MENU

पोर्चुगल र फ्रान्सको रुसयात्रा पक्‍का

635x90_1

एजेन्सी बिहीबार, असोज २६, २०७४ 449 पटक पढिएको

Share This

635-X-85

लिस्बन : गत वर्ष युरोकपको फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका पोर्चुगल र फ्रान्सले अर्काे वर्ष रुसमा आयोजना हुने विश्वकप फुटबलका लागि एकै दिन स्थान पक्का गरेका छन्। मंगलबार राति भएका महत्वपूर्ण खेलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई २-० र फ्रान्सले बेलारुसलाई २-१ गोलले पराजित गर्दै रुस विश्वकपमा स्थान सुरक्षित गरेका हुन्।

 आयोजक फ्रान्सलाई पराजित गर्दै युरोकपको उपाधि जितेको वर्ष दिनपछि नै क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले दोस्रो ठूलो उपाधिका लागि आफूलाई छनोट गराउन सफल भएको हो। लिस्बनस्थित घरेलु मैदानमा पहिलो हाफमा आत्मघाती गोल उपहार पाएको पोर्चुगलले दोस्रो हाफमा अर्को गोल थपेको थियो। समूह ‘बी'मा स्विट्जरल्यान्डसँग समान २७ अंक भए पनि पोर्चुगल गोलअन्तरका आधारमा सीधै विश्वकपमा छनोट भएको हो।

‘युरो-१६ को जस्तै हामी विश्वकपमा पनि उपाधि जित्न प्रयास गर्नेछौं', विश्वकपमा छनोट भएपछि मिडफिल्डर बर्नार्डाे सिल्भाले भने। छनोट चरणको पहिलो खेलबाटै समूहको शीर्ष स्थान ओगट्दै आएको स्विट्जरल्यान्ड भने विश्वकपका लागि सीधै स्थान सुरक्षित गर्न असफल भयो। स्विट्जरल्यान्डले विश्वकपमा स्थान बनाउन थप छनोट खेल खेल्नुपर्नेछ।

मंगलबारको खेलअघि पोर्चुगलभन्दा तीन अंकले अगाडि रहेको स्विट्जरल्यान्डलाई विश्वकपमा छनोट हुन बराबरीकै नतिजा पर्याप्त थियो। यद्यपि स्विस टोलीले बराबरीको नतिजासमेत निकाल्न सकेन। पोर्चुगलले खेलको ४१औं मिनेटमा आत्मघाती गोलमार्फत अग्रता बनाएको थियो। पोर्चुगलका इलिस्युको बललाई क्लियर गर्न खोज्दा स्विस रक्षक जोहान जोउरोउले आफ्नै पोस्टमा बल छिराएका थिए। ५७औं मिनेटमा स्ट्राइकर आन्द्रे सिल्भाले पोर्चुगलका लागि अर्को गोल गरे।

फ्रान्सले पनि आफ्नै मैदानमा बेलारुसलाई हरायो। फ्रान्सको जितमा स्ट्राइकरद्वय एन्टोइन ग्रिजम्यान र ओलिभर गिरोडले एक÷एक गोल गरे। अन्य टोलीको तुलनामा सहजै छनोट चरण पार गरेको फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पस भने टोलीको प्रदर्शनमा खासै खुसी देखिएनन्। ‘हामी विश्वकपका लागि सहजै छनोट भएका छौं तर म टोलीको प्रदर्शनबाट पूर्ण रूपमा खुसी छैन', उनले भने। उनले पछिल्लो १० छनोट खेलमा ६ गोल खानु कमजोरी भएको बताए। फ्रान्सलाई २७औं मिनेटमा ग्रिजम्यानले १-० ले अघि बढाए। ३३औं मिनेटमा गिरोडले गोल गर्दा फ्रान्स २-० ले अघि बढेको थियो। पाहुना टोलीका लागि एन्टोन सारेकाले खेलको ४४औं मिनेटमै गोल गर्दै खेल २-१ को अवस्थामा ल्याएका थिए।

अमेरिका २८ वर्षपछि असफल

लगातार पछिल्लो सातवटा विश्वकप खेलेको अमेरिका यसपटक भने छनोट हुन असफल भएको छ। मंगलबार भएको खेलमा ट्रिनिडाड एन्ड टोबागोसँग २-१ गोलले पराजित भएसँगै अमेरिकाको विश्वकप खेल्ने सपना समाप्त भएको हो। अमेरिकाका लागि विश्वकपमा छनोट हुन ट्रिनिडाड एन्ड टोबागोविरुद्ध बराबरी वा जितको नतिजा आवश्यक थियो। अमेरिकाले यी दुवै नतिवा निकाल्न सकेन।

‘हामीले पूरा देशलाई निराश तुल्याएका छौं', छनोट चरणबाटै बाहिरिएपछि अमेरिकी टोलीका रक्षक ओमार गोन्जालेजले भने। अमेरिका ओमारकै आत्मघाती गोलबाट खेलमा पछि परेको थियो। खेलको १७औं मिनेटमा अलभिन जोन्सको क्रसलाई क्लियर गर्ने प्रयासमा ओमारले आफ्नै पोस्टमा बल छिराएका थिए। ३७औं मिनेटमा अलभिनले नै झन्डै ३५ यार्ड टाढाबाट गोल गरेपछि ट्रिनिडाड पहिलो हाफमै २-० ले अगाडि बढेको थियो।

यसैगरी ४७औं मिनेटमा १९ वर्षीय स्ट्राइकर क्रिस्टियन पुलिसिकले गोल गरेपछि अमेरिकाले खेलमा फर्किने संकेत गरेको थियो। यद्यपि त्यसपछिको समयमा थप गोल फर्काउन नसक्दा अमेरिका विश्वकप खेल्ने अवसरबाट वञ्चित भयो। लगातार चौथो विश्वकप खेल्ने ३४ वर्षीय क्लिन्ट डिम्पसीको सपना पनि समाप्त भएको छ। दोस्रो हाफमा मैदानमा प्रवेश गरेका डिम्पसी सहितका अमेरिकी खेलाडीको आधा दर्जन राम्रा प्रहारले गोलको दिशा लिन सकेन।

अन्य दुई खेलमा पानामा र होन्डुरस दुवै टोली पराजित भएको अवस्थामा पनि अमेरिका हारका बाबजुद विश्वकपमा छनोट हुने अवस्था थियो। तर, पानामाले कोस्टारिकालाई २-१ र होन्डुरसले मेक्सिकोलाई ३-२ गोलले हराए। यी दुवै टोली विजयी भएपछि अमेरिकाको प्ले अफ खेल्ने बाटोसमेत बन्द भएको हो। प्ले अफ खेल्ने अवसर भने होन्डुरसले पाएको छ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2