MENU

पुल नबन्दा सडकमा खच्चड

635x90_1

अनीष विष्ट शुक्रवार, असोज २७, २०७४ 420 पटक पढिएको

Share This

635-X-85

 खाँदबारी : संखुवासभाको अरुण नदीपारिको गाउँपालिकामा गाडी गुड्ने सडकमा खच्चडमार्फत सामान ढुवानी हुने गरेको छ । सिलिचोङ गाउँपालिकाका अधिकांश वडा सडक सञ्जालले छोए पनि अरुण नदीमा पुल नबन्दा पारिका नागरिक यातायातको सुविधाबाट वञ्चित भएका हुन् ।

‘यस गाउँपालिकामा सडक सञ्जाल विस्तार त भयो तर अरुणमा पुल नै छैन अनि सवारीसाधन कसरी आउँछन्? ', सिलिचोङ-३ का उमेश चाम्लिङ भन्छन् । सिलिचोङ क्षेत्रमा खच्चडमार्फत मालसामान ढुवानी गर्दै आएका चाम्लिङले भने, ‘सडक भएर के गर्नु, सामान ल्याउन खच्चड प्रयोग गर्नुपर्छ ।' यस क्षेत्रमा सामान ढुवानी गर्न खच्चड र मानिसले भारी बोकेर नौ-दस घन्टा हिँड्नुपर्ने बाध्यता रहेको चाम्लिङले बताए । गाडी चढ्ने रहरले लाखौं खर्चेर खनिएका सडक खच्चड र मानिसलाई पैदल आवतजावतमा मात्र प्रयोग हुने गरेको छ ।

 

भोजपुरको बुम्लिङटार हुँदै सिलिचोङ गाउँपालिकाअन्तर्गतका वडा नम्बर ४ मांतेवा र वडा नम्बर ३ ताम्कुलाई सडक सञ्जालले छोइसकेको छ । वडा नम्बर १ सिसुवाखोला र २ नम्बर वडा बालालाई सडक सञ्जालले जोड्न केही महिना लाग्ने छ । यसरी जिल्लाकै दुर्गम मानिएको सिलिचोङ गाउँपालिकाका प्रत्येक वडाहरू सडक सञ्जालले जोडिए पनि ती सडक प्रयोगविहीन बनेका छन् । खाँदबारीबाट करिब १६ कोष टाढा रहेको उक्त गाउँपालिका पुग्न अरुण नदी पार गर्नुको विकल्प छैन । त्यसका लागि अरुण नदीमा पुल निर्माण गर्नु अनिवार्य रहेको त्यस क्षेत्रका सञ्चारकर्मी ध्यान कुलुङ बताउँछन् ।

करिब २० हजार जनसंख्या रहेको सिलिचोङ गाउँपालिकामा मात्र होइन, अरुण नदीमा पुल बन्न नसकेकै कारण भोजपुरको उत्तरी क्षेत्रमा पर्ने साल्पा सिलुछो गाउँपालिकाको बुम्लिङटार हुँदै कुलुङ, चौकीडाँडा, दोभाने हुँदै खनिएको सडक पनि प्रयोगमा आउन सकेको छैन । खाँदबारी नगरपालिका-१० हेलुवा बेसीसम्म कच्ची सडकमार्फत सवारीसाधन पुगेका छन् भने झोलुंगे पुलबाट अरुण नदी पार गरेपछि भेटिने सडकमा भने सवारीसाधनमार्फत यात्रा गर्न पाइँदैन । अरुण नदीपारिको सडकमा सवारीसाधन तार्न नसकेका कारण घन्टौं लगाएर हिँडेपछि मात्र गन्तव्यमा पुगिन्छ । कतिपय स्थानमा बास नबसी घर पुग्नसमेत सकिँदैन।


कुनै विकल्पबाट सवारी तार्न नसके पुल बनिसक्दासम्म हाल खोलिएको ट्र्याकको निशानासमेत हराइसक्ने स्थानीय सन्तोष कुलुङ बताउँछन् । बनेका सडक तत्काल प्रयोगमा ल्याउन नसके बाढी र पहिरोले ट्र्याक नै बगाइसक्ने स्थानीय बताउँछन् । अहिलेसम्म अरुण नदीमा पुल निर्माण गर्न नसक्नुले अरुणपारिका नागरिकले विकासको अनुभूति गर्न पाएका छैनन् । स्वास्थ्य, शिक्षा, सञ्चारलगायत विकासका पूर्वाधार निर्माणका लागि यातायात अनिवार्य छ तर अरुण नदीमा पुल नभएकै कारण पूर्वाधार विकासमा समेत असर पुग्ने देखिएको छ । स्थानीय तहको पुर्नसंरचना भएपछि विकासले गति लिने भनिए पनि गाउँपालिकाको भौतिक संरचना निर्माणकै लागि समेत निर्माण सामग्री ढुवानी गर्न नसक्दा जनप्रतिनिधिी चिन्तित छन् । निर्माण सामग्री महँगो मूल्यमा खच्चडलाई बोकाउनुपर्ने बाध्यता छ ।

गाडी चढ्ने रहरले लाखौं खर्चेर खनिएका सडक खच्चड र मानिसलाई पैदल आवतजावतमा मात्र प्रयोग हुने गरेका छन् ।

गाउँपालिका प्रमुख राम कुलुङ आफू विजयी भएदेखि नै पुल निर्माणको पहलमा लागेको बताउँछन् । कुलुङले भने, ‘पुल निर्माणका लागि जिल्ला समन्वय समिति, प्राविधिक कार्यालय, स्थानीय विकास मन्त्रालय, सडक कार्यालय र विभाग सबैतिर पहल गरिरहेको छु ।' पुल निर्माण प्रक्रिया तत्काल अघि बढाए पनि सम्पन्न हुन लामो समय लाग्ने भएकाले पुलको वैकल्पिक व्यवस्थाका रूपमा फेरी सञ्चाल गर्न आवश्यक प्रक्रिया सुरु गरिएको उनले बताए ।
एक वर्षअघि अरुण नदीमा पुल निर्माणका लागि सर्भे गरेर विभागमा पठाइए पनि हालसम्म केही उपलब्धि नभएको जिल्ला प्राविधिक कार्यालय प्रमुख इन्जिनियर रामशरण आचार्यले बताए । पुल निर्माणका लागि छुट्टाछुट्टै दुईवटा नक्सा पठाइसकेको आचार्यले बताए । विभागबाट डिजाइन पास भएर आए तत्काल निर्माण प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ ।

अरुण नदीमा पुल नबन्दा अरुणपारिका सडकमा खच्चडमार्फत समान ढुवानी गर्दै स्थानीय । अरुणपारिका नागरिक सडक निर्माण भए पनि दैनिक उपभोग्य सामान, निर्माण सामग्रीलगायत महंगो मूल्यमा ढुवानी गर्न बाध्य छन् । अन्नपूर्ण

720x90_1
 
720x90
730-x-90-annapurnapost

प्रतिकृया दिनुहोस

635x90_2