MENU

मुगुकी जयाको उदाहरणीय सफलता

patan-college

डा. नम्रता पाण्डे बुधवार, असोज २५, २०७४ 5954 पटक पढिएको

Share This

635-x-85

 

भौगोलिक रूपमा विकट र असुविधा भएकै कारण कर्णालीका मानिसहरू अवसर र सुविधाबाट वञ्चित छन् । सामान्य आवश्यकता पूरा गर्न पनि अनेक कष्ट बेहोर्नुपर्ने बाध्यता छ । त्यसमा पनि अलिकति सम्पन्न र शिक्षित व्यक्तिले राजधानीमा बसेर अनेक व्यवसाय गर्ने र छोराछोरी पनि त्यहीं पढाउने गरेको पाइन्छ । कसरी आयआर्जन गर्न सकिन्छ र जीवनस्तर उकासिन्छ भन्ने जानकारी मात्र होइन, उचित अवसरबाट पनि उनीहरू वञ्चित छन् । आर्थिक अवस्था कमजोर भएका परिवारलाई अझै पनि जीवन कष्टकर नै छ ।

त्यसमा पनि पुरुषको तुलनामा घरको काम, बालबालिकाको स्याहारसुसार, खेतीपाती र पशुपालनमा महिला नै बढी खट्नुपर्ने अवस्था जगजाहेर छ । गुजारा चलाउन धौ-धौ पर्ने कृषि उत्पादन, आयस्रोतको विकल्प नहुनु आदि कारणले शिक्षा, स्वास्थ्य, खानपान (पोषण) सबै दृष्टिकोणले कर्णालीका जनता पछाडि पर्नु राष्ट्रकै लागि चिन्ताको विषय हो । एकैचोटि र नाटकीय रूपमा विकास हुन कठिन छ कर्णालीमा तर सानातिना अवसर प्रदान गर्दै जाने हो भने त्यहाँका मानिसले पनि आफ्नो सफलताको कथा बनाउन र बताउन सक्दा रहेछन् ।

 

मुगु जिल्ला सेरीकी स्थानीय वासिन्दा ३७ वर्षीया जयालक्ष्मी मल्लको जन्म विपन्न परिवारमा भएको थियो । उनी सानै हुँदा बाबाआमाको स्वर्गवास भएको र माइतीपक्षका नजिकका काका पर्ने गगनबहादुर शाही र उनकी पत्नीले धर्मछोरीको रूपमा उनलाई हुर्काए । १३ वर्षसम्म जयाले स्कुल पढ्ने इच्छा भए पनि पाइनन् । स्कुल जाने उमेरमा पढ्न नपाएकोमा रुँदै बाख्रा चराउन जान्थिन् । आफूसरहका साथीहरू स्कुल गएको देख्दा तिनलाई निकै भाग्यमानी ठान्थिन् । बाख्रा चराउनु उनको दैनिकी थियो ।

समयक्रममा आफूभन्दा १६ वर्ष उमेर बढी भएका व्यक्तिसँग उनको विवाह भयो । श्रीमान् पनि निम्नस्तरको परिवारमै हुर्किएका कारण रोजगारको निम्ति भारत गई करिब ३१ वर्ष बिताएर घर फर्केका थिए । आफूभन्दा उमेरमा अलिक धेरै जेठो भए पनि परिपक्व अनि दुःख भोगेको श्रीमान् पाउँदा उनी खुसी थिइन् । अभिभावकले झैं माया र सहयोग दिएकाले भारतबाट फर्केपछि मुगु जिल्लाको सदरमुकाम गमगढीमा सानो होटेल स्थापना गरेर जीवन गुजारा गर्दै आए उनका दम्पती । 

दसकौंदेखि उठ्दै आइरहेको महिला उत्थान, समग्र विकास र सशक्तीकरणको आवाजलाई अब कृषि व्यवसायलगायतका अवसर दिएर सक्षम बनाउन सकिन्छ ।

होटेल व्यवसाय गर्दागर्दै गमगढीमा थोरै जग्गा किनेर सानो घर बनाउन सफल भए । होटेल व्यवसायलाई नै आफ्नो कर्म र सेवा मान्दै अनि ग्राहकको मन जित्दै आएको १९ वर्ष पूरा भएको छ । उनका श्रीमान् विगत पाँच वर्षदेखि होटेल व्यवसायी संघको जिल्ला अध्यक्ष पनि छन् ।
दुई छोरा र एक छोरीकी आमा जयालाई होटेल व्यवसायबाट मात्र सन्तानलाई शिक्षा, स्वास्थ्य र उनीहरूको भविष्य निर्माणमा खर्च जुटाउन कठिन थियो । विभिन्न सामाजिक संस्कारले होटेल व्यवसायलाई मात्र अगाडि बढाउन उनी सक्दैनथिन् ।

