MENU

कुवेती’ इच्छा

635x90_1

अशोक सिलवाल मंगलवार, असोज २४, २०७४ 3755 पटक पढिएको

Share This

635-X-85

सिटी टुर

 

हामी सीधै स्वयम्भू गयौं । त्यहाँ नज्लाको आग्रहमा ब्वाइफ्रेन्डजस्तो देखिने पति अहमदले उसको धेरै फोटो खिच्यो । उसले कपाललाई निधारबाट अनुहारतिर फैलाएर फोटो खिचाई । भित्तामा अडेस लगाएर खिचाई । उभिएर खिचाई । ढल्केर खिचाई । उफ्रेर खिचाई । अनेक हाउभाउमा मोडलले जसरी उसले थुप्रै पोज दिई ।

नज्ला फोटो खिचाउन मग्न थिई । अहमद फोटो खिच्न मग्न थियो । म उनीहरूको त्यो क्रिया हेर्नमा मग्न थिएँ । उनीहरूलाई मैले अरू केही बताउनै परेन । उनीहरू फोटोग्राफीमा खुसी थिए । फोटो सुटका लागि नेपाल आएजस्तो लाग्थ्यो उनीहरूको त्यो तरिका देख्दा । मैले सोचेँ, ‘यो केटी पक्कै मोडल हो ।’

पछि म गलत साबित भएँ । तर, पूरै गलत भने होइन । किनकि ऊ प्रोफेसनल मोडल नभए पनि मोडलजस्तै गरेर फोटो पोज दिइरहेकी थिई । मोडलजस्तै देखिने ऊ खासमा लेखक रहिछ । मैले उसलाई इन्टरनेटमा खोजेँ । उसको उपन्यास ‘डार्क सन’ बेलायतको अर्थरहाउसबाट जनवरी २९, २०१३ मा प्रकाशित भइसकेको रहेछ । चार सय ७८ पेजका त्यो उपन्यासको सफ्ट कभर, हार्ड कभर र ईबुक गरी सुरुमै तीन संस्करण प्रकाशित भएको रहेछ । र, तीनवटै संस्करणमा फरकफरक आईएसबीएन नम्बर पनि रहेछ ।

कुवेती युवा लेखक नज्ला आर्यन पछिल्लो चार वर्षदेखि राजधानी कुवेतस्थित एउटा स्कुलकी अंग्रेजी शिक्षक रहिछ । ऊ पाँच कक्षा पढ्दै गर्दा उसले लेखेका कथाबाट शिक्षकहरू उसको सुन्दर लेखकीय भविष्यबारे जानकार भइसकेका थिए रे । युनिभर्सिटी कलेज, लन्डनबाट इंग्लिस् लिंग्विस्टिकमा स्नातकोत्तर पूरा गरेकी ऊ मुख्य भाषा अरबिक रहेको कुवेतकै सबभन्दा कान्छी लेखक हो, जसले अंग्रेजी उपन्यासमार्फत कुवेती समाजको चित्र कोरी । कुवेतमा घरेलु हिंसाविरुद्धका केन्द्र बनाउने उसको परोपकारी सपना छ, जहाँ महिला र बालबालिकाले सुरक्षित महसुस गर्न सकून्।

 

‘डार्क सन’ न्युयोर्कमा उच्च शिक्षा हासिल गरेर आफ्नो देश फर्केकी एउटी कुवेती केटीको कथा हो, जो त्यहाँको सामाजिक नियमको संकुचित घेरासँग ठोक्किन पुग्छे । त्यसपछि उसका अगाडि पहिचानका प्रश्न जन्मन थाल्छन् । यो उपन्यास स्वतन्त्रताप्रतिको चिन्ता र चिन्तनको अभिव्यक्ति हो।

ऊ प्रोफेसनल मोडल नभए पनि मोडलजस्तै गरेर फोटो पोज दिइरहेकी थिई । मोडलजस्तै देखिने ऊ खासमा लेखक रहिछ ।

