरू । केही व्यक्ति नुनिलो पानीमा तैरिरहेका । केही ठिटाठिटी पानीमा पस्न जिउमा कालो माटो वा अन्य पदार्थ दलिरहेका ।

मलाई जेरुसेलम पुग्ने हतार थियो त्यसैले जिउँदोजस्तो देखिने मृतसागरसित चाँडै बिदा हुनु आवश्यक थियो । जेरुसेलम जाने बाटोका चट्टानहरूले कताकता मलाई मुस्ताङको भू-बनोट सम्झाइरहेको थियो।

करिब डेढ घण्टामा हामी जेरुसेलम नजिक पुग्यौं ।पहाडमाथि अवस्थित जेरुसेलम । प्रवेश क्षेत्रमा सैनिक चेकपोस्ट । बगलको पहाडमा प्यालेस्टाइन भवनहरू । बीचमा तार र टिनका पर्खालहरू । रमला जाने बाटो-चेकपोस्ट अगाडि नै ।भोजकुमार र कण्डिका भाइले मलाई प्यालेस्टाइन क्षेत्रबारे केही जानकारी गराए ।

जेरुसलेम पस्दा हावा निक्कै चिसो र मौसम धमिलो थियो । बाटोमा राम्रै भीडभाड । स्कुल छुट्ने समय परेछ- बाटोमा विद्यार्थी देखिन्थे । सडकको बीचबीचमा ध्यान आकृष्ट गर्ने गरी कालो टोप, कालो लामो कोट लाएका कट्टरपन्थी यहुदी हिँडेका देखिन्थे ।

भोजकुमार र चण्डिाकाले मलाई हार्मोनी होटेलमा छोडी बिदा भए । आयोजकका तर्फबाट आदि र केरेनले मलाई स्वागत गरे । विभिन्न देशबाट अतिथिहरूको आगमन भइरहेको रहेछ ।
ठीक ५ बजे हामीलाई लिन एउटा बस आयो । हामी विभिन्न देशका अतिथि बसमा सवार भई यलो सबमरिन भन्ने एक सांस्कृतिक भवनमा पुग्यौं । सुरुमा भोजन र परिचय कार्यक्रम चल्यो ।
अन्तर्राष्ट्रिय जाज तथा विश्वसंगीत उत्सव आरम्भ गर्दै इजारायल सरकारका प्रतिनिधि, जेरुसलेमका मेयर र अन्य केही व्यक्तिले अंग्रेजीमा मन्तव्य व्यक्त गरे ।

राति ८ बजेबाट सांगीतिक कार्यक्रम । पाँच समूहका जाज संगीत प्रस्तुति । सबै इजरायली । रातको १२ बजे होटेल पुग्यौं । बसबाट ओर्लेर केही समय हिँड्दा एउटा चोकमा उभिइरहेका ठिटाहरूले मलाई सोधे, ‘ह्वेर आर यु फ्रम ? ’
‘नेपाल !’ मैले छोटो उत्तर दिएँ ।

‘ओके ! ओके !’ सशंकित ठिटाहरूले मुस्कुराउँदै भने । मैले दौरा, सुरुवाल र टोपी लाएको थिएँ । बुझिहाले, तिनले मेरो टोपी देखी मुसलमान भन्ठानेका थिए ।
भोलिपल्ट दिनभर पुरानो जेरुसलेमको भ्रमण । साथमा वेलिङ वाल र ईशुलाई क्रुसमा झुन्ड्याइएको पुरानो जेरुसलेमबाहिरको गोलगोठा वा कल्भरीको भ्रमण । मैले बालककालमा पढेको एउटा इसाई भजन सम्झेँ- ‘कल्भरीको डाँडामा । प्राण त्यागी दियौ हे ।’

पुरानो जेरुसलेमको करिब पाँच घण्टा लामो भ्रमण सकी, त्यही निकटको एउटा रेस्टुरेन्टमा भोजन गरी जाफा गेटबाट हामी बसमा सवार भई यलो सबमरिन पुग्यौं । तीनवटा जाज सांगीतिक प्रस्तुति भए । त्यसपछि अतिथिलाई दुई घण्टाको वि श्राम दिइयो । हामी होटेलमा फर्कियौं । राति ८ बजेदेखि फेरि यलो सबमरिनमा चारवटा जाज सांगीतिक प्रस्तुति भए । होटेल आइपुग्दा रातको साढे १२ बज्यो ।