आफ्ना परिवारले बाहेक अरूले खाएको जुठा भाँडा माझ्नु हुन्न, मासिक धर्म हुँदा खाना पकाउनु र भान्छा छुनु हुन्न, औंसी-पूर्णिमामा व्रत बस्नुपर्छ भन्ने सामाजिक मान्यताका कारण उनको होटेल सहज रूपमा चल्न सक्दैनथ्यो । छोराछोरी हुर्कदै गएपछि उनीहरूका पढाइ र अरू आवश्यकता बढ्दै जानु स्वाभाविक थियो । यसैबीचमा एसियाली विकास बैंकको अनुदान सहयोगमा मुगु जिल्लामा पनि हिमाली आयोजना सुरु भएको थियो । परम्परागत कृषि, पशुपालन र अन्य व्यवसायलाई नाफामूलक व्यवसाय बनाउने, रोजगार वृद्धि गर्ने र जीवनस्तरमा सुधार ल्याउने हिमाली आयोजनाको उद्देश्यअनुरूप विभिन्न उपआयोजना उपलब्ध गराउने प्रावधान थियो । जयालाई यो हिमाली आयोजनाले ठूलै सहयोग गर्‍यो । नियम र प्रक्रियाअनुसार उनको भेडापालन उपआयोजना स्वीकृत भयो ।

भेडापालन अब उनको दरो व्यवसाय बनेको छ । आम्दानीबाट कर्मचारीलाई तलब दिई बचेको पैसामध्ये हालसालै मात्र चार लाख रुपैयाँ भर्खरै मात्र इन्जिनियरिङमा नाम निकाल्न सफल छोराको लागि खर्च गर्न सकिन् । यही व्यवसायले उनको सपना पनि सफल हुँदै गएको छ र छोराको इन्जिनियर पढ्ने इच्छा पनि पूरा गरेरै छोड्छु भन्ने आत्मविश्वास उनमा बढेको छ । वार्षिक १५ प्रतिशतको दरले आम्दानीमा वृद्धि गर्ने हिमाली आयोजनाको उद्देश्यमा उनी पुग्ने विश्वास लिएकी छन्।

नेपालको परिप्रेक्ष्यमा कृषि व्यवसायदेखि लिएर हरेक किसिमका उद्योग सञ्चालनमा नलाग्दासम्म महिला आर्थिक रूपमा सक्षम हुन सक्दैनन् । परम्परादेखि नै नेपालको अर्थतन्त्र कृषिमा आधारित छ । किनभने पर्यटन, जलविद्युत्, उद्योगधन्दा र अरू व्यवसायको थप सम्भावना हुँदाहुँदै पनि अपेक्षित रूपमा ती क्षेत्रको विकास हुन सकेको छैन । रोजगारको माध्यम र अवसरको कमीले युवाजमात विदेश पलायन हुन पुगेको छ, जसमा महिला संख्या पनि बढ्दै गइरहेको छ । बाँकी जनशक्ति कृषिमै आश्रित छन् र यसलाई राम्ररी विकास गर्ने हो भने कृषिले देशको अर्थतन्त्रमा टेवा पुर्‍याउन सक्छ।

यस्ता व्यवसायमा पनि महिलाले योगदान गर्न सक्दा रहेछन् भन्ने उदाहरण उनीहरूका सफलताका कथाले बताउन थालेका छन् । त्यसैले दसकौंदेखि उठ्दै आइरहेका महिला उत्थान, समग्र विकास र सशक्तीकरणको आवाजलाई अब कृषि व्यवसायलगायतका अवसर दिएर सक्षम बनाउन सकिन्छ । जबसम्म महिला आर्थिक रूपमा सक्षम हुँदैनन् तबसम्म आत्मनिर्भर बन्न सक्दैनन् । जब आत्मनिर्भर बन्छन् तब मात्र सशक्त रूपमा अगाडि बढ्न सक्छन् ।

 

720x90_1
 720x90pix
  730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2