MENU

वाम एकतापछिका उपलब्धि र आशंका

635x90_1

डा. बद्रीविशाल पोखरेल बिहीबार, असोज २६, २०७४ 1446 पटक पढिएको

Share This

635-X-85

वाम एकताबाट लोकतन्त्रको अपहरण हुन्छ कि भन्ने कांग्रेसको जुन आशंका छ, त्यो व्यर्थ देखिन्छ

जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादपक्षधर प्रमुख कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल तथा पार्टी एकीकरणले नेपालको राजनीतिक तहमा आठ रेक्टरको भूकम्प सिर्जना गरेको छ। एमाले र माओवादी केन्द्रले उपर्युक्त दुवै सिद्धान्तको प्रतिपादन परिस्थितिको ठोस विश्लेषण गरेरै गरेका हुन्।

एमालेका तत्कालीन महासचिव मदन भण्डारीले समग्र कम्युनिस्ट आन्दोलनको देशीय सन्दर्भमा समेत गम्भीर समीक्षा गरे। भण्डारीले माक्र्सवाद तथा कम्युनिस्ट आन्दोलनमा सूक्ष्म, सुषुप्त र ओझेल परेको द्वन्द्ववादलाई नेपाली कम्युनिस्ट राजनीतिमा प्रवेश गराए। फलतः एमालेले नयाँ जनवादको सारतत्वलाई यथावत् राखेर रूपमा बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिका माध्यमबाट राजकीय र राजनीतिक नेतृत्व हासिल गर्ने सिद्धान्त तय गर्‍यो।

 

 

यसरी नै माओवादी केन्द्रले पनि दसबर्से लामो सशस्त्र संघर्षका अनुभव समेटेर प्रतिस्पर्धाको राजनीतिक मान्यतामा आधारित एक्काईसौं शताब्दीको जनवाद अगाडि सार्‍यो। यसले पनि प्रतिस्पर्धाको राजनीतिलाई सार र सूत्रमा लिपिबद्ध गर्‍यो। यी दुवै पार्टीहरू एकअर्काबीच रणनीतिक लक्ष्य अर्थात् वैज्ञानिक समाजवाद स्थापनाको उद्देश्यमा एक भए पनि कार्यनीतिक, कार्यक्रमिक र कार्यदिशाको दृष्टिले हालसम्म विभाजित थिए।

माओवादी केन्द्रमा हाल माओवादको औचित्य पुष्टि गर्ने पार्टी संगठन, संरचना, कार्यक्रम, कार्यनीति र कार्यदिशाको अभावमा रहेको स्पष्टै छ। एउटै रणनीतिक लक्ष्य लिएका प्रमुख वाम पार्टी सदा विभाजित हुनु देश, जनता र जनजीविकाको हकहितको सबालमा अनिष्ट हो र अझ अहिले नेपाल केही वैदेशिक शक्तिको प्रयोगशाला बन्न खोजिरहेको र यसले नेपालमा राजनीतिक चरम अस्थिरता सिर्जना गरेर देशको अखण्डता नै धरापमा पार्ने टड्कारो अवस्था विद्यमान छ। अझ कम्युनिस्ट पार्टीमा आबद्ध रहेर लामो समय लगन र लगानी गरेका तर यत्रतत्र रहेका नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईसहित अन्य नेताहरूलाई समेट्ने जुन अठोट गरिएको देखिन्छ, यो स्वागतयोग्य हो।

अहिले नेपालको आन्तरिक राजनीतिमा उत्पन्न अन्तर्विरोधमा अरू धाँजा पारेर राष्ट्रको स्वतन्त्र, अखण्ड र स्वाधीन अस्तित्वमा तलवितल पार्ने अवस्थामा बृहत् वाम एकता एउटा महान् उपलब्धि हो। प्रतिस्पर्धाको राजनीतिबाट पनि राजकीय नेतृत्व हासिल गरेर मुलुकको भाग्य र भविष्य निर्माण गर्न सकिने स्पष्ट उदाहरण नेपालको कम्युनिस्ट पार्टीका अनुभवमा आधारित भएर पनि यो वाम तालमेल र एकता हुन सकेको हो। तथापि तालमेल हुँदै पार्टी एकता गर्ने सबालमा अनेक जटिल सबाल देखिन्छन्, तर कुशल ड्राइभरका हातमा परेको गाडी अप्ठ्यारो बाटोमा पनि निर्विघ्न रूपमा लक्ष्यमा पुगेजस्तै एकता अभियानले सफलता पाउनेछ तर खलासीका हातमा राजनीतिक र राजकीय नेतृत्व पर्‍यो भने असफलता अवश्यम्भावी देखिन्छ। तथापि दक्षिणपन्थी उग्रवाम पन्थीहरू बृहत् वाम तालमेल र एकताबाट आत्तिएका देखिन्छन्।

