MENU

बिर्खे टोपी

635x90_1

प्रगति राई मंगलवार, असोज २४, २०७४ 1795 पटक पढिएको

Share This

635-X-85

कथा

 

बडाबाउ धीरेन्द्र छुट्टीमा घर आउँदा हर्कराजले आफ्ना बाउ थीरेन्द्रलाई बडाबाउको पुलिस टोपी मागिदिन खुब कर गर्‍यो । अघिपछि पनि छोरो हर्कराजले ‘त्यो देवाकोजस्तै टोपी ल्याइदिनू’ भनेर हैरान गथ्र्यो । सायाबुङमा नबुझे झैं गरेर झर्किन्थी, ‘कस्तो टोपी ? ’

सातवर्षे हर्कराज जानिनजानी उदाहरण दिन्थ्यो, ‘त्यो छ नि जाँड लाउने गाग्रोको बिर्कोजस्तै टोपी ।’
पुलिसको युनिफर्म क्यापलाई बिर्को टोपी नाम लगायो । भन्दै जाँदा बिर्केबाट झन् बिर्खेमा पुर्‍यायो । छोराको इच्छा र क्रियाकलापले थीरेन्द्र रुन्चे हाँसो हाँस्यो । सानोभन्दा सानो इच्छाहरू पनि पुर्‍याउन ‘नसक्नु’ ले ऊ झन् खिइएर आफूलाई मरिचजत्रो देख्न थाल्यो ।

आफ्नै गाउँको थानामा पोस्ट परेका धीरेन्द्र कहिलेकाहीँ प्रहरी पोसाकमै घरतिर पनि छिथ्र्यो । चिसोतातो खाइवरी जान्थ्यो । भाइबुहारी सायाबुङमाले खुबै जेठाजुको इज्जत गर्थिन् ।
लोग्नेसँग भन्थिन्, ‘दाजुभाउजूका एउटै छोरी भएर पनि कति सन्तोकले बस्नुभाको छ । तर, हाम्रा भने छोरा नभई भएन, त्यसैले आठजनाको जञ्जाल भइयो । न जग्गा जमिन, न जागिर नै छ । अमेरिकाको राष्ट्रपतिको पनि छोरी नै छ, भा कै छ त !’
‘चुप लाग’, थीरेन्द्र भन्थ्यो, ‘हाम्रो छोरा छ ।’

घरको जग्गाजमिन सबै बन्धकीमा भए तापनि पाँच बहिनी छोरीपछि छोरो जन्मिएकाले यो संसारको आधा हिस्सा मेरो पनि हो भने झैँ थीरेन्द्रले ढाडसको जिन्दगी ज्युँदै थियो । ऊ आफ्नो छोरो हर्कराजलाई आफूलाई भन्दा बढी माया गथ्र्यो । छोरीहरूलाई पनि माया नगर्ने त होइन तर छोरामा माया अनि सहारा पनि पाउँथ्यो । यसैले छोराकै लागि भए पनि राम्रो सम्बन्ध नभएको आफ्ना सई दाजु धीरेन्द्रसँग सर्वस्व मन हारेर बिर्के टोपी मागी छाड्यो, ‘भतिजोलाई यस्तै टोपी चाइयो रे हौ ! त्यता बजारतिर नक्कली पाइएला नि ।’

 

धीरेन्द्रले आफ्नो भाइलाई पिलिक्क हेर्‍यो । ख्याउटे शरीर, पातलो टिसर्ट र ट्राउजरमा उभिएको भाइ, अति नै नाजुक स्थितिमा देखिन्थ्यो । भाइको दु:ख पनि कति हेर्नु ! घरजग्गा सबै छाडिदिएकै हो, आमा आफैंले हेरेको छ, ती भतिजीहरूलाई बर्सेनि लुगाफाटा हेरेकै छ, सहयोग पनि कति गर्नु ? भाइको बुद्धि र चालचलन देखेर कहिल्यै घर नपसँ लाग्ने धीरेन्द्रलाई ती बच्चाहरूको नाजुकता र बुहारीको समर्पणलाई सम्मान गरेर आँगनमा पाइला राख्थ्यो । आमालाई आपूmले धरानमा जति सुखमा राखे पनि कान्छा छोराका भोका नांगा बच्चाहरू सम्झेर कहिल्यै जीउ लिन सक्नुभएन । ‘दुईटी छोरी मलाई दे न त म राम्रै पढाइदिन्छु’ नभनेको पनि होइन तर भाइ भन्छ, ‘दु:ख पाएँ भन्दैमा म छोरीहरू कम्लरी पठाउँदिनँ ।’

