MENU

कुरूप बन्दै नाढीताल

635x90_1

सुनिल ठाकुर बिहीबार, असोज २६, २०७४ 577 पटक पढिएको

Share This

635-X-85

सर्लाही: सर्लाहीको सौन्दर्यका रूपमा चिनिएको चन्द्रनगरण गाउँपालिकाको नाढीताल सरसफाइ अभावमा कुरूप बन्दै गएको छ । ताल अहिले जलकुम्भीले पूरै ढाकिएको छ। दुई महिनादेखि तालको सरसफाइ नहुँदा ताल पूरै जलकुम्भी र फोहोरले ढाकिएको हो । तालवरिपरि अहिले फोहोरको डंगुर छ । ताल फोहोर भएपछि अहिले पर्यटकको आगमनसमेत घटेको छ।

तालमा बोटिङका लागि आउने पर्यटक अहिले निरास भएर फर्किने गरेको स्थानीय बताउँछन् । दैनिक सयौंको संख्यामा पर्यटक आउने ताल अहिले सुनसान देखिन थालेको छ । बोटिङ गर्न राखिएका बोट त्यत्तिकै थन्किएका छन् । बोट सञ्चालन र तालको सुरक्षाका लागि खटिएका कर्मचारी पनि अहिले बेरोजगार छन् ।

ठेक्का लाग्न नसक्दा तालको सफाइ हुन नसकेको ताल संरक्षण समितिका सचिव अनिल कर्णले बताए । ‘तालमा जलकुम्भी जम्मा हुँदा दुई महिनादेखि बोटिङ सञ्चालन हुन सकेको छैन', कर्णले भने, ‘चुनावले गर्दा ताल ठेक्का लाग्न सकेको छैन । जनप्रतिनिधिको चयन भएपछि अब ठेक्कापट्टा लाग्छ ।'

ठेक्का लगाउन तीनपटक सूचना प्रकाशन गर्दा पनि ठेक्का लाग्न नसकेपछि तालको सुरक्षा हुन नसकेको चन्द्रनगर गाउँपालिकाका नायब सुब्बा हरिकान्तलाल कर्णले बताए । ‘जनप्रतिनिधि चुनिएको छ', कर्णले भने, ‘अब बस्ने पहिलो बैठकले नै तालको सुरक्षा तथा सरसफाइलगायत विषयमा छलफल गर्नेछ ।'

ताल कुरूप बनेपछि पर्यटक आउन छाडेको ताल छेउमा किराना पसल गर्दै आएका सीताराम महतोले गुनासो गरे । ‘अहिले व्यापार सुस्ताएको छ । तालको सरसफाइका लागि कसैले चासो नदेखाउँदा ताल कुरूप बनेको हो । कमाइ हुन्छ भनेर गाउँबाट तालछेउमा आई पसल गरँे', महतोले भने, ‘पर्यटक नआउँदा व्यापार चौपट भएको छ ।'

नाढीताल कुरूप हुँदा जिल्लाका आन्तरिक पर्यटकलाई निकै समस्या भएको मलंगवाका मुकेश यादवले बताए । बिदाको दिनमा जिल्ला तथा जिल्लाबाहिरका पर्यटक नाढीतालमा आउने गर्थे', यादवले भने, ‘अब त्यो पनि फोहोर हुँदा पर्यटकको घुम्ने ठाउँ नै रहेन ।' नाढीताललाई नेपाली सेनाले तालका रूपमा परिणत गरी २०७२ साल चैत २४ गते समितिलाई हस्तान्तरण गरेको थियो ।

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2