बिहान होटेलबाट म प्रात: भ्रमणमा निस्केँ । निकटवर्ती बजार क्षेत्र घुमेँ । छेवैमा इन्डिपेन्डेन्स पार्क रहेछ । सन् २०१७ मा खोल्ने अभिप्रायले निर्माणाधीन ‘म्युजियम् अफ् टोलरेन्स - सिमाने बेसेन्थल सेन्टर म्युजियम्को बाटो लियोनार्दो प्लाजा, क्याफे अल्मा हुँदै नहालन चोक, एप्लास ग्यालरी, हेब्रु म्युजियमतर्फ लागेँ । यसरी बिहानको स्वच्छ, शान्त वातावरणमा हिँड्दा ऐतिहासिक जेरुसलेममा कुनै समस्या छन् जस्तो लागेन । न यहाँ इतिहासमा अधिपत्यका लागि ठूल्ठूला युद्ध लडिएका थिएजस्तो लाग्यो ।

बिहान ११ बजे हामी अतिथिहरू बसमा सवार भई जेरुसलेमबाट तेल अविभतर्फ लाग्यौं । पहाडमाथिको जरुसलेमका विशाल भवन र सम्पदालाई पछि पार्दै चौडा राजमार्गबाट मैदानतर्फ ओर्लंदा मैले सम्झेँ- यो म अस्ति आएको राजमार्ग होइन । डेढ-दुई घण्टाको आरामदायी यात्रापछि हामी तेल अविभको ‘सिनेमा होटेल’ पुग्यौं । होटेलको नाउँ अनौठो थियो । होटेलभित्र प्रवेश गरेपछि थाहा भयो- त्यहाँ सर्वत्र पुरानो जमानाका विशालकाय सिनेमाका प्रोजेक्टर, क्यामेराहरू, रिलका डब्बाहरू, सिनेमाका पोस्टरहरू र अन्य सिने सामग्रीहरू सजाएर राखिएका थिए । रिसेप्सनकी भद्र महिलाले हामीलाई आश्चर्यचकित नहुनाका लागि भनिन्- ‘यो होटेल पहिले सिनेमा घर थियो ।’

अपराह्न ३ बजेदेखि ५ बजेसम्म र रातको ८ बजेदेखि १२ बजेसम्म दुई चरणमा ‘दि जोन क्लब’ र ‘दि बार्बी क्लब’मा संगीत प्रस्तुत भए । हामी अतिथिहरूको काम ती संगीत श्रवण गर्नुमात्र थियो । इजरायल सरकारले विश्वका यति धेरै देशका प्रतिनिधिलाई आफ्नो जातीय गीत-संगीत सुनाउन÷देखाउनकै लागि आमन्त्रित गरेका थिए । उद्देश्य- निश्चय पनि विश्वभर आफ्नो संगीतको प्रचार थियो ।

मैले सोचेँ- मेरो देशमा यस्तो दिन कहिले आउने होला ? सरकारले यस्ता सांस्कृतिक योजना कहिले बनाउने होला ? मैले सम्झेँ- दुई वर्षपहिले नेपाल सार्कको अध्यक्ष हुँदा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तर्फबाट ‘सार्क नाटक महोत्सव’ गर्न सरकारलाई आग्रह गरेको थिएँ । सार्कका नेपाली महासचिवलाई पनि सहयोगका लागि आग्रह गरेको थिएँ । सार्कमा प्रस्तावपत्र पनि बुझाइएको थियो । पछि जानकारी मिल्यो- आर्थिक कारणले सहयोग गर्न नसकिने ।

नोभेम्बर १९ तारिख जेरुसलेमको यलोसबमरिनमा अन्तिम दिनको कार्यक्रम थियो । मैले अघिल्लो दिन नै आयोजकलाई नेपालीको कार्यक्रममा जानुपर्ने भएकोले त्यसदिन आफू जेरुसलेम जान नसक्ने जानकारी गराएको थिएँ । आयोजकले निम्ता मान्न आइदिएकोमा धन्यवाद व्यक्त गर्दै मलाई खुसी-खुसी छुट्टी दिएका थिए । मैले अन्य देशका अतिथि मित्रलाई पनि जानकारी गराइसकेको थिएँ।