‘तपाईंको त पाँच जनापछि भाइ जन्मियो । मेरो छोरै जन्मिएन भने ? ’, उत्सुक्ताले उठेर आमालाई प्रश्नको झटारो हानी र बाहिर निस्किई ।

हठको पनि सीमा हुन्छ । ढंग न रंगको हठ, सीपविहीनको अहम् र खानलाउन बिनाका छोराछोरी देखेर धीरेन्द्रलाई जिन्दगीको सबैभन्दा तीतो आफ्नै भाइ लाग्छ ।
बोल्ने मन थिएन धीरेन्द्रलाई तर उसको बाउको पछाडि ट्राउजरमा झुन्डिरहेको भतिजोको निन्याउरो अनुहार देखेर मन पिलिली पग्लियो । मुसुक्कै हाँस्दै बोल्यो धीरेन्द्र, ‘अर्को चोटि आउँदा ल्याइदिन्छु ल!’

चियाको अन्तिम घुट्को तानेर धीरेन्द्र आफ्ना जवानहरूसँग हिँडिहाल्यो । दाजु गइसकेपछि थीरेन्द्र एक्लै हाँस्दै बोल्यो, ‘छोरो देख्दा तीन नेत्र बल्छ अपुतालीको ।’
०००
घाम डुब्नै लागेको थियो । बाटाको घर आउनेजाने भइरहन्छन् । बलेसीमा झोक्राएर बसिरहेकी थीरेन्द्रकी ठूली छोरी उत्सुक्तातिर देखाएर हिँड्दा-हिँड्दै हरिनन्दले राजकुमारसँग भन्यो, ‘यो उमेरमा त मान्छे चञ्चले हुनुपर्ने तर यो नानी त कस्तो जहिल्यै आलस्य देखिन्छिन् ।’
‘१३ वर्षको उमेरमा पान्जना भाइबैनीको स्याहारसम्भार सम्हाल्नुपरेको छ त, कहाँबाट आओस् चञ्चलता ? ’

‘हुन त हो, डेढ वर्षकै उमेरमा दूध खोसियो, माम खोसियो जामा खोसियो । धन्न पो....।’, राजकुमारको कुराले हरिनन्दको चित्त बुझ्यो ।
पहिलो सन्तानको नाम थीरेन्द्रले नै ‘उत्सुक्ता’ राखेको थियो । सुँगुर काटेर पास्नी गरेको थियो । फेरि अर्की छोरी आई । आमाले ‘हृदया’ नाम राखिन् । फेरि छोरी आई, थीरेन्द्रले नाम राख्न छाड्यो । त्यत्तिकै ‘सानी’ नामले हुर्कंदै गई । अन्तिम प्रयास चौथो छोरी जन्मिई । आमाले पनि नाम राखिनँ । उसकी दिदीले नाम राखिदिई ‘तिर्सना’ । त्यसको एक वर्षपछि सायाबुङमा फेरि सुत्केरी भई । थीरेन्द्र त्यो दिन बाहिरै बस्यो । उत्सुक्ताले सुत्केरी आमा स्याहारी । कुखुरो एउटा त थियो तर काटिदिने मान्छे नभएपछि सुत्केरीले पनि इस्कुस र सागसँग भात खाई । खानेकुरा नभए पनि यो पल्ट छोरो जन्मिएकामा ऊ खुसी थिई । एमानको भारी बिसाएजस्तो भएकी थिई ।
‘अब त मरे पनि बच्चा पाउने हुँदिनँ, पाओस् अरू नै खोजेर ।’
तर, थीरेन्द्र भने फेरि पनि छोरी नै त जन्मियो होला भनेर घरै आएन । न्वारनको दिन आएर छोरोको नाम हर्कराज राखेको थियो । छोरीमात्रै जन्मिएर अपुताली भनिमाग्नुभन्दा मुग्लान पस्नु बेस सम्झी बेल्टार पुगेको थीरेन्द्रलाई आफन्तले छोरोको खबर गरेपछि फर्कंदा ६ दिन बितेको थियो ।

