MENU

पहिचान बन्दै मारुनी नृत्य

635x90_3

गोपाल छन्त्याल बुधवार, असोज २५, २०७४ 955 पटक पढिएको

Share This

635-X-85_1

 

बेनी : म्याग्दीका मगर समुदायले मारुनी नृत्यलाई आफ्नो जातीय पहिचानका रूपमा संरक्षण गर्दै आएका छन् । मेलापर्वदेखि सभासम्मेलनसम्म उनीहरूले यो नृत्य प्रस्तुत गरेर पुर्खाले सुम्पेको संस्कृतिलाई मर्न दिएका छैनन् । पुरुष नै महिलाको पहिरनमा सजिएर नाचिने भएकाले यो नृत्यलाई मारुनी नृत्य भनिएको हो । पुर्खाहरूले गर्दै आएको परम्परालाई संरक्षण गरिरहेका कारण यसलाई पुख्र्यौली नृत्यसमेत भन्ने गरिएको छ ।

म्याग्दीको हरेक गाउँमा यो नाच नाच्ने गरिन्छ । पर्यटकीय क्षेत्र शिख, घार, नागी, पाउद्वारलगायतका गाउँमा यो नृत्य व्यावसायिक रूपमा प्रस्तुत गर्ने संस्कारको विकास भएको छ । यो नाचमा मादले र मारुनीको संख्या बराबर हुनुपर्छ । सकभर बिजोर संख्या भएको राम्रो मानिन्छ । एउटा गीतको टुक्का निकालेपछि अरूले त्यसलाई पछ्याउँदै गाइन्छ ।

४५ वर्षदेखि मादलेका रूपमा नाच्दै आएका पाउद्वारका रुद्र मगरले अग्रजको सम्मानका लागि गाउँमा पुख्र्यौली नृत्यलाई जगेर्ना गर्दै आएको बताए । ‘यसमा नाच्दा र गाउँदा छुट्टै आनन्द आउँछ । पछिल्लो समय नयाँ पिँढीको पनि उत्तिकै आकर्षण बढ्दै गएको छ’, उनले भने । नाचको सुरुमा सरस्वती जगाइन्छ, त्यतिबेला केहीलाई सरस्वती जाग्ने हुँदा काँम्नेसमेत हुन्छ ।

 

गीतमार्फत राम-लक्षणका वाणीहरू र सरस्वतीलाई सम्मानपछि काम्ने हराउँदै जान्छ । यो नृत्य एउटा पुस्ताले अर्को पुस्तामा हस्तान्तरण गर्ने संस्कारका कारण म्याग्दीमा जीवित रहँदै आएको छ । नौ वर्षको उमेरदेखि मारुनीका रूपमा नृत्य गर्दै आएका राम पुनले पुर्खाले दिएको संस्कृति जोगाउनमा आफूहरू लागिपरेको र गाउँका धेरै युवाहरू यसप्रति आकर्षित भइरहेको बताए ।

‘गाउँमा अग्रजहरूले सिकाउनुहुन्छ । विद्यालयमा यो सिक्ने छुट छ’, उनले भने, ‘रेकर्डिङ गीतमा नाचेजस्तो सजिलो हुँदैन, सुर र तालमा बढी ध्यान दिनुपर्छ ।’ यो नृत्य ठाउँ विशेष केही फरक भए पनि समग्रमा यसले दिने भाव भने एउटै हुन्छ । म्याग्दीसँगै पर्वत, बागलुङ, कास्कीका मगर समुदायले यो नृत्यलाई जगेर्ना गर्दै आएका छन् ।

मेला महोत्सवसँगै विवाह, व्रतबन्धलगायतका शुभकार्यमा यो नृत्य प्रस्तुत गर्ने मारुनी नृत्यका अभियन्ता मनबहादुर पुर्जाको भनाइ छ । ‘कुनैबेला यो नृत्य लोपोन्मुख अवस्थामा थियो । तर, नयाँ पुस्ताले आत्मसात् गरेसँगै यसले व्यापकता पाउन थालेको छ । कला संस्कृतिमा धनी हाम्रो मुलुक, गाउँगाउँमा लुकेर रहेका यस्ता परम्परालाई संरक्षण र व्यावसायिक बनाउन राज्यको तर्फबाट पनि केही पहल हुनु आवश्यक छ’, उनले भने । 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2