सामान्यतया फुटभन्दा जुट, विभाजनभन्दा एकता, विग्रहभन्दा सुलह र सम्झौता जाति कुरा हो। नजिकको छिमेकी भारतमा अरूबेला चारतिर फर्किएका चारमुखे ब्रह्माहरू राष्ट्रिय स्वार्थमा एकमुख हुन्छन्। तर नेपालमा सदा विभाजन, विखण्डन र विग्रह देखिन्छ। कम्तीमा राष्ट्रिय अखण्डता, स्वाधीनता र समृद्धिका सबालमा त एकमुख र एकजुट हुनुपर्ने हो, त्यति पनि हुन सकेको देखिन्न।

नेपाली कांग्रेस पार्टी आफ्नो पार्टीका नेता प्रदीप गिरीले भारतीय एक प्रमुख नेतासमक्ष नेपालमा भारतीय हस्तक्षेप निम्त्याउन खुला सार्वजनिक आह्वान गरेको विषयमा मौन बस्छ भने वाम तालमेल र एकताबाट तर्सिएर कोकोहोलो मच्चाउँछ। कांग्रेसका अधिकांश नेताले गरेको यो कोकोहोलो आगामी दिनमा आफ्नो सत्ता, स्वार्थ, सम्पत्ति र सुखभोगमा यो एकता वाधा बन्ने भयातुर स्थिति मात्र हो। यस पार्टीले देखासिकी गर्न खोजेको लोकतान्त्रिक गठबन्धन सत्ता स्वार्थकेन्द्रित मात्र रहेको स्पष्ट हुन्छ।

अर्कोतिर नेकपा वैद्यको बृहत् वाम एकताको कटु आलोचना पूरै अद्वन्द्ववादी, अतिवादी, उग्रवादी तथा संकीर्ण मानसिकताको उपज हो। मित्रशक्तिहरूबीच एकता आलोचना र एकता माक्र्सवादी वैज्ञानिक सूत्र र सिद्धान्त हो। घर जलेपछि पोखरी खन्नुभन्दा पहिल्यै पोखरी खन्नु बुद्धिमानी हो र यो बुद्धिमत्ता प्रमुख वाम पार्टीहरूले अहिले गरेका छन्। यो तालमेल र एकताले आगामी प्रदेश र प्रतिनिधिसभामा बहुमत वा दुईतिहाइ जित हासिल गर्ला तर पनि देश, जनता र जनजीविकाको सबालमा गुणात्मक परिवर्तनकारी काम गर्न सकेन भने यसको फल र उपलब्धि केही नेताहरूले मात्रै पाउनेछन् अनि त्यसबेला जनतामा आएको आक्रोश अरू कसैले थाप्ने मात्र होइन, राजनीतिक बर्कोमा पोको पार्‍यो भने अचम्म नमाने हुन्छ।

एउटा सही विधि, पद्धति, प्रणालीभित्र रहेर राजनीति र राजकीय क्षेत्रलाई पारदर्शी रूपमा परिचालन गर्ने आँट र अठोट भएको सबल र कुशल नेताले मात्र एकतालाई सुदृढ एकता तथा दूरगामी ऐक्यता कायम गराउन सक्छ। एमाले पार्टीलाई जननेता मदन भण्डारीको आदर्शले मात्र अहिलेसम्म बचाइरहेको हो। त्यसो त कांग्रेस पार्टी पनि बीपी कोइरालाको नाममा टिकिरहेको छ, उनका सिद्धान्त छोडे पनि।

हरेक विषयमा शंका र विश्वास दुवै गर्नुपर्छ र गरिन्छ। तर एकोहोरो शंका र एकोहोरो विश्वासले लक्ष्य प्राप्त गर्न सकिन्न। कांग्रेसले वाम एकताबाट लोकतन्त्रको अपहरण हुन्छ कि भन्ने जुन आशंका छ, त्यो व्यर्थ देखिन्छ। अब हुने एकीकृत कम्युनिस्ट पार्टीले प्रतिस्पर्धाबाटै राजकीय नेतृत्व हासिल गरेर देश र जनताको सेवा गर्छ। यो एकताबाट कम्युनिस्टहरूले अधिनायकवाद लागू गर्छन् कि भन्ने भय सबैले त्यागे हुन्छ। यो दुनियाँमा र अहिलेको कम्युनिस्ट पार्टीले त्यस्तो बाटो लिँदैन, तर रहर र लहडका भरमा लियो भने जनताले तिनलाई पत्याउने छैन।

यो एकता नेपालको हालको संक्रमणकालीन अवस्था समाप्त पार्न कामयावी हुनुपर्छ। यसले नेपालको राजनीतिक अस्थिरताका कारकतत्व समाप्त पार्न सक्नुपर्छ। राजनीतिक अस्थिरता कायम राख्ने संविधानमा रहेका सबै प्रावधानमा पुनरावलोकन गर्नुपर्छ र सच्याउनुपर्छ। देशको असंलग्न परराष्ट्र नीतिलाई होसियारीपूर्वक कायम गर्नुपर्छ। यहाँ त अमूक देशले नेपालको हितमा निःस्वार्थ रूपमा महत्वपूर्ण सरसहयोग गर्ने इच्छामाथि नेपाल सरकारमार्फत बलात् असहयोग गर्न लगाइन्छ। अब साम्राज्यवादी र प्रभुत्ववादी शक्तिहरूबाट मुक्त भएर नेपाल र नेपालीको हकहितमा मात्र केन्द्रित भएर मुलुकको राजनीतिलाई दिशानिर्देश गर्नुपर्ने अनुकूल परिस्थिति निर्माण भएको छ र यस अनुकूलताअनुसार नेपाली जनताका न्यूनतम आधारभूत आवश्यकतालाई सर्वोपरि प्राथमिकतामा राखेर ढिलाइ नगरी काम गर्नुपर्ने अवस्था आएको छ।