थीरेन्द्रले आरा काट्ने काम पायो । ऊ पार्टनरहरूसँग जंगल-जंगल बस्न थाल्यो । जंगलमै आरा काट्ने, जंगलमै सिकार गर्ने, उतै हिउँद बिताउन थाल्यो । उसको साथमा अरू थुप्रैले सिकार गर्ने मौका पाए । थीरेन्द्रले दु:ख पाएकोले छोराछोरी हुर्किञ्जेलको लागि सिकार गर्न दिने सल्लाह भएको थियो वन उपभोक्ताबीचमा । उसलाई सिकार गर्न पनि विरोध आएको थिएन । तर, ऊ एकजनाले गर्दा दिनदिनै सिकारी बढ्न थालेपछि पोल पुग्यो थानामा । थाना प्रमुख धीरेन्द्रले आफ्नै भाइलाई पक्राउ पुर्जी पठाउनु पर्‍यो । धीरेन्द्रले एकचोटि भुइँतिर थुके ।

भाइलाई थानामा ल्याइयो । धीरेन्द्र अफिसबाट बाहिर निस्केनन् । थीरेन्द्र उजुरीमा पर्नु पनि धीरेन्द्रकै रिस गर्नेहरूको कारण थियो । आखिरमा गाउँले प्रमुखलाई बोलाएर उनकै जमानीमा थीरेन्द्र थानाबाट छुट्यो । भाइलाई घर पठाएर धीरेन्द्रले सरुवाको निवेदन हाल्यो । थीरेन्द्र घर पुग्दा सायाबुङमाले हरिणको सुकुटी र भात पकाएर पर्खिराखेकी रहिछ । थीरेन्द्रले भान्सा गर्न बसिरहेको बेला अघि थानामा सही गरेको सम्झ्यो । ‘अबदेखि सिकार गरेमा जेलनेल जान तयार छु’ भन्ने काबुलनामा कागज सम्झ्यो । बडो नरमाइलोका साथ थीरेन्द्रले सुकुटीको टुक्रा मुखमा हाल्यो ।


उत्सुक्ता भरखर त १४ टेकेकी छ । तर, १९ वर्ष जतिकी देखिन्छे । हजुरबा गोत्ता गएकीले खानालाउनको अभावमा पनि हलहल बढेकी छे । माइली हृदया उति नबढेकी भए पनि चौपट्टै राम्री छे । साइँली त सानै छे । कान्छी झन् दूधेबालक । छोरीहरूको रूप देखेर थीरेन्द्रलाई साथीहरूले गिज्याउँछन्, ‘थीरे, तँ त आरा काट्न र छोरी जन्माउनै बनिएको होस् । सिकार उस्तै थियो । तर, बन्देज लागिगयो ।’

थीरेन्द्र स्टिलको गिलासमा रक्सी उठाउँदै गर्व र अपमान दुवै मि िश्रत हाँसो हाँस्छ । एकपल्ट अनुहारका चाउरीहरू मज्जाले भेला हुन्छन् र अनुहार नै सुकेको छोकडाजस्तो देखिन्छ । हरिन्द एक फुलबोटल सिग्नेचर रक्सी कोसेली बोकेर थीरेन्द्रको घर छिरेको छ । साथमा राजकुमार पनि । सायाबुङमाले उनीहरूलाई अनेक तर्कमा कोसेलीको अनुमान लगाइरहन्छे । ‘फेरि सिकार गर्नलाई फकाउन आएको हो कि ? कि आरा काटिमाग्न हो कि ? ’ मनमा अनेक कुरा खेलाउँदै पनि हरिणको अन्तिम सुकुटी भुटिदिई रक्सीलाई सितन ।

गाउँमै पनि सहरिया घर छ थीरेन्द्रको । एकतले घरमा चारवटा कोठा छन् । सिकुवा छैन । बलेसीदेखि अरूकै जग्गा छ । ट्वाइलेट, सुँगुरखोर, कुखुराखोर सबै अरूकै जग्गामा । यति जग्गाको सायाबुङमाले वर्षमा दस खेताला सघाउँछे जग्गाधनीलाई ।
रक्सीको रातो रन्कोमा हरिन्दले कुरा निकाल्यो, ‘थीरेन्द्र भाइ, हुन त चित्त नदुखाऊ, छोरी उमेरले सानै छे । तर, मेरो जेठानको छोरो पनि भरखर १८ लाग्यो । यसैपाला यूके लागेको छ । यसो कुरो चलाइराखिदिनू भनेकाले पो यसो पसियो त ।’
सायाबुङमाले उछिनेर बोली, ‘यति सानैमा किन बिहा गर्नु परेछ त ? २२, २३ मा गरे हुने नि ।’