अहमद अध्ययनले मेडिकल डाक्टर रहेछ । उसले केही वर्ष डाक्टरी पनि गरेछ । त्यसपछि कुन सुरमा हो, त्यो पेसालाई छाडेर उसले सानोतिनो आफ्नै व्यवसाय सुरु गरेको छ रे । तर, कस्तो व्यवसाय भनेर न उसले भन्यो, न त मैले सोधेँ । सायद नज्लाले ‘छोड’ भनेकीले उसले डाक्टरी छोडेको हो कि ? उनीहरूको सम्बन्धमा परैबाट नज्ला निकै हावी देखिन्थी । तुलनामा अहमद शान्त र ज्ञानी देखिन्थ्यो । अहमदको भलाद्मीपन र नज्लाको आत्मविश्वास लोभलाग्दो थियो ।
सुरुमै सुशीलजीले भनेका थिए, ‘आज कुवेतका भीआईपी गेस्ट छन् है । स्पेसल ट्रिट गरिदिनुहोला।’

इराक र साउदी अरब सिमाना रहेको चालीस लाखभन्दा केही बढी मात्र जनसंख्या भएको कुवेतमा सन् १९३४ मा तेल खानी पत्ता लागेको हो । कुवेत तेलमा विश्वको छैटौं धनी देश हो । निकै होचो कुवेतको सबैभन्दा अग्लो बिन्दुको उचाइ समुद्री सतहबाट तीन सय ६ मिटर मात्र छ । तर, उनीहरू विश्कै अग्लो देशमा आएका थिए । नेपालमा आएका थिए ।

‘होचो देशबाट आएका भीआईपीहरू कस्ता होलान् ? ’ भन्ने सोच्दै म दरबारमार्गस्थित होटल याक एन्ड यती पुगेको थिएँ । भनेकै टाइममा अहमद आइपुग्यो । हात मिलाउँदै भन्यो, ‘अब १० मिनेट पर्ख है ।’

‘हुन्छ’ भन्नुबाहेक मसँग अर्को विकल्प पनि थिएन । पन्ध्र मिनेटमा अहमदसँगै नज्ला पनि आई । ऊ टाढैबाट मगमगाइरहेकी थिई । उसको वासना मेरो नाकैमा ठोक्कियो । चम्किलो अनुहार, गाजल लगाएका ठूल्ठूला आँखा, कालो लामो सिल्की कपाल, सलक्क परेको नाक, मिलेको जीउडाल र चिटिक्क मिलाएर लगाएको लुगा । ऊ टिसर्ट र स्ल्याक्समा थिई । हल्का होची भए पनि अग्लो हिल लगाएर ऊ सुहाउने अग्लो देखिएकी थिई । नराम्रो भन्ने कुनै कुरै थिएन उसको । उसले आफ्नो नरम हात मतिर बढाई ।

‘तिमीहरूलाई भेटेर खुसी लाग्यो’, नज्लातिर हेरेर मैले दुवैलाई भनेँ ।
त्यसपछि हामी स्वयम्भू गएका थियौं । कारको झ्याल खुल्लै थियो ।
‘सिसा लगाएर एसी अन गर्न ड्राइभरलाई भनन’, नज्लाले मलाई भनी ।
सिसा लाग्यो । एसी अन भयो । हाते ब्यागबाट सानो ऐना झिक्दै उसले ओठको लाइनिङ मिलाउन थाली ।

त्यसपछि अघि होटलको कोठाबाट तल झर्न किन उसले पन्ध्र मिनेट लगाई भनेर मैले बुझिहालेँ । ऊ शृंगारकी सोखिन रहिछ । तर, उसको शृंगार भद्दा थिएन । चिटिक्क देखिने गरी मिलाएर शृंगार गर्नसक्ने उसको खुबीको म मनमनै प्रशंसक भइसकेको थिएँ ।
ऊ कत्ति पनि अप्ठ्यारो नमानी आफूलाई अझ स्मार्ट बनाउँदै थिई ।
सुशीलजीले यो पनि भनेका थिए, ‘भीआईपी गेस्ट भएकोले लन्चचाहिँ नगरकोटको क्लब हिमालयमा लगेर गराइदिनुस् है ।’