सरकार र सत्ता अनुभव सम्हालेका यी दुई प्रमुख पार्टीको नेतृत्वले उपर्युक्त विषयमा विशेष ध्यान दिनेछन्। सबैभन्दा महत्वपूर्ण विषय र क्षेत्र भनेको पार्टी र यस सम्बद्ध प्रतिभा, क्षमता, दक्षता र सीपको पहिचान तथा त्यसको उचित विन्यास र परिचालन हो। वस्तुनिष्ठ भएर आफैं इमानदारीतापूर्वक जबर्जस्त रूपमा उठ्न, जुट्न र उदय हुन आतुर प्रतिभालाई उचित राजनीतिक वा राजकीय नेतृत्वमा समेट्ने कुरामा पूर्वाग्रहरहित भएर लागियो भने समस्या समाधान हुन्छन्। एमाले पार्टीलाई एकताका प्रतिभाहरूको फूलबारी भनिन्थ्यो, तर मदनको निधनपछि घोच्ने काँडाहरू पलाउन थाले ती मौलाउन थालेका थिए। यसको मूल कारण सघन सैद्धान्तिक शिक्षा, शिक्षण, प्रशिक्षणको पूर्ण अभाव हो।

यसको खास कुरा भनेको सैद्धान्तिक तथा सिद्धान्तबाट प्रशिक्षित नेताकार्यकर्ता अमूक नेताका जुँगा चले कुरा बुझे गर्दैन। अर्थात् अमूक नेताका जोसो कुरामा आँखा चिम्लेर हाम्फल्दैन। नेतामुखी कार्यकर्ता निर्माण गर्ने ध्याउन्नाको अमूक नेताले मात्र लबी, लोभी र लेबीको लेपन मात्र लगाउँछ। यसो हुँदा विगतमा एमाले पार्टी भाइ कांग्रेस र लिंग पहिचान नभएको पार्टी बनेको थियो। माओवादीभित्र पनि कम्युनिस्ट आदर्श अनुशरण गरेर अहिलेसम्म डटिरहेका र खटिरहेका इमानदार शक्ति, व्यक्ति र प्रतिभा छन्। उचित स्थानमा उचित व्यक्ति र प्रतिभाको विन्यासले तालमेल मात्र होइन, एकतालाई सुदृढ बनाउनेछ।

एउटा सही विधि, पद्धति, प्रणालीभित्र रहेर राजनीति र राजकीय क्षेत्रलाई पारदर्शी रूपमा परिचालन गर्ने आँट र अठोट भएको सबल र कुशल नेताले मात्र एकतालाई सुदृढ एकता तथा दूरगामी ऐक्यता कायम गराउन सक्छ। एमाले पार्टीलाई जननेता मदन भण्डारीको आदर्शले मात्र अहिलेसम्म बचाइरहेको हो। त्यसो त कांग्रेस पार्टी पनि बीपी कोइरालाको नाममा टिकिरहेको छ, उनका सिद्धान्त छोडे पनि। भण्डारीपछि केपी शर्मा ओली पनि त्यही बाटोमा हिँड्ने कोसिस गरिरहेका छन्। हीरा र मोतीको पहिचान गर्न धेरै समय कहाँ चाहिन्छ र ? तर हीरालाई हीराभन्दा देवत्वकरण भयो भनेर जल्ने प्रवृत्ति अझै देख्नु र सुन्नुपरेको छ।

आफ्नै दर्बिलो र गर्विलो टाउको लतारेर शरीरको अडान, उठान र उचाइ किमार्थ कायम हुन सक्तैन। यही बृहत् वाम एकताका विषयका सारा सकारहरू समयमै अनेक आयामबाट प्रचारित गर्न सकिएन र प्रमुख नेतृत्वलाई समयमै होसियारी र खबरदारी गर्न सकिएन भने राम्रा कुरा पनि राम्रोमा परिणत हुन गाह्रो पर्छ। इतिहासका निर्माता जनता हुन्, यो एकता कायम गर्ने-गराउने र अझ सुदृढ बनाउने पनि जनता हुन्, जनताका अगुवा तमाम सचेत तथा बौद्धिक, प्राज्ञिक र लेखकीय व्यक्तित्व हुन्। यी सबैले आलोचनात्मक चेतका साथ नियमित रखबारी र खबरदारी गरेनन् र लालफिताशाही जनवादका भरमा परेर मौन र मूक भएर बसे भने सम्भावित उपलब्धि आकाशको फल हुनेछ।

 

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2