हरिनन्दको कुराले थीरेन्द्रको घाँटी निमोठ्यो । अकस्मात दृष्टि गुमाएका बाबुले छोरोसँग एउटा आँखा दान मागेजस्तै अप्ठेरो पीडाले घोच्यो । उसले रक्सी खान छाडेर पानी पियो घटघट ।
‘थीरेन्द्रले लामो लामो सासमात्रै तानिरह्यो ।’ अनि सायाबुङमा नै बोली, ‘सल्लाह गरेर भन्छौं है दाजु ? ’


वर्षा लाग्न लागिसक्यो । त्यसैले थीरेन्द्र एकदिन पनि नबिसाई फेरि आरा काट्न बिहानै हिँड्यो । सायाबुङमाले आफ्नो खेतालाको पैसा र लोग्नेले छोडेको घरखर्च जम्मा गरेर २१ सय पारी अनि सल्भ नेपालमा हालेर सदस्य बनी । आपत्विपतमा ऋण पनि लिन मिल्ने भएकाले ऊ त्यता लोभिई । गाउँमा ९ कक्षासम्म पढेकी आमा भएको र आर्थिक अभावको कारणले पनि उनलाई संस्थाका प्रमुख श्रीकृष्ण श्रेष्ठले महिनावारी आठ सय भत्तामा संस्थाको हिसाबकिताब मिलाउन जिम्मेवारी दिए । साथै पाँच सय रुपैयाँको मोबाइल रिचार्ज कार्ड पनि ।

सायाबुङमा खुसी भई । दिनभरि खेताला जान्छु, रातभरि हिसाब मिलाउँछु । के छ र, दुईचार रात दु:ख गरे त भइहाल्छ नि । त्यति गरेको भरमा आठ सय रुपैयाँ सित्तैमा आउँछ । खेतालो जाँदा चार दिन पूरै भारी बोक्नुपर्छ कि त खन्नुपर्छ । त्यति पैसाको लागि । मनमनै आफंैसँग बात मारी उसले ।

बिहान संस्थाको बैठकबाट आएपछि हतारहतार खाना खाएर खेतालो गई दाउरा बोक्ने काम थियो । मन हलुंगो भएपछि भारी पनि त्यति गह्रुँ नलाग्दो रहेछ ।
बेलुकी खाना खाएर सायाबुङमा हिसाब गर्न बसी । कसको हिसाब कति हो, कसले कति लगेको, कति हजारको ब्याज कति निकाल्नुपर्ने, केही भेउ नपाएपछि श्रीकृष्ण सरलाई डराउँदै फोन गरी । फोन गरे पनि काटियो । फेरि गरी, बिजी थियो । डराई र फोन राखी । राख्नेबित्तिकै फोन आयो सरको ।

डराउँदै उठाई, ‘हलोऊ !’
सर बोले, ‘अँ साया किन फोन गरेकी ? ’
सरको प्रश्नले सायाबुङमाको मुटु बेस्मारी थर्कियो । डराउँदै बोली, ‘सर हिसाब अलिक बुझिनँ, बिहान एकताल सिकाइदिनुहुन्छ ? ’
‘एकताल भन्नुहुन्न लाटी । गोप्यतिर जान्छ । एकचोटि भन्नुपर्छ ।’
सायाबुङमाले यति लामो जिब्रो तानी । एक्लै लजाइ र राती भई । सरले भने, ‘म बिहान आउँला ।’
सायाबुङमाले सघाउनुपर्ने मान्छेहरूको नाम पात्रोमा लेख्दै गई, चिरन बोजुको दुई दिन, पर्गती माइजूकोमा चार दिन, जोरघर तीन दिन, राजकुमार बाजेकोमा पाँच दिन, मिलनलाई एक दिन, परिताको आमा बोजुकोमा दुर्इ दिन, डँडकेमा बोजुलाई एक बिहान । वैशाख त हिँडिगयो । बिसाउने एकदिन छुट्टी छैन । अनि बाँकी दिन अरू पैसा छोड्नेहरूको ।
खुइ मारेर बेन्चीमा बसी । छोरीले भित्र खाना बनाइरहेकी थिई । भाइबैनीहरू अभैm बाटैमा खेल्दैथिए ।
फोन बज्यो । हेरी । सरले पो गर्नु भएछ, ‘साया खाना खायौ ? ’
‘छैन सर ।’
‘केको तरकारी छ ? ’
‘ख्वई...? ’
सायाबुङमा बोलिनसकी सर बोले, ‘बिहानको मासुको तरकारी त्यत्तिकै छ बच्चाहरूलाई लिन पठाऊ, खान्छन् । साथी पनि आएन, मलाई पनि खाने मन छैन ।’
सायाबुङमा बोलेकै थिइन । सरले नै भने, ‘छिट्टो पठाऊ है । रातपरि जान्छ । म नुहाउन हिँडे ।’
नभन्दै साइँली र कान्छी दौडिँदै गएर लिएर आए । आलु र गुन्द्रुकको आलो तरकारीमा त्यो खसीको बासी मासु मिसाइयो र मीठो गरी खाना रुचाइयो । बाबुले सिकार गर्न नपाएपछि छोरीहरूले अघाउञ्जेल मासु खान पनि त पाएका थिएनन् ।