बिहान ८ बजे नास्ता गरी म होटेलबाट बिदा भएँ । रामेश्वरजीले मलाई लिन गाडी पठाइसक्नुभएको थियो । गाडीमा सवार भई, तीन दिनसम्मको लामो थकाइलाई बिदाइ गरी म हर्जेलिया आवासमा पुगेँ । मलाई घर आइपुगेको अनुभूति भयो । रामेश्वरजी, उषा बहिनीसित केही समय अनुभूति साटेपछि हामी तीनैजना तयार भई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, इजरायल र विश्व महासंघ इजरायलद्वारा संयुक्त रूपमा आयोजना गरिने ‘देवकोटा जयन्ती तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन निस्क्यौं।

कार्यक्रममा उपस्थिति थोरै थियो तर आत्मीय थियो । इजरायलमा कार्यरत भाइबहिनीलाई करिब दुई-तीन दर्जनको संख्यामा देख्दा मन प्रफुल्ल भयो ।अनेसास, इजरायलका अध्यक्ष भगवती बस्नेतको अध्यक्षता र कार्यवाहक राजदूत रामेश्वर पौडेलजीको प्रमुख आतिथ्यतामा कार्यक्रम प्रारम्भ भयो । समा श्रीले स्वागत गरिन् । कार्यक्रममा भगवती बस्नेतको नवीन सांगीतिक सिडी विमोचन भयो । कविता पाठको सिलसिला चल्यो । दुई गरिमामय संस्थाबाट मैले सम्मानित हुने अवसर पाएँ ।
मैले मन्तव्यसहित केही मुक्तकवाचन गरेँ ।

भगवती, समा श्रीलगायतका बहिनीले घरबाट आफू-आफैं खानेकुराहरू बनाइल्याएका रहेछन् । तीन दिनसम्म इजरायली भोजन गर्नुपर्दा असजिलो मानिरहेको जिब्रोले नेपाली स्वादको रोटी, तरकारीको स्वाद पाउँदा नरमाउने कुरै भएन । म बहिनीहरूप्रति आभारी भएँ ।भोजनपछि केही समय विचारविमर्श । म विशेष रूपले इजरायलमा बसोबास गरिरहेका नेपालीको कामको प्रकृति जान्न इच्छुक भएँ ।

कार्यक्रम सकियो । भाइबहिनीहरूलाई छोडेर कतै जाउँजस्तो मन भएन । तर, भाइबहिनीहरूलाई काममा जाने बाध्यता थियो, त्यसैले म रामेश्वरजी र उषा बहिनीसित हर्जेलिया आवासमा फर्किएँ ।

नोभेम्बर २० तारिखको दिन मध्याह्नमा नेपाली राजदूतावासमा, रामेश्वरजी र अन्य सबैसित बिदा भई विमानस्थलतर्फ लाग्दा मैले आकस्मिक रूपले सम्झें- तेल अविभमा अपराह्नको कार्यक्रम सकेर भू-मध्यसागर किनार जाफाको एउटा अति व्यस्त रेस्टुरेन्टमा भोजन गर्न जाँदा मैले एउटा गाडी बेतोडले गुडेर मेरो छेउमा रोकिएको थियो ।मैले गाडीमा हेरेँ । गाडीबाट एकजना ठिटोले अलि चर्को र उत्साहपूर्ण स्वरले सोध्यो, ‘फिलिस्टिन ? फिलिस्टिन ? ’

मैले बुझेँ, ठिटोले मलाई टोपी लाएकोदेखि आफूजस्तै फिलिस्टिनी सम्झेका हुन् ।
‘नेपाली !’ मैले अंग्रेजीमा मुस्काउँदै भनेँ । फिलिस्टिनी ठिटो मलाई हात हल्लाउँदै अगाडि बढे ।
मैले केही दिनअगाडि जेरुसलेममा यहुदी ठिटाहरूले गरेको प्रश्न सम्झेँ, ‘ह्वेर आर यु फ्रम् ? ’
समस्याको एक रूप मैले पनि अनुभव गरेँ । तर, समस्याहरूको बीचबाट जन्मेको इजरायलले एक दिन अवश्य पनि समस्याहरूबाट मुक्तिको मार्ग पत्ता लाउनेछ ।

इजरायल अतीतको समस्या मात्र होइन, भविष्यको आशा पनि हो । त्यसैले इजरायलबाट बिदा हुँदा, भू-मध्यसागरमाथिको गहिरो आकाशमा मैले मनमनै भनेँ- सलाम इस्रायल !

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2