फेरि पनि मसँग ‘हुन्छ’ भन्नुबाहेक अर्को विकल्प थिएन । मैले ‘हुन्छ हजुर’ भनिदिएको थिएँ । स्वयम्भू, बौद्ध, पशुपति हुँदै हामी केवल लन्चका लागि नगरकोटको क्लब हिमालय हानियौं । बाटोमा उसले सडक छेउछाउका ससाना होटलहरू हेरिरहेको मैले याद त गरेँ तर त्यसबारे केही भनिनँ ।

‘यिनैमध्ये कुनै एउटा सफा र चिटिक्क परेको कटेज स्टाइलको सानो होटलमा केही खाए त भइहाल्थ्यो । त्यसको मजा बेग्लै हुन्थ्यो । किन नगरकोट नै पुग्नुपथ्र्यो ? किन क्लब हिमालय नै पुग्नुपथ्र्यो ? खासमा हामी एउटा अनावश्यक यात्रा गर्दैछौं । यो कुनै तरिकै होइन’, म मनमनै कुरा खेलाउँदै थिएँ । तर, भीआईपी गेस्ट हुन् भन्ने ह्याङले मैले उनीहरूसँग मनको कुरा खोल्न सकिनँ ।
हामी क्लब हिमालय पुग्यौं । उनीहरूले लन्च खाए । नगरकोटमा एकछिन टहलिएर फेरि उही बाटो फर्केर आउँदै गर्दा मैले सडकछेका छाप्राहरूजस्ता लाग्ने होटलहरू देखाउँदै अघि मनमा खेलेको कुरा उनीहरूलाई सुनाएँ ।

नज्लाले पछुताएको भावमा अनुहार बिगारेर भनी, ‘अघि नै भन्नु पर्दैन ? मलाई पनि तिमीलाई जस्तै पहाडी बाटोका छाप्राहरूमा बसेर खस्रो मसिनो जस्तो भए पनि खाने निकै रहर थियो । म त्यसको सोखिन नै हुँ ।’ऊ भन्दै थिई, ‘उकालो लाग्दै गर्दा म सोच्दै थिएँ, यतैका होटलहरूमा केही खान पाए पनि हुन्थ्यो । तिम्रोजस्तै मेरो मनमा पनि कुरा खेलिरहेको थियो ।’

‘झुरै भयो’, विस्मात् मान्दै मैले भनेँ, ‘सानो भएर पनि निकै धनी देश कुवेतबाट आएको हुनाले सानोतिनो होटलमा के जान्छौ होला भन्ठानेँ । हुन पनि अमेरिकन डलरभन्दा तिमीहरूको देशको पैसा निकै महँगो छ । एक कुवेती दिनार तीन अमेरिकन डलरभन्दा पनि बढी छ । नेपाली रुपियाँसँग त के कुरा गर्नु ? अप्रिल १५, २०१५ को विनिमय दरअनुसार नेपाली तीन सय ५० रुपियाँ बराबर एक कुवेती दिनार छ ।’

‘कुरा त्यस्तो होइन । मानिस जहाँको भए पनि मन त सबैको एउटै हुन्छ । तर, तिम्रो तर्कसँग म सहमत भएँ’, उसले आफूलाई पनि चित्त बुझाउने गरी मेरो पनि चित्त बुझाई ।

‘हामीकहाँ तेल छ, त्यसैले सबै चीज छ । जब तेल सकिन्छ, केही बाँकी रहँदैन । तर, नेपालमा हावा नै मीठो । जताततै हरियो । शीतल । यति धेरै प्रकृति छ यहाँ । नेपाल गरिब हुनै सक्दैन’, तातो देशबाट शीतल भूगोलमा आएकी उसले थपी । एकछिनपछि कारलाई सडकछेउ रोकेर हामी एउटा छाप्रोमा छिर्‍यौं । ऊ र म दुवैको इच्छा पूरा भयो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2