सायाबुङ्माले दैनिकी लेख्नै पर्दैन । बिहान घरको काम गर दिउँसो खेतालो जाऊ । ६ बजे घर फर्क । ७ बजेसम्म बेन्चमा जिन्दगी सम्झेर टोलाइरही ।
अब अर्को पाटो थपियो, पौने ७ बजेतिर सरको फोन आउँछ । गफ गर, दु:खका कुरा सुनाऊ । सरलाई गाउँबाट मेडमले पठाएको कोसेलीहरू लिन जाऊ, ल्याएर मीठो मसिनो खाऊ ।
के गर्नु, जंगलमा टावर टिप्दैन । र त थीरेन्द्र बेखबर छ ।

खाना खाइसकेर प्रफुल्ल मुद्रामा परिवार गफ गरिरहेका थिए । साहिँली छोरीले बहिनीको दुखेसो सुनाइ, ‘ऊ आफ्नो शिशु कक्षामा नबसी खाली मसँग दुई कक्षामा बस्छ अनि मेरो नाम सरले बोलाउनुभएन भनेर रुन्छ ।’
सुनेर एकखेप सबै हाँसे । हाँसिसकेर सायाबुङमाले ठूली छोरीलाई जिस्क्याउँदै सोधी, ‘हन तेरो यसो केटासेटा छैन ? ’
आमाको अप्रत्याशित प्रश्नले उत्सुक्ता ट्वाँ परी ।
सायाबुङमाले फेरि सोधी, ‘यसो ब्वाईफ्रेन्ड बनाएको छैनस् ? ’
छोरी लजाउली भन्ठानेको त कस्तो क्रुद्ध भाषामा पो बोली, ‘मलाई बिहे गर्नु छैन भने किन केटा बनाउनु ? ’

‘‘किन गर्दैनस् बिहा ? झन् लाहुरेले मन पराको रै’छ ।’
‘मलाई तपाईंले जस्तो दु:ख भोग्ने मन छैन । छोरीछोरी पाएर तपाईंले दु:ख पाउनु भको मलाई राम्रो लागेको छ र ? ’
‘यी भाइ छ त अन्तिममा । तिमेरको माइती । बाउको वंश थाम्ने मान्छे ।’, सायाबुङले पर दिदीसँग खेलिरहेको छोरोलाई तानेर काखमा च्यापी । छोरो बटारिएर फेरि खेल्नै गयो ।
‘तपाईंको त पाँचजना पछि भाइ जन्मियो । मेरो छोरै जन्मिएन भने ? ’, उत्सुक्ताले उठेर आमालाई प्रश्नको झटारो हानी र बाहिर निस्किई ।

सायाबुङमाले हाँस्दै भनी, ‘त्यो त बिउमा पो भर पर्छ त । मेरो त बिवै बेकामे ही.. ही.. ही..।’
थीरेन्द्र पनि टुप्लुक्क आइपुग्यो । थोत्रो झोलासँगै प्रश्न पनि बेवारिस फ्याँक्यो, ‘के को बिउ र सिउ ?’
सायाबुङले भात बसाउने सुर गर्दै छोरीको कुरा सुनाइ, ‘आमाजस्तै म पनि छोरीछोरी पाउँछु, दु:ख पाउँछु, बिहा गर्दिनँ भन्छ हो.. । त्यैँ भएर बिउमा भर पर्छ भनेको ।’

ठ्याक्कै त्यहीबेला सायाबुङमाको फोन बज्यो । थीरेन्द्रले हतार फोन उठायो । उताबाट भकभकिएर साया सोधियो । सायाबुङमाले हतारै फोन खोसी र बोली, ‘ए सर, छोरीको बाउ पो आइपुगेछ र खाना पो बनाउँदैछु ।’

पापा देखेर सानो छोरी र छोरा तँछाड-मछाड काखमा घुस्रिन लागे । ‘उत्ता जाओ’ थीरेन्द्र बच्चाहरूदेखि झर्कियो । सायाबुङमाले पिलिक्क हेरीमात्र ।
गुर्भे टुकी पनि एकदम मधुरो थियो । पुरानो भएर होला चहकिलो प्रकाश दिन नसकेको ।

बिहान ७ बजेतिर बाहिर मान्छे बोलेको सुनेर सुतिरहेको थीरेन्द्र पनि उठेर निस्क्यो । बिरानो मान्छेले ‘साया खोइ ? ’ भन्दै कोठाचोटा चाहार्‍यो ।
थीरेन्द्रले आँखा ठुल्ठूलो पारेर हेरेपछि त्यो मानिस बाहिर बेन्चमै बस्यो र लामो सास फेर्‍यो । एकछिनपछि सायाबुङमा सुँगुरचारो हालेर आई र हाँस्दै नमस्कार गरी । थीरेन्द्रलाई चिनाई पनि, ‘ श्रीकृष्ण श्रेष्ठ सर । हाम्रो संस्थाको मुख्य मान्छे ।’

नबोली उभिरहेको थीरेन्द्रलाई नमस्कार गर्दै सरले भन्यो, ‘सरको परिचय पाइएन नि ।’
आफ्नो घर आएर आपैmंलाई परिचय सोधिएकाले थीरेन्द्र रिसले थरर भयो । उल्टै सायाबुङले झन् होच्याएर बोली, ‘परिचय भए पो भनोस् । काम छ आरा काट्ने, बसाइ छ जंगलमा । बिचराले बोल्नै त बिर्सिसक्यो होला ।’

थीरेन्द्र पनि के कम छेउमा भको पानीको ग्यालेनमा राम्रै लात बजार्‍यो । सर हतारहतार हिँडे ।
सायाबुङमाले सानो कुखुरो काटी । भात पकाई । थीरेन्द्र नबोली बसी नै रह्यो । ९ बजे खाना खाएर सबै बच्चाहरू स्कुल गए । सायाबुङमा लोग्नेको छेउमा गई । तर थीरेन्द्र त उठेर बाहिर पो गयो ।

फेरि भित्र पसेर लुगाहरू खोज्न थाल्यो । झोला कस्यो । र भन्यो, म पासपोर्ट बनाउन जान्छु ।
‘किन फेरि ? ’
‘बताइरहने काम छैन ।’

बडाबाउले हर्कराजलाई टोपी ल्याइदिएछन् । फोटो पनि खिचेर एकछिनमा एकप्रति निकालिदिए । उत्सुक्ताले पुरानो फ्रेममा हालेर भाइको फोटो भित्तामा सजाई । धुवाँले खाइसकेको भित्तामा यसरी सजिने आमाबाबाको तस्बिरपछि अर्को एउटा यही हर्कराजको फोटो थियो ।

जेठ लागिसक्यो । खेताला भन्नेहरू घरमा आएर सायाबुङमाको हातमा पैसा लगाइदिन खोज्छन् । ऊ मान्दिनँ । कसले सघाउँछ र पैसा लिनु ? लोग्ने पासपोर्ट बनाउन हिँडेको फर्किएन । कहाँ पुग्यो जानकारी पनि छैन । छिमेकीहरू खल्तीमा पैसा हालिदिएर हिँड्छन् । सायाबुङमा एक्लैले कतिलाई सघाउन भ्याउनु ?

एकदिन ४ बजेदेखि बेस्मारी पानी बर्सियो । बिजुली चम्क्यो । हर्कराजलाई बेस्सरी बाबाको चिन्ता लाग्यो । मनमनमा उसले बाबा पानीले भिजिराखेको देख्यो, पैह्रोमा भाग्दै गरेको देख्यो । अनि झ्यालबाट मुन्टो निकालेर बेस्मारी करायो, ‘बाबा हौ !’

दिदी चाहिँले कठालोबाट तानेर भित्र हुली । उसले भित्तामा झुन्डिइरहेको फोटोमा बाबालाई हेर्‍यो । सँगै आफ्नो पनि देख्यो । घरमा बाबा नहँदा आकाशले थिचेजस्तै निस्सासिएजस्तो भकोबेला त्यो बिर्खेटोपी पनि त्यत्तिकै गह्रौं देख्यो । अनि फोटो निकालेर त्यो टोपी जति च्यातेर फाल